सुपथ मूल्यका औषधी सरकारी स्वास्थ्य संस्थामा बिक्री सहजीकरणका लागि स्वास्थ्य मन्त्री पौडेलको पहल

काठमाडौं । नेपाल औषधी लिमिटेडद्वारा उत्पादित सुपथ मूल्यका औषधी सरकारी स्वास्थ्य संस्थामा उपलब्ध गराउनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सहजीकरण पहल थालेका छन् ।  लिमिटेडद्वारा उत्पादित सिटामोल, जीवनजल लगायतका औषधी बिक्री नभएको गुनासो पछि मन्त्री पौडेलले सरकारी नियमअनुसार नै तीनै तहका सरकारी स्वास्थ्य संस्थामा ती औषधी बिक्री सहजीकरणका लागि चाल्न सकिने कदमबारे वाणिज्य तथा आपूर्ति मन्त्रालय र लिमिटेडका अधिकारीहरुसँग छलफल गरेका हुन् ।  ‘आम नागरिकलाई सुपथ मूल्यमा उपलब्ध हुने औषधी प्राप्तिको निरन्तरताका लागि पनि लिमिटेडका उत्पादन निरन्तर हुनु जरुरी छ,’ मन्त्री पौडेलले भने, ‘विश्व स्वास्थ्य संगठनमार्फत गुणस्तर प्रमाणित गर्न पनि हामीले सहयोग गरेका छौं । उत्पादन सरकारी संस्थामा पुर्याउनका लागि के कसरी सहजीकरण गर्न सकिन्छ हामी तयार छौं ।’ मन्त्री पौडेलले सरकारी स्वास्थ्य संस्थामा अनिवार्य उपलब्ध हुनुपर्ने ९८ प्रकारका औषधीका लागि समेत उद्योगबाट खरिद गर्न सकिने विकल्पका लागि गृहकार्य अघि बढाउने बताए ।  मन्त्रालयमा सम्पन्न बैठकपछि लिमिटेडका उत्पादन तीनै तहका सरकारी स्वास्थ्य संस्थामा प्राप्ति गर्ने वातावरण मिलाउन सहजीकरणका लागि भन्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिवको नेतृत्वमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, अर्थ मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, लिमिटेडलगायतका अधिकारी रहने गरी समिति गठन भएको छ ।  बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटा, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउत, नेपाल औषधी लिमिटेडका अध्यक्ष यज्ञप्रसाद न्यौपाने,महाप्रबन्धक कैलाशकुमार पनेरु समेत सहभागी थिए ।  समितिको सुझावका आधारमा आवश्यक निर्णय गरेर अघि बढिने मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए ।   

अमेरिकी बिरामीलाई राहत : औषधिको मूल्य घटाउन ट्रम्पको आदेश

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रिस्क्रिप्शन औषधिको मूल्य घटाउने उद्देश्यले सोमवार कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । उक्त आदेशअनुसार औषधि कम्पनीहरूले अब अन्य विकसित राष्ट्रहरूले तिर्ने औषधिको मूल्यको आधारमा अमेरिका भित्रका औषधिको मूल्य निर्धारण गर्नुपर्नेछ । आदेशले अमेरिकी प्रशासनलाई औषधि उत्पादकहरूलाई मूल्य लक्ष्यहरू स्पष्ट रूपमा सूचित गर्न निर्देशन दिएको छ । ताकि विश्वकै सबैभन्दा ठूलो औषधि खरिदकर्ता अमेरिकाले उचित मूल्यमा औषधि प्राप्त गर्न सकोस् । स्वास्थ्य तथा मानव सेवा सचिव रोबर्ट एफ। केनेडी जूनियरले यस्तो संयन्त्रको स्थापना गर्ने तयारीमा छन्, जसअनुसार अमेरिकी उपभोक्ताहरूले विचौलियाको भूमिका हटाएर मनपर्ने–राष्ट्र मूल्यमा सिधा औषधि उत्पादकहरूबाट औषधि खरीद गर्न सक्नेछन् । राष्ट्रपति ट्रम्पले औषधि कम्पनीहरूलाई चेतावनी दिँदै भनेका छन्, 'यदि अमेरिकी मूल्य अन्य विकसित देशहरूले तिर्ने स्तरसम्म घटाइएन भने, तिनीहरूले कडा अनुसन्धानको सामना गर्नुपर्नेछ ।' हालैको तथ्याङ्कअनुसार, अमेरिकामा ब्रान्ड–नाम औषधिका लागि तिर्ने मूल्य अन्य ओईसीडी देशहरूको तुलनामा तीन गुणासम्म बढी रहेको छ । संयुक्त राज्य अमेरिका विश्व जनसंख्याको पाँच प्रतिशतभन्दा कम जनसंख्या भएको देश भए पनि हालको आदेशमा उल्लेख भएअनुसार विश्वव्यापी औषधि नाफाको करिब ७५ प्रतिशत हिस्सा अमेरिकाबाट नै संकलित हुन्छ ।

आईएमई लाइफका बीमित, अभिकर्ता र कर्मचारीलाई ह्याम्स अस्पतालमा उपचारमा १० प्रतिशत छुट

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र ह्याम्स अस्पताल लिमिटेडबीचको समझदारी भएकाे छ । समझदारीअनुसार अब आईएमई लाइफका बीमित, अभिकर्ता तथा कर्मचारीहरूले ह्याम्स अस्पतालमा उपचार सेवामा १० प्रतिशत र औषधि खरिदमा ५ प्रतिशत छुट पाउने भएका छन् । सम्झौताअनुसार बीमितहरूले कम्पनीको मोबाइल एपमा रहेको बीमालेख देखाएर, र अभिकर्ता तथा कर्मचारीहरूले आधिकारिक परिचयपत्र पेस गरी छुट सुविधा लिन सक्नेछन् । कम्पनीले यो सहकार्यले व्यावसायिक सम्बन्धमा प्रभावकारिता ल्याउने विश्वास लिएको छ भने बीमित, अभिकर्ता तथा कर्मचारीहरूलाई स्वास्थ्य सेवामा निरन्तर लाभ पुर्‍याउने अपेक्षा गरिएको छ । भविष्यमा सेवा झन् प्रभावकारी बनाउने उद्देश्यले कम्पनीले प्रिभिलेज कार्ड पनि ल्याउने योजना बनाएको छ ।