पेरुमा मंकीपक्स समुदायस्तरमै फैलियो
लिमा । पेरुमा मंकीपक्सको सङ्क्रमण समुदाय स्तरमै फैलिएको पाइएको छ । यहाँको राष्ट्रिय स्वास्थ्य विभागका प्रमुख भिक्टर सुआरेजले सो कुराको जानकारी दिएका छन् । उनले पेरुमा अहिलेसम्म दुई सय ३ जनामा यो सङ्क्रमण पाइएको भन्दै यो सङ्क्रमण समुदाय स्तरमा नै फैलिएको पाइएको बताएका छन् । यहाँ देखिएका यी सङ्क्रमितहरु अधिकांश पेरुको राजधानी शहर लिमाका छन् । त्यस्तै लिमाका छिमेकी प्रान्त कल्लाओका रहेका सुआरेजले जनाएका छन् । पेरुको सरकारले मंकीपक्सको परीक्षणका लागि अलग्गै ल्याबको स्थापना गरेको छ र यसको सङ्क्रमणसम्बन्धी सूचना दिने पनि अलग्गै संयन्त्र राखिएको छ । सो संयन्त्रअनुरुप मंकीपक्ससम्बन्धी परीक्षणको नतिजा २४ घन्टा भित्रै दिने गरिएको उनले बताएका छन् । यो सङ्क्रमण फैलिन नदिन उच्च सतर्कता अपनाइएको छ । स्वास्थ्यमन्त्री जोर्ग लोपेजले पत्रकारहरुलाई बताएअनुसार ती सङ्क्रमितहरुमध्ये अधिकांश ३२ देखि ३७ वर्षको उमेर समूहका रहेका छन् । उनीहरुको स्वास्थ्य अवस्था भने सामान्य रहेको पाइएको उनले जानकारी दिए ।
बागमतीमा कोभिडका सङ्क्रमित बढ्दै, काठमाडौं उपत्यकामा सबैभन्दा धेरै
ललितपुर । मुलुकमा दुई हप्ता अघिदेखि कोभिड सङ्क्रमण पुनः वृद्धि भइरहेको छ । मुलुकवासीले स्वास्थ्य मापदण्ड पालना गर्न कम गरेसँगै सो सङ्क्रमणका बिरामी थप बढ्दै गइरहेका हुन् । बागमती प्रदेशभित्र कोभिडका बिरामीको सङ्ख्या उच्च देखिएको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा चुमनलाल दासले बताए । उनले भने, ‘यस सङ्क्रमणका बिरामी बागमती प्रदेशका १३ जिल्लामध्ये काठमाडौं उपत्यकामा उच्च रहेका छ ।’ प्रदेश नं १ मोरङमा पनि कोभिडका बिरामी बढ्दै गइरहेकाले महामारीलाई मध्यनजर गरी भीडभाड नगर्न तथा सभा अनि सम्मेलन एवं गोष्ठीमा भाग नलिनाका साथै स्वास्थ्य मापदण्ड पालना गर्न मुलुकवासीलाई दासले अनुरोध गरे । मुलुकमा कोभिडका बिरामी बढेसँगै आफूहरुले सो महामारी निदानका लागि दुई हजार ८०० को हाराहारीमा आइसियू तथा एक हजार २७ भेन्टिलेटर एवं १५ हजार अक्सिजन सिलिण्डरका साथै १३२ अक्सिजन प्लान्टको जोहो गरिसकेको दासले जानकारी गराए । ‘कोभिड कारण आर्थिक हानी मात्रै होइन् ज्यान जाने र केही मुलुकवासीमा मानसिक समस्या देखिएको छ, मुलुकवासी ४३ प्रतिशतमा डिप्रेशन तथा ३३ प्रतिशतमा चिन्ता र २९ प्रतिशत विद्यार्थीमा भने बढी निन्द्रा लाग्ने समस्या भेटिइरहेको छ’, उनले थपे । ३४ हैजाका बिरामी मुलुकमा कोभिड महामारीसँगै ३४ जना हैजाका बिरामी भेटिएका सो शाखाका प्रमुख डा खगेश्वर गेलालले बताए । उनले भने, ‘हैजाका बिरामी काठमाडौँ उपत्यकामा दुई र नुवाकोटमा ३२ गरी ३४ भेटिएका छन् ।’ दुईदेखि ६९ वर्ष उमेर समुहका २० पुरुष र १४ महिलामा सो समस्या देखिँदा खानेपानी तथा सरसफाईमा विचार पु¥याउन जरुरी रहेको गेलालले जानकारी गराए । हवाइ यात्रा र नाकामा कडाइको व्यवस्था मङ्कीपक्स विदेशी ७० मुलुकमा फैलिँदै गइरहेकाले मुलुकको हवाई यात्राका साथै नाकामा पनि कडाइको व्यवस्था हुनुपर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका नीति, योजना तथा अनुगमन महाशाखाका प्रमुख डा कृष्णप्रसाद पौडेलले बताए । उनले भने, ‘छिमेकी मुलुक भारतमा मङ्कीपक्स तीन केशका बिरामी देखिएकाले नेपालमा पनि स्वास्थ्य सावधानी अपनाउन अनुरोध गरिन्छ ।’ मङ्कीपक्स हालसम्म भने नेपालमा पुष्टि भइसकेको छैन तर, विदेश यात्रा गर्दा र विभिन्न नाकाबाट नेपाल भित्रिँदा स्वास्थ्य सावधानी नअपनाए छिट्टै नेपालमा भित्रिन सक्ने चेतावनी पौडेलले दिए । रासस
डब्लुएचओले भन्यो : मङ्कीपक्स बढ्न थाल्यो, निगरानी बढाऔं
काठमाडौं । विश्वस्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले मंकीपक्स सङ्क्रमणलाई जनस्वास्थ्य आपत्कालका रूपमा घोषणा गरेको छ । बहुर्राष्ट्रिय प्रकोपको समीक्षा गर्न यही साउन ७ गते बसेको अन्तर्राष्ट्रिय स्वास्थ्य नियमन आपत्कालीन समितिको बैठकमा सङ्गठनका महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयससले मंकीपक्स द्रुत गतिमा बढेकाले जनस्वास्थ्य आपत्कालको रूपमा घोषणा गरेकाे हो । सङ्क्रमण बढ्न थालेपछि डब्लुएचओले दक्षिण–पूर्वी एसिया क्षेत्रका देशहरूलाई मंकीपक्सको निगरानी र जनस्वास्थ्यका उपायलाई सुदृढ बनाउन आह्वान गरेको छ । ‘मंकीपक्स द्रुत गतिमा फैलिरहेको छ र यो पहिले नदेखिएका धेरै देशमा समेत फैलिरहेको छ । जुन ठूलो चिन्ताको विषय हो’, डब्लुएचओको जारी गरेको विज्ञप्तिमा दक्षिण–पूर्वी एसिया क्षेत्रका लागि निर्देशक डा पुनम खेत्रपाल सिंहले भनेका छन्, ‘यद्यपि, पुरुषसँग यौनसम्पर्क गर्ने पुरुषको सम्बन्धमा भने जोखिममा रहेका जनसङ्ख्यामा केन्द्रित प्रयासमार्फत रोगको थप फैलावटलाई कम गर्न सम्भव छ ।’ डब्लुएचओका अनुसार विश्वमा ७५ देशहरूमा १६ हजारमा मंकीपक्सका सङक्रमण पुष्टि भएका छन् । दक्षिण–पूर्वी एसिया क्षेत्रमा, भारतमा तीन र थाइल्याण्डमा एक गरी जम्मा चार मङकीपक्सका सङ्क्रमण पुष्टि भएका डब्लुएचओले जनाएको छ । भारतमा मध्यपूर्वी देशबाट घर फर्केकामा र थाइल्याण्डमा भने त्यहीँ बसोबास गर्दै आएका एक विदेशी नागरिकमा मङ्कीपक्स सङ्क्रमण पुष्टि डब्लुएचओले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । ‘विश्वव्यापीरुपमै र यस क्षेत्रमा मंकीपक्सको जोखिम मध्यम भए पनि अन्तर्राष्ट्रियस्तरमा यसको थप फैलावटको सम्भावना भने छ । साथै, भाइरसबारे अझै धेरै अनभिज्ञ छन् । मंकीपक्स सङ्क्रमण थप फैलनबाट रोक्नका लागि हामी सजग रहनुपर्छ र द्रुत प्रतिकार्यका लागि तयार हुनुपर्छ’, डा खेत्रपाल सिंहले भने । प्रकोप सुरु भएदेखि नै डब्लुएचओले जोखिम मूल्याङ्कन र जनस्वास्थ्यका उपायको सुरुआत गर्नका साथै यस क्षेत्रमा परीक्षण क्षमताको विकास गर्न पनि सहजीकरण गर्दै आएको जनाएको छ । मंकीपक्सको प्रतिकार्यका लागि प्रभावित समुदायलाई सहभागी बनाउनु र सुरक्षित गर्नु, निगरानी र जनस्वास्थ्यका उपायलाई तीव्र बनाउनु, स्वास्थ्यसंस्थामा उपचार व्यवस्थापन र सङ्क्रमण रोकथाम तथा नियन्त्रणलाई बलियो बनाउनु र खोपको प्रयोग, उपचार तथा अन्य उपायको अनुसन्धानलाई बढाउनु मुख्य उपाय हुन् । मंकीपक्स भाइरस सङ्क्रमित जनावरसँगको अप्रत्यक्ष वा प्रत्यक्ष सम्पर्कबाट मानिसमा सर्ने गर्दछ । सङ्क्रमित व्यक्तिको छाला वा बिमिरा र श्वासप्रश्वासका थोपाको प्रत्यक्ष सम्पर्कमा आएमा मानिसदेखि मानिसमा यो रोग सर्न सक्छ । हाल प्रकोप फैलिएका देशमा मंकीपक्स सङ्क्रमणमध्ये मुख्यरूपमा यौन सम्पर्कसहित नजिकको शारीरिक सम्पर्कमार्फत सङ्क्रमण भएको देखिएको डब्लुएचओले जनाएको छ । सङ्क्रमित छालाका कण भएका ओछ्यान, विद्युतीय उपकरण, कपडाजस्ता सङ्क्रमित सामग्रीबाट पनि रोग सर्न सक्छ । रासस