मोडर्नाको कोभिड–१९ को खोप परीक्षण अन्तिम चरणमा

वासिङ्टन । संयुक्तराज्य अमेरिकाको बायोटेक कम्पनी मोडर्नाले मानिसमा कोभिड–१९ को खोप (भ्याक्सिन) परीक्षण यसै महिना अन्तिम चरणमा प्रवेश गर्ने जनाएको छ । आगामी जुलाई २७ मा खोप परीक्षण अन्तिम चरणमा प्रवेश गर्ने कम्पनीले बताएको छ । मोडर्नाले तयार पारेको खोपले यथार्थमा मानिसमा कति प्रभावकारी रुपमा काम गर्नेछ भन्ने परीक्षण हुँदैछ । यसअघि गरिएका परीक्षण निकै सुरक्षित रहेको दाबी गरिको र खोपले मानव शरीरमा एन्डीबडी उत्पादन गरेको थियो । आगामी तेस्रो चरणको खोप परीक्षणमा संयुक्तराज्य अमेरिकाकै ३० हजार मानिसलाई सहभागी गराउने लक्ष्य राखिएको छ । यी खोपमध्ये आधाजसो मानिसलाई १ सय माइक्रोग्रामको डोज दिइनेछ भने आधालाई प्लासिबो दिइनेछ । अनुसन्धाताहरुले खोप लगाइएका व्यक्तिहरुमा खोपको प्रभावकारिता वा असरका बारेमा आगामी दुई वर्षसम्म निगरानी राख्ने कम्पनीले जनाएको छ । कोभिड–१९ बाट भ्याक्सिनले गम्भीर बिरामी हुनबाट मानिसलाई जोगायो भने भ्याक्सिन सफल हुने विश्वास गरिएको छ । कम्पनीको यो अध्ययन सन् २०२२ को अक्टोबर २७ सम्म जारी रहनेछ, तर प्रारम्भिक नतिजाहरु यसअघि नै सार्वजनिक गरिनेछ । मोडर्नाको भ्याक्सिन परीक्षणको पहिलो चरणबाट प्राप्त नतिजालाई न्यू इङल्यान्ड मेडिसिन जर्नलले प्रकाशन गरेलगत्तै परीक्षण तेस्रो चरणमा प्रवेश गरेको घोषणा गरिएको हो । पहिलो चरणमा सहभागी ४५ जना सहभागी सबैको शरीरमा भाइरस विरुद्धको एन्टीबडी तयार भएको देखिएको छ । तर वैज्ञानिकहरुले पहिलो भ्याक्सिन सर्वाधिक सुरक्षित वा प्रभावकारी मान्न अहिल्यै नसकिने बताएका छन् । मोडर्नाले पहिलो चरणको परीक्षणको अन्तरिम नतिजा यसअघि नै प्रकाशन गरिसकेको छ । पहिलो चरण भनिएको यस परीक्षणको नतिजा गत मे महिनामा सार्वजनिक गरिएको थियो । पहिलो चरणका नतिजाहरु निकै उत्साहजनक रहेको अमेरिकी संक्रामक रोग रोकथाम इन्स्टिच्यूटका निर्देशक एवं अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कोभिड–१९ सल्लाहकार एन्थोनी फाउचीले बताए । तर कतिपय वैज्ञानिकहरुले मोडर्नाका तथ्याँकहरुको गहन विश्लेषणपछि मात्र ठोस निष्कर्षमा पुग्न सकिने बताउँदै आएका छन् । मोडर्नाले गरेको परीक्षणमा सहभागीहरुलाई २५ हजार १ सय र २ सय ५० माइक्रोग्रामका भ्याक्सिनका तीन समूहमा बाँडिएको थियो । २८ दिनपछि यही परिमाणमा दोस्रो खोप दिइएको थियो । पहिलो चराण्मा बढी मात्राको डोज दिइएका व्यक्तिमा बढी एन्टीबडी भेटिएको थियो । दोस्रो चरणमा सहभागीहरुमा कोभिड–१९ भएका अधिकांश बिरामीभन्दा बढी एन्टीबडी देखिएको थियो । यी बिरामीको शरीरमा आफैं पनि एन्टीबडी तयार भएको थियो । आधाभन्दा बढी सहभागीहरुका शरीरमा सामान्य किसिमको नकारात्मक असर (साइड इफेक्ट) देखिएको थियो । जोन्स हप्किन्स विश्वविद्यालयका संक्रामक रोग विशेषज्ञ अमिश अडाल्जाले परीक्षणमा सहभागीमा निकै राम्रो एन्टीबडी तयार हुनु उत्साहजनक कुरा रहेको बताए । मोडर्नाले तयार पारेको भ्याक्सिनमा जेनेटिक सामग्रीको प्रयोग गरिएको छ ।  रासस–एएफपी

