मध्यपहाडी लोकमार्गको खरङ्वा-यावरा खण्ड कालोपत्र

तेह्रथुम । सात वर्षदेखि रोकिएको पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत तेह्रथुमको फेदाप गाउँपालिकास्थित खरङ्वा खोलाबाट यावरासम्मको १० किलोमिटर सडक कालोपत्र सुरु भएको छ । तेह्रथुममा पर्ने लोकमार्गको अन्य खण्ड यसअघि नै कालोपत्र भइसके पनि उक्त खण्ड कालोपत्र हुनसकेको थिएन । प्रमुख जिल्ला अधिकारी मीना अर्यालको अध्यक्षतामा सरोकारवाला र निर्माण व्यवसायीसहित हालै बसेको बैठकमा निर्माण व्यवसायीले आगामी पुस मसान्तभित्र कालोपत्र गरिसक्ने प्रतिबद्धता जनाएसँगै कालोपत्रको काम सुरु गरिएको हो । सो सडक खण्ड कालोपत्र गर्ने जिम्मा पाएको निर्माण कम्पनीका प्रतिनिधि दिपेश खतिवडाले मङ्सिरभित्र छ किलोमिटर सबवेस र चार किलोमिटर कालोपत्र गरिसक्ने गरी काम सुरु गरिएको बताए । उक्त खण्ड कालोपत्रका लागि दुई वर्षमा काम सम्पन्न गर्नेगरी २०७२ सालमा ठेक्का सम्झौता भएको थियो । तर हालसम्ममा छपटक म्याद थप भइसकेको छ । पछिल्लोपटक थपिएको म्याद यही पुस मसान्तमा सकिँदैछ । यसपल्ट निर्धारित समयमा काम सम्पन्न गर्ने निर्माण कम्पनीका प्रतिनिधि प्रमोद अधिकारी र शारदा ढकालले प्रतिबद्धता जनाएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताए । पुष्पलाल मध्यपहाडी लोकमार्गको उक्त खण्ड कालोपत्र नहुँदा यात्रीले सास्ती भोग्नुपरेको फेदाप गाउँपालिका–२ हाङसुरुङका राजेन्द्र सुवेदीले बताए । हिउँदमा धुलाम्मे सडकमा जसोतसो सवारी चले पनि वर्षायाममा धेरै सास्ती व्यहोर्नुपरेको उनको भनाइ छ । उक्त सडकखण्ड सदरमुकाम म्याङलुङलाई जिल्लाको फेदाप गाउँपालिका, आठराई गाउँपालिका र पाँचथर सदरमुकाम फिदिम जोड्ने मुख्य मार्ग हो । फेदाप गाउँपालिकाकै यावराबाट पञ्चमीसम्मको सडकमा भने ठेकेदारले काम नगरेपछि ठेक्का तोडिएको छ । रासस

विकट गुर्जागाउँ जोड्ने सडकको देउरालीसम्म ‘ट्रयाक’ खुल्यो

म्याग्दी । भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जा जोड्ने सडकको लुलाङ–देउराली खण्डको ट्रयाक (मार्ग) खुलेको छ । अल्पसङ्ख्यक छन्त्याल र दलित समुदायको बसोबास रहेको गुर्जा म्याग्दीको छवटा स्थानीय तहका ४५ मध्ये सडक यातायातको सुविधा नपुगेको एकमात्र वडा हो । म्याग्दीको प्राथमिकताप्राप्त गुर्जा जोड्ने सडक योजनाको गत वर्ष भएको ठेक्का सम्झौतामार्फत लुलाङबाट देउरालीसम्म छ किलोमिटर मार्ग निर्माण भएको धवलागिरि गाउँपालिकाको पूर्वाधार शाखाका प्रमुख लोकन्द्र रावलले बताए । गत आर्थिक वर्षमा सङ्घीय, गण्डकी प्रदेश सरकार र धवलागिरि गाउँपालिकाले दुई–दुई करोड रुपैयाँका दरले बजेट विनियोजन गरेको लुलाङ–गुर्जा सडक योजनाका लागि रारा तेन्जिन कन्ट्रक्सनले तीन करोड ८० लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । तीनै तहको बजेट गाउँपालिकाले कार्यान्वयन गरेको हो । यसअघि गाउँपालिकाको केन्द्र मुना हुँदै वडा नम्बर २ लुलाङसम्म सडक पुगिसकेको थियो । आव २०७९/८० मा गाउँपालिका र गण्डकी प्रदेश सरकारको लगानीमा लमसुङबाट लुलाङ हुँदै चार किलोमिटर चार सय मिटर सडकको मार्ग निर्माण भएको थियो । देउरालीसम्म मार्ग खुलेपछि गुर्जाका बासिन्दा गाडी चढेर त्यहाँसम्म पुग्न थालेका धवलागिरि गाउँपालिका–१ का वडाध्यक्ष झक छन्त्यालले बताए । लुलाङबाट देउरालीसम्म पुग्न उकालोमा तीनदेखि चार घण्टा हिँड्नुपर्ने यात्राअवधि सडक निर्माण भएपछि ३० मिनेटमा छोटिएको उनले बताए । जिप, ट्रयाक्टर, मोटरसाइकल चढेर देउराली पुग्न सकिन्छ । सडक यातायात सुविधा भएपछि आवतजावतका साथै ढुवानीमा सहज भएको छ । देउरालीबाट गुर्जातर्फ सडक निर्माणका लागि चालु आवमा सङ्घीय सरकारले दुईवटा शीर्षकमा एक करोड ३५ लाख रुपैयाँ, प्रदेश सरकारले ५० लाख रुपैयाँ र गाउँपालिकाले ३५ लाख रुपैयाँ विनियोजन गरेका छन् । सो योजनाको पनि ठेक्का आह्वानको तयारी भएको गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताए । गुर्जा जोड्ने सडकमा पर्ने लमसुङस्थित दरखोलामा प्रदेश सरकारले २५ मिटर लामो मोटरेबल पुल निर्माणका लागि ठेक्का सम्झौता गरेको छ । एउटै बस्ती एकै वडामा समेटिएको दुई ६५ घरपरिवार रहेको गुर्जाको जनसङ्ख्या एक हजार पाँच सय पाँच जना छ । खानी उत्खननका लागि आएका छन्त्याल र दलित समुदायले गुर्जामा बस्ती बसाएका इतिहास छ । सडकको पहुँच नहुँदा खच्चड, घोडा र भरियामार्फत खाद्यान्न तथा निर्माण सामग्री ढुवानी गर्दा खर्च महँगो लाग्ने गरेको छ । बिरामीलाई अस्पताल पुर्याउन हेलिकप्टर चार्टर गर्नुपर्छ । रासस

