क्यान्सर रोकथामको लागि जनचेतनामुलक कार्यक्रममा जोड दिनुपर्छः प्रा.डा.पौडेल
काठमाडौं । नेपालमा जनचेतनाको अभावले मानिसहरु क्यान्सर लगायत नसर्ने रोगहरुबाट प्रभावित भएको कुरा क्यान्सर रोग विशेषज्ञ प्रा.डा. विष्णुदत्त पौडेलले बताएका छन् । आइतबार राजधानीस्थित बसुन्धाराको हेराल्ड कलेजमा क्यान्सर काउन्सिल नेपालको आयोजना र ग्लोबल आएमई बैंकको सहकार्यमा संचालित उक्त जनचेतना तथा अन्तरक्रियामा प्रायजसो क्यान्सरका विरामीहरु गम्भिर अवस्थामा उपचारको लागि अस्पतालमा आइपुग्ने गरेको जसले गर्दा उपचार खर्च बढि हुने र उपचारको प्रभावकारिता पनि कम हुने कुरा उनले सुनाए । क्यान्सरलगायत नसर्ने रोगहरु नियन्त्रणको लागि नागरिक स्तरबाटै सचेत रहनुपर्ने कुरा डा. पौडेलले जनाए । “८० प्रतिशत नसर्ने रोगको कारण सुर्तीजन्य पदार्थ भएकोले सुर्तीजन्य पदार्थ रोकथामको लागि विद्यालयस्तरबाटै बाल–बालिकाहरुलाई सचेत गराउनुपर्छ’–डा. पौडेलले थपे । विकसित देशहरुमा जनचेतनाको कारण सुर्तीजन्य पदार्थको उपभोगमा कमी हुनुको साथै क्यान्सरलगायत मुटु रोगबाट निधन हुने मानिसको संख्यामा कमी आएको पनि उनले सुनाए । क्यान्सर काउन्सिल नेपालका अध्यक्ष रुद्रलाल कडरियाले नयाँ पुस्तालाई सुर्तिजन्य पदार्थबाट जोगाउनको लागि अभिभावकहरुले आफ्ना बालबालिको बारेमा उचित ध्यान दिनपर्ने धारणा राखेका थिए । त्यस्तै कार्यक्रममा नेपाल प्रहरीका प्रहरी नायव उपरिक्षक रविन्द्रनाथ पौडेलले बदलिँदो परिस्थितिमा बढ्दो प्रविधिको प्रयोगसँगै नयाँ खाले अपराधहरु प्नि बढ्दै गएको सुनाए । कार्यक्रममा ग्लोबल आइएमई बैंकका प्रतिनिधि सागरबहादुर सिँहले वित्तीय साक्षरताको बारेमा जानकारी दिँदै यस बैंकको सामाजिक उत्तरदायित्व अनुसार सुर्तिजन्य पदार्थ रोकथामको लागि क्यान्सर काउन्सिल नेपालसँग सहकार्य गर्न पाउँदा खुशी लागेको सुनाए । हेराल्ड ईन्टरनेश्नल कलेजका प्रिन्सिपल नारायण प्रसाद उपाध्यायले क्यान्सर काउन्सिल नेपालले सुर्तिजन्य पदार्थ रोकथामको लागि चलाएको अभियानको प्रशंसा गर्दै उक्त कलेजको तर्फबाट यस अभियानमा सहकार्य गर्ने प्रतिबद्धता जनाए ।
जनता बैंकले दोरम्बामा गर्यो निःशुल्क स्वास्थ्य शिविर, १ हजार बढीको स्वास्थ्य परीक्षण
काठमाडौ । जनता बैंक नेपाल लिमिटेडको आयोजनामा रामेछापको दोरम्बा गाउँपालिकामा बृहत निःशुल्क स्वास्थ्य शिविर,आँखा शिविर र स्तन क्यान्सर सम्बन्धि जनचेतना कार्यक्रम सम्पन्न गरिएको छ । संस्थागत सामाजिक उत्तरदायित्वमा ग्रामिण स्वास्थ्यलाई प्राथमिकतामा राखी देशको विभिन्न क्षेत्रमा विशेष गरी स्त्री तथा प्रसूति रोग सम्बन्धी र आँखा उपचारको लागि निःशुल्क स्वास्थ्य शिविरहरु संचालन गर्ने क्रममा रामेछाप जिल्लाको दोरम्बा गाउँपालिकामा फागुन ८, ९ र १० गते आँखा परीक्षण तथा मोतिबिन्दुको शल्यक्रिया र क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरिएको हो । उक्त क्षेत्रका विपन्न जनताहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गरी स्वास्थ्य शिविर संचालन गरिएको हो । नेपाल नेत्र ज्योती संघ अन्तर्गत भरतपुर आँखाअस्पताल र