खुशीकाे खबरः अब घरघरमै वृद्धवृद्धाकाे स्वास्थ्य जाँच

तानसेन । पाल्पा पूर्वखोलामा घरघरमै स्वास्थ्यकर्मी आएर आफूहरुको स्वास्थ्य जाँच गरिदिँदा ज्येष्ठ नागरिक दङ्ग छन् । हिँडेर स्वास्थ्य केन्द्रसम्म पुग्न नसक्ने वृद्धवृद्धालाई औषधि गरिदिन घरमै स्वास्थ्यकर्मी आउँछन् । पूर्वखोलामा दैनिक बिरामी जाँचको सुविधा घरमै छ । पूर्वखोलाका ९० वर्षीय डिल्लीसरा आलेले हिँडेर स्वास्थ्यचौकी पुग्ने अवस्था नहुँदा डाक्टर घरमै आएर जाँच गर्दा निकै खुशी लागेको बताए । ‘आफ्ना छोराछोरीले झैँ घरमै आएर स्वास्थ्य अवस्था बुझ्ने र औषधि दिने गरेको देख्दा अचम्म लाग्छ”, आलेले भने, ‘गाउँमै सिंहदरबार आउँछ भन्थे, हो रैछ । योभन्दा राम्रो खबर के हुन्छ र ?’ वृद्ध र शारीरिक हिसाबले कमजोर नागरिकलाई स्वास्थ्य जाँच तथा उपचारका निम्ति रिङ्नेरह स्वास्थ्यचौकीका कर्मचारी घरघरमै पुग्ने गरेको गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले जानकारी दिए । उनले प्रदेश नम्बर ५ सरकारको समन्वयमा गाउँपालिकाभरिका ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिने अभियान नै रहेको जानकारी दिएका छन् । पूर्वखोला–२ जल्पाका ८९ वर्षीय खडानन्द अधिकारी पनि घरमा स्वास्थ्यकर्मी आएर उपचार गर्छन् भन्ने कहिल्यै नसोचेको बताए । उनले घरमै आएर स्वास्थ्य परीक्षण गरेर औषधि पाउँदा बूढेसकालमा हिँडेर स्वास्थ्य केन्द्र धाउन नपरेकामा खुशी व्यक्त गरे । चौरासी वर्षका नागरिकलाई घरघरमै पुगेर रक्तचाप, ग्याष्ट्रिकलगायत रोगको परीक्षण गरी खानपान, स्याहारसुसार र बसाइका सन्दर्भमा परामर्शसमेत दिने गरिएको रिङ्नेरह स्वास्थ्यचौकीका प्रमुख श्रीराज आचार्यले बताए । ज्येष्ठ नागरिकलाई स्वास्थ्य जाँचसँगै आवश्यकतानुसार निःशुल्क औषधिसमेत प्रदान गरिएको पूर्वखोला गाउँपालिका, स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले जानकारी दिए । प्रदेश सरकारले ८४ वर्ष उमेरमाथिका नागरिकको उपचारमा समन्वय गरेको र गाउँपालिकाको पनि छुट्टै ८० वर्षमाथिका नागरिकको परीक्षण अभियान जारी रहेको गाउँपालिकाले जनाएको छ । पालिकाका छवटै वडामा पोषणका निम्ति हर्लिक्सलगायत गाउँपालिकाले दिन मिल्ने खालका औषधि वितरण तथा ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्थाबारेमा अभिलेख राख्ने कार्यक्रम भइरहेका छन् । गाउँपालिकाले नागरिक स्वास्थ्य परीक्षणसँगै अनिवार्य स्वास्थ्य संस्थामै सुत्केरी हुनुपर्ने व्यवस्था, गर्भवतीलाई अण्डा वितरण, सुत्केरीलाई जाउलो र जुवानोको झोल खुवाउने अभियान, स्वास्थ्य संस्थामै सुत्केरी हुनेका निम्ति नेपाल सरकारले दिनेबाहेक गाउँपालिकाबाट रु ३०० देखि ६०० प्रदान, सुत्केरीलाई अनिवार्य बेलाबेला घरमै पुगेर स्वास्थ्य परीक्षणलगायत काम गर्दै आएको पूर्वखोला १ का वडाध्यक्ष भोगबहादुर थापाले जानकारी दिनुभयो । गाउँपालिकामा अहिले ८० वर्षमाथिका करिब २५० को हाराहारीमा ज्येष्ठ नागरिक रहेको गाउँपालिकाको तथ्याङ्क छ ।रासस

