थप २४ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । नेपालमा थप २४ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप २४ जनामा कोरोना पुष्टि भएको जनाएकाे हाे । मन्त्रालयले बुधबार साँझ दिएको जानकारी अनुसार रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीमा कोरोना संक्रमित भेटिएका हुन् । नयाँ संक्रमित २४ जनामध्ये रुपन्देहीका १२, कपिलवस्तुका ८, पर्साका ३ र नवलपरासीका १ जना रहेका छन् । रुपन्देहीमा २२, २२, २५, २८, ३०, ३२, ३२, ३३, र ४१ वर्षका पुरुष तथा ४, १० र २८ वर्षका महिलामा संक्रमण भएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए । त्यस्तै कपिलवस्तुमा २२, २९, ३२, ४०, ४०, ४०, ४२ र ४२ वर्षका पुरुषमा पनि कोरोना संक्रमण भएको छ । पर्सामा ३६ र ७४ वर्षका पुरुष र ३६ वर्षकी महिलामा संक्रमण पुष्टि भएको छ । नवलपरासीमा ३६ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४३ पुगेको छ ।
यी हुन् नेपालमा धेरैमा कोरोनाभाइरसको लक्षण नदेखिनुको कारण
काठमाडाैं । नेपालमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या दुई सय नाघेपछि चिन्ता र त्रास बढेको पाइन्छ। तर अहिलेसम्म कसैको मृत्यु भएको छैन। अधिकांश सङ्क्रमितहरूमा लक्षण पनि नदेखिएको खबर आउने गरेका छन्। नेपालमा सङ्क्रमितलाई भाइरसको लक्षण नदेखिनुको कारणबारे कतिपयले अनौठो मानिरहेको पाइन्छ। कोभिड-१९ को निम्ति विश्व स्वास्थ्य सङ्गठनले बनाएको जिनिभास्थित विज्ञसमूहमा आवद्ध प्राध्यापक डा. प्रकाश घिमिरेका अनुसार यो नयाँ भाइरस हो र यसका लक्षणहरू दिनप्रतिदिन परिवर्तन हुनसक्छन्। नेपालमा अहिलेसम्म गरिएको परीक्षण धेरै नै कम भएको र अहिलेसम्म गम्भीर लक्षण भएर अस्पताल पुगेका भन्दा पनि सम्भावित सङ्क्रमितको सम्पर्कमा पुगेका व्यक्तिकै परीक्षण गरिएको बताइएको छ। ‘आफूलाई बलियो नठानौँ’ राष्ट्रिय शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका विशेषज्ञ डा. अनुप बास्तोलाको धारणा पनि मिल्दोजुल्दो छ। उनका अनुसार अहिलेसम्म अधिकांश अन्य देशबाट फर्किएका युवामा सङ्क्रमण देखिएको छ। सुरुमै सक्रिय निगरानी गरिएका देशमा समुदायमा फैलिन पाएको छैन। जहाँ एक्कासी प्रकोप देखियो त्यहाँ दीर्घरोगी र वृद्धवृद्धमा सरिसकेको देखिन्छ। तर नेपालमा बाहिरबाट आएका मानिसहरूलाई क्वारन्टीन हुँदै आइशोलेसनमा राखिएकाले समुदायमा सर्न नपाएको उनको ठम्याइ छ। प्राध्यापक घिमिरे भन्छन्, “ठूलो सङ्ख्यामा लक्षण नदेखिएको भए अनुसन्धानको विषय हुनसक्थ्यो। त्यसैले अहिले नै हामी बलिया छौँ भन्ने भएन। “लक्षण आएन, हामी फरक छौँ भन्नु वैज्ञानिक रूपमा उपयुक्त हो जस्तो लाग्दैन।” अहिलेसम्म सङ्क्रमण पुष्टि भएका २१९ जनाकै भरमा तीन करोड जनसङ्ख्यालाई केही हुँदैन भनेर भन्न नसकिने उनको भनाइ छ। ‘गम्भीर लक्षण देखिन सक्छ’ कतिपय सङ्क्रमितले आफूलाई कुनै लक्षण नदेखिएको भन्दै पुन: परीक्षणको हुनुपर्ने माग गरेको पाइन्छ। तर डा. बास्तोला पीसीआर विधिको परीक्षणले कोभिड-१९ कै भाइरस पहिचान गर्छ। उनी भन्छन्, “भोलि समुदायमा फैलिएर दीर्घरोगी र वृद्धवृद्धमा सरेमा निमोनिया वा जटिल खालको लक्षण देखिन सक्ने सम्भावना रहन्छ।” कतिपय सङ्क्रमित त लक्षण नदेखिएरै वा कुनै औषधी नखाएरै अस्पतालबाट निको भएर फर्किएको बताइन्छ। प्राध्यापक घिमिरेका अनुसार यो नयाँ भाइरस हो र यसका लक्षणहरू दिन प्रतिदिन परिवर्तन हुनसक्छन्। अहिलेसम्मको प्रमाण अनुसार करिब ८० प्रतिशतमा लक्षण देखिँदैन। चिकित्सकको परामर्श आवश्यक हुने बाँकी बिरामीमध्ये पाँच प्रतिशतलाई स्वासप्रश्वाससम्बन्धी सहायता यन्त्रको खाँचो पर्न सक्छ। बीबीसी नेपाली
शौचालयको झ्याल तोडेर भागेका थिए वीरगञ्जमा दुई जना सङ्क्रमित
काठमाठाैं । वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत दुई जना कोरोनाभाइरस सङ्क्रमित व्यक्तिहरू शौचालयको झ्याल फोडेर भागेका अस्पतालले बताएकाे छ । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट मदनकुमार उपाध्यायका अनुसार हिजो सङ्क्रमण देखिएपछि उनीहरूलाई उपचारका लागि त्यहाँ ल्याइएको थियो। पर्सा जिल्लामा कुल सङ्क्रमितको सङ्ख्या ८२ रहेको छ। तीमध्ये केहीको हालसम्म पनि उपचारको प्रबन्ध हुन नसकेको बताइएको छ।