ढाडको बाँङ्गोपनाको उपचार नेपालमै सस्तो खर्चमा सम्भव छ : डा. बिजुक्छे

काठमाडौं । ढाड बाङ्गिने समस्या १६ वर्ष मुनिका बच्चाहरुमा बढी देखिने विभिन्न अध्ययनहरुले देखाएको छ । कुल जनसंख्याको ०.५ प्रतिशतमा अलिकति ढाड बाङ्गिन्छ । २० डिग्रीभन्दा माथिको ढाड बाङ्गिएको छ भने त्यसले समस्या दिने चिकित्सकहरुले बताउँदै आएका छन् । धेरैजसो १० वर्षको उमेर गइसकेपछि बालिकाहरुलाई यो समस्या देखिने गरेको छ । ढाडको बाँङ्गोपनाको समस्या सात महिला बराबर एक पुरुषमा देखिन्छ । अस्पतालहरुबाट ढाडको बाँङ्गोपनाको उपचार नेपालमा सर्वसुलभरुपमा रहेको र सफल उपचार हुँदै आएको छ । तर, कतिपय आम नागरिकहरु भने यसमा अनविज्ञ छन् । ढाड बाँङ्गिने रोगसँग केन्द्रित रहेर एशोसिएशन अफ स्पाइन सर्जन अफ नेपालका अध्यक्ष डा. विनोद बिजुक्छेसँग ढाडको बाँगोपना सम्बन्धी गरेको कुराकानीको सम्पादित अंश यस्तो छ ः ढाडको बाङ्गोपन हुने समस्या के कारणले हुन्छ ? एउटा जन्मजात नै हुन्छ । जन्मिदा नै ढाड बाँङ्गो हुन्छ । अर्को किसिमको बाँङ्गोपना कारण नै थाहा नहुने खालको हुन्छ । जसलाई इडियोप्याथी भन्छौं । त्यो धेरै जसो १० वर्षको उमेरपछि बालिकालाई देखिन्छ । यो चाहीँ छोराहरुभन्दा छोरीहरुलाई बढी देखिन्छ । सात जना छोरीमा देखियो भने एक जना छोरामा देखिन्छ । कारण ठ्याक्कै के हो भन्ने कुरा आजसम्म पनि पत्ता लागेको छैन । ढाड बाँङ्गो भएको समस्याको उपचार सम्भव छ भन्ने कुरा नेपालमा धेरै मानिसहरुलाई थाहा पनि छैन । ए ! ढाड बाँङ्गो भएछ, कसैकसैले त भगवानको श्रापले गर्दा भएको हो भन्ने गरेको पनि सुनिन्छ । त्यसैले उनिहरु उपचार नै नगरिकन त्यसै बसिरहेका हुन्छन् । त्यसैले यसको उपचार सम्भव छ । र, समयमा उपचार गरियो भने भविष्यमा आउने समस्याहरुबाट बचाउन सकिन्छ । ढाडको बाँगोपनाको उपचार समयमा गरिएन भने फोक्सो र मुटुमा समस्या आउन सक्छ । सानो उमेरमा नै अक्सिजनको मात्रा धेरै चाहिने भयो भने के हुन्छ ? एकछिन हिँड्दापनि स्वाँस्वाँ हुन्छ । त्यो कुराहरु हामीले समयमा नै पत्ता लगाएर समयमै उपचार गर्नसक्यौं भने उसको क्वालिटी अफ लाईफ नर्मल बनाउन सक्छौं । ढाडको बाँङ्गोपन भएको कसरी थाहा पाउन सकिन्छ ? सबैभन्दा सामान्य उपाय भनेको बच्चालाई हात जोडेर निहुरिन भन्नुपर्छ । हातले भुइँ छुन कोशिस गरेजस्तै घुँडालाई सिधा राखेर । त्यसरी निहुरीदाँ अगाडीबाट अथवा पछाडीबाट विद्यालयमा शिक्षकहरुले हेरेपनि हुन्छ, आमा बुबाले घरमा हेरेपनि हुन्छ । त्यसरी हेर्दाखेरी ढाडको एकातिरको लेभल अलिकति माथि र अर्कोतिरको लेभर अलिकति तल भएको देखिन सक्छ त्यसलाई हामीले रिभर्म वा लम्बर हम्प भनेर भन्छौं । त्यो करङ नै रोटेट भएर आएको देखिन्छ, एउटा तल एउटा माथि । त्यो चाहीँ सबैभन्दा सरल उपाय हो । घरघरमा अथवा स्कुल स्कुलमा गर्न सकिन्छ । यदी बाँगोपना देखिएको शंका लाग्यो भने चिकित्सकसँग परामर्श गर्नुपर्छ । त्यसपछि हामीले एक्सरे गरेर हेर्छौं । एक्सरेले क्लियर गर्छ । उपचार कत्तिको खर्चिलो छ ? हाम्रो एशोसिएशनमा दर्तावाल चिकित्सकको संख्या झन्डै एक सय जना हुनुहुन्छ । त्यो बाहेक दर्ता नभएका झन्डै १५ जना हुनुहुन्छ । उहाँहरु सबै विज्ञ नै हुनुहुन्छ । हामीले एक्सरे गरेर हेरिसकेपछि बाँगोपना कति डिग्री रहेछ भनेर नाप्छौँ । यदी २५ डिग्री भन्दा सानो छ भने केही पनि गर्नुपर्दैन । हामीले अब्जर्भ मात्रै गर्ने भनेर भन्छौँ । प्रत्येक ६÷६ महिना वा वर्षदिनमा फलोअप गर्छौं । यदी बाँगोपना २५ देखि ४० डिग्री छ भने पेटी दिन्छौँ । त्यसलाई प्रेस भनेर भन्छौं । यदी बाँगोपना ४० डिग्री भन्दा माथि छ भने अप्रेसन गर्नुपर्छ भनेर भन्छौं । जे उपचार गरेपनि मुख्यकुरा मेरुदण्ड सन्तुलित हुनुप¥यो । हामी उभिँदाखेरी टाउकोको लेभल कम्मरको बीचमा पर्नुप¥यो । यदी बाँगोपन धेरै छ भने अप्रेसन गर्छौं । अप्रेसन गर्दा रडहरु लगाउनुपर्छ । रडहरु विदेशबाट मगाउनुपर्छ । यो अलिकति महँगो पर्छ । विदेशमा उपचार गर्ने खर्च भन्दा झन्डै झन्डै आधा भन्दापनि कम खर्चमा उपचार हुन्छ । कुन उमेर समूहमा बढी देखिन्छ ? यो धेरैजसो बच्चाहरुमा देखिन्छ । आमा बुबाले तेल लगाउन शुरु गरिसकेपछि ढाड बाँगो भएको देखिन्छ । यो चाहीँ एक्सरे हेरेर हड्डी चार कुने बन्नुपर्ने नबनेर तीन कुने बनेको हुन्छ । इडीयोप्याथिक १० वर्षको उमेरपछि देखिन्छ । बच्चाहरु आफैँले नोटिस गरेका हुँदैनन् । आमा बुवाले नोटिस गर्नुपर्छ । कहिले कहीँ लुगा लगाएको फिटिङ