कोरोना भाईरसका कारण चिनियाँ पर्यटकको संख्या घट्यो, भ्रमण वर्षलाई धक्का

काठमाडौं । कोरोना भाईरसका कारण नेपालमा चिनियाँ पर्यटकको संख्या घटेको छ । एक महिनायता चीनमा देखिएको नोबल कोरोना भाईरसले नेपालमा मात्र नभएर विश्वभरको पर्यटन क्षेत्रलाई असर गरेको हो । नेपाल नोबल कोरोना भाईरसबाट सुरक्षित भएको तर चीनमा र अन्य देशहरुमा फैलिएको त्रासले भ्रमण वर्षलाई असर गरेको हाेटल एसाेसिएसन नेपाल (हान) का अध्यक्ष सृजना राणाले बताईन् । चिनियाँ नयाँ वर्षमा ठूलो संख्यामा चिनिया पर्यटकहरु नेपालमा आउने गरेका छन् । तर, कोरोना भाईरसको कारण हाल नेपालका होटलहरु सुनसान रहेका नेपाल पर्यटन वर्ष २०२० का संयोजक सुरज वैधले बताए । यसले होटल व्यवसायलाई मात्र नभएर ट्याक्सी ड्राईभर, हस्तकला व्यवसायी, कृषकलगायत सबैलाई असर परेको उनकाे भनाइ छ । होटल व्यवसायीहरु चिनियाँ नयाँ वर्ष भनेपछि एकदमै एक्साईटेड हुने गरेकाे भएपनि यस वर्ष त्यस्तो नरहेकाे, धेरै बुकिङहरु रद्ध भईरहेको अध्यक्ष राणाकाे भनाइ। बुकिङ रद्द हुदाँ कति घाटा भयाे भन्ने अहिले नै यकिन नभएकाे उनकाे भनाइ । नोबल कोरोना भाईरसको त्रासलाई मध्यनजर गर्दै होटल संघ नेपालले आफ्ना सदस्य होटललाई कुनै पनि पाहुनामा भाईरसको संकेत देखिने बित्तिकै अस्पताल लैजानलाई पुर्वतयारी गर्न आग्रह गरेको छ । नोबल कोरोना भाईरसको कारण मंगलबारसम्म ४ सय २५ जनाको मृत्यु भईसकेको छ भने २० हजार भन्दा बढि जनामा संक्रमण भएको भेटिएको छ ।

