आज नेपालभर ८५५ जना कोरोना संक्रमित थपिए, ७ जनाकाे मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टा यता थप ८ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा ८ सय ५५ जनामा कोराेना भाइरस देखिएको बताए । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या ३३ हजार ५ सय ३३ जना पुगेकाे छ । हाल क्वारेन्टिनमा १० हजार ४ सय ५३ जना रहेका छन् भने आजसम्म ६ लाख २१ हजार ९ सय १ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । आजसम्म कोरोना मुक्त हुनेको संख्या १९ हजार १ सय १९ पुगेको छ भने आज थप ७ जनाकाे मृत्यु भएसँगै नेपालमा मृत्यु हुनेकाे संख्या १६४ पुगेकाे छ ।
सुदूरपश्चिममा ४ हजार कोरोना संक्रमित निकाे भए
डोटी । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) का चार हजारभन्दा बढी सङ्क्रमित निको भएका छन् । प्रदेशका नौ वटै जिल्लामा कोरोना भाइरसका चार हजार ४ सय सङ्क्रमित निको भइसकेका छन् । अहिलेसम्म यो प्रदेशमा पाँच हजार ४०६ सङक्रमित रहेको र तीमध्ये ९ जनाको मृत्यु भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरले जनाएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार अहिलेसम्म सबैभन्दा बढी कैलालीका एक हजार ३०१ जना सङ्क्रमित उपचारपछि निको भएर घर फिर्किएका छन् । त्यस्तै अछामका ७१३, कञ्चनपुरका ५८१, बाजुराका ४४२, बैतडीका ३२२, डडेल्धुराका २९९, बझाङका ११०, दार्चुलाका ४१ तथा डोटीका ५७६ सङ्क्रमित उपचारपछि निको भएर घर फर्किएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । सुदूरपश्चिममा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ९२९ रहेका छन् । सङ्क्रमण पुष्टि भएका र लक्षण देखिएका ६३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको स्वास्थ्य निर्देशक गणराज अवस्थीले बताए । उनका अनुसार हाल कञ्चनपुरको महाकाली अस्पतालमा २३, कैलालीको सेती प्रादेशिक अस्पतालमा १४, टीकापुर अस्पतालमा ११, जिल्ला अस्पताल अछाममा १०, जिल्ला अस्पताल डोटी र डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा दुई/दुई र मालाखेती अस्पतालमा एक जना सङ्क्रमितको उपचार भइरहेको छ । अन्य सङ्क्रमित भने स्थानीय तहको आइसोलेसन र घरमै रहेको बताइएको छ । पछिल्लो समय भारतबाट नेपाली आउने क्रम रोकिएको छ । यहाँका विभिन्न जिल्लाका स्थानीय तहमा प्रयाप्त मात्रामा आइसोलेसन वेड नभएका कारण कोरोना सङ्क्रमितलाई निकै समस्या भइरहेको बताइएको छ । कोरोना सङ्क्रमित तथा उनीहरुका परिवारलाई गाउँमा हेर्ने दृष्टिकोण नै फरक वा सकारात्मक नहुने भएका कारण पनि अहिले उनीहरु झनै समस्या परेको शिखर नगरपालिका–१ कपल्लेकीका खडकबहादुर बोगटीले जानकारी दिए । उनले भने, “कोरोना सङ्क्रमितलाई गाउँमा हेर्ने दृष्टिकोण नै फरक छ, उनीहरुलाई घिर्ना वा तिरस्कार होइन, माया, सद्भाव र हौसला दिन जरुरी छ ।” सुदूरपश्चिममा पहिलो पटक गत चैत १४ गते धनगढी उपमहानगरपालिका–५ का ३४ वर्षीय एक युवकमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । रोजगारीको सिलसिलामा दुवईबाट आएका ती युवक सेती प्रादेशिक अस्पतालमा ३० दिनको उपचारपछि निको भएर घर फर्किएका थिए । सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच हजार नाघेको छ । पछिल्लो समय भारतबाट रोजगारी गरी फर्किएका नागरिकसँगै उनीहरुका परिवारमा पनि कोरोना सङ्क्रमण देखिन थालेको स्वास्थ्यकर्मीहरु बताउँछन् । सङ्क्रमित भन्दापनि उपचारपछि निको हुने दर बढ्दै गएकाले यसबाट त्रसित वा अत्तिइ हाल्नुपर्ने अवस्था नरहेको जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए । उनले भने, “सङक्रमित हुने र निको हँने दर करिब करिब बराबर छ, कोरोना लागि हाले पनि अत्तिइ हाल्नु पर्ने अवस्था छैन तर सावधानी र सचेतना भन्ने अपनाउनु पर्छ ।” सुदूरपश्चिममा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारीलगायतमा पनि कोरोना सङ्क्रमण देखिएको छ । कोरोनो नियन्त्रणका लागि प्रदेश सरकारसहित यहाँका सबै स्थानीय तहले सावधानी अपनाएका कारण सोचेजस्तो समुदायमा फैलिन नपाएको प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरको दाबी छ ।
इलाममा ४ करोडको लगानीमा एपोलो ट्रमा सेन्टरको संचालनमा
मङ्गलबारे । लामो समयको प्रतीक्षापछि इलाममा एपोलो ट्रमा सेन्टर सञ्चालनमा आएको छ । इलाम नगरपालिका—६ स्थित पुराना मेघबहादुर सामुदायिक अस्पताल भएको स्थानमा सो ट्रमा सेन्टर सञ्चालनमा आएको हो । करिब रु चार करोडको लगानीमा सञ्चालन आएको सो सेन्टरमा चार जना विशेषज्ञ चिकित्सकसहित ३३ जना चिकित्सक र कर्मचारी कार्यरत छन् । अत्याधुनिक सेवा सुविधासहित सञ्चालित सो सेन्टरको आज सञ्चालक डा सञ्जय शाहले एक कार्यक्रमका बीच शुभारम्भ गरे । निजी क्षेत्रबाट शुुरु भएको सो सेन्टरमा हार्डजोर्नी, स्त्री तथा प्रसूति रोग, रेडियोलोजी एवम् फिजिसियनको सेवा सञ्चालनमा आएको छ । छिट्टै नै सघन उपचार कक्ष (आइसीयु) सहितको सेवा सञ्चालन गरिने बताइएको छ । एक मात्र सरकारी अस्पताल भएको इलाममा निजी क्षेत्रबाट अत्याधुनिक सेवा सुविधासहित अस्पताल सञ्चालनमा आएपछि स्थानीयवासी हर्षित भएका छन् । अस्पताल सञ्चालनमा आएपछि सामान्य ज्वरो आउँदा समेत थप उपचारका लागि जिल्ला बाहिर जानुपर्ने वाध्यताको अब अन्त्य भएको स्थानीयवासीको भनाइ छ । सामान्य उपचारका लागि पनि जिल्लावासीलाई झापा, मोरङ र सुनसरीलगायत जिल्लामा जानुपर्ने समस्याको अन्त्यका लागि यो सेन्टर सञ्चालनमा ल्याइएको अर्का सञ्चालक प्रकाश चापागाईले बताए । पूर्वी पहाडी जिल्ला इलाम, पाँचथर ताप्लेजुङ र तेह्रथुमवासीलाई लक्षित गरेर अस्पताल सञ्चालनमा ल्याइएको उनले बताए । सो अवसरमा इलाम नगरपालिका— ७ का वडाध्यक्ष नरेश श्रेष्ठ, वडा नं ४ का अध्यक्ष नुतनदेव दुलाल, नेपाल रेडक्रस सोसाइटी इलामका अध्यक्ष शिव गौतम, समाजसेवी धर्म गौतम, इलाम उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष मदन श्रेष्ठ (दुर्गा)ले व्यापारभन्दा पनि सेवाको रुपमा अस्पताल सञ्चालन गर्न आग्रह गर्दै यसको निरन्तरताको शुभकामना व्यक्त गरे ।