गलकोटका सबै बस्तीमा पुग्यो सडक

ढोरपाटन (बागलुङ) । गलकोट नगरपालिकाले ११ वटै वडाको बस्ती बस्तीसम्म सडक पु¥याएपछि नयाँ ट्र्याक खोल्न बन्द गरेको छ । ट्र्याक खोल्न बन्द भएसँगै सडकलाई फराकिलो र स्तरीय बनाउन थालिएको हो । नगरप्रमुख भरत शर्मा गैरेले नगरपालिका स्थापना हुनपूर्व गलकोटमा ३३० किलोमिटर ग्रामीण सडक निर्माण भएको भन्दै आफूहरु निर्वाचित भएर आएपछि करिब २२० किमी बढी सडक निर्माण भइसकेको जानकारी दिए । उनका अनुसार पालिकाभरि नयाँ तथा पुराना गरी ५५० किमी ग्रामीण सडक रहेका छन् । नगरप्रमुख गैरेले वर्षौं अघि निर्माण भएका तथा नयाँ ट्र्याक खुलेका सडकलाई पालिकाले स्तरोन्नतिलाई जोड दिने बताए । अहिले पालिकाका ११ वटै वडाको सबै बस्तीमा बाह्रै महिना सडक सञ्चालन हुनेगरी काम भइरहेको उनले उल्लेख गरे । यस वर्ष सघन सहरी तथा भवन निर्माण कार्यालयमार्फत हटिया बजारबाट कोटमैदानसम्म र नरेठाँटीबाट दुदिलाभाटीसम्मको सडक कालोपत्र गर्न थालिएको नगरप्रमुख गैरेको भनाइ छ । गत वर्ष हटिया–हरिचौर–ताराखोला सडक, हटिया बजारबाट कोटघर र नरेठाँटी–दुदिलाभाटी सडक स्तरोन्नति गरिएको उनले जानकारी दिए । ‘गलकोट नगरपालिकाको धेरै ठाउँलाई राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले जोडेको छ, त्योसँगै नगरपालिकाले गाउँगाउँसम्म पुग्ने सडकलाई व्यवस्थित बनाउन थालेको छ,’ प्रमुख गैरेले भने, ‘अधिंकाश बस्तीमा सडक पुगिसकेकाले नयाँ ट्र्याक नखोल्ने योजना बनाएका छौँ, अतिआवश्यक परेको ठाउँमा ट्र्याक खोल्नैपरे खोलिनेछ, अन्यथा स्तरोन्नतिमा केन्द्रित हुनेछौँ ।’ गत वर्ष करिब २० सडक स्तरोन्नति गरिएको भन्दै यस वर्ष पनि दर्जन बढी सडकस्तरीय बनाउने योजना रहेको उनको भनाइ छ । नगरपालिकाले गत वर्षदेखि सडक गुरुयोजना बनाएर काम गरिरहेको गैरेले बताए । सात वर्षको अवधिमा करिब २० किमी ढलान तथा कालोपत्र, ८० किमी ग्राभेल, पाँच वटा मोटरेबल पुल र दुई दर्जन कल्भर्ट निर्माण गरेको उनले जानकारी दिए । गलकोट–५ का स्थानीय प्रेमबहादुर विकले गत वर्षसम्म बर्खामा हिलो र हिउँदमा धुलोले सास्ती दिएको सडक अहिले कालोपत्र भएसँगै आवागमन सहज भएको बताए । दुई वर्ष अगाडिसम्म गाउँका धेरै सडक साँघुरा र अप्ठ्यारा हुँदा ज्यान जोखिममा राखेर यात्रा गर्नुपरेको भन्दै उनले अहिले स्तरोन्नति हुँदा स्थानीय तथा आगन्तुकलाई सकज भएको उल्लेख गरे ।