सरकारले तोकेको निर्वाह भत्ता दिन निजी मेडिकल कलेज तयार
काठमाडौं । आवासीय चिकित्सकहरूलाई तोकिएको निर्वाह भत्ता दिन निजी मेडिकल कलेजका सञ्चालक तयार भएका छन् । सोमबार बस्ने भनेको चिकित्सा शिक्षा आयोगको १९ औं बैठक अघि नै मेडिकल व्यवसायीहरू भत्ता दिन तयार देखिएको जनाइएको छ । यो निर्णय अब केहीबेरमा बस्ने आयोगको बैठकले गर्ने छ । बिहान ११ बजे बस्ने भनिएको आयोगको बैठक भने अझै बस्न सकेको छैन । लगत्तै मन्त्रीपरिषद बैठक बस्नुपर्ने भएकाले बैठक बस्न नसकेको जनाइएको छ । यद्यपि निजी आवासीय चिकित्सकले सरकारले तोकेको ४८ हजार ७ सय ३७ रुपैँया पाउने भएका छन् । निर्वाह भत्तामा निजी मेडिकल कलेजहरू तयार भएपछि चिकित्सकहरूको संगठन एसोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेण्डल कलेज अफ नेपालका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीले आफूहरू सरकारी सरह निर्वाह भत्ता दिन तयार रहेको बताएका छन् । चिकित्सा शिक्षा आयोगको १६ औँ बैठकले निजी मेडिकल कलेजहरूले पनि सरकारी सरह आवासीय चिकित्सकलाई ४८ हजार ७३७ रुपैँया दिने निर्णय गरेको थियो । तर सो निर्णयको मेडिकल कलेजहरूले विरोध गरेका थिए ।
आन्दोलनरत चिकित्सकहरूका मागबारे छलफल गर्न चिकित्सा शिक्षा आयोगको बैठक बस्दै
काठमाडौं । आन्दोलनरत चिकित्सकहरूका मागबारे छलफल गर्न चिकित्सा शिक्षा आयोगको १९औँ बैठक आज बस्दै छ । आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बिहान ११ बजे सिंहदरबारमा बैठक बस्न लागेको हो । सरकारले निजी मेडिकल कलेजमा कार्यरत आवासीय चिकित्सकलाई सरकारी सरह ४८ हजार ७ सय ३७ रुपैयाँ निर्वाह भत्ता दिने निर्णय गरेको छ । तर चिकित्सकहरूले नपाएपछि चिकित्सक एक महिनादेखि आन्दोलनमा छन् । निजी मेडिकल सञ्चालकहरूले साढे दुई महिना बितिसक्दा पनि उक्त निर्णय कार्यान्वयन नगरेको भन्दै सरकारी अस्पतालका चिकित्सकहरूले ऐक्यबद्धता जनाउँदै आकस्मिक बाहेकका उपचार ठप्प पारेका छन् । निजी मेडिकल तथा डेन्टल कलेज सञ्चालकहरू स्रोत सुनिश्चित भएपछि मात्रै सरकारी सरह भत्ता दिन सकिने भन्दै आएका छन् । यसअघि वैशाख तीन गते बसेको १८ औँ बैठकले १० दिन भित्र निजी मेडिकल कलेजका लागि दिईदै आएको एमबीबीएस र बीडीएसको सिट संख्या तथा शुल्क संरचना पुनरावलोकन गर्न शिक्षा सचिव डा.दीपक काफ्लेको संयोजकत्वमा ११ सदस्यीय कार्यदल समेत गठन गरेको थियो । तीन पटकसम्म बैठक बस्दा पनि अधिकांश कार्यदल सदस्यले १६औं बैठकले गरेका निर्णय कार्यान्वयन नभएसम्म छलफल अगाडि नबढाउने अडान राख्दै आएका छन् । आवासीय चिकित्सकलाई निर्वाह भत्ता दिने हो भने एमबीबीएस, बीडीएसको सिट र शुल्क बढाउनुपर्ने निजी मेडिकल सञ्चालकको माग छ ।
भेरी अस्पतालमा आगलागीबाट ३ करोडको क्षति, ओपीडी सेवा स्थगित
काठमाडौं । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालको मेडिकल स्टोरमा आगलागी हुँदा करिब ३ करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ । आगलागीका कारण आइतबार र सोमबार आकस्मिक सेवाबाहेक अन्य सबै सेवा बन्द गरिएको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. निराजन सुवेदीका अनुसार शनिबार ओपीडी भवनमा रहेको मेडिकल स्टोरमा आगलागी भएपछि ओपीडी सेवा र ल्याब सेवा दुई दिनका लागि स्थगित गरिएको हो । विद्युत सर्ट भई भ्याक्सिन राख्ने फ्रिजबाट आगलागी शुरु भएको प्रारम्भिक अनुमान गरिएको छ । आगलागीबाट ओपीडी भवन, मेडिकल स्टोर र फार्मेसीमा ठूलो क्षति पुगेको डा. सुवेदीले जानकारी दिए । यद्यपि आगलागीको वास्तविक कारण र क्षतिको विस्तृत विवरण पत्ता लगाउन डा. डक्ट धितालको नेतृत्वमा पाँच सदस्यीय अनुसन्धान समिति गठन गरिएको छ । समितिलाई चाँडो प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ । आगलागी नेपालगञ्ज उपमहानगरपालिकाको दमकलको सहयोगमा नियन्त्रणमा लिइएको थियो । आगो निभाइसकेपछि बिल्डिङभित्र पानी र जलेका सामानहरू छरपस्ट रहेकाले दुई दिन आकस्मिक बाहेक अन्य सेवा बन्द गरिएको अस्पतालले जनाएको छ । 'अल्ट्रासाउन्ड र इमर्जेन्सी सेवा भने सुचारु रहेका छन्,' डा. सुवेदीले भने, 'तर ओपीडी सेवा र ल्याब सेवा आइतबार र सोमबार बन्द रहनेछ ।'