टक्सार पिखुवा खोला हाइड्रोले वैशाख २३ गतेदेखि आईपीओ बिक्री खुला गर्ने
काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले वैशाख २३ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर बाँडफाँड गरिसकेपछि अब दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ बिक्री गर्ने भएको हो । कम्पनीले जारी पुँजी १ अर्ब २० करोड रुपैयाँको ३५.२६ प्रतिशत अर्थात् ४२ करोड ३० लाख ६६ हजार ८०० रुपैयाँको अंकित मूल्य १ सय रुपैयाँ दरका ४२ लाख ३० हजार ६६८ कित्ता सेयर बिक्री गर्नेछ । जसमध्ये जारी पुँजीको १० प्रतिशत अर्थात् १२ लाख कित्ता स्थानीय बासिन्दा, सर्वसाधारणलाई छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् ३ लाख ३ हजार ६७ कित्ता विदेशमा रोजगार गरिरहेका नेपाली, ५ प्रतिशत अर्थात् १ लाख ५१ हजार ५३३ कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् ६० हजार ६१३ कित्ता सेयरमा कर्मचारीलाई बिक्री गरिसकेको छ । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम ५० हजार कित्ता सेयरसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले वैशाख २३ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि उक्त अवधिमा पूर्ण बिक्री नभएमा जेठ ६ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।
मूल्यवृद्धिले अरनिको राजमार्ग निर्माण सुस्त, बिटुमिन ल्याउने प्रयास असफल
काठमाडौं । अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक छ लेनमा विस्तार भइरहेको छ । करिब ३ वर्षअघि सुरु गरिएको उक्त आयोजना (१६ किलोमिटर)को हालसम्म ७० प्रतिशत भौतिकतर्फको प्रगति भएको सूर्यविनायक-धुलिखेल, धुलिखेल-सिन्धुली-बर्दिबास सडक आयोजनाले जनाएको छ । अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायक-धुलिखेल सडक खण्ड विस्तार आयोजनाको निर्माणकार्य डेढ महिनादेखि सुस्त बनेको छ । लगातार बढ्दो मूल्यवृद्धि, निर्माण सामग्रीको अभाव तथा बजारमा देखिएको असहज अवस्थाका कारण निर्माण कम्पनीहरूले कामको गति कम गरेको जनाएका छन् । १५.८ किलोमिटर सडक विस्तारको महत्त्वाकाङ्क्षी योजना अहिले ‘सामग्री अभाव’ देखाउँदै प्रभावित बनाइएको छ । निर्माण कम्पनीका प्रतिनिधिले सडक विस्तारको काम निर्धारित लक्ष्यअनुसार अघि बढिरहे पनि थपिएको समयमा नसक्ने बताएका छन् । साँगा-धुलिखेल सडक खण्डअन्तर्गत करिब ७० प्रतिशत काम सम्पन्न भइसकेको जनाइएको छ । यसअघि चालु आर्थिक वर्षको असार मसान्तसम्म ९० प्रतिशत काम सक्ने लक्ष्यसहित तीव्र गतिमा निर्माण भइरहेको थियो । जिम्मा पाएको लामा कन्स्ट्रक्सनका प्रबन्धक रवीन्द्र श्रेष्ठले पछिल्लो समय निर्माण सामग्रीको मूल्य अस्वाभाविक रूपमा बढ्दा आवश्यक सामग्री सहज रूपमा उपलब्ध नभएकाले कामको गति सुस्त भएको जानकारी दिए । उनका अनुसार आवश्यक सामग्रीको अभावमा काम पूर्ण रूपमा बन्द भने नभएको तर पहिलेको जस्तो तीव्रता कायम राख्न कठिन भएको छ । श्रेष्ठले सरकारले तत्काल निर्माण क्षेत्रको समस्या समाधानका लागि ‘कन्स्ट्रक्सन होलिडे’ घोषणा गर्नुपर्ने र मूल्यवृद्धि समायोजनको निर्णय गर्नुपर्ने माग