नेपालमा दोस्रो अन्तराष्ट्रिय चर्मरोग सम्मेलन कात्तिक ३ गतेदेखि शुरु
काठमाडौं, २ कात्तिक । चर्म, यौन तथा कुष्ठरोग समाज नेपालले दोस्रो अन्तराष्ट्रिय चर्मरोग सम्मेलनको आयोजना काठमाडौंमा गर्ने भएको छ । उक्त सम्मेलन यही कार्तिक ३ गतेदेखि ६ गतेसम्म सञ्चालन हुने छ । यस सम्मेलनको मूल मर्म “एथिक्स एण्ड कम्युनिकेशन स्किल इन डर्माटोलोजी” रहेको छ । यो सम्मेलनमा यूरोप, अमेरिका ,अष्ट्रेलिया, मध्य पूर्वीय देश र एसियाली क्षेत्रका करीव २० राष्ट्रबाट ५०० जना चर्मरोग विशेषज्ञहरूले भाग लिने यस सम्मेलनको आयोजक समितिका अध्यक्ष तथा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका प्राध्यापक डा.दिनेशविनोद पोखरेलले जानकारी गराए । उक्त ४ दिने सम्मेलनमा १०० वटा भन्दा बढी चर्म तथा यौन रोग सम्वन्धी वैज्ञानिक शोधपत्रहरू प्रस्तुत हुने जानकारीमा आएको छ । यसबाट नेपाल लगायत यस क्षेत्रको चर्मरोग विशेषज्ञको वृत्ति विकासका साथै यस क्षेत्रका चर्मरोगीहरूले समेत यस सम्मेलनको निष्कर्षबाट लाभान्वित हुने विश्वास प्रा.डा.पोखरेलले गरेका छन् । साथै नेपालको अहिले भूकम्पग्रस्त अवस्थाबाट पुनस्थापना हुने क्रममा यस सम्मेलनले नेपालको पर्यटकीय व्यवसायलाई समेत बृद्धि गर्ने छ । साथै, नेपालको अर्थतन्त्रमा सकारात्मक योगदान गराउने र नेपालको विश्व सामू पहिचान बृद्धि गराउन मद्दत गर्ने आयोजकको विश्वास छ ।
एभरेष्ट बैंकद्वारा निशुल्क स्वास्थ्य शिविरको आयोजना
काठमाडौं, १ कात्तिक । बाइसौं वार्षिकोत्सवको अवसर पारेर एभरेष्ट बैंकले कार्तिक १ गते आफ्नो मुख्य कार्यालय परिसरमा निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । उक्त कार्यक्रममा लगभग २५० व्यक्तिले ग्रयाण्ड अस्पतालका चिकित्सक टोलिबाट परामर्शरउपचार पाएका छन् । शिविरमा ई.एन.टि., दन्त चिकित्सा, ग्यास्त्रोएन्टेरोलोजी, ओप्थाल्मोलोजी र अर्थोपेडिक लगायतका सेवाहरू उपलव्ध थिए । शिविरको उद्देश्य विभिन्न स्वास्थ्य समस्याहरुको प्रारम्भिक निदान कसरि गर्ने भन्ने बारे थियो, जसमा चिकित्सक टोलिले ती समस्यासंग सम्बन्धित सतर्कता र समाधानका उपाय बताएका थिए ।
२ वर्षदेखि परिचरको भरमा हेल्थपोस्ट, दरबन्दी भने सात जनाको
काठमाडौं ३०, असोज । पर्साको घोडदौड पिपरा ८ लक्ष्मीपुरमा रहेको स्वास्थ्थ चौकी २ वर्षदेखि परिचरको भरमा चलिरहेको समाचार सोमबारको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ । हेल्थपोस्टमा एक जना हेल्थ अस्ष्टिेन्ट एचए, ३ जना अहेव , दुइ जना अनमी र एक जना परिचर गरी ७ कर्मचारीको दरबन्दी छ। तर २ वर्षदेखि परिचर सुरेश राउत कुर्मीकै भरमा हेल्थपोस्ट चलिरहेको स्थानीय जगदिश साहले बताए। जिल्ला जनस्वास्थ्य कार्यालयले परिचर पनि नपठाएपछि गाविस कार्यालयले स्थानीय स्रोतबाट मासिक ४ हजार रुपैयाँ तलव दिएर कुर्मीलाई राखेको हो।