बन्द हुने अवस्थामा कान्ति बाल अस्पताल: ६ आइसियूसहित ४६ बेड कटौती

काठमाडौँ । देशकै एक मात्र केन्द्रीय बाल अस्पताल स्वास्थ्यकर्मी र बजेट अभावका कारण बन्द हुने अवस्थामा पुगेको छ । तीन सय १५ बेडको कान्ति बाल अस्पतालले पछिल्लो एक महिनामा ४६ बेड कटौती गरेको छ । कान्तिले आइसियू ६, इन्टरमिडियट (आइसियूमा लैजानुपूर्व बिरामी भर्ना गरिने बेड) १० र एक्स्ट्रा ३० गरी ४६ बेड कटौती गरेको हो । यसअघि ५२ बेडको केन्द्रीय आइसियूको अवधारणा भए पनि ३७ वटा आइसियू बेड सञ्चालनमा थिए । इन्टरमिडियट बेडको संख्या २० थियो । पुस ०७३ सम्म कान्तिको आइसियूमा १८ बेड थिए । बिरामीको चाप बढेपछि तत्कालीन स्वास्थ्यमन्त्री गगनकुमार थापाले २२ पुस ०७३ देखि आइसियूमा ३४ बेड थप गरेका थिए । यद्यपि अस्पतालले ५२ वटा आइसियू बेड सञ्चालन गर्न सकेन । जम्मा ३७ बेड मात्र सञ्चालित थियो । अस्पताल निर्देशक गणेश राईले डाक्टर, नर्स र बजेटको अभावले सेवा प्रवाहमा गम्भीर समस्या आएको बताए । ‘मेडिकल अफिसर र आइसियूमा नर्सको चरम अभाव छ । बेडसंख्या थप गर्नुपर्ने समयमा घटाउनुपरेको छ । यसै साता ६ वटा आईसियू बेड घटाएर ३१ मा झारिएको छ’ निर्देशक राईले भने, ‘हामीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पटकपटक सहयोगको अपिल गरेका छौं । तर सहयोग मिलेको छैन । यही अवस्था रहे अस्पतालका सबै सेवा चाँडै बन्द हुन्छ ।’ आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

खेर जान्छन् निःशुल्क औषधि, जनचेतना नहुँदा यस्तो हुन्छ

काठमाडौँ । महानगरपालिकाअन्तर्गतका सहरी स्वास्थ्य केन्द्रबारे जनचेतना नहुँदा निःशुल्क पाइने औषधि खेर जाने गरेका छन् । काठमाडौं महानगरपालिकाभित्र हाल २७ वटा सहरी स्वास्थ्य केन्द्र छन् जहाँ कम्तीमा ४४ र बढीमा १ सय थरि निःशुल्क औषधि र आधारभूत स्वास्थ्य उपचार सेवा पाइन्छ । निःशुल्क स्वास्थ्य सेवा पाइने यस्ता केन्द्रमा न्यून रूपमा मात्रै बिरामी छिर्ने गरेको स्वास्थ्यकर्मी बताउँछन् । ४४ थरी औषधि निःशुल्क औषधि उपलब्ध नयाँ बानेश्वरस्थित सामुदायिक सहरी स्वास्थ्य क्लिनिकमा मुस्लिकले दैनिक १२ बिरामी आउँछन् । क्लिनिकका जनस्वास्थ्य अधिकृत गौतमराज बज्राचार्यका अनुसार यहाँ क्षयरोगको नियमित औषधि सेवन गर्ने बिरामी मात्रै बढी आउँछन् । सिटामोल, एन्टिबायोटिक, परिवार नियोजनका सामग्रीबाहेक अन्य औषधि कम मात्रामा मात्रै उपयोग हुन्छ । उनी भन्छन्, ‘अहिले त प्रेसर सुगरका औषधि पनि निःशुल्क औषधिमा समेटिएका छन् । घरैपिच्छे यो रोगका बिरामी छन् भन्छन् । बाहिर महँगो तिरेर खान्छन्,यहाँ निःशुल्क पाइने औषधि ‘डेट एक्सपायर’ भएर खेर जान्छ ।’ गर्भवती जाँच, खोप, झाडापखाला र निमोनियालगायत आठ थरी स्वास्थ्य सेवा पाइने यस केन्द्रबारे जनचेतनाको कमी हुँदा प्रभावकारी हुन नसकेको महानगरको सहरी स्वास्थ्य तथा खाद्यपदार्थ महाशाखाका निर्देशक नरेन्द्र बज्राचार्यले बताए । उनले भने, ‘विशेषगरी मजदुर, सुकुम्बासी र गरिब मात्रै यहाँको सेवा दिन आउँछन्, तीमध्ये पनि धेरैलाई यसबारे थाहा छैन ।’ निजी अस्पतालमा महँगो पर्ने खोप पनि यहाँ निःशुल्क पाइने उनले बताए । २५ वर्षदेखि सञ्चालनमा आएका सहरी स्वास्थ्य केन्द्रप्रति सर्वसाधारणको आकर्षण बढ्न सकेको छैन । स्वास्थ्य नियमावली अनुसार १३७ थरी औषधि निःशुल्क पाइने भनिए तापनि सबै औषधि केन्द्रमा उपलब्ध छैनन् । भौतिक पूर्वाधारको कमीका कारण यस्ता केन्द्र वडा, कार्यालय, स्थानीय तहका सामुदायिक भवन र क्लबका साँघुरा कोठाबाट सञ्चालन हुँदै आइरहेका छन् । थोरै स्वास्थ्य केन्द्रमा मात्रै बेडसहितको सेवा छ । सबै केन्द्रमा आवश्यक अनमी, अहेब, जनस्वास्थ्य अधिकृतजस्ता कर्मचारी पनि पुग्दो मात्रामा छैनन् । वार्षिक ६ करोड ९० लाख बजेट छुट्याइने यस्ता स्वास्थ्य केन्द्रको प्रचारप्रसार हुनुपर्छ । प्रचारप्रसार हुन नसक्दा एकातिर बिरामीले निःशुल्क पाइने औषधि किनेर खाइरहेका छन् भने अर्कातिर खपत हुन नसक्दा औषधि खेर गइरहेका छन् । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

सिभिल क्यापिटल र ग्राण्डी हस्पिटलबीच स्वास्थ्य सेवा सम्बन्धी संझौता

काठमाडौँ । सिभिल क्यापिटल मार्केट लिमिटिड र ग्राण्डी इन्टरनेशनल हस्पिटलबीच स्वास्थ्य सेवा सम्बन्धी संझौता भएको छ । संझौतामा ग्राण्डी हस्पिटलका मार्केटिङ हेड दिनेश पौडेल र सिभिल क्यापिटल मार्केट लिमिटेडका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत शुसील महर्जनले हस्ताक्षर गरेका छन् । संझौतापछि सिभिल क्यापिटल मार्केट लिमिटिड मार्फत पूँजीबजारमा सहभागी ग्राहकहरुले अस्पतालले विशेष छुट पाउने छन् ।