विश्व पक्षघात दिवस : रत्नपार्कमा ग्राण्डी इन्टरनेशनल हस्पिटलको स्वास्थ्य शिविर
काठमाडौं । विश्व पक्षघात दिवसको अवसरमा नेपालमा पनि विभिन्न सचेतनामुलक कार्यक्रम गरी मनाइएको छ । विश्व पक्षघात दिवसको अवसरमा आज (आईतबार) काठमाडौंको रत्नपार्कस्थित शान्तिबाटिकामा नेपाल पक्षघात संघ र ग्राण्डी इन्टरनेशनल हस्पिटल लगायतका अस्पताल र स्वास्थ्य सेवा केन्द्रहरुले जनचेतनामुलक कार्यक्रम गरेर मनाइएको हो । विश्व पक्षघात दिवसको अवसरमा आज काठमाडौंको रत्नपार्कमा जनचेतनामुलक प्लेकार्ड बोकेर वाकथनसमेत गरिएको थियो । साथै ग्राण्डी इन्टरनेशनल अस्पतालले सो अवसरमा आज रत्नपार्कको शान्ति बाटिकामा स्वास्थ्य शिविरको समेत आयोजना गरेको छ । स्वास्थ्य शिविर कार्यक्रममा बोल्दै ग्राण्डि इन्टरनेशनल हस्पिटलका न्युरोलोजिस्ट राजु पौडेलले पक्षघातबाट बच्ने उपायका प्लोकार्डहरु बोकेर वाकथन गरेको र स्वास्थ्य शिविर सञ्चालन गरेको बताए । नेपाल पक्षघात संघका अध्यक्षसमेत रहेका उनले पक्षघात धेरैजसो वृद्धहरुमा हुने भएकाले वर्षमा एकपटक पूर्ण रुपमा स्वास्थ्य परीक्षण गराउनुपर्ने बताए । उनले बालबालिकामा पनि पक्षघातको समस्या बढ्दै गएकाले सचेत र सजग रहन आग्रह गरे । ‘जनचेतनाका लागि हामीले विभिन्न पक्षघातबाट बच्ने उपायका प्लोकार्डहरु बोकेर वाकथन गरेका छौँ । यो कार्यक्रम देशभरका विभिन्न शहरमा गरेका छौँ । पक्षघात धेरैजसो बुढो उमेरमा हुन्छ, बालबालिकामा पनि समस्या देखिन्छ, कुनैपनि उमेरलाई छोड्दैन, तर यो धेरैजसो ६० वर्षपछि बढी देखिन्छ । मुटुको समस्या भएकालाई पक्षघातले असर गर्छ । हामीले चेकअप गरिरहनु पर्छ । बाहिरी खानेकुराहरु कम गर्दै जानुपर्छ । अचानक सन्तुलन बिग्रिने, बोली लरबरिने, हातखुट्टा लुलो हुने र आवाजमा अचानक परिवर्तन आए, साढे ४ घण्टाभित्र अस्पताल पुग्नसके समयमै उपचार गर्न र ज्यान जोगाउन सकिन्छ ।’,उनले भने । उनले अचानक सन्तुलन बिग्रिने, बोली लरबरिने, हातखुट्टा लुलो हुने र आवाजमा अचानक परिवर्तन आउने जस्ता लक्षण देखिए लक्षण देखिएको साढे ४ घण्टाभित्र अस्पताल पुग्नसके समयमै उपचार गर्न र ज्यान जोगाउन सकिने बताए ।
समयमा स्वास्थ्य संस्था नपुग्दा अकालमै बित्छ सुत्केरीको ज्यान
बलेवा । तेस्रो सन्तान कोखमा रहेको थाहा पाएदेखि नै रीता रोका स्वास्थ्यचौकी पुगिरहेकी थिइन्। उनलाई नियमित गर्भको जाँच गर्न स्वास्थ्यकर्मीले सुझाएका थिए । गाउँमा हुने आमा समूहको बैठक होस् वा गर्भावस्था र सुत्केरी अवस्थामा हुने जोखिमका विषयमा छलफलका लागि उनको सक्रियता अरु महिलाका भन्दा धेरै हुन्थ्यो । स्वास्थ्यकर्मीको सल्लाहअनुसार सात पटक गर्भजाँच गराएकी रीताले अन्तिम अवस्थामा भने समयमा स्वास्थ्यचौकी पुग्न नसकेकै कारण मृत्युवरण गर्नुपर्यो। बागलुङको निसीखोला गाउँपालिका–३ बोहोरागाउँको छापाखानीकी ३२ वर्षीया उनको सुत्केरी भएपछि अत्यधिक रक्तश्राव भएकै कारण मृत्यु भएको हो, त्यो पनि नेपालीको महान् चाड दसैँकै बेलामा । गर्भजाँचका लागि स्वास्थ्य चौकी जानुपर्छ भन्ने थाहा पाउनुभर्एमकी रीतालाई सुत्केरी गराउन भने स्वास्थ्यचौकी पुर्याइएन । कात्तिक ७ गते राति ९ बजे गोठमा सुत्केरी भएकी उनको भोलिपल्ट बिहान ४ बजे बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र पुर्याउँदा मृत्यु भइसकेको थियो । निसीखोलाका केही गाउँमा अझै पनि गोठमै सुत्केरी हुनुपर्ने प्रचलन छ । गोठमा रीता सुत्केरी भएपछि छिमेकीले थाहा पाए । छोरी जन्माएकी रीताको भन्दा छोरीको ख्याल छिमेकीले धेरै गरे । समयमै साल नझरेकै कारण उनको अत्यधिक रक्तश्राव हुँदा मृत्युवरण गर्नुपरेको बोहोरा गाउँ स्वास्थ्यचौकीका प्रमुख कसिन्द्र साहीले बताए । उनका अनुसार ९ बजे सुत्केरी भएकी रीताको साल नझरेपछि छिमेकीले राति १ बजे स्वास्थ्य स्वयंसेविकालाई खबर गरेका रहेछन् । रातको समयमा एक घण्टा टाढाबाट स्वयंसेविका पुग्दा रगत धेरै बगिसकेको थियो । दुई बजे पुगेकी स्वयंसेविकाले १५ मिनेट दूरीमा रहेको स्वास्थ्य संस्था तत्काल पुर्याउन सल्लाह दिइन् । बोहोरा गाउँ स्वास्थ्यचौकीमा पहिलै खबर गरेकाले सबै स्वास्थ्यकर्मी सामग्रीसहित तैनाथ थिए तर समय घर्किसकेकाले स्वास्थ्य संस्थाले केही गर्न सकेन र बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र पुर्याइयो । ‘म आफैँले लिएर बुर्तिबाङ पुगेँ तर केही लागेन्’,स्वास्थ्यचौकीका प्रमुख शाहीले भने, ‘स्वास्थ्य संस्थामा आएर सुत्केरी भएको भए ज्यान बचाउन सकिने केश हो तर ढिला भएकाले विज्ञानको पनि केही लागेन ।’ बिहान ४ बजे उनलाई प्राथमिक स्वास्थ्य केन्द्रले मृत घोषणा गरेको थियो । यसअघि दुई छोरा जन्माएकी रीताले छोरीलाई जन्म दिएकी थिइन् । छोरीको स्वास्थ्य भने सामान्य रहेको उनले बताए । ‘पहिला जाँच गर्न आउँदा रगतमा समस्या देखिएको थियो, हामीले पोखरा वा बुटवल गएर उपचार गर्न सल्लाह दिएका थियौँ । उहाँले साथीभाइसँग सल्लाह पनि गर्नुभएको रहेछ, तर आर्थिक अभावका कारण जानुभएनछ’, प्रमुख शाहीले भने, ‘आर्थिक अवस्था र सामान्य हेलचेक्य्राइँका कारण सुत्केरीको ज्यान गयो । सुत्केरी भइसकेपछि पनि समयमै स्वास्थ्य संस्था आएको भए ज्यान बचाउन सकिने अवस्था थियो ।’ रीताका पाँच वर्षीय छोराको एक महिनाअघि मात्रै भिरबाट लडेर मृत्यु भएको थियो । पुत्रशोक, परिवारको कमजोर आर्थिक अवस्थालगायत कारणले समयमा अस्पताल पुग्न नपाएकी रीताले छोरीलाई जन्म दिएपछि मृत्युबरण गर्नुपर्यो। रीताका श्रीमान् ज्याला मजदुरी गरेर जीवनयापन गर्छन् । पूर्ण संस्थागत सुत्केरी जिल्ला घोषणा अभियान सञ्चालन गरिरहेको बागलुङमा अझै पनि घरगोठमा सुत्केरी हुँदा महिलाले ज्यान गुमाइरहेका छन् । जनचेतनाको कमी र आर्थिक अवस्थाका कारणले यस्ता घटना दोहोरिने गरेको सरोकारवाला बताउँछन् । ‘पहिलो कुरा त स्वास्थ्य संस्थामा सुत्केरी हुँदा धेरै जोखिम कम हुन्छन्, अर्को कुरा सरकारले फ्रि हेलिकप्टरको व्यवस्था गरेको थियो, यी सबै कुराको बेवास्ता गर्दा सुत्केरीको ज्यान गइरहेको छ’, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख प्रवीण शर्माले भने, ‘अहिले नहुनपर्ने घटना भयो, थप घटना हुन नदिनका लागि हामी अभियान सञ्चालन गर्छौं ।’ सुत्केरी हुनका लागि स्वास्थ्यचौकी पुर्याउनुर्पेमा कोही नभएकै कारण रीताले ज्यान गुमाउनुपरेको उनको भनाइ थियो । घरमै सुत्केरी हुँदा आमा र बच्चा दुवैको ज्यान जोखिममा हुने भएकाले कसैले पनि त्यसो नगर्न प्रमुख शर्माले सुझाए । रासस
ट्रमा सेन्टरमा आएका मध्ये ८० प्रतिशत बिरामीको अप्रेसन गर्नुपर्ने
काठमाडौं । राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि आएकामध्ये ८० प्रतिशत बिरामीको अप्रेसन हुने गरेको छ । ट्रमा सेन्टरका निर्देशक डा.बद्री रिजालले अस्पतालमा दैनिक करिब चार सय ५० देखि पाँच सय जना बिरामी आउने गरेको र त्यसमध्ये ८० प्रतिशतको अप्रेसन गर्नुपर्ने खालका हुने गरेको जानकारी दिए । हाल अस्पतालमा दैनिक २५ देखि ३० जनाको अप्रेसन हुँदै आएको छ । उनले अस्पतालमा बिरामीको चाप हुने गरेकाले दुई सय १८ शय्या सञ्चालनमा रहेको जानकारी दिए । डा.रिजालले सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउन जनशक्ति अभाव भएको बताए । झन्डै तीन सय जनाको हाराहारीमा स्थायी दरबन्दी र आन्तरिक स्रोत लगायतबाट झन्डै तीन सय गरी ६ सय जना कर्मचारी कार्यरत रहेको जानकारी दिए । दरबन्दी पर्याप्त नहुँदा एक जना चिकित्सकले तीनदेखि चार जना बिरामीलाई हेर्नुपर्ने बाध्यता रहेको बताए । अस्पतालमा एक सय जना चिकित्सक र दुई सय ५० जना नर्स कार्यरत छन् । अस्पतालभित्रै सबैजसो औषधि उपलब्ध हुने गरी व्यवस्थापन गरिएको जानकारी दिए । आफू वार्डहरूको स्तरोन्नति गर्नेतर्फ लागिरहेको बताए । अहिले अस्पतालबाट अनलाइन टिकट लिने व्यवस्था मिलाइएको र बिहान आठ बजेदेखि नै अस्पतालको सेवा प्रवाह हुँदै आएको बताए । डा.रिजालले ट्रमाका लागि अति आवश्यक मानिएको रिहाब सेन्टर सरकारी तवरबाट नहुँदा बिरामीहरू मर्कामा परेको बताए । स्पाईन इन्जुरी, ढाडमा चोट लागेर खुट्टा, हात नचल्ने भएर आएका बिरामीहरू अप्रेसन गरिसकेपछि पुनः स्थापनाका लागि रिहाब सेन्टरमा जानुपर्ने उनले बताए । उनले अस्पतालमा कार्यरत जनशक्तिको क्षमता अभिवृद्धिका लागि तालिम सञ्चालन गरिने बताए । डा.रिजालले ट्रमाका बिरामीलाई मध्यनजर गर्दै फिजियोथेरापी सेवा बिस्तार गर्ने योजना रहेको जानकारी दिए ।