पर्यटकीय क्षेत्र लाङ्टाङमा कोरोना परीक्षण सुरु

रसुवा । पर्यटकीय क्षेत्र लाङ्टाङको स्वास्थ्य चौकीमा कोभिड १९ को प्रारम्भिक परीक्षण सुरु भएको छ । हिउँद यामको अधिकांश समय हुने हिमपातको चिसोपनले सामान्य रूघाखोकी लाग्दासाथ कोरोना सङ्क्रमणकै आशङ्का बढी रहेको वर्तमान अवस्थामा गोसाइँकुण्ड गाउँपालिकाले गाउँघरमै एन्टिजेन परिक्षण गराउने व्यवस्था मिलाएपछि लाङ्टाङका बासिन्दामा उत्साह बढेको छ । एन्टिजेन परिक्षणको लागि आफुले धुञ्चे स्थित जिल्ला अस्पतालबाट तालिम लिएको बताउदै लाङ्टाङ स्वास्थ्यचौकीका प्रमुख खम्वु बोहोराले कुनैपनि प्राथमिक उपचारमा आफू २४ सै घण्टा तयार रहेको बताए । उच्च क्षेत्रमा बसोवास गर्ने हिमाली बासिन्दा एवं आगन्तुक पर्यटकलाई पर्न सक्ने स्वास्थ्य समस्या स्थानीयस्तरमै समाधान गर्न लाङ्टाङ स्वास्थ्य चौकीबाट एन्टिजेन प्रविधिद्वारा कोरोना परिक्षणको साथै अक्सिजन समेतको व्यवस्थापन भएको छ । लाङ्टाङ क्षेत्रमा पुग्ने पर्यटकलाई पदयात्रामा हुन सक्ने श्वास प्रश्वासको समस्या स्थानीयस्तरमै समाधान गर्न यस कार्यले सहज भएको पर्यटन व्यवसायी तेम्वा लामाले बताए ।

कोरोना दोस्रो लहर: काभ्रेमा सयको मृत्यु, सात हजार सङ्क्रमित

काभ्रे । कोरोना सङ्क्रमणको दोस्रो लहर शुरु भएयता करिब दुई महिनाको अवधिमा यहाँ १०० भन्दा बढी सङ्क्रमितको मृत्यु भएको छ । यही अवधिमा जिल्लामा सात हजारमा कोरोना सङ्क्रमण देखिएको जनाइएको छ । गत वर्ष कोरोना सङ्क्रमणबाट ४५ जनाको मृत्यु भएको थियो । हाल कोरोना सङ्क्रमणको दोस्रो लहरमा हालसम्म १०५ को मृत्यु भएको हो । कोरोना सङ्क्रमणबाट हालसम्म यहाँका १५० को मृत्यु भएको जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसीसिएमसी)ले जनाएको छ । जिल्लास्थित अस्पतालमा भने विभिन्न जिल्लाका उपचारार्थ ५७ कोरोना सङ्क्रमितको मृत्यु भएको छ । केन्द्रका अनुसार हालसम्म जिल्लाका १० हजार १५३ मा कोरोना सङ्क्रमण देखिएको छ । यसमध्ये तीन हजार गत सालका सङ्क्रमित हुन् भने करिब सात हजार कोरोना सङ्क्रमणको दोस्रो लहर सुरु भएयता करिब दुई महिना अवधिका हुन् । गत वर्षभन्दा बितेका दुई महिनामा दोब्बर बढी सङ्ख्यामा कोरोना सङ्क्रमितको मृत्यु भएको हो भने ७० प्रतिशत सङ्क्रमित वृद्धि भएका हुन् । तथ्याङ्कअनुसार हालसम्मका कूल सङ्क्रमितमध्ये ७९ प्रतिशत अर्थात् आठ हजार दुई सङ्क्रमणमुक्त, भइसकेका छन् । कोरोनाको दोस्रो लहरमा द्रुतगतिमा सङ्क्रमण समुदायमा फैलिएका कारण धेरै सङ्ख्यामा सङ्क्रमण र मृत्यु भएको केन्द्रले जनायो । ‘सङ्क्रमितको हेलचेक्रयाइँ र अन्तिम अवस्थामा मात्रै अस्पताल आउने गर्दा पनि केही मृत्युदर बढेको हो’, केन्द्रका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्रकुमार झाले भने । उनका अनुसार यसपालिको सङ्क्रमणदरको गति विश्लेषण गर्न नसक्दा र ‘कन्ट्याक्ट ट्रेसिङ’मा ढिलाइ हुँदा सङ्क्रमण बढेको अनुमान गरिएको छ । हालको अवस्थामा पनि मृत्युदर दैनिक सरदर दुई रहेको छ । पहिलोपटक विसं २०७७ जेठ १ गते धुलिखेल अस्पतालमा उपचारार्थ सिनधुपाल्चोकको बाह्रबीसे नगरपालिका–९ राम्चेकी २९ वर्षीया सुत्केरीको कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको थियो । कोरोनाबाट मृत्यु भएकी ती महिला नेपालमा पहिलो घटना हो । कोरोना सङ्क्रमणको दोस्रो लहर शुरु भएपछि गत वैशाख २० गतेदेखि जिल्लामा निषेधाज्ञा जारी गरिएको थियो । कोरोना सङ्क्रमणदर बढ्दै गएपछि सो नगरपालिकाले अन्य स्थानीय तहभन्दा सबैभन्दा बढीमा सङ्क्रमण भएपछि जेठ पहिलो सातादेखि नगरपालिका ‘शिल’ गरेको गरेको थियो । त्यसलगत्तै जिल्लाका १३ मध्ये आठ स्थानीय तहले आफ्नो क्षेत्र शिल गरेको घोषणा गरे । पछिल्ला केही दिनदेखि सङ्क्रमणदर घट्दै गएपछि जिल्लाभर हाल प्रशासनको निषेधाज्ञा मात्रै लागू भएको छ । यसैबीच जिल्लामा केही दिनदेखि सङ्क्रमणदर घटेको र सङक्रमणमुक्त हुनेको सङ्ख्या बढेको केन्द्रको तथ्याङ्कले देखाएको छ । पछिल्लो २४ घण्टामा ९७ मा कोरोना सङ्क्रमण पुष्टि भयो भने १३२ सङ्क्रमणमुक्त भएका हुन् । अघिल्लो दिन १०२ मा कोरोना सङ्क्रमण देखियो भने २०२ सङ्क्रमणमुक्त भएका थिए । यहाँ मृत्युदर रोकिएको छैन । हाल जिल्लामा एक हजार ९४४ सक्रिय सङ्क्रमितमध्ये बनेपामा ३२६, धुलिखेलमा ३१८, पनौतीमा २१७, पाँचखालमा १७७, नमोबुद्धमा ९२, मण्डनदेउपुर नपामा १५७ तथा रोशीमा १२७, चौँरीदेउरालीमा ५४, तेमालमा ६९, भुम्लु १९४, खानीखोलामा ४९, बेथानचोकमा ३० र महाभारत गाउँपालिकामा १३४ सक्रिय सङ्क्रमित रहेको केन्द्रले जनायो ।

