भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गमा राति गाडी चलाउन रोक

काठमाडौं । भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गमा आजदेखि २१ गतेसम्म राति गाडी चलाउन रोक लगाइएको छ । काभ्रे जिल्ला प्रशासन कार्यालयले असोज १६ गतेदेखि २१ गतेसम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सार्वजनिक र निजी यात्रु बाहक सवारीसाधन सन्चालनमा रोक लगाएको हो । बीपी राजमार्गको काभ्रे भञ्ज्याङ-भकुण्डेबेँसी-सिन्धुली सडक खण्डमा एम्बुलेन्स र अत्यावश्यक सेवाका बाहेक सबै प्रकारका सार्वजनिक तथा निजी सवारीसाधन आवागमन निषेध गरिएको काभ्रे जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको हो ।    साथै, रोसी खोला र स्थानीय खहरे खोलामा बाढी आएको अवस्थामा अन्य समयमा पनि स्थानीय प्रहरी र ट्राफिक प्रहरीले जुनसुकै स्थानमा सवारीसाधनहरू रोक्न सक्ने सूचनामा उल्लेख गरिएको छ।  उच्च सतर्कता र पूर्वतयारी एवं प्रतिकार्यका लागि अनुरोध ! राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको मिति २०८२ असोज १५ गते प्रकाशित उच्च सतर्कताका लागि अनुरोध गरिएको सूचना बमोजिम असोज १७ गतेदेखि २० गतेसम्म यस (काभ्रे) जिल्लामा समेत भारी वर्षाको सम्भावना रहेको जनाएको छ। बाढी पहिरोको उच्च जोखिममा रहेको देखिएकाले देहायअनुसार गर्ने गराउन सम्बन्धित कार्यालयहरू, संस्थाहरू एवं जिल्लावासी सबैमा अनुरोध गर्दैछौँ। क. वर्षात् र बाढी पहिरोबाट सवारीसाधन र यात्रुलाई हुन सक्ने जोखिम हुन नदिन २०८२ असोज १६ गते बिहीबारदेखि असोज २१ गते मंगलबारसम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म बीपी राजमार्गको काभ्रे भञ्ज्याङ-भकुण्डेबेँसी-सिन्धुली सडक खण्डमा आवतजावत गर्ने एम्बुलेन्स र अत्यावश्यक सेवाका सवारीसाधनबाहेक सबै प्रकारका सार्वजनिक तथा निजी यात्रु वाहक सवारीसाधनको आवागमनमा निषेध गरिएको छ। साथै रोसी खोला र स्थानीय खहरे खोलामा बाढी आएको अवस्थामा अन्य समयमा पनि स्थानीय प्रहरी र ट्राफिक प्रहरीले जुनसुकै स्थानमा सवारीसाधनहरू रोक्न सक्नेछ। ख. उल्लेखित अवधिमा अत्यन्त जरुरी नभईकन बाहिर नजाने, विशेषगरी टाढा र रातको समयमा यात्रा नगर्ने। ग. पहिरोको जोखिममा रहेका तथा नदी किनारका बस्तीहरूमा उच्च सतर्कता अपनाउने। विशेष स्थानीय तहहरूले स्वीकृत मनसुन कार्ययोजना अनुरूप आवश्यक पूर्वतयारी र प्रतिकार्य गर्ने गराउने। घ. डुबान हुने सक्ने बस्तीहरूलाई सुरक्षित क्षेत्र (अस्थायी) र सुरक्षित स्थानबारे जानकारी लिने र आवश्यक पर्दा गाँउपालिका/नगरपालिकाद्वारा यसअघि निर्धारित सुरक्षित स्थानमा जाने। ङ. जिल्ला स्थित सुरक्षा निकायहरू, स्थानीय तहहरू, स्वयंसेवकलगायत सरोकारवाला सबै निकाय स्वीकृत प्रतिकार्य योजना अनुरूप तयारी अवस्थामा रहने। च. बीपी र अरनिको राजमार्ग आयोजनाहरू (सडक डिभिजन भक्तपुर र सूर्यविनायक-धुलिखेल सडक आयोजना) ले सडकहरूमा तुरून्त परिचालन हुने गरी डोजर, एस्काभेटर, लोडरलगायतका साधनहरू तयारी अवस्थामा राख्ने । छ. पूर्वतयारी, पूर्वकार्य र प्रतिकार्यमा सहयोग गर्न सरोकारवाला संस्थाहरू जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिको सम्पर्कमा रही सतर्क  (अलर्टमा) रहने। ज. स्थानीय विपद् व्यवस्थापन समितिहरू र विपद् व्यवस्थापन समितिका क्लस्टर लिड र क्लस्टरको लिडहरूले स्वीकृत प्रतिकार्य योजनाअनुरूप तयारी अवस्थामा रहने।  

