चितवनमा ७औं नेपाल फर्मा तथा हेल्थ एक्स्पो शुरु, औषधिमा आत्मनिर्भर बनाउन जाेड
काठमाडौं । भरतपुरको चितवन प्रर्दशनी केन्द्रमा नेपाल फर्मा तथा हेल्थ एक्स्पो शुरु भएको छ । तीन दिन सम्म हुने उक्त एक्स्पोको उद्घाटन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले गरेका हुन् । स्वादेशी औषधी उद्योग र उत्पादनलाई प्रोत्साहन गर्दै देशलाई औषधीमा आत्मनिर्भर बनाउने प्रमुख उद्देश्यले उक्त एक्स्पो शुरु भएको हो । उद्घाटन कार्यक्रममा मन्त्री यादवले निजी क्षेत्र, उपभोक्ता र उत्पादन एक अर्कालाई आरोप नलगाई परस्पर विश्वास र सहकार्य मार्फत अगाडी बढ्नु पर्ने बताए । त्यस्तै औषधि उत्पादन संघका अध्यक्ष दीपकप्रसाद दाहालले नेपाली कम्पनी र उद्योगलाई बदनाम गराउन र नेपाललाई आत्मनिर्भर हुन नदिन विभिन्न शक्ति लागेको भन्दै त्यसका बारे जान्नु जरुरी रहेको जानकारी दिए । उक्त एक्स्पोमा २०० भन्दा बढी स्टल रहेका छन् । एक्स्पोमा ३० वटा बहुराष्ट्रिय कम्पनी, १ सय २० वटा भारतीय कम्पनीहरुका साथै नीजि क्षेत्रका १०वटा अस्पतालको सहभागिता रहेको छ । काठमाडौं बाहिर पहिलो पटक हुने उक्त एक्स्पोमा १० हजार भन्दा बढी अवलोकन गर्ने आयोजकले बताएको छ ।
फागुन १९ गते नर्भिक हस्पिटलमा नाक-कान-घाँटीको निःशुल्क परीक्षण
काठमाडौँ । नर्भिक इन्टरनेशनल हस्पिटलको नाक–कान–घाँटी विभागले विश्व श्रवण शक्ति दिवसका अवसरमा विरामीहरूको निःशुल्क जाँच–परीक्षण गर्ने भएको छ । यस वर्षको विश्व श्रवण शक्ति दिवस यही फागुन १९ गते मनाइदैछ । यस वर्षको विश्व श्रवण शक्ति दिवसको नारा “आफ्नो श्रवण शक्ति जाँचौ” रहेको छ । विकासशील र अल्प विकसित मूलुकहरूमा हाल तीब्र गतिमा बढ्दै गएका विविध प्रदूषणहरुः जस्तै ध्वनि प्रदुषण, वायु प्रदूषण, कोलाहल, विविध संक्रमणहरु, आदिका कारण मानिसहरूको श्रवण शक्तिमा क्रमिक ह्रास आउन थालेको छ । त्यसमा पनि अत्यधिक ध्वनिसहितका कल–कारखाना, विमानस्थल वरपरका वासिन्दा, अनियन्त्रित सार्वजनिक यातायातका ध्वनि, लामो समय ठूलो आवाजसहितको एयर फोन प्रयोग गर्ने वानी, चर्को आवाजसहितको मनोरञ्जन र कानका त्यस्ता केही संक्रमणहरू जसले मानिसको श्रवण शक्तिमा ह्रास ल्याउने मात्रै नभएर बहिरोपन निम्त्याउने समेत सम्भावना रहन्छ । समयमा रोगको पहिचान, निदान एवम् उपचार गर्ने हो भने श्रवण शक्ति ह्रासका धेरै समस्याहरु निवारण गर्न सकिन्छ । उपर्युक्त तथ्यलाई मनन गर्दै नर्भिकको नाक–कान–घाँटी विभागले यहि फागुन १९ गते आइतवार विहान ९ः०० बजेदेखि साझ ५ः०० बजेसम्म कान सम्बन्धी समस्याहरूको निःशुल्क जा“च तथा परामर्श सेवा उपलब्ध गराउने नर्भिक इन्टरनेशनल हस्पिटलले जनाएको छ । सेवा परिचालनका लागि नाक–कान–घाँटी विशेषज्ञहरु प्रा.डा. दिपेन्द्र श्रेष्ठ, डा. रेस्की देवको टोली कार्यरत रहने हस्पिटलले जनएको छ । निःशुल्क परीक्षण सेवा प्राप्त गर्नेहरूमध्ये कसैलाई श्रवण यन्त्रको आवश्यकता परेमा उक्त यन्त्र २० प्रतिशत छुटसहितको दर÷रेटमा प्राप्त हुने र सेवाग्राहीहरूमध्ये यदि कसैको शल्यक्रियात्मक उपचार आवश्यक परेमा मार्च महिनाभित्रै शल्यक्रिया गराउदा विरामीले शल्यक्रिया शुल्कमा २५ प्रतिशत छुट प्राप्त गर्ने प्रावधान राखिएको हस्पिटलले जनाएको छ ।
पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीद्वारा गण्डकी मेडिकल कलेज खारेज गर्न माग
काठमाडौं। गण्डकी मेडिकल कलेजले तोके भन्दा बढी शुल्क लिएको भन्दै पुर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले कलेज खारेजको माग गरेका छन्। कलेजले विद्यार्थीलाई ४२ लाख लिनुपर्ने ठाउँमा ५२ लाख लिएको र त्यसैले यस्ता कलेजलाई सरकारले अनुगमन गरी खारेज गर्नपर्ने उनले बताए। गण्डकी मेडिकल कलेजका विद्यार्थी कलेजले बढी शुल्क लिएको भन्दै गत माघ १७ देखि देखी आन्दोलनमा छन्। विद्यार्थीले तालाबन्धी लगाए पनि कलेज प्रशासनले प्रहरीको बल प्रयोग गरी ताला खोलेको थियो। ताला खोलिए पनि विद्यार्थोहरुले अझै अनसन जारी राखेका छन्।