गरे । निर्माण व्यवसायीले भारतबाट सडक पक्की गर्ने कच्चा पदार्थ ‘बिटुमिन’ तथा अन्य अत्यावश्यक सामग्री ल्याउने प्रयास गरे पनि सफल हुन नसकेको उनको भनाइ छ । विस्तारित राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायक काभ्रेपलाञ्चोकको साँगा खण्डमा भने कामको प्रगति अझै कमजोर देखिएको छ । उक्त खण्डमा हालसम्म ४८ प्रतिशत मात्रै काम सम्पन्न भएको जनाइएको छ । अनुगमनका क्रममा बिहीवार जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपक गौतमले वर्षायाम सुरु भइसकेकाले अब निर्माणस्थलमा थप जोखिम बढ्नसक्ने भन्दै पूर्वतयारीमा निर्माण कम्पनीले जोड दिनुपर्ने बताए । उनले यात्रीलाई सहज आवागमन सुनिश्चित गर्न, सडक अवरोध कम गर्न र सम्भावित क्षति न्यून गर्न निर्माण व्यवसायी तथा आयोजना प्रमुखलाई सचेत रहन आग्रह गरे । त्यसैगरी, काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले वर्षा नपर्दा धुलो र पानी परेपछि हिलो तथा चिप्लोपनले यात्री तथा स्थानीयलाई ठूलो समस्या पारेकाले तत्काल व्यवस्थापन गर्न निर्देशन दिए । सूर्यविनायक-धुलिखेल सडक आयोजनाका प्रमुख विजयकुमार महतोले हालको परिस्थितिमा निर्धारित समय सीमाभित्र काम सम्पन्न गर्न कठिन अवस्था सृजना भएको स्वीकार गर्दै निर्माण क्षेत्रमा देखिएका समस्याको समाधानका लागि सरकारी निकायमार्फत पहल भइरहेको र भारतबाट आउने बिटुमिनको आपूर्ति सहज बनाउन प्रक्रिया अघि बढाइएको बताए । यसैबीच, आयोजनाले थपिएको समयमा विस्तार कार्य सम्पन्न गर्नेसमेत जनाएको छ । दुई लेन रहेको उक्त राजमार्गको यस खण्डलाई ६ लेनका लागि विस्तार कार्य भइरहेको हो । सडक दायाँबायाँ दुई सर्भिस लेन तथा २.५ मिटरको फुटपाथ निर्माण भइरहेको छ । आयोजनाको समयावधि सकिएपछि गत मङ्सिर अन्तिम साता पुनः एक वर्ष थपेर स्तरोन्नति कार्यलाई तीव्रता दिइएको हो । उक्त सडक खण्ड सूर्यविनायकबाट साँगासम्म र साँगाबाट धुलिखेलसम्म गरी २ खण्डमा विभाजन गरी सोहीअनुसार ठेक्का सम्झौता भई विस्तार भइरहेको हो । आठ किलोमिटर दूरीको साँगा–धुलिखेल सडक विस्तारका लागि २०७९ साल मङ्सिर २७ गते सम्झौता भई २०८२ मङ्सिर २५ गते आयोजनाको म्याद सकिएको थियो । उक्त सडक खण्ड विस्तारका लागि लामा कन्स्ट्रक्सन प्रालिले रु चार अर्ब पाँच करोड ६४ लाखमा ठेक्का लिएको थियो । उक्त अवधिमा ६० प्रतिशतमात्र काम सम्पन्न भएको थियो । हाल पुलबजार–जनागाल क्षेत्रको बनेपातर्फ दायाँतर्फ लम्बाइ ८०० मिटर र चौडाइ १० मिटर कालोपत्र सम्पन्न भइसकेको छ बनेपाबाट साँगातर्फ दुवै लेनमा कालोपत्रको तयारी भइरहेको छ । यस्तै हाल बाँसघारी-बुडोल क्षेत्रमा मेन लेनमा कटिङ र सर्भिस लेनमा ग्राभेल राख्ने काम भइरहेको छ । बनेपाको चाँदनी चोकमा कल्भर्ट राख्ने तयारी भइरहेको छ भने बनेपाको चण्डेश्वरी खोला क्षेत्रमा अहिले पर्खाल लगाउने, फिलिङ गर्ने काम भइरहेको खनालको भनाइ छ । साँगा-भैँसेपाटी क्षेत्रको ढुङ्गेधारामा अहिले कटिङको काम भइरहेको आयोजनाले जनाएको छ । सूर्यविनायक-धुलिखेल सडक विस्तार कार्यअन्तर्गत दोस्रो खण्ड सूर्यविनायक-साँगा ७.