पुरानो मेडिकल कलेजमा न्यूरोसर्जरी सेवा पुनः सुरु
चितवन । चितवनको कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज) मा न्यूरो सर्जरी सेवा पुनः सुरु भएको छ । वरिष्ठ न्यूरो सर्जन प्रा. डा. आइप चेरियनको नेतृत्वमा वरिष्ठ न्यूरोसर्जन डा. बिपिन चौरसिया सहितको चिकित्सकको टोलीले अस्पतालमा न्यूरो सर्जरी सेवा दिने थालेको हो । डा. चौरसियाका अनुसार अस्पतालले २४ सै घण्टा आकस्मिक न्यूरो सर्जरी सेवा र बिहान ९ देखि बेलुका ५ बजेसम्म ओपीडी सेवा प्रदान गर्नेछ । विशेष गरी सवारी दुर्घटनाबाट हुने टाउको र मेरुदण्डको चोट (न्यूरो ट्रमा) जस्ता आकस्मिक केसहरूमा विशेष ध्यान दिइएको छ। 'हाम्रो टिम मस्तिष्कको ट्युमर,मस्तिस्क घात, ब्रेन एन्युरिजम, टाउकोमा पानी जम्ने, मेरुदण्डको ट्युमर, फ्र्याक्चर, ढाड दुख्ने, खुट्टा झमझम गर्ने र पक्षाघातजस्ता न्यूरोसम्बन्धी सम्पूर्ण समस्याको उपचार गर्न सक्षम छ,' डा. चौरसियाले भने । यो सेवाले चितवनवासीलाई काठमाडौं रिफर गर्नुपर्ने बाध्यता हटाउँदै गुणस्तरीय न्यूरोसर्जरी सेवा उपलब्ध गराउने प्रतिबद्धता अस्पातलले व्यक्त गरेको छ ।
सरकारी अस्पतालमा सेवा सुधार गर्न चिकित्सकलाई कडाइ, विवरण खुलाउन अनिवार्य
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिरामीहरूको उपचारमा संलग्न सबै सरकारी चिकित्सकहरूलाई कागजातमा आफ्ना सबै विवरण खुलाउन निर्देशन जारी गरेको छ । मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले सबै संघीय अस्पताल तथा प्रतिष्ठानहरुलाई पत्राचार गर्दै अस्पतालमा उपचारका लागि आउने बिरामीको आवश्यकताअनुसारको रेडियोलोजी, प्रयोगशाला र अन्य परीक्षणमा सिफारिस गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीको पूरा नाम, विशेषज्ञता, काउन्सिल दर्ता नम्बर तथा सहि छाप बिरामी रिपोर्टमा खुलाउन भनेको छ । निर्देशनले बिरामीको उपचार तथा फलोअपमा सहजता ल्याउने अपेक्षा गरिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए । साथै, यस व्यवस्थाले अनावश्यक परीक्षण रोक्न तथा परीक्षण सम्भव हुँदा हुँदै अस्पतालबाहिर हुने रेफरसमेत रोक्ने अपेक्षा गरिएको छ । हाल चिकित्सकीय विवरण पेस्क्रिप्सनमा पूरा नहुँदा बिरामीको उपचार तथा त्यसका क्रममा भएका खराबी पहिचानमा समेत समस्या परेको बताइन्छ । अब चिकित्सकीय विवरण अनिवार्य गरिंदा त्यसले चिकित्सकलाई थप जिम्मेवार र जवाफदेही बनाउन समेत मद्दत मिल्ने विश्वास गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालमा बिरामीहरुलाई प्रभावकारी सेवा दिनका लागि उपचारात्मक सेवा सुधारमा जोड दिंदै आइरहेका छन् । जारी निर्देशनले यसमा मद्दत पुग्ने अपेक्षा गरिएको उनको निजी सचिवालयले जनाएको छ ।
चितवनमा दोस्रो अन्तर्राष्ट्रिय सामुदायिक मानसिक स्वास्थ्य सम्मेलन हुँदै
काठमाडौं । चितवनमा आगामी वैशाख १८ देखि २० गतेसम्म दोस्रो अन्तर्राष्ट्रिय सामुदायिक मानसिक स्वास्थ्य सम्मेलन हुने भएको छ । सम्मेलन नेपाल इन्स्टिच्युट अफ मेण्टल हेल्थको आयोजनामा चितवन मेडिकल कलेजमा आयोजना हुँदैछ। सम्मेलनका संयोजक तथा अमेरिकास्थित हार्वर्ड मेडिकल स्कुलका सहप्राध्यापक मनोचिकित्सक डा. श्रीधर पौडेलले सम्मेलनको मुख्य उद्देश्य गाउँ–बस्तीका समुदायलाई मानसिक स्वास्थ्यप्रति सचेत गराउनु रहेको बताए । उनका अनुसार, 'मानसिक स्वास्थ्यको समस्याबाट प्रभावितमध्ये मात्र करिब १० प्रतिशतले मात्र उपचार पाउने गरेका छन्, र गाउँ क्षेत्रमा भने झन् उपचार पहुँच अत्यन्त न्यून छ । त्यसैले सम्मेलन ग्रामीण केन्द्रित बनाइएको हो ।' सम्मेलनमा एक सयभन्दा बढी कार्यपत्र प्रस्तुत गरिनेछ भने मानसिक स्वास्थ्यसम्बन्धी घोषणापत्र पनि जारी गरिने आयोजकले जानकारी दिएको छ। यसअघि पहिलो सम्मेलन कर्णाली प्रदेशको जुम्लामा आयोजना गरिएको थियो । डा. पौडेलका अनुसार मानसिक स्वास्थ्यमा समान पहुँच र सेवा सुनिश्चितता आवश्यक भएकाले यस प्रकारका सम्मेलन नीति निर्माणदेखि जनचेतनामूलक पहलसम्मका लागि उपयोगी हुने विश्वास लिइएको छ ।