नेपालमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र पत्रकारलाई पनि देखियो कोरोना

काठमाडौं । नेपालमा कोरोना संक्रमितहरुको संख्या दिनप्रतिदिन बढ्दै गएका छ । कोरोनाको संक्रमणमा जोखिम मोलेर काम गर्ने अर्थात फ्रन्ट लाइनमा रहेकाहरुलाई पनि कोरोना संक्रमण देखिएको छ । नेपालमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र पत्रकारमा पनि कोरोना पोजेटिभ देखिएको छ । हिजो मात्र एक जना र आज एक जनामा गरी दुई जना स्वास्थकर्मी कोरोना देखिएको छ । यस्तै, आज मात्रै नेता भीम रावलका अंग रक्षकलाई कोरोना देखिएको बताइएको छ भने हिजो मात्रै दुई जना पत्रकारमा पनि कोरोना देखिएको थियो ।

प्रदेश नं २ मा सिरहाबाहेक सबै जिल्लामा सङ्क्रमण पुष्टि

महोत्तरी । प्रदेश नं २ मा एकै दिन ६२ जनामा कोभिड–१९ सङ्क्रमणको पुष्टि भएको छ । पर्सामा ५७, महोत्तरी र धनुषामा दुई/दुई र बाराका एक जना मङ्गलबार सङ्क्रमण पुष्टि भएपछि प्रदेशभरिमा सङ्क्रमितको सङ्ख्या ९४ पुगेको छ । कूल सङ्क्रमितमा अब तीन भारतीयसहित पर्सामा मात्रै ८२ सङ्क्रमित पुगेका छन् । त्यसैगरी बारा र रौतहटमा तीन÷तीन, महोत्तरी र धनुषामा दुई/दुई र सर्लाही र सप्तरीमा एक/एक जनामा सङ्क्रमण पुष्टि भएको प्रदेश नं २ स्वास्थ्य निर्देशनालय जनकपुरधामले जनाएको हो । प्रदेशका आठ जिल्लामध्ये अब सिरहामा भने अहिलेसम्मको जाँचमा सङ्क्रमण देखिएको छैन । कोभिड–१९ रोकथाम अभियानअन्तर्गत प्रदेश नं २ मा मङ्लबार मात्र २११ जनाको पिसिआर जाँचका लागि स्वाब सङ्कलन गरिएको छ । प्रदेशमा जम्मा मङ्गलबारसम्म तीन हजार ९३६ जनाको स्वाब सङ्कलन भएको निर्देशनालयका वरिष्ठ स्वास्थ्य अधिकृत विजयकुमार झाले जानकारी दिए । प्रदेशको पर्सा जिल्लामा सङ्क्रमण बढ्दै गएपछि त्यहाँ स्वाब सङ्कलन सघन बनाइएको छ । त्यसैगरी सङ्क्रमित धेरै पुष्टि भएका उदयपुरसँग सीमा जोडिएका सप्तरी र सिरहामा पनि अभियानकै रूपमा स्वाब सङ्कलन भइरहेको वरिष्ठ स्वास्थ्य अधिकृत झाले बताए । अन्य जिल्लामा पनि दक्ष स्वास्थ्यकर्मीले स्वाब सङ्कलन गरिरहेका निर्देशनालयले जनाएको छ । प्रदेशमा हालसम्म स्वाब सङ्कलन गरिएका २ हजार ९ सय ३६ मध्ये २ हजार ७ सय ५० जनाको नतिजा प्राप्त भएको छ । जसमा ९४ जनाको पोजेटिभ र २ हजार ६ सय ५६ जनाको नेगेटिभ आएको छ । स्वाब लिइएकामध्ये १ हजार १ सय ८६ को नतिजा आज साँझसम्म प्राप्त हुने झाको भनाइ छ । पछिल्लोपटक ह्वात्तै सङ्क्रमित बढेपछि यहाँका अस्पतालमा सङ्क्रमितको उपचारका श्ययाको अभाव खट्किँदैछ । जनकपुरको प्रादेशिक अस्पतालमा ४२ र नारायणीमा यस्ता बिरामी ५० जना राख्न सकिने श्यया छन् । पर्साको पोखरियामा थप आठ श्ययाको व्यवस्था छ । पर्सामा मात्रै ८२ सङ्क्रमित भएपछि श्यया अभाव भएकाे हो । महोत्तरीको जलेश्वर अस्पताल र बाराको कलैया अस्पतालमा उपचारका लागि थप श्यया व्यवस्था गर्न लागिएको झाले बताए । सङ्क्रमितमध्ये निको भएर घर फर्केका तीन भारतीय र एक रौतहटका व्यक्तिमा स्वास्थ्य समस्या बल्झिएपछि फेरि अस्पतालमा ल्याइएको छ । प्रदेशको जनकपुरस्थित प्रादेशिक अस्पताल र वीरगञ्जस्थित नारायणी अस्पतालमा स्वाब परीक्षण र सङ्क्रमितको उपचार गरिने व्यवस्था छ । प्रदेशभरिका १ सय ७९ क्वारेन्टाइन केन्द्रमा १ हजार ४ सय ६८ जना र स्वास्थ्यकर्मीको प्रत्यक्ष रेखदेख हुने गरी घरमै क्वारेन्टाइनमा रहनेको सङ्ख्या ४ हजार ५ सय २२ रहेको निर्देशनालयले जनाएको छ । रासस

काेराेना संक्रमण भएका रावलका सुरक्षाकर्मी एक महिनादेखि घरमै, कसरी लाग्याे काेराेना ?

काठमाडाैं । नेकपाका नेता डा. भीम रावलको सुरक्षामा खटिएका शसस्त्रका जवान एक महिनादेखि नै घरमै रहेको बुझिएको छ । रावलकाे  निजी सचिवालयका अनुसार उनी एक महिनादेखि बिदामा बसेकाे छन् । उनी एक महिना अगाडिदेखि लामो समयदेखि घरमा श्रीमती बिरामी भएको कारणले घर बिदामा बसको उनकाे  निजी सचिवालयले जानकारी  दिएकाे छ । उनी करिब एक महिनादेखि श्रीमतीको उपचारमा रहेको बताइएको छ । उनी हाल रावलको सुरक्षामा नरहेको पनि स्पष्ट पारिएकाे छ । उनी घरमै हुँदाखेरि नै संक्रमण भएकाे बुझिएकाे  छ। उनी घरमै बसेर कहाँ गएका थिए त्याे भने खुलाइएकाे छैन । संघीय संसदले कोरोना परिक्षण गर्दा सम्पूर्ण सांसदहरूमा कोरोना नरहेको रिपोर्ट दिएको छ । डा. रावल र हाल उनको सुरक्षामा रहेका कसैलाई पनि कोरोना नरहेको स्पष्ट पारिएको छ ।