२३ वर्षपछि निर्माण सम्पन्न नेपालगञ्ज-बघौडा सडक, अब सहज छ नरैनापुर यात्रा
राँझा । बाँकेको दुर्गम क्षेत्र मानिने राप्ती नदीपारी अवस्थित नरैनापुर गाउँपालिका हुलाकी सडक सञ्चालनमा आएपछि सुगम बन्दै गएको छ । हुलाकी सडक निर्माणसँगै अहिले नरैनापुरबाट करिब आधा घण्टामै सदरमुकाम नेपालगञ्ज पुग्न सकिने नरैनापुर गाउँपालिका–४ निवासी ताजमोहम्मद खानले बताए । ‘हुलाकी सडक निर्माण नहुँदा भारतको बाटो हुँदै नेपालगञ्ज पुग्नुपर्थ्यो, अहिले आधा घण्टामै पुगिन्छ’, खानले भने, ‘हुलाकी सडक नरैनापुरवासीको लाइफलाइन बनेको छ ।’ हुलाकी सडक निर्माण भएपछि अहिले नेपालगञ्जबाट नरैनापुरको सीमावर्ती क्षेत्र सुईया बघौडासम्म दैनिक रूपमा चार वटासम्म सार्वजनिक यात्रुवाहक बस सञ्चालन हुने गरेका छन् । हुलाकी सडक निर्माणपछि नरैनापुरवासीको स्वास्थ्य र शिक्षामा सहज पहुँच पुगेको नरैनापुर–६ का अगुवा सोहनलाल यादवको भनाइ छ । ‘पहिला बिरामीलाई अस्पताल पुर्याउन धेरै कठिन हुने गथ्र्यो, अहिले गाउँघरमै एम्बुलेन्स पुग्ने भएकाले बिरामीलाई सजिलै नेपालगञ्जका अस्पतालमा लैजान सकिन्छ’, यादवले भने, ‘नरैनापुरमा अहिलेसम्म उच्च शिक्षा अध्ययनको लागि क्याम्पस छैनन्, हुलाकी सडक बनेपछि विद्यार्थीलाई नेपालगञ्ज पढ्न जान आउन धेरै सजिलो भएको छ ।’ विगतमा सडक नहुँदा भारतीय बजारमा निर्भर रहेको नरैनापुरलाई हुलाकी सडकले सदरमुकाम नेपालगञ्जसँग सीधा सम्पर्क गराएको यादवले बताए । हुलाकी सडकदेखि भित्री गाउँसम्म पुग्ने सडक निर्माणमा अब गाउँपालिकाले ध्यान दिनुपर्ने उनको भनाइ छ । नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले हुलाकी सडक निर्माण भएसँगै नरैनापुरवासीको जीवनयापनमा आमूल परिवर्तन आएको बताए । उनले गाउँपालिकाका छ वटै वडाका गाउँबस्तीसम्म पुग्ने सडक निर्माणलाई आफूले प्राथमिकता दिएको उल्लेख गरे । बहुप्रतीक्षित नेपालगञ्ज–बघौडा सडक निर्माण चर्चा सुरू भएको दुईदशक बढी समयपछि निर्माण सम्पन्न भएको हो । करिब २३ वर्ष अघिदेखि सडक निर्माण सुरू भए पनि पटकपटकको अवरोध र अनिश्चितताका बीच नरैनापुर गाउँपालिकालाई सदरमुकाम नेपालगञ्जसँग जोड्ने ४४ किलोमिटर सडक निर्माण सम्पन्न भएपछि आवागमनमा सहज भएको बाँके क्षेत्र नं १ का संघीय सांसद सूर्य ढकालले बताए । हुलाकी सडक निर्माण समयमै सम्पन्न गर्न आफूले आवश्यक समन्वय र चासो देखाएको बताउँदै उनले हुलाकी सडक निर्माणले यहाँका नागरिकलाई विकासको अनुभूति गराएको उल्लेख गरे । रासस
१३२ केभी प्रसारण लाइनमार्फत सेतीनदीको बिजुली राष्ट्रिय ग्रिडमा, वार्षिक आम्दानी ८७ करोडको अनुमान
कास्की । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका तथा पोखरा महानगरपालिका स्थित सेती नदीमा २५ मेगावाट क्षमताको सेतीनदी जल विद्युत आयोजनाको निर्माण सम्पन्न भएको छ । भिजन लुम्बिनी ऊर्जा कम्पनीद्वारा प्रवर्द्धित आयोजना निर्माण सम्पन्न भई औपचारिक उदघाटन भई नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा जोडिइसकेको छ । विसं २०७५ असोज २६ गते पब्लिक लिमिटेड कम्पनीको रूपमा दर्ता भएको भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडबाट एक हजार ५०० सयभन्दा बढि संस्थापक लगानीकर्ता यस आयोजनाका मालिक भएको कम्पनीका अध्यक्ष जगत पोखरेलले जानकारी दिए । विसं २०७७ सालमा निर्माण सुरुवात गरेको आयोजनाको निर्माणकार्य सम्पन्न भई मिति २०८१ कात्तिक २७ गतेदेखि प्राधिकरणले विद्युत् खरिद गर्न सुरु गरेको छ । आयोजना सञ्चालनमा आएपछि हालसम्म हरेक महिना विद्युत् खरिद सम्झौतामा तोकिएभन्दा राम्रो ऊर्जा उत्पादन भइरहेको आयोजनाले जनाएको छ । सेतीनदी जलविद्युत