चाल्नाखेलमा बस दुर्घटना हुँदा २४ घाइते, ६ जनाको वयोधा अस्पतालमा उपचार हुँदै
काठमाडौँ । पुरानो वसपार्कबाट दक्षिणकाली रुटमा चल्ने ना३ख १४४४ नम्बरको यात्रुबाहक बस मंगलबार बिहान दुर्घटना भएको छ । दुर्घटनामा परी २४ यात्रु घाइते भएको प्रहरीले जनाएको छ । फर्पिङबाट पुरानो बसपार्क आउने क्रममा चाल्नाखेल स्थित हात्तीवनमा सो बस दुर्घटना भएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी नायब उपरीक्षक कृष्णदत्त भट्टका अनुसार बस हिलो सडकमा चिप्लिएर दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका मध्ये हाल ६ जनाको बल्खु स्थित वयोधा अस्पतालमा उपचार भइरहेको छ । उपचारका लागि पुगेका १५ जना मध्ये ६ जनाको अवस्था गम्भीर भएकाले भर्ना गरेर उपचार भइरहेको हो । बाँकी ९ जना सामान्य उपचार पछि घर फर्किएको बयोधा अस्पतालका हाडजोर्नी विशेषज्ञ डा. शशी झाले बताए । हातको हड्डी भाँचिएको र टाउकोमा समेत चोट लागेकाले माइती थिङ, मञ्जु भट्टराई र अजय महर्जनलाई आइसीयूमा राखेर उपचार भइरहेको छ । आइसीयूमा राखेपनि उनीहरुको अवस्था गम्भीर नभएको डा. झाले बताए । बाँकी ३ जनाको भने जनरल वार्डमा राखेर उपचार भइरहेको छ ।
घातक रोगको उपचारका लागि सिटिजन लाइफले गर्यो ५ लाख भुक्तानी
काठमाडौं । सिटिजन लाइफइन्स्योरेन्सले घातक रोग दाबी भुक्तानी वापत रु ५ लाख बराबरको रकम भुक्तानी गरेको छ । कम्पनीले हृदयघात भएको कारण बुटवलका हरिसिंह ठकुरीलाई उपचार खर्चको लागि उक्त्त रकम एकमुष्ठ भुक्तानी गरेको हो । कम्पनीले आइतबार उपचारको लागि काठमाडौंमा रहेका ठकुरीलाई उपचार खर्च स्वरुप ५ लाख बराबरको घातक रोग दाबी भुक्तानीको चेक हस्तान्तरण गरेको थियो । सिटिजन लाइफको तर्फबाट कम्पनीका सीओओ दशरथमणि खड्काले हरिसिंह ठकुरीलाई सो चेक प्रदान गरे । हृदयघात भएका ठकुरीलाई उनले प्रस्तुत गरेको मेडिकल रिपोर्टको आधारमा बिना कुनै झन्झट तथा बिना कुनै बिल सहज, सरल एवम् छिटो दाबी गरिएको थियो ।
गुणस्तर फेल भएका औषधिः नेपालमा खुलेआम बिक्री, गम्भीर साइड इफेक्ट पार्ने चिकित्सकको दाबी
काठमाडौं । भारतमा उत्पादित गुणस्तर फेल भएका औषधि नेपाली बजारमा खुलेआम रूपमा छ्यापछ्याप्ती बिक्री हुने गरेका छन् । सरकारले प्रभावकारी बजार अनुगमन नगर्दा त्यस्ता औषधि नेपाली बजारमा खुलेआम बिक्री हुँदै आएको छ । जसको प्रत्यक्ष मारमा आमउपभोक्ता परेका छन् । गुणस्तरहीन औषधिले उपभोक्तामा गम्भीर साइड इफेक्ट पार्ने चिकित्सकले बताएका छन् । ३७ भारतीय कम्पनीका औषधि गुणस्तरहीन भएको पाइएको छ । भारतको सेन्ट्रल ड्रग स्ट्यान्र्डर्ड एन्ड कन्ट्रोल अर्गनाइजेसनले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार विभिन्न कम्पनीका औषधिको गुणस्तर फेल भएको छ । गुणस्तर परीक्षणका आधारमा भारत सरकारले प्रतिवेदन सार्वजनिक गरेको हो । तोकिएको मापदण्डअनुसार औषधिमा हुनुपर्ने गुण नभएको र घुल्नुपर्ने ठाउँमा औषधि नघुलेको पाइएको हो । बजारमा पुगेका गुणस्तरहीन त्यस्ता सबै औषधि फिर्ता पठाउन निर्देशन दिँदै आवश्यक कारबाही प्रक्रिया अगाडि बढाएको भारत सरकारले जनाएको छ । भारतीय कम्पनी ओरिजन फार्मा इन्टरनेसनल खरी, लार्क ल्याबोरेटरिज इन्डिया, सलुस फर्मास्युटिकल्स, थेउन फार्मासेयुक्टिकलबाट उत्पादन भइरहेका औषधिहरु गुणस्तरहीन रहेको जनाएको छ । यस्तै, गुणस्तरहीन अन्य औषधि कम्पनीमा बाल फार्मा लिमिटेड, डाफोडिल्स फर्मास्युटिकल्स लिमिटेड, सिस्टोकेम ल्याबरोटरिज, हिमालय मेडिटेक प्राइभेट लिमिटेड, म्याक्स केम फर्मास्युटिकल्स, हिन्दुस्तान मेडिसिन्स, ग्राक्योर फर्मास्युटिकल्स लिमिटेड रहेका छन् । यस्तै, साइनोकेम फर्मास्युटिकल्स लिमिटेड, ज्याक्सन ल्याबरोटरिजलगायतका कम्पनीबाट उत्पादित औषधि गुणस्तरहीन रहेको जनाएको छ । तीमध्ये ग्राक्योर फर्मास्युटिकल्स, बाल फर्मा, लार्क ल्याबोरेटरी, हिन्दुस्तान मेडिसिनलगायतका कम्पनीबाट उत्पादित औषधि नेपाली बजारमा समेत बिक्री हुँदै आएको छ । यसैगरी, फेसेनिउस कवी अंकोलोजी, अल्बर्ट डेबिडबाट उत्पादित औषधि पनि नेपाली बजारमा बिक्री हुँदै आएको छ । विशेषगरी, त्यस्ता औषधि ज्वरो, ग्यास्ट्रिक र अल्सरका बिरामीले प्रयोग गर्दै आएका छन् । नेपाल औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले भारतमा उत्पादित औषधि गुणस्तरहीन फेला परेमा फिर्ता गरिने बताए । उनले भने, ‘सेन्ट्रल ड्रग स्टयान्र्डर्ड एन्ड कन्ट्रोल अर्गनाइजेसनले सार्वजनिक गरेको प्रतिवेदनको आधारमा गुणस्तरहीन ३७ कम्पनीबाट उत्पादित औषधि बजारमा बिक्री भइरहेको पाइए हामी फिर्ता पठाउँछौं । र, अनुगमनलाई समेत तीव्रता पार्छौँ ।’ आजको राजधानी दैनिकमा समाचार छ ।