चरिकोट अस्पतालमा बालकको मृत्युले घटना चर्कायो ,सहायक सिडिओ र डिएसपीलाई गृहमा हाजिर हुन निर्देशन
काठमाडौं १५, असोज । चरिकोट अस्पतालमा अढाई वर्षीय बालकको मृत्यूपछि स्वास्थ्यकर्मीहरुले माफी मागाएको घटनाले चर्को रुप लिएपछि दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी र प्रहरी नायव उपरिक्षकलाई केन्द्रमा तानिएको छ । असोज ७ गते अस्पतालमा महादेव रिजालको मृत्यू भएपछि चिकित्सकले क्षेमायाचना गरेका थिए । उक्त दृश्य फेसबुकमा भाइरल भएपछि चिकित्सा क्षेत्रको आन्दोलनको दबाबमा सहायक प्रमुख जिल्ला अधिकारी औलाखबहादुर आलेलाई गृह मन्त्रालय हाजिर हुन बोलाइएको छ । प्रहरी नायव उपरिक्षक रवीन कार्कीलाई पनि प्रधान कार्यालय हाजिर हुन भनिएको छ । स्वास्थ्यकर्मीहरुको विज्ञप्तिअनुसार बालकको मृत्यूपछि प्रशासन र प्रहरीकै रोहबरमा अमानवीय शैलीमा जबरजस्ती माफी माग्न लगाएर लज्जित बनाएको आरोप छ । सहायक प्रजिआ आले र प्रनाउ रवीन कार्कीले स्वास्थ्यकर्मीहरुले माफी मागेको बारे कुनै जानकारी नभएको बताउँदै आएका छन् । घटनापछि अस्पतालमा सुरक्षाकर्मी परिचालन गरेको तर कतिखेर कसको अगाडी माफी मागिएको थाहा नभएको प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहीले बताए । ‘सहायक प्रजिअ र डिएसपीलाई बोलाइएको हो,’ शाहीले भने, ‘माफी मागिएको घटनामा सुरक्षाकर्मीबाहेक अरु कोही थिएन ।’ मृतकका हजुरबुबा इन्द्रबहादुर रिजालले अस्पताल प्रशासनको तर्फबाट राजीखुसी माफी मागिएको दाबी गरेका छन् । आगामी दिनमा अस्पतालमा लापरबाहीबाट कसैको मृत्यू नहोस् भन्ने हेतुले गल्ती स्वीकार गर्दै स्वास्थ्यकर्मीहरुले माफी मागिएको विषयमा राजनीतिकण भएकोमा मृतकका काका घनश्याम रिजालले दुस्ख व्यक्त गरे । कान्तिपुर दैनिकबाट ।
सरकारी कार्यालयबाटै खैरो हेरोइनको धन्दा, औषधि व्यवस्था विभाग परिसरभित्र स्टिलको दराजमा २२ ग्राम खैरो हेरोइन
काठमाडौं १३, असोज । औषधिको नियामक निकाय औषधि व्यवस्था विभाग परिसरभित्र रहेको स्टिल दराजमा खैरो हेरोइन फेला परेको छ। विभागको बिजुलीबजारस्थित पानस फर्मास्युटिकल्स प्रालि लेखेको स्टिलको दराजभित्र २२ ग्राम खैरो हेरोइन र हेरोइन जोख्ने डिजिटल तराजु फेला परेको समाचार विहिबारको राजधानीमा छापिएको छ। लागूऔषध नियन्त्रण ब्युरोले खैरो हेरोइनको कारोबारीको आरोपमा सुनिल गुप्तालाई पक्राउ गरेपछि यो तथ्य बाहिर आएको हो । ‘विभागकै परिसरमा रहेको दराजभित्र लागूऔषध फेला परेको यो पहिलोपटक हो’, ब्युरोका प्रहरी नायब महानिरीक्षक जयबहादुर चन्दले भने । उनका अनुसार औषधि कम्पनीहरूले विभाग परिसरमा औषधि परीक्षणका लागि राख्ने छुट्टै लकरसहितको दराजमा गुप्ताले चरेस रहेका बताएका थिए । गुप्ता पानस फर्मास्युटिकल्सका कामदार हुन् । बयानमा उनले विभागभित्र रहेको स्टिलको दराजमा हेरोइन राखेको बताएपछि