स्वास्थ्य क्षेत्रमै पहिलो पटक आईपीओ जारी गर्दै ह्याम्स अस्पताल, १७ प्रतिशत बोनस सेयर पारित

काठमाडौं । हस्पिटल फर एडभान्स्ड मेडिसिन एण्ड सर्जरी (ह्याम्स अस्पताल)ले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनी पब्लिक लिमिटेडमा गएपछिको पहिलो साधारण सभाले सर्वसाधारणका लागि ११ लाख २५ हजार कित्ता सेयर जारी गर्ने निर्णय गरेको हो । जुन जारी पुँजीको १५ प्रतिशत हो । प्रतिकित्ता एक सय रुपैयाँका दरले सर्वसाधारणमा सेयर जारी हुनेछ । यसैमध्येबाट बढीमा ५ प्रतिशत सेयर कर्मचारीका लागि जारी गरिने साधारण सभाले निर्णय गरेको छ । बाँकी ८५ प्रतिशत सेयर स्वामित्व भने संस्थापक समूहको हुने अस्पतालले जनाएको छ । अस्पतालले सेयर निष्काशनका लागि ब्रिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई समेत नियुक्त गरिसकेको छ । साधारण सभाले आफ्ना सेयरधनीहरूलाई १७.३८ प्रतिशत बोनस सेयर र ०.६७ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । त्यसपश्चात कम्पनीको कुल पुँजी ६३ करोड ७५ लाख रुपैयाँ हुनेछ । साधारण सभाले ५ सदस्यीय सञ्चालक समिति गठन गरेको छ । जसमा संस्थापक सेयरधनीको तर्फबाट राम शरण भण्डारी, दल बहादुर भण्डारी र प्रेम बहादुर भण्डारी नियुक्त भएका छन् । यस्तै, सर्वसाधारण तर्फ गीता जोशी सायमी नियुक्त भएका छन् । साधारणसभाले स्वतन्त्र सञ्चालकमा टंकमणी शर्मालाई नियुक्त गरिएको छ । स्वास्थ्य क्षेत्रमा समेत अनुभव र प्रशासकीय अनुभव भएका शर्मा पूर्व महालेखा परीक्षक हुन् ।

कान्ति बाल अस्पतालले आइतबार ओपिडी सेवा बन्द गर्ने

काठमाडौं । महाराजगञ्जस्थित कान्ति बाल अस्पतालले आइतबार ओपिडी सेवा बन्द गर्ने भएको छ । अस्पतालले शुक्रबार एक सूचना जारी गर्दै आइतबार सार्वजनिक बिदा परेकोले ओपिडी सेवा बन्द गर्ने जानकारी गराएको हो । असोज २८ गते आइतबार घटस्थापना परेकोले सरकारले सो दिन सार्वजनिक बिदा दिएको हो । यद्यपि सो दिन इमरजेन्सी सेवा भने खुला रहने अस्पतालले जानकारी गराएको छ । ‘असोज २८ गते यस वर्षको बडादसैंको घटस्थापना पर्वको सार्वजनिक विदा परेकोले उक्त दिन अस्पतालको ओपिडी सेवा बन्द रहने तर ईमरजेन्सी सेवा भने २४ सै घण्टा खुला रहने व्यहोरा सम्बन्धित सबैलाई यसै सूचना मार्फत जानकारी गराइन्छ ।’ अस्पतालले जारी गरेको सूचनामा उल्लेख छ ।

घर घरमा स्वास्थ्य सेवा पुर्याउनुपर्छ: महामन्त्री थापा

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले घर घरमा स्वास्थ्य सेवा पुर्याउनुपर्ने आवश्यकता रहेको बताए । बिहीबार काठमाडौंमा अयोाजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले बाथ रोगको जनचेतना फैलाउन सबै मिलेर लाग्नुपर्ने पनि बताए । मान्छे बिरामी भएपछि उपचार लिन आउने केन्द्र बनाउनुभन्दा घर घरमै स्वास्थ्य सेवा पुर्याउने हो भने अस्पताल आउनुपर्ने मानिस घट्ने उनको भनाई थियो । उनले ६०/७० लाखलाई बाथ रोग भएको हुनसक्ने अनुमान रहेको भन्दै यो डरलाग्दो रहेको बताए । ‘बाथरोगको बारेमा हामी सुन्यौँ, ६०/७० लाख जति मानिसलाई बाथ रोग भएको हुनसक्ने अनुमान छ, त्यसको बारेमा जानकारी समयमा नै थाहा पाउनुपर्छ, समयमै बाथ रोगको बारेमा थाहा पाउनुपर्छ र सूचना लिन पाउनुपर्छ,’ उनले भने । महामन्त्री थापाले घरघरमा स्वास्थ्य सेवा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ का विभिन्न वडा र क्षेत्रमा गरिने बताए ।