वाग्मती प्रदेशसभा सदस्य श्रेष्ठको पहलमा सिभिल अस्पताललाई एक करोड १८ लाखको स्वास्थ्य सामग्री प्रदान

काठमाडाैं । वाग्मती प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठको पहलमा मीनभवनस्थित सिभिल अस्पताललाई एक करोड १८ लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । च्वाइस ह्युमानिटेरियन सामाजिक संस्थाको सहयोगमा भेन्टिलेटर, अक्सिजन सिलिण्डर, पिपीइ, पञ्जा, अक्सिमिटर, फेस सिल्ड, इमरजेन्सी ट्रेलरलगायत एक करोड १८ लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो । अक्सिजन प्लान्ट स्थापना गर्न मद्दत मिल्ने गरी वाग्मती सरकारले दिएको रु दुई करोडमा रु एक करोड अपुग भएकाले एक करोड १८ लाख बराबरको सामग्री सहयोग जुटाएर हस्तान्तरण गरिएको वाग्मती प्रदेशसभा सदस्य श्रेष्ठले राससलाई जानकारी दिए । अस्पतालका कार्यकारी निर्देशक विधाननिधि पौडेलले प्रदेशसभा सदस्य श्रेष्ठले यसअघि अस्पतालमै आएर आवश्यक सामग्रीको सूची लिएर उपलब्ध गराएकाे बताए । नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना फैलिएपछि खरिद प्रक्रिया पनि पूरा गर्न नपाएकाले स्वास्थ्य सामग्रीको अभाव भएका बेला सामग्री पाउँदा स्वास्थ्य सेवा दिन सहज भएको उनको भनाइ थियो । कोरोनाको तेस्रो चरणको लहर पनि आउने अनुमान भइरहेकाले अहिलेदेखि तयारी सुरु गरिएको अस्पतालले जनाएको छ । सहयोगी संस्थाका कार्यकारी निर्देशक प्रतीक शर्माले बानेश्वर क्षेत्रमा स्वास्थ्य सेवा उपलब्ध गराएको सिभिल अस्पताललाई आवश्यकताका आधारमा सामग्री उपलब्ध गराइएको बताए । दाताबाट बुधबार नै संस्थाको कोषमा सहयोग आएकै दिन अस्पतालमा स्वास्थ्य सामग्री उपलब्ध गराउन सफल भएको उनले जानकारी दिए । निषेधाज्ञाका बीच १५ दिन विभिन्न स्थानमा गई खोजेर स्वास्थ्य सामग्री खरिद गरी उपलब्ध गराइएको हो । रासस