ब्युरो टोली बुधबार विभाग पुगेको थियो । गुप्ताले बताएअनुसार विभागभित्र रहेको स्टिलको दराज खोलेर हेर्दा प्रहरीले हेरोइन र त्यो जोख्न प्रयोग हुने तराजु फेला पारेको थियो। ब्युरोका डीआईजी जयबहादुर चन्दका अनुसार प्रारम्भमा काठमाडौं महानगरपालिका–८ जयबागेश्वरीमा सूर्य संगत पक्राउ परेका थिए । उनको साथबाट ७ ग्राम खैरो हेरोइन र ४ हजार रुपैयाँ फेला परेको थियो । सोधपुछमा संगतले बाँकेका ३२ वर्षीय गुप्तासँग हेरोइन किनेको खुलेको थियो । गुप्ता पानस फर्मास्युटिकल्सका लाइजन अफिसर हुन् । गुप्तासँग हेरोइन किनेका प्रकाश जोशी, सद्दाम अन्सारी र वीरेन्द्र सिंहलाई प्रहरीले गौशालाको साउथ एसियन गेस्ट हाउसमा छापा मारी पक्राउ गरेको थियो । उनीहरूका साथबाट ९ ग्राम हेरोइन र ६४ हजार रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ । विभाग परिसरमै लागूऔषध फेला परेको विषयमा प्रहरीले विभागका कर्मचारीलाई पनि अनुसन्धानमा राख्ने जनाएको छ । यसअघि, ब्युरोको ध्यान विभागतिर गएको थिएन । औषधि व्यवस्था विभागमा औषधि कम्पनीले आफनो लकर राख्न पाउने व्यवस्थाका बारेमा पनि जानकारी नभएको ब्युरोले जनाएको छ । विभाग आफैं औषधि कम्पनीहरूको नियामक निकाय भएकाले लागूऔषधजस्तो पदार्थका बारेमा जिम्मेवार हुनुपर्ने प्रहरीको दाबी छ ।
विश्वका ९० प्रतिशतभन्दा बढीले अस्वच्छ स्वास लिन्छन्ः डब्लुएचओ
स्विट्जरल्याण्ड, १२ असोज । विश्वका रहेक दश जनामध्ये नौ जनाले अस्वच्छ स्वास लिनेगरेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले जनाएको छ । सो सङ्गठनले यस प्रदूषणका विरुद्धमा नाटकियरुपमा काम गर्न पनि सबैलाई आह्वान गरेको छ । प्रदूषित स्वासप्रश्वासकै कारण विश्वमा रहेक वर्ष ६० लाख व्यक्तिको मृत्यु हुने गरेको सो संस्थाको तथ्याङ्क रहेको छ । सङ्गठनको सार्वजनिक स्वास्थ्य तथा वातावरण विभागकी प्रमुख मरिया नेइराले नयाँ तथ्यबाट आफूहरु निकै चिन्तित भएको बताएका छन् । सङ्गठनले तयार पारेको पछिल्लो प्रतिवेदनअनुसार, विश्वका महत्वपूर्ण सहरबजारमा निकै प्रदूषित हावा छ भने, ग्रामीणक्षेत्रमा पनि सन्तोषजनक देखिएको छैन । विश्वका विकसित मुलुकमा भन्दा गरिव मुुलुकमा स्वच्छ हावाको अभाव देखिएको छ । यस प्रदूषणले विश्वका हरेक व्यक्तिलगायत समाजलाई असर पारेको छ । “यो सार्वजनिक स्वास्थ्यको आपतकालिन अवस्था हो,” नेइराले भने, “प्रदूषण नियन्त्रणका लागि तत्काल प्रशस्त काम गर्नु अत्यावश्यक छ ।” विश्वका सबै सरकारी निकायले सडकमा सवारी साधनको सङ्ख्या घटाउनुपर्दछ भने पकाउनका लागि स्वच्छ ऊर्जाको प्रयोग गर्नुपर्दछ,” प्रतिवेदनमा जनाइएको छ । विश्वका तीन हजार ठाउँबाट मगाइएका विवरणका आधारमा प्रतिवेदन तयार पारिएको बताइएको छ । ती विवरणका अनुसार विश्वको ९२ प्रतिशत जनसङ्ख्या गुणस्तरहिन हावा भएको ठाउँमा बसेका छन् । रासस÷एएफपी