भोटकोशी र जेनजी समूहबीच १० प्रतिशत सेयरको सम्झौता, बैंकबाट ऋण, लाभांशबाट चुक्ता
काठमाडौं । १० प्रतिशत सेयर दिने सहमतिपछि भोटेकोशी पावर कम्पनी सञ्चालनमा आएको छ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाको एउटा समूहले जेनजी आन्दोलनको नाममा एक महिनादेखि बन्द गरेको भोटेकोशी जलविद्युत आयोजनाको १० प्रतिशत सेयर स्थानीयलाई दिने सहमति पछि सञ्चालनमा आएको हो । यसअघि राजनीतिक दलका प्रतिनिधि समेतको रोहबरमा आयोजनाले स्थानीयलाई ६ प्रतिशत सेयर दिने सम्झौता भएको थियो । तर, भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि भोटेकोशी जेनजी पब्लिक इन्भेष्टमेन्ट पब्लिक लिमिटेडको नाममा स्थानीयको समूहले ४५ मेगावाटको अपर भोटेकोशी जलविद्युत आयोजनाको १० प्रतिशत सेयर मागेका थिए । आइतबार ४५ मेगावाटको भोटेकोशी पावर र जेनजी पब्लिक इन्भेष्टमेन्टबीच १० प्रतिशत सेयर लेनदेनमा सम्झौता भएको हो । सम्झौता पत्रमा जेनजी पब्लिक इन्भेष्टमेन्टका अध्यक्ष फुर्पा शेर्पा र भोटेकोशी कम्पनीका तर्फबाट सचिव विश्वमोहन कर्माचार्य लगायतले हस्ताक्षर गरे । 'भोटेकोशी पावर कम्पनी प्राईभेट लिमिटेड (दोस्रो पक्ष)ले आफ्नो सेयरमध्येबाट १० प्रतिशत सेयर आयोजनाको जलविद्युत् उत्पादन क्षेत्रका स्थानीय तहका प्रत्यक्ष प्रभावित स्थानीय जनता समेटी खडा भएको लगानी गर्ने पब्लिक लिमिटेड कम्पनीलाई दिने सहमति गरियो । दोस्रो पक्षले प्रथम पक्षलाई दिने भनेको उल्लेखित १० प्रतिशत सेयर साबिक मिति २०७१।०९।०९ को सम्झौता बमोजिमको ६ प्रतिशतमा ४ प्रतिशत बढाई जम्मा १० प्रतिशत कायम गर्ने सहमति गरियो,' सम्झौतामा उल्लेख छ । सम्झौता अनुसार दोस्रो पक्षको सेयरको अंकित मुल्य १०० रुपैयाँ रहेको सन्दर्भमा स्थानीयको तर्फबाट लगानी गर्ने पब्लिक कम्पनीले दोस्रो पक्षमा हाल्ने सेयर सम्बन्धमा प्रथम पक्षले कर्जाको लागी बैंकमा निवेदन दिने र बैंकले दिने कर्जाको लागी दोस्रो पक्षले जमानीको व्यवस्था गर्नेछ । सो कर्जा आगामी १ बर्षको लाभांशबाट दोस्रो पक्षको आयोजना निर्वाध रुपमा सधैं सञ्चालन भएको अवस्थामा कर्जा तथा ब्याज समेत चुक्ता हुने गरि दोस्रो पक्षले व्यवस्था गर्ने सो लाभांशबाट फर्छ्यौट नभएमा दोस्रो पक्षले बाँकी कर्जा बराबरको रकम सकार्ने सहमति भएको छ । पहिलो पक्षले दोस्रो पक्षको १० प्रतिशत सेयरको लागि जलविद्युत उत्पादन क्षेत्रका स्थानीय तहका प्रत्यक्ष प्रभावित स्थानीय जनतालाई पहिलो पक्षको कम्पनीको सेयरधनी बनाई सके पछि दोस्रो पक्षको १० प्रतिशत सेयरको लागि आवेदन दिने प्रक्रिया सुरु गर्ने सहमति भएकाे छ । दोस्रो पक्षले भोटेकोशी गाउँपालिकालाई सामाजिक उत्तरदायित्व बापत दिँदै आएको साविकको रकममा थप गरि वार्षिक रुपमा जम्मा २ कराेड ५० लाख रुपैयाँ दिने सहमती भएकाे छ । अब उप्रान्त साविकमा