बागलुङको बलेवा क्षेत्रमा दश दिन बन्दाबन्दी

बलेवा । विद्यालय र समुदायमा ठुलो सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएपछि बागलुङको बलेवा क्षेत्र दश दिनका लागि बन्दाबन्दीको घोषणा गरिएको छ । मङ्गलबार बागलुङ नगरपालिका–१४ नारायणस्थानको जनताधन माविका १९ विद्यार्थीसहित सोही विद्यालय आसपास समुदायका शङ्कास्पद बिरामीको जाँच गर्दा ३९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । यसअघि सोही विद्यालयका दुई शिक्षकमा कोरोना सङ्क्रमण देखापरेको थियो । विद्यालयमा अघिल्लो शुक्रबारदेखि नै पठनपाठन बन्द गरिएको छ । मङ्गलबार बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिको बैठकले मङ्गलबार रातिदेखि लागु हुनेगरी बन्दाबन्दी घोषणा गरेको हो । बागलुङ नगरपालिका–१४ नारायणस्थाल, वडा नं। १२ अमलाचौर र वडा नं। १३ पैञ्युपाटामा दश दिनका लागि बन्दाबन्दीको घोषणा गरिएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख तथा जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिका स्रोत व्यक्ति सुरज गुरौले जानकारी दिए । समितिको सिफारीसमा जिल्ला प्रशासन कार्यालय बागलुङले बन्दाबन्दी घोषणा गर्नेछ । बन्दाबन्दीको समयमा सङ्क्रमितको सम्पर्कमा रहेकाको खोजी र उपचार गर्न सहज हुने छ ।

धौलागिरि अस्पतालमा कोरोना परीक्षण सुरु

बलेवा । धौलागिरिका चार जिल्लाका सर्वसाधारणलाई कोरोना भाइरस सङ्क्रमणको परीक्षणका लागि पोखरा पुग्नुपर्ने बाध्यताको अन्त्य भएको छ । धौलागिरि अस्पताल बागलुङमा कोरोना परीक्षणको लागि पिसिआर मेसिन जडान भएपछि शङ्कास्पद बिरामीको थ्रोट स्वाव पठाएर हप्तौं कुनुपर्ने बाध्यता अन्त्य हुने भएको हो । सरकारले प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको झण्डै छ महिनापछि अस्पतालमा कोरोना परीक्षण प्रयोगशाला तयार भएको हो । मेसिन अहिले परीक्षणमा रहेको छ । परीक्षण सकिएलगत्तै कोरोना नियमीत काम थालिने अस्पताल प्रमुख सुपरिटेण्डेन्ट डा शैलेन्द्र बिक पोख्रेलले जानकारी दिए । पोख्रेलले भने, ‘सम्भवतः यही सातादेखि बागलुङबाट कोरोना परीक्षण गरिने छ ।’ मेसिनबाट एक दिनमा ७० जनाको परीक्षण हुने डा पोख्रेलले बताए । कोरोना परीक्षणको लागि चार प्राविधिकले काम गर्नेछन् । मेसिन जडान गरिएसँगै बागलुङ, पर्वत र म्याग्दीका नागरिक लाभान्वित हुनेछन् भने कोरोनाको रिपोर्ट प्राप्त गर्न लामो समय कुर्नु पर्ने बाध्यता हट्नेछ । सङ्घ र गण्डकी प्रदेश सरकारको झण्डै एक करोड लगानीमा प्रयोगशाला तयार भएको हो । रासस

कोरोनाको उच्च जोखिममा कञ्चनपुर

कन्चनपुर । भारतमा रोजगारीका लागि गएका व्यक्ति फर्कने क्रमसँगै कञ्चनपुर कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमा परेको छ । भारतीय शहरमा कोरोनाका कारण बन्दाबन्दी हुन थालेपछि सीमा नाका हुँदै भारतबाट फर्कनेको संख्या दिनहुँ बढिरहेको छ । भारतबाट फर्केकामध्ये अधिकांशमा कोरोना भाइरस सङ्क्रमण देखा पर्न थालेको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार मङ्गलबारमात्रै पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै फर्केका ७४० मध्ये २१४ जनाको एन्टिजेन परिक्षणमा ४५ जनाको परीक्षण नतिजा पोजेटिभ आएको छ । यसैगरी त्रिनगर (डोकेबजार) सीमा नाका भएर भारतबाट फर्केका ७१० मध्ये ४८९ जनाको एन्टिजेन परीक्षण गरिएकामा ६६ को परीक्षण नजिता पोजेटिभ आएको छ । कञ्चनपुरमा हालसम्म चार हजार ६४० जनाको एन्टिजेन परीक्षण गरिएकामा पोजेटिभको संख्या ३११ रहेको छ । एन्टिजेन परीक्षणमा सक्रिय सङ्क्रमित २२८ छन् । पश्चिमी सीमा नाका गड्डाचौकी भएर आएका तीन हजार ६९४ को एन्टिजेन परीक्षण गरिएकामा १६५ जनाको नतिजा पोजेटिभ आएको स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले बताए । उनका अनुसार महाकाली अस्पतालको आइसोलेसनमा रहेका बिरामीको सङ्ख्या ३० छ । आइसिएच आइसोलेसनमा रहेका बिरामीको सङ्ख्या ५४ छ । हालसम्म जिल्लामा कोरोना सङ्क्रमणका कारण १६ जनाको मृत्यु भइसकेको छ । रासस