पुरुषहरुमा देखिने प्रोष्टेट क्यान्सरको यस्ता छन् रोकथाम तथा आहार

काठमाडौं । प्रोष्टेट क्यान्सर विभिन्न क्यान्सर मध्ये दोश्रो उच्च जोखिम रहेको पाइएको छ । अमेरिकमा प्रत्येक नौ जना व्यक्ति मध्ये एक जना यस रोगको पिडित रहेको पाइएको अनुसन्धानले देखाएको छ । नेपालमा पनि दिनप्रतिदिन प्रोष्टेट क्यान्सरको संक्रमण बढ्दै गइरहेको छ । अहिले नेपालमा ७० देखि ७४ वर्षको जेष्ठ नागरिकहरुमा, पुरुष हरुमा ५९ देखि ६५ वर्ष को व्यक्तिमा समेत प्रोष्टेटको क्यान्सर भएको देखिएको छ । प्रोष्टेट क्यान्सर पुरुषहरुमा देखिने प्रमुख रोगहरु मध्ये एक हो । अव्यवस्थित रहनसहन, खानपान ,जीवनशैली, कम शारिरीक परिश्रम तथा उचित पोषणको कमीले गर्दा यो रोग लाग्ने गरेको पाइएको छ । धुम्रपान, मद्यपान, धेरै अरामदायी जीवन, बाहिरको खानाको अत्याधिक प्रयोग, बट्टा बन्द गरिएका खाना, जंकफुड तथा मैदाजन्य खानाको उपयोगले पनि प्रोष्टेटको समस्यालाई बढाउने गर्दछ । उचित मात्रामा स्वस्थकर र पोषिलो खानपान, शारिरीक व्यायाम, सन्तुलित भोजन, सकारात्मक सोचले यसको रोकथाम गर्न सकिन्छ । । के खाने ? रातो फलफूल तथा तरकारीः अमेरिकन इन्टिच्युट अफ क्यान्सर रिसर्चले हालसालै गरेको अनुसन्धान अनुसार रातो फलफूल तथा तरकारी जस्तै गोलभेडा, खरवुजा तथा रातो प्रकारका खाद्य पदार्थ जसमा रोग प्रतिरोधात्मक तत्व रहने भएकोले प्रोष्टेटको क्यान्सरको उच्च जोखिमलाई कम पुष्टि गरेको छ । फलफूल तथा हरियो सागपात र तरकारीहरुः हरियो सागपात तथा फलफूल रोगसँग लड्ने क्षमताले भरिपूर्ण गुणले प्रोष्टेट क्यान्सर हुनबाट जोगाउन मद्दत गर्दछ । फलफूलमा भएको यौगिक गुणले क्यान्सरसँग लड्ने क्षमता वृद्धि गर्दछ । यसमा रहेका यौगिक गुणले प्रोस्टेट क्यान्सरको प्रतिरक्षा गर्दछ । ब्रोकाउली, काउली, बन्दा ,सलगम यिनीहरूमा सल्फोराफाइन नामको रसायन हुन्छन् , जुन प्रोष्टेट क्यान्सर हुन बाट जोगाउने गर्दछन् । माछा तथा ओमेगा थ्रीः ओमेगा थ्री फ्याटी एसिडले प्रोष्टेट क्यान्सरको विरुद्धमा मूख्य भूमिका निर्वाह गरेको पाइएको छ । यो वनस्पती तथा जनावर दुवै प्रकारका पदार्थमा र विशेषगरी माछामा पाइन्छ । आलस, ओखर, वदाम तीलमा पनि ओमेगा थ्री पाइन्छ । यी खाद्य पदार्थको प्रयोगले पनि प्रोष्टेट क्यान्सरको जोखिमलाई न्युनीकरण गर्दछ । फोलिट एसिडयुक्त खानाः अमेरिकन क्यानसर समाजले सन् १९९० मा गरेको एक अनुसन्धानले शरीरमा फोलिट एसिडको कमी भएमा प्रोष्टेट क्याक्सरको खतरा बढी हुने देखाएको थियो । गेडागुडी, दालहरु, हरियो सागपात, ओट्समा फोलिट पाइने भएकोले यस्ता खानेकुराहरु खाने गर्नु पर्दछ । सोयाविन, तोफुमा पनि प्रोष्टेट क्यान्सरको जोखिम घटाउन तत्व रहेको हुन्छ । ग्रिन टी को सेवनः अन्य चिया, कफीको सट्टा ग्रीनटीको सेवन स्वस्थकर हुन्छ, सन् २०१४ मा गरिएको एउटा अध्ययनले ग्रिनटीको सेवन प्रोष्टेटको क्यान्सर न्युनीकरण गर्न सफल भएको देखाएको थियो । फलफूल तथा यसबाट बनेको कैन्डी ताजा तरकारी तथा यसबाट प्रशोधित पदार्थ । बदाम तथा बिउहरु । गोलभेडाः गोलभेडा, रातो फलफूल तरकारीमा लाइकोपेन नामको एनटी ओक्सिडेनट हुन्छ , जुन क्यान्सरसँग लड्न मद्दत गर्दछन् । त्यस्तै अनार, रातो भेन्डे खुर्सानी , अंगुर आदिको सेवन गर्नुपर्छ । टोफूः २०१८ मा गरिएको एउटा अनुसन्धानबाट टोफूको प्रयोगले यसको जोखिम कम भएको पुष्टि गरिएको थियो । सोयाबिनमा भएको आइसोफ्लाबिन तत्व जुन वनस्पतिजन्य योगिक तत्व फाइटोकेमिकल हुन्छ , त्यस्तै सिमि, मटरकोसा, रातो दाल, आदिको सेवन राम्रो मानिन्छ । के नखाने ? अत्याधिक तापक्रममा पकाएको मासुः मासु यसै पनि प्रोष्टेटको क्यान्सरको खतरा बढाउने खाना हो, त्यसमा पनि अत्याधिक तापक्रममा पकाइएको मासुले यसको जोखिम अझै बढाउँछ । जनावरबाट प्राप्त चिल्लो पदार्थः सन् २०१४ मा गरिएको एक अध्ययनले जनावरबाट उत्पादन गरिएको चिल्लो पदार्थको अत्याधिक प्रयोगले प्रोष्टेट क्यान्सरको उच्च जोखिम रहेको देखाएको छ । चिज, बटर, नौनी, रातो बोसोयक्त मासुको प्रयोग सकेसम्म कम गर्नु उपयुक्त हुन्छ । दुग्ध पदार्थः दुग्ध पदार्थको अत्याधिक प्रयोग पनि प्रोष्टेटको क्यान्सरको कारक बन्न सक्छ । चुरोट, विडी, खैनी आदिः धुम्रपानले धेरै रोगहरु निम्त्याउँछ । छाती तथा फोक्सोको रोगको साथै प्रोष्टेटको समस्या समेत चुरोट, विडी, खैनी जस्ता बस्तुको सेवनले बढाउने भएकोले यस्ता बस्तुको सेवन गर्नु हुदैन । धेरै मोटोपना तथा धेरै कम तौल हुनु पनि प्रोष्टेटको समस्याको आधार हुन सक्दछन् । त्यसैले आफ्नो तौल नियन्त्रणमा राख्नु पर्दछ । सहि तथा सन्तुलित, भोजन आदिको सेननले तन्दुरुस्त व्यक्तिलाई प्रोष्टेट तथा अन्य रोगहरुको समेत कम जोखिम हुने हुनाले शारिरीक व्यायाम तथा सन्तुलित आहारको प्रयोग गर्नु पर्दछ । पौडी खेल्नु, योग गर्नु, फटाफट हिंड्नु, दौडनु, साइकल चलाउनु, डोरी खेल्नु तन्दुरुस्त हुने सरल उपायहरु हुन्, यी उपायहरु अपनाएर प्रोष्टेट तथा अन्य रोगहरुबाट आाफूलाई बचाउन सकिन्छ । धेरै तारेको , फ्राइ, प्यााकेजको सामान, मैदाको खानेकुरा , अत्याधिक चिल्लो पदार्थको उपभोग राम्रो मानिदैन। सकरात्मक सोचाइ , सक्रिय जीवनशैली , समयमा सुत्ने , उठ्ने , एउटा सरल बानी आदिको संयोजनमा रोगहरुबाट बच्न सकिन्छ ।