आयोजनाबाट उत्पादित बिजुली लाहाचोक सवस्टेसनसम्म १३२ केभी क्षमताको चार किलोमिटर लामो प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ । झण्डै रु छ अर्ब लगानी रहेको यस आयोजनाबाट उत्पादित बिजुलीबाट सुरुको वर्षमा वार्षिक रू ८७ करोड आम्दानी गर्नेछ । आयोजनामा एनएमबि बैङ्कको नेतृत्वमा कर्मचारी सञ्चय कोष र कृषि विकास बैङ्कको ऋण लगानी रहको छ । आयोजनाका लागि बैङ्ककातर्फबाट तत्कालिन अवस्थामा अनुमानीत कूल लागतको ७० प्रतिशत ऋण र ३० प्रतिशत संस्थापक लगानीकर्ताको स्वपूजी लगानी रहेको छ । कम्पनीले आज यहाँ एक उद्घाटन समारोहको आयोजना गरेको थियो । कार्यक्रममा पूर्वअर्थमन्त्री डा युवराज खतिवडा, स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीलगायतले ऊर्जा उत्पादनमा भिजन लुम्बिनीले स्थापना गरेको मानक उदाहरणीय रहेको बताए । रासस
प्रभुचेलामा ध्यानका लागि एक करोडभन्दा बढी लगानीमा बन्यो पूर्वाधार
म्याग्दी । सामुदायिक मेडिटेशन (ध्यान) केन्द्र सञ्चालनका लागि म्याग्दीको मालिका गाउँपालिका–७ प्रभुचेला धुरीमा गण्डकी प्रदेश सरकार र समुदायको रु एक करोडभन्दा बढी लगानीमा पूर्वाधार निर्माण भएको छ । परापूर्वकालमा ऋषिमुनीहरूले तपस्या गरेर ज्ञान आर्जन गरेको प्रभुचेला तनाव व्यवस्थापन, मानसिक र शारीरिक स्वास्थ्यका लागि उपयोगी मानिएको मेडिटेशन गर्ने थलोका रूपमा विकास गर्न पूर्वाधार निर्माण गरिएको हो । प्रदेश सरकारको रु ६५ लाख बजेटबाट आश्रयस्थल भवन, सार्वजनिक शौचालय, हवन कुण्ड, पदमार्ग र घेराबार तथा समुदायले चन्दा संकलन गरेर जुटाएको रु २८ लाखले तपस्यास्थलका लागि स्थानीय काठ, ढुङ्गा र माटोको प्रयोग गरेर मौलिक किसिमको गोलघर निर्माण भएको प्रभुचेला धुरी प्रवर्द्धन समाजले जनाएको छ । विभिन्न दाताहरूले व्यक्तिगत लगानीमा परापूर्वकालमा ऋषिमुनीहरूले प्रयोग गरेको कुटी, हवन कुण्ड र साधनास्थलको संरक्षणका साथै मन्दिर र खानेपानी निर्माण गरिएको समाजका अध्यक्ष टीकाबहादुर जुग्जाली (नविन) ले बताए । मालिका गाउँपालिकाको सहयोगमा सोरवाङदेखि प्रभुचेला धुरीलाई सडकले जोडिएको छ । पलबिर जुग्जालीले कपिलानन्दले ध्यान गरेको कुटीको पुन:निर्माण गरेका छन् । छकप्रसाद पाइजाले शिव र देउप्रसाद जुग्जालीले गणेशको मन्दिर बनाएका छन् । रुपलाल पुनको संयोजकत्वमा स्व मनबहादुर थजाली पुन र रतिमा पुनको स्मृतिमा खानेपानीको पाइप जडान, धारा र ट्यांकी निर्माण भएको छ । परापूर्वकालमा ऋषिमुनीहरूले प्रभुचेला धुरीमा तपस्या गरेर ज्ञान आर्जन गरेको तीन वर्षअघिको अध्ययनबाट तथ्यहरू पहिचान भएपछि संरक्षण र पूर्वाधार निर्माण थालिएको थियो । बस्तीदेखि टाढा र जङ्गलको बीचमा शान्त हावापानी र वातावरणमा योग ध्यान गर्नका लागि उपयुक्त मानिएको छ । पूर्वाधार निर्माण भएपछि यहाँ आउने तपस्वी, भक्तजन र पर्यटकलाई सहज भएको प्रभुचेला ध्यान केन्द्र व्यवस्थापन समितिका सचिव सुरमान गर्बुजाले बताए । प्रभुचेला धुरीमा एक सय वर्षअघिसम्म ऋषिमुनीहरूका लागि तपस्यास्थल थियो । बिम गाउँको शिर र मालिका धुरीको फेदीमा अवस्थित प्रभुचेलमा नेपाल र भारतका विभिन्न ठाउँबाट ऋषि मुनीहरू आउने गर्दथे । स्वर्गद्वारी महाप्रभुका उत्तराधिकारी कपिलानन्द स्वामीले विसं १९७० देखि १९७५ सम्म यही ठाउँमा तपस्या गरेका थिए । कपिलानन्द स्वामीले तपस्या गर्ने क्रममा बनाएको कुटी, साधनास्थल र हवन कुण्डको भग्नाअवशेस अझै छन् । प्रभुचेला धुरीबाट धवलागिरि र गुर्जा हिमशृङ्खला अवलोकन गर्न सकिन्छ । समुन्द्र सतहदेखि दुई हजार चार सय मिटर उचाइमा अवस्थित प्रभुचेला धुरी बिमदेखि दुई घण्टा र सवारीसाधनमा ३० मिनेटमा पुगिन्छ । रासस