पछिल्लो २४ घण्टामा विश्वभर २ लाखभन्दा बढी कोरोना संक्रमित थपिए

काठमाडौं । विश्वभर कोरोना भाइरसबाट पछिल्लो २४ घण्टा यता थप २ लाख १६ हजार जना संक्रमित थपिएका हुन् । नेपाली समयअनुसार बुधबार विहान साढे ६ बजेसम्म संसारभरीका १ करोड ३४ लाख ४६ हजार २ सयभन्दा बढीमा संक्रमण पुष्टि भइसकेको छ । ५ लाख ८० हजार २ सय २८ जना कोरोना संक्रमणबाट मृत्यु भएको छ । कोरोनाको उपचार पछि ७८ लाख ३८ हजारभन्दा बढी मानिस निको भएका छन् ।  एकदिनमा संसारभर ५ हजार २ सय ५१ जनाकाे मृत्यु भएकाे छ । सबैभन्दा बढी अमेरिकामा ३५ लाख ४४ हजार ८ सयभन्दा बढी कोरोना संक्रमित छन् । संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ३९ हजार १ सय ३७ जनामा रहेका छन् । उपचारपछि १५ लाख ९७ हजारभन्दा बढी निको भइ घर फर्किएका छन् । पछिल्लो २४ घण्टा यता थप ६५ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन्, भने ९ सय २९ जनाको मृत्यु भएको छ । अमेरिका पछि कोरोनाले भयावह स्थिति पैँदा गरेको ब्राजिलमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७४ हजार २ सय ६२ जना रहेका छन् । त्यस्तै हालसम्म कोरोना संक्रमितको संख्या १९ लाख ३१ हजारभन्दा बढी पुगेका छन् । उपचार पछि निको हुनेको संख्या १२ लाख १३ हजार ५ सय नाघेको छ । पछिल्लो २४ घण्टा यता ब्राजिलमा १ हजार ३ सयभन्दा बढीको ज्यान गएको छ भने ४३ हजार २ सय ४५ जना नयाँ संक्रमित थपिएका छन् । उच्च कोरोना संक्रमणको तेस्रो स्थानमा आइपुगेको छिमेकी देश भारतमा ९ लाख ३७ हजार ४ सयभन्दा बढी संक्रमित छन् । २४ हजार ३ सय १५ जनाको मृत्यु भइसकेको छ भने ५ लाख ९३ हजारबढी उपचार पछि निको भएका छन् । भारतमा एक दिनमा २९ हजार ८ सय ४२ जनामा कोरोना पुष्टि भएको छ भने ५ सय ८८ जनाको मृत्यु भएको छ । त्यस्तै नेपालमा हालसम्म १७ हजार ६१ जनामा कोरोना पुष्टि भएको छ । कोरोनाबाट ३८ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म १० हजार ३ सय २८ जना कोरोना संक्रमित उपचार पछि निको भइ घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा नेपालमा थप १ सय १६ जनामा कोरोना देखिएको हो । (वल्डोमिटर)

काठमाडाैं उपत्यकामा थपिए २ जना कोरोना संक्रमित

काठमाडाैं ।  काठमाडौं उपत्यकामा २ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा २ जना कोरोना संक्रमित थपिएकाे बताए । संक्रमितहरु काठमाडाैंकाे २ जना रहेकाे गाैतमले बताए । याेसँगै उपत्यकामा काेराेना संक्रमण पुष्टि भएकाे स‌ंख्या ३ सय ५८ पुगेकाे छ जसमा काठमाडाैंकाे २ सय ३७, ललितपुरकाे ७६ र भक्तपुरकाे ४५ जना रहकाे छन् । बुधबार नेपालमा १ सय १६ जना काेराेना संक्रमित थपिएका छन् भने ३४ जना संक्रमित निकाे भएर घर फर्किएका छन् । नेपालमा काेराेना संक्रमितकाे स‌ंख्या १७ हजार ६१ पुगेकाे छ भने कुल निकाे भएर घर फर्किनेकाे संख्या १० हजार ३ सय २८ रहेकाे छ । हालसम्म नेपालमा काेराेनाकाे कारण ३८ जको मृत्यु भइसकेकाे छ ।