५ किलोमिटर विस्तारका लागि ३ अर्ब ८८ करोड ९३ लाख रुपैयाँमा ठेक्का लगाइएको थियो । उक्त खण्डको ठेक्का अवधि पनि गत पुसमा सकिएपछि म्याद थपिएको हो । हाल उक्त सडकको दायाँबायाँ टेवा पर्खाल लगाउने, नाली निर्माण गर्ने र ‘कल्भर्ट’ निर्माणकार्य अन्तिम चरणमा पुगेको छ भने सडक निर्माणका क्रममा साँगा क्षेत्रमा ठूलो घुम्ती तथा तल ठूलो भिर भएकाले काम गर्न केही अप्ठ्यारो परेको जनाइएको छ । हाल साँगामा ‘अन्डरपास’ निर्माणकार्य भइरहेको छ । भक्तपुर-धुलिखेल सडक आयोजनामध्ये पर्ने तीनवटा पुलको निर्माण प्रक्रिया आयोजनाको योजनाअनुसार अघि बढिरहेको जनाइएको छ । यो खण्ड विस्तारपछि सूर्यविनायकदेखि धुलिखेलसम्मको ट्राफिक व्यवस्थापन सहज हुने तथा पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।
मदन भण्डारी राजमार्गः झापा, मोरङ र सुनसरीमा पुल निर्माण गरिँदै
काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाको मदन भण्डारी राजमार्गअन्तर्गत पूर्वीखण्डमा पुल निर्माणले गति लिएको छ । झापा, मोरङ र सुनसरी खण्डमा पर्ने ३७ पुलमध्ये हालसम्म २५ वटा निर्माण सम्पन्न भइसकेका मदन भण्डारी राजमार्ग आयोजना कार्यालय दमकले जनाएको छ । कार्यालयका सूचना अधिकारी एवं इन्जिनियर रमेशकुमार दत्तका अनुसार झापाको बाहुनडाँगीबाट सुनसरीको चतरासम्मको १३१ किलोमिटर सडकमा २५ वटा पुल बनिरहेका हुन् । निर्माण सम्पन्न भएका पुलको लम्बाई २० मिटरदेखि ३०० मिटरसम्म छ । निर्माणमा केही ढिलाइ हुनुका कारण वन क्षेत्रको अवरोध रहेको उनले बताए । पुल निर्माण हुने कतिपय क्षेत्र वन क्षेत्रमा पर्ने र रुख कटानको अनुमति पाउन समय लागेकाले काममा ढिलाइ भएको बताउँदै केही पुल अझै अधुरा रहेका सूचना अधिकारी दत्तले जानकारी दिए । उनका अनुसार पुलको कुल लागत रु छ अर्ब १२ करोड ६२ लाख ५४ हजार रहेको छ भने सडक निर्माणको लागत रु १० अर्ब १३ करोड रहेको छ । झापामा पाँच वटा पुल निर्माण सम्पन्न भएका छन् । जसमा ढोङ्ग्रे खोला, खार खोला, दामा खोला, हँडिया खोला र गगटे खोलाका पुल रहेका छन् । झापा र इलामको सिमानामा पर्ने २२० मिटर लामो बिरिङ खोलाको पुल पनि निर्माण भइसकेको छ । मोरङमा धानखेती, खहरे, डाले, मुगु खोला, खुदुम, मोराङ्गी, तेली र नुसरी खोलाका पुल बनेका छन् । इलाम क्षेत्रमा सबैभन्दा बढी १३ वटा पुलको निर्माण सम्पन्न भएका सूचना अधिकारी दत्तले जानकारी दिए । उनका अनुसार सुखानी शहादतस्थल, बुढी खोला, सुखानी खोला, टाङटिङ, गोयाङ, सानोनेते, ठूलोनेते, रतुवा, बुकुवा सानो, बुकुवा ठूलो, बिधुवा खोला, चाँजु खोला र बागद्वार खोलाका पुल सञ्चालनका लागि तयार भएका छन् । पुल निर्माण बाँकी रहेका १२ स्थानमध्ये मोरङमा आठ वटा र सुनसरीमा चार वटा रहेका छन् । मोरङको सोल्टी–१, सोल्टी–२, मिखि खोला, बालुवा खोला, सानो नेते, तुर्की खोला, हचुवा र साउने खोलामा पुल निर्माण अन्तिम चरणमा पुगेका सूचना अधिकारी दत्तले बताए । सुनसरीका चार वटा पुल रेल्वे रिभर, ठकुरी खोला, बाघ खोला र बगुवा खोलाको निर्माण सम्पन्न हुन बाँकी छन् । पुल निर्माणले पूर्वी नेपालको यातायात र आर्थिक विकासमा ठूलो टेवा पुग्ने विश्वास लिइएको छ ।