विभिन्न शीर्षकमा दिँदै आएको रकम प्रथम पक्ष लगायत कसैले पनि दाबी नगर्ने सहमति समेत भएकाे छ । दोस्रो पक्षको आयोजनामा विभिन्न पक्षहरुबाट भविष्यमा आउन सक्ने मागहरु तथा समस्याहरूको समाधानको लागी प्रथम पक्षको समेत पूर्ण साथ र सहयोग रहने, आयोजनाको पावर प्लान्ट आजैका मितिबाट सञ्चालन गर्ने र स्थानीय प्रभावितहरुलाई सहमतिको जानकारी दिई आयोजनाका कर्मचारीहरूको सुरक्षा समेत गरि शान्तिपूर्वक सञ्चालन गर्ने जिम्मेवारी प्रथम पक्षले लिने सहमति भएकाे छ ।
२० वटा ह्युम पाइपमार्फत फेमे खोलामा डाइभर्सन निर्माण
काठमाडौं । पाँचथरको फिदिम-फालोट सडक अन्तर्गत फेमे खोलामा अस्थायी डाइभर्सनमार्फत यातायात सुचारु गर्न लागिएको छ । यहाँ पूर्वाधार विकास कार्यालय पाँचथरले धमाधम डाइभर्सन निर्माणको काम गरिरहेको छ । गत असोज १८ गते आएको बाढीले डाइभर्सन बगाएपछि यहाँ सडक अवरुद्ध छ । फिदिम नगरपालिका-१ र ११ को सीमामा पर्ने फेमे खोलामा २० वटा ह्युम पाइपमार्फत डाइभर्सन निर्माण भइरहेको हो । डाइभर्सन र पहुँच मार्ग निर्माणको काम सोमबारसम्ममा सम्पन्न गर्ने योजना रहेको पूर्वाधार विकास कार्यालय पाँचथरका इञ्जिनीयर मुकेश शाहले जानकारी दिए । यस सडकले फिदिम नगरपालिका १० देखि १३ नम्बर वडा तथा फालेलुङ गाउँपालिका-३ देखि ८ लाई सदरमुकामसम्म जोड्छ । फेमे खोलामा सडक अवरुद्ध भएपछि खोलाको वारिपारि रहेका सवारीसाधनले यात्रुलाई गन्तव्यसम्म पुर्याउँदै आएका छन् । यात्रुले करिब १५ मिनेट पैदल यात्रा गरेर खोला पार गर्दै आएका छन् । गत बिहीबारदेखि डाइभर्सन र पहुँच मार्ग निर्माणको काम भइरहेको छ । गत वर्षको असोज १२ गते आएको बाढीले यहाँ रहेको सडक पुल बगाएको थियो । सडक पुल बगेपछि यहाँ अस्थायी डाइभर्सनबाट यातायात सञ्चालन हुँदै आएकोमा गत जेठमा स्थायी डाइभर्सन निर्माण गरिएको थियो । उक्त स्थायी डाइभर्सन असोज १८ गतेको बाढीले बगाएको हो । यहाँ बेलिब्रिज जडानको प्रक्रिया अघि बढे पनि बजेट अभावका कारण काम हुन सकेको छैन । बाढीले डाइभर्सन बगाएपछि यात्रुहरू आवतजावत गर्नका लागि नेपाली सेनाको फिदिम स्थित वीरदल गणले फड्के निर्माण गरेको छ । तर सामग्री ढुवानी तथा स्थानीय उत्पादनको निकासी, बिरामी तथा असक्तलाई खोला पार गराउन समस्या पर्ने गरेको फिदिम-११ का लोकबहादुर बुढाथोकीको भनाइ छ ।
लगातार भासिने समस्याले इलाम-राजदुवाली सडक तत्काल नखुल्ने
काठमाडौं । गत असोज १८ गतेको वर्षापछि पहिरोका कारण अवरुद्ध मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका-९ स्थित इलाम-राजदुवाली सडक खण्ड तत्काल सञ्चालनमा ल्याउन नसकिने भएको छ । जटिल भू-संरचनाका कारण सडक खुलाउन नसकिएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताए । उनका अनुसार सडक खुलाउने प्रयास निरन्तर भइरहे पनि भू-स्खलन र लगातार सडक भासिने समस्याले कठिनाइ भएको हो । ‘सडक खुलाउने प्रयास निरन्तर भइरहेको छ, तर भू-संरचनाको जटिलताका कारण तत्काल सञ्चालनमा ल्याउने अवस्था छैन,’ प्रजीअ नेपालले भने । सडक अवरुद्ध भएपछि विगत ९ दिनदेखि झापा, इलाम, पाँचथर र ताप्लेजुङका यात्रु तथा सवारी आवागमनमा समस्या भएको छ । यसैबिच, वैकल्पिक मार्गको पहिचान गरी साना सवारी सञ्चालनको तयारी सुरु गरिएको प्रजीअ नेपालले बताए । तत्कालका लागि आइतबार तिल्केनी-बज्रदेवी-नामसालिङ-नयाँबजार-फिक्कलको रुटमा साना सवारी सञ्चालनमा ल्याइएको भएपनि सोमबारदेखि तिल्केनी-सिमलगो सडक खण्ड हुँदै साना सवारी सञ्चालन गर्ने तयारी भइरहेको प्रजीअ नेपालले जानकारी दिए । ‘तिल्केनी-सिमलगोलाई सडक अन्तर्गत जोगमाई खोलामा सडक डिभिजनमार्फत ह्युमपाइप राखेर डाइभर्सनको काम आइतबारदेखि नै सुरु गरिएको छ । सम्भवतः सोमबार देखि सो सडक हुँदै साना सवारी सञ्चालन हुनेछन्,’ उनले भने । ठूला तथा माल वाहक सवारीका लागि भने हालसम्म उपयुक्त वैकल्पिक मार्ग पहिचान गर्न नसकिएको नेपालको भनाइ छ । तिल्केनी-बज्रदेवी-नामसालिङ-नयाँबजार-फिक्कल र तिल्केनी-सिमलगोलाई सडकमा तीव्र मोड र साँघुरोका कारण ठूला सवारीका लागि कठिनाइ हुने अवस्था रहेको उनले बताए । सडक डिभिजन कार्यालय इलामले मेची राजमार्गको राजदुवाली सडक खण्ड पुनः निर्माणको काम हालका लागि स्थगन गरेको छ । राजदुवालीमा भू-संरचनाका कारण समस्या भएको र तत्काल वैकल्पिक मार्गमा नै श्रोत साधन र जनशक्ति परिचालन गर्नुपर्ने भएकाले राजदुवाली सडक खण्ड पुनः निर्माण स्थगन गरिएको सडक डिभिजनका सूचना अधिकारी इञ्जिनियर अर्जुन घिमिरेले बताए । ‘हामी अहिलेसम्म राजदुवाली खण्ड खुलाउने प्रयासमा लाग्यौँ, तर सफल हुन सकेनौँ । अहिले वैकल्पिक मार्गमा स्रोत सधान र जनशक्ति परिचालन गरेका छौँ, त्यो सकेपछि पुनः राजदुवाली खण्ड पुनः निर्माणमा लाग्नेछौँ,’ घिमिरेले भने । पुवा खोलामा स्थानीयद्वारा काठको पुल निर्माण इलाम सदरमुकामदेखि झापाको बिर्तामोड जोड्ने छोटो दुरीको मेची करिडोर (केचना-कञ्चनजङ्घा सडक) अन्तर्गत पुवा खोलामा स्थानीय बासिन्दाले श्रमदानमार्फत काठको पुल निर्माण गरेका छन् । इलाम नगरपालिका-९ भाङटार र वडा नं. ११ सोयाक जोड्ने पुवा खोलाको बेलिब्रिज गत असोज १८ गतेको भीषण वर्षापछि आएको बाढीले बगाएपछि गाउँलेहरूले वैकल्पिक रुपमा काठको मोटरेबल पुल तयार गरेका हुन् । स्थानीय युवा रोशन राईको नेतृत्वमा सोयाकबासी र नेपाली सेनाको सहयोगमा ५० फुट लम्बाइ र ८ फिट चौडाइको काठको पुल निर्माण गरिएको हो । पुल निर्माणका लागि स्थानीयबासीले पाँच दिन लगातार श्रमदान गरेका थिए । बाढीले बेलिब्रिज बगाएपछि सदरमुकामसँग सडक सञ्चाल विच्छेद भएकाले तत्कालका लागि काठको पुल निर्माणमा जुटेको अभियानका नेतृत्वकर्ता राईले बताए ।