विश्वभर कोरोना संक्रमितको १ करोड ३० लाख नाघ्यो

काठमाडौं । विश्वभर कोरोना भाइरसबाट १ करोड ३० लाख २७ हजार ८ सयभन्दा बढीमा संक्रमण पुष्टि भइसकेको छ । नेपाली समयअनुसार सोमबार विहान साढे ६ बजेसम्म संसारभरीका ५ लाख ७१ हजार ७६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कोरोनाको उपचार पछि ७५ लाख ७५ हजारभन्दा बढी मानिस निको भएका छन् । सबैभन्दा बढी अमेरिकामा ३४ लाख १३ हजार ९ सयभन्दा बढी कोरोना संक्रमित छन् । संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ३७ हजार ७ सय ८२ जनामा रहेका छन् । उपचारपछि १५ लाख १७ हजारभन्दा बढी निको भइ घर फर्किएका छन् । अमेरिका पछि कोरोनाले भयावह स्थिति पैँदा गरेको ब्राजिलमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७२ हजार १ सयभन्दा बढी रहेका छन् । त्यस्तै हालसम्म कोरोना संक्रमितको संख्या १८ लाख ६६ हजार १ सयभन्दा बढी पुगेका छन् । उपचार पछि निको हुनेको संख्या १२ लाख १३ हजार नाघेको छ । उच्च कोरोना संक्रमणको तेस्रो स्थानमा आइपुगेको छिमेकी देश भारतमा ८ लाख ७९ हजारभन्दा बढी संक्रमित छन् । २३ हजार १ सय ८७ जनाको मृत्यु भइसकेको छ भने ५ लाख ५४ हजारबढी उपचार पछि निको भएका छन् । त्यस्तै नेपालमा हालसम्म १६ हजार ८ सय १ जनामा कोरोना पुष्टि भएको छ । कोरोनाबाट ३८ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म ८ हजार ५ सय ८९ जना कोरोना संक्रमित उपचार पछि निको भइ घर फर्किएका छन् । (वल्डोमिटर)

ललितपुरकाे लुभूमा एकै घरका १० जनामा कोरोना पुष्टि

ललितपुर । महालक्ष्मी नगरपालिका वडा नं ८ लुभूको एकै घरका १० जना मानिसमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । बल्खुस्थित बयोद्या अस्पतालमा कार्यरत ल्याब टेक्निसियनमा यही असरा १७ गते कोरोना सङ्क्रमण पुष्टि भएसँगै उनका परिवारका अन्य सात जनामा र भाडामा बस्ने दुई गरी १० जनामा गरिएको स्वाब सङ्कलनमा सबैको नतिजा पोजेटिभ आएको हो । नर्सले आफू सङ्क्रमित देखिनुअघि आमालाई लुभूस्थित स्वस्तिक फार्मेसीमा अन्य रोगको समस्या भएर उपचारका लागि ल्याएकाे वडाध्यक्ष विश्वराज श्रेष्ठले बताए । सो फार्मेसीमा कार्यारत श्रेष्ठका दुई छोराले यही असार २१ गते पाटन र टेकुमा गरेको स्वाब परीक्षणमा उनीहरुको रिपोट समेत कोरोना पोजेटिभ आएको श्रेष्ठले जानकारी दिए । श्रेष्ठलगायत उनका नाती र बुहारी भने हाल होम क्वारेन्टाइनमा छन् । फार्मेसीमा कार्यरत जेठो छोरा र अर्का चिकित्सक भनिएका कान्छा छोरा भने हाल सशस्त्र प्रहरीको अस्पताल बलम्बुमा उपचार गराइसकेका छन् । सो वडामा यसका अलवा विदेशबाट फर्किएकी एक महिला, ग्वार्काेको बी एण्ड बी अस्पतालमा उपचारका लागि गएका एक पुरुष र स्थानीय अर्की एक महिला गरी हालसम्म लुभूका १५ जनालाई कोरोना सङ्क्रमण पुष्टि भइसकेको नगर प्रमुख रामेश्वर श्रेष्ठले जानकारी दिए । उनले भने, “यसका अलवा वडा नं ६ सिद्धिपुरका तीन, वडा नं १ र वडा नं ४ इमाडोलका एक/एक गरी अन्य पाँच जनासमेत कोरोना पोजेटिभ देखिएको छ, नगरपालिकाभित्र हालसम्म कूल २० जना कोरोना पोजेटिभ देखिएका छन् ।” यी सङ्क्रमितको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । लुभूका यी १२ व्यक्तिमा एकैदिन यही असार २५ गते कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा खगेश्वर गेलालले बताए ।

काठमाडौं उपत्यकामा अहिलेसम्म ३ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैं । काठमाडौं उपत्यकामा अहिलेसम्म ३ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । ईपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले उपत्यकामा अहिलेसम्म ३ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएकाे बताएका हुन् । पाण्डेले उपत्यकामा देखिएकाे अधिकांश संक्रमितहरु विदेशबाट आएकाहरु रहेकाे र काेही काेही भने कुनैपनि ट्राभल हिस्ट्री नभएकाे व्यक्तिहरु भएकाे बताए । पाण्डेले जिल्ला बाहिर संक्रमण घटिरहँदा उपत्यकामा भने बढिरहेकाे बताए । आईतबार नेपालमा ८२ जना काेराेना संक्रमित थपिँदा उपत्यकामा ६ जना थपिएका थिए । शुक्रबार मात्र उपत्यकामा ४३ जनामा संक्रमण पुष्टि भएकाे थियाे । कुनैपनि ट्राभल हिस्ट्री नभएकाे व्यक्तिहरुकाे  कन्ट्याक ट्रेसिङ पनि सुरु गरिसकेकाे उनले बताए । यस्तै काठमाडौँ उपत्यकाका पाँच हजार मानिसको कोभिड–१९ को पिसिआर परीक्षण गर्नका लागि नमूना सङ्कलन उनले जानकारी दिए ।