डाँडाखेत-राहुघाट प्रसारण आयोजना अन्तिम चरणमा

काठमाडौं डाँडाखेत-राहुघाट प्रसारण आयोजना अन्तिम चरणमा पुगेको छ । म्याग्दी र राहुघाट ‘बेसिन’का विभिन्न जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली केन्द्रीय प्रणालीमा प्रवाह गरिने यो आयोजनाको भौतिक प्रगति ८० प्रतिशत भएको हो । आयोजना प्रमुख रोशन अग्रवालका अनुसार ४ वर्षमा उक्त प्रगति भएको हो । वन क्षेत्र व्यवस्थापन, ‘सबस्टेसन, टावर’ निर्माणलगायत काममा विना व्यवधान सम्पन्न नहुँदा आगामी कात्तिक ३० गतेसम्ममा बाँकी काम पूरा गर्न असम्भव प्रायः छ । मालिका गाउँपालिका-७ डाडाखेतदेखि रघुगङ्गा गाउँपालिका-३ राहुघाटको अम्वाङ सम्म २५ किलोमिटर १३२ केभी क्षमताको प्रसारण लाइन र दुवै स्थानमा सबस्टेसन निर्माण गर्न ४ वर्षअघि ३ अर्ब ५७ करोड रुपैयाँमा निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको थियो । हालसम्म ४५ वटा  ‘डबल सर्किट टावर’ निर्माण भइसेकाका छन् भने १४ वटा निर्माणाधीन छन् । म्याग्दी नदीमा एक सय ७२.८ मेगावाट क्षमताका ४ वटा जलविद्युत् आयोजना निर्माण सुरु भएका छन् । राहुघाटमा ३५.५ मेगावाटको चिमखोला-राहुघाट-मंगले, ४८ मेगावाटको अपर राहुघाट र २१.३ मेगावाट क्षमताको ठूलो खोला जलविद्युत आयोजनाले उत्पादन थालेका छन् । ४० मेगावाट क्षमताको राहुघाट र २३.५ मेगावाटको माथिल्लो ठूलो खोला  आयोजना निर्माणको अन्तिम चरणमा छन् । तुदी पावरले बनाएको चिमखोला-राहुघाट-मङ्गले र संयुक्त ऊर्जाको ठूलो खोला आयोजनाले अस्थायी टावर बनाएर २२० केभी क्षमताको कालीगण्डकी प्रसारण लाइनमा बिजुली प्रवाह गरेका छन् ।

प्रदेश गौरबका दुई सडक योजनाको काम अगाडि बढेन

काठमाडौं । गण्डकी प्रदेश सरकार अन्तर्गत पर्वतमा निर्माणाधीन दुई सडक आयोजना निर्माण सुरु भएको ६ वर्ष हुँदा पनि सम्पन्न भएका छैनन् । जिल्लाको जलजला गाउँपालिकामा पर्ने मिलनचोक-सल्यान-घाखेत-धारापानी ठोट्नेरी सडक र लुंखुदेउराली-मिलनचोक-बालाकोट-होश्राङदी सडक अलपत्र अवस्थामा छन् । दुई वर्षभित्र सम्पन्न गर्ने गरी ठेक्का लगाइएका यी सडक ६ वर्षसम्म पनि पूरा हुन सकेका छैनन् । २८ करोड १३ लाख रुपैयाँमा काम सुरु भएको मिलनचोक-सल्यान-घाखेत-धारापानी ठोट्नेरी सडकको हालसम्म ६४ प्रतिशत मात्रै प्रगति भएको छ । यो खण्डमा मिनचोकदेखि सल्यानसम्म कालोपत्र भए पनि सल्यानदेखि घाखेत हुँदै धारापानीसम्म काम अगाडि बढेको छैन । सडक सम्पन्न गर्न पटकपटक म्याद थपे पनि विभिन्न बहाना बनाउँदै ढिलासुस्ती गरिरहेको पूर्वाधार विकास कार्यालय पर्वतका प्रमुख सन्तोष अर्यालले बताए । १० किलोमिटर सडकमा स्तरोन्नति गर्ने योजनासहित काम सुरु भए पनि हालसम्म करिब चार किमी मात्र कालोपत्र भएको छ । अन्य खण्डको काम सुस्त गतिमा भएको कार्यालयले जनाएको छ । निर्माण सामग्री अभाव, भौगोलिक कठिनाइलगायत कारण देखाउँदै निर्माण व्यवसायीले आलटाल गरेको कार्यालय प्रमुख अर्यालले बताए ।  सडक कालोपत्र गर्न विसं २०७६ मङ्सिर ६ गते २८ करोड १३ लाख रुपैयाँमा हिमदुङ एण्ड थोकर प्रालीसँग ठेक्का सम्झौता भएको थियो । प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयमार्फत सञ्चालित यो सडक विसं २०७८ मङ्सिर ५ गते सम्पन्न गर्ने लक्ष्य थियो । यसैगरी, ११ करोड २२ लाख ६६ हजार रुपैयाँमा निर्माण सम्झौता भएको लुंखुदेउराली-मिलनचोक- बालाकोट-होश्राङदी सडक पनि ४ वर्षदेखि अलपत्र अवस्थामा छ । यो सडक खण्डमा हालसम्म ३५ प्रतिशत मात्र भौतिक प्रगति भएको कार्यालयले जनाएको छ । लामो समयदेखि निर्माण व्यवसायी सम्पर्कमा नआउँदा काम अगाडि नबढेको कार्यालय प्रमुख अर्यालले जानकारी दिए । पटकपटक लिखित र मौखिक रूपमा काम थाल्न अनुरोध गरिए भए पनि निर्माण व्यवसायी सम्पर्कमा नआएको उनको भनाइ छ । सडक निर्माणका लागि रु चार करोड १३ लाख भुक्तानी भइसकेको छ । पछिल्लो पटक थप गरिएको अवधि पुस मसान्तमा पूरा हुँदैछ, तर  ठेकेदार काममा नफर्किएको महाशिला गाउँपालिकाका अध्यक्ष ईश्वरी भुसालले बताए । निर्माण व्यवसायीले नाली व्यवस्थापन नगरी भत्काएर छोडेकाले वडा नंं ५ काफल डाँडामा रहेको गाउँपालिका कार्यालय, बालाकोट र होश्राङ्दीका बासिन्दालाई दैनिक आउजाउ गर्न निकै सास्ती भइरहेको उनको भनाइ छ । पूर्वाधार विकास कार्यालय काम सुरु नगरे अब ठेक्का तोड्ने तयारी गरिएको जनाएको  छ ।