स्वास्थ्य मन्त्रालयका तीन महाशाखा प्रमुखलाई विभिन्न अस्पताल व्यवस्था गर्ने जिम्मा
काठमाडाैं । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका महाशाखा प्रमुखहरुलाई विभिन्न अस्पताल व्यवस्था गर्ने जिम्मा दिएकाे छ। काेभिडकाे समयमा स्वास्थ्य सेवा चुस्तदुरुस्त बनाउने उदेश्यकाे साथ मन्त्रालयका महाशाखा प्रमुखहरुलाई विभिन्न अस्पतालकाे जिम्मा दिइएकाे प्रवक्ता प्राडा. जागेश्वर गौतमले बताए । मन्त्रालयकाे निर्णय अनुसार निति याेजना तथा अनुगमन महशाखा प्रमुख गुणराज लाेहनीलाई वीर अस्पताल पाटन अस्पताल, किष्ट मेडिकल कलेज, नेपाल मेडिकल कलेज, काठमाडाैं मेडिकल कलेज र सम्झाैता भइसकेका निजि अस्पतालहरुकाे जिम्मा दिइएकाे छ । यस्तै समन्वय महाशाखा प्रमुख तथा प्रवक्ता प्राडा. जागेश्वर गौतमलाई प्रसुती गृह, त्रिवि शिक्षण अस्पताल, प्रहरी अस्पताल र विरेन्द्र सैनिक अस्पतालकाे जिम्म दिइएकाे छ छ । यस्तै गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. विकास देवकाेटलाई कान्तिबाल अस्पताल, धुलिखेल अस्पताल, निजामति अस्पताल र सम्झाैता नभइसकेका निजी अस्पतालहरुकाे जिम्मा दिइएकाे छ । उनीहरुले अस्पतालकाे काेभिड बेड संख्या र आइसियु समेतकाे प्रबन्ध मिलाउने अस्पतालसँग नियमित सम्पर्कमा रहेर काेभिड अपडेट गर्ने, काेभिड व्यवस्थापन सम्बन्धि अस्पतालहरुसँग आवश्यक सम्झाैत गर्ने, जनशक्ति व्यवस्थापन आवश्यक अनुसार थपघट गर्ने, लजिस्टक व्यवस्थापन र आर्थिक व्यवस्थापनकाे लागि आवश्यक अनुसार मन्त्रालयमा सिफारिस गर्ने, अस्पतालमा आएका बिरामीहरुलाई प्राथमिक उपचार नगरी अन्यन्त्र पठाएकाेमा कारबाहीकाे सिफारिस गर्ने काम गर्नुपर्नेछ ।
कोभिड-१९ ले बढायो मानसिक समस्या
बागलुङ । कोभिड-१९ को प्रकोपपछि मानिसमा मानसिक समस्या बढेको छ । दैनिकी खल्बलिनु, रोजगारी/कमाइ गुम्नु, महामारीको सन्त्रासजस्ता कारणले मानसिक समस्या बढेको हो । धवलागिरि अस्पतालका मानसिक रोग विशेषज्ञ डा धीरेन्द्र पौडेलका अनुसार कोभिड-१९ अघि मानसिक समस्या लिएर अस्पताल आउने फाटफुट्ट हुन्थे । अहिले दैनिक ६/७ जना बिरामी अस्पताल आउँछन् । “प्यानिक अट्याक भएर आउने बढी हुनुहुन्छ, छाती दुख्यो, मलाई हृदयघात भयो की ? भन्दै आउनुहुन्छ”, उनले भने । एक्कासि उत्पन्न हुने अत्यधिक त्रासले ‘प्यानिक अट्याक’ निम्त्याउने गर्छ । तनाव, डर, चिन्ता, एक्लोपना आदि कारणले ‘प्यानिक अट्याक’ हुने डा पौडेलको भनाइ छ । दिग्दारीपन, आत्तिने/डराउने (एन्जाइटी)लगायतका मनोरोग पनि बढीरहेको उनले बताए । “छ वर्षको बच्चालाई पनि एन्जाइटी भएर म कहाँ लिएर आउनुभएको थियो”, डा पौडेलले भने, “नियमित पढाइ रोकिँदा, घरमै बसिरहँदा बालबालिकामा पनि मानसिक समस्या बढिरहेको छ ।” उहाँले बालबालिकालाई घरमै मायालु वातावरणसहित सिकाइ र सिर्जनशील काममा व्यस्त राख्नुपर्ने बताए । बागलुङ नगरपालिकाका जनस्वास्थ्य अधिकृत रामप्रसाद खनालले मानसिक समस्या समाजमा लुकेर बसेको बताए । “अस्पताल आउने झण्डै एक तिहाइमा कुनै न कुनै खाले मानसिक समस्या देखिन्छ”, उनले भने, “कोभिड-१९ पछि यो सङ्ख्या अझ बढ्दो छ, यो अवधिमा आत्महत्याका घटना पनि धेरै भए ।” नेपाल प्रहरीको आँकडा अनुसार गत चैतदेखि साउनसम्ममा दुई हजार २१८ जनाले आत्महत्या गरेका छन् । जनस्वास्थ्य अधिकृत खनालले सामाजिक, मानसिक र जैविक कारणले मानसिक रोग निम्तने गरेको बताए । मानसिक समस्याबाट गुज्रेका मानिसको पहिचान र उपचारका लागि पहुँच तथा लगानी बढाउनुपर्ने उनको भनाइ छ । बागलुङ नगरपालिका-३ का अध्यक्ष लक्ष्मी बाँस्कोटाले कोरोना जाँचका लागि स्वाब दिएपछि नतिजा नआउञ्जेलसम्म पनि मानिस ठूलो पीडा र अत्यासमा बस्नुपरेको अनुभव सुनाए । उनले मानसिक समस्या लुकाउने र स्वीकार्न नसक्ने स्थितिले रोग न्यूनीकरणमा चुनौती थपेको उल्लेख गरे। वडाध्यक्ष बाँस्कोटाले समुदायस्तरमा मानसिक स्वास्थ्यबारे जनचेतना बढाउनुपर्ने बताए । स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौले योग र ध्यानबाट पनि कतिपय मानसिक समस्याबाट मुक्ति मिल्ने बताए । “योग, ध्यानलाई अहिले विज्ञानले पनि प्रमाणित गरेको छ, यसले शारीरिक र मानसिक स्वास्थ्य चुस्त राख्न सघाउँछ”, उनले भने । डा पौडेलले मानसिक समस्या भएका बिरामीलाई मनोपरामर्श, थेरापी र औषधिबाट उपचार गरिने बताए। “शरीररमा रासायनको गडबडीजस्ता जैविक कारणले भएको समस्यामा औषधि नै चलाउनुपर्छ, कतिपय बिरामी मनोपरामर्श, थेरापीबाट पनि ठिक हुन्छन्”, उनले भने। अधिकांश मानसिक रोग छ देखि दुई वर्षसम्म नियमित औषधि खाँदा निको हुन्छन् । गम्भीर मनोविकृतिको अवस्थामा भने लामो समयसम्म औषधि लिनुपर्ने हुन्छ । मानसिक समस्याबाट छुटकारा पाउन जीवनशैलीमा परिवर्तन ल्याउनुपर्ने चिकित्सक बताउँछन् । बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले बाहिर देखिएभन्दा ठूलो जनसङ्ख्यामा मानसिक समस्या रहेको बताए। उनले मानसिक स्वास्थ्यलाई स्थानीय तहले पनि प्राथमिकता दिनुपर्ने उल्लेख गरे । “अबदेखि मानसिक स्वास्थ्यलाई वार्षिक योजनामै समेट्छौँ”, उनले भने, “हरेक व्यक्ति शारीरिक मात्र होइन मानसिक रुपमा पनि उत्तिकै स्वस्थ हुनु जरुरी छ ।” यही साता नगरपालिकाको स्वास्थ्य शाखाले विश्व मानसिक स्वास्थ्य दिवससमेत मनाएको थियो । वर्षेनी अङ्ग्रेजी महिना अक्टुबर १० मा यो दिवस मनाइन्छ । रासस
बुधबार दुई हजार ६३८ काेराेना संक्रमित थपिए, १२ जनाकाे मृत्यु
काठमाडाैं । पछिल्लो २४ घन्टामा नेपालमा थप दुई हजार ६ सय ३८ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले २४ घन्टामा नेपालमा थप दुई हजार ६३८ जना र उपत्यकामा मात्र १४०३ जनामा काेराेना भेटिएकाे जानकारी दिए । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या १ लाख १७ हजार ९ सय ९६ जना पुगेको छ भने सक्रिय संक्रमितकाे संख्या ३६ हजार ३ सय ५७ पुगेकाे छ । नेपालमा आजसम्म १२ लाख २१ हजार ३८ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै आज २१७४ जना निकाे भएसँगैं हालसम्म ८० हजार ९५४ जना निकाे भएर घर गइसकेका छन । पछिल्लाे २४ घण्टामा १२ जनाकाे मृत्यु भएसँगै नेपालमा मृत्यु हुनेकाे संख्या ६७५ पुगेकाे छ ।