धुलिखेल अस्पतालको प्राविधिक सहयोगमा उक्त स्वास्थ्य शिविर सम्पन्न गरिएको हो । क्यान्सर सम्बन्धि सचेतना कार्यक्रममा रोज फाउण्डेसन र नेपाल क्यान्सर अस्पतालका स्वास्थ्यकर्मीबाट सेवा प्रदान गरिएको बैंकले जनाएको छ । उक्त स्वास्थ्य शिविरहरुमा १ हजार भन्दा बढीकोे स्वास्थ्य परीक्षण गरिएको थियो । जसमध्ये ५७ जनाको शिविर स्थलमै मोतिबिन्दुको शल्यक्रिया गरिएको थियो भने बिरामीहरुलाई आबश्यक औषधी र चश्मा निःशुल्क वितरण गरिएको थियो । स्त्री रोग सम्बन्धी उपचारको लागि लक्षित गरिएको शिविरमा पाठेघरको अपरेशन गर्नु पर्ने गरि पहिचान भएका विरामीहरुलाई अपरेशनको लागि धुलिखेल अस्पतालमा रिफर गरिएको छ । बैंकबाट उक्त रिफर भएका महिलाहरुको निःशुल्क अपरेशन गर्ने व्यवस्था मिलाएको जनाइएको छ ।
स्पार्क अस्पतालले मनायो २७ औं वार्षिकोत्सब, विभिन्न व्यक्तित्व सम्मानित
काठमाडौं । प्राकृतिक चिकित्सा क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल नेपालकै पुरानो र ठूलो मध्ये एक स्पार्क अस्पतालले २७ औं वार्षिकोत्सब मनाएको छ । वार्षिकोत्सब कै अवसर पारेर अस्पतालले सोही अस्पताल उपचारपछि निको भएका विरामीहरुको विचार, उनीहरुको भोगाई र उनीहरुको अस्पताल बसाईबारेमा समेटेर तयार पारेको ‘स्पार्कले दिएको नयाँ जीवन’ नामक पुस्तक विमोचन गरेको छ । सोल्टीमोडस्थित अस्पताल प्राङ्गणमा भएको उक्त कार्यक्रममा सोही अस्पतालमा उपचार पछि निको भएका बिरामीहरुलाई अथिति बनाइएको थियो । कार्यक्रममा बोल्दै कलाकार एवं पत्रकार शैलेन्द्र सिंखडाले आफ्नै विरामीलाई अगाडि बढाएर फरक कार्यक्रम गरेको भन्दै प्रशंशा गरे । योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष जनक बस्नेतले प्राकृतिक चिकित्सा पद्दतिबाट अगाडि बढेको अस्पतालले २७ वर्ष पार गर्नु ठूलो उपलब्धि भएको बताए । प्राकृतिक चिकित्सा पद्दतिका अस्पताल आजको दिनमा समेत टिक्ट गाह्रो रहेको उल्लेख गर्दै उनले भने–‘यस्तो अवस्थामा स्पार्क अस्पतालले पाएको सफलता प्रशांशा योग्य छ । यसलाई निरन्तरता दिन सबैले सहयोग गर्नुपर्छ ।’ कार्यक्रमका सभापति तथा अस्पतालको अध्यक्ष टंकनाथ पौडेलले अस्पतालको यो सफलता र यो यात्रा आफ्नो भन्दा पनि सहयात्रीहरुको कारणले सम्भव भएको र विरामीहरुको विश्वास र मायाको कारणले सम्भाव भएको बताए । कार्यक्रममा अस्पतालमा कार्यरत डाक्टर विजय फुँयाललाई नगद पुरस्कारसहित उत्कृष्ट कर्मचारीको पुरस्कार दिईयो । त्यस्तै विगत २६ वर्षदेखि स्पार्क अस्पतलाले सञ्चालन गरेको योग कक्षामा सहभागी भई आएका मोहनचण्डी श्रेष्ठ र कृष्णप्रसाद श्रेष्ठलाई समेत सम्मान गरियो । पुस्तक विमोचन कार्यक्रमपछि अस्पतालबाट निको भएका विरामी केदार भट्टराईले ३२ दिन अस्पताल बस्दाको क्षण अविस्मरणीय रहेको बताए । ‘प्यारालाईलिस भएर आफू अब जीवनभरका लागि थला परे भन्ने सोचेको थिएँ । तर, अस्पतालले नयाँ जीवन दिएको छ । मैले यस अस्पतालको प्रशंशा शब्दमा गर्न सक्दिन’ उनले भने । वार्षिक उत्सावकै अवसरमा नेपाली स्वस्थ्य क्षेत्रमा अनवर कलम चलाउदै आएका पत्रकार अतुल मिश्रलाई पनि सम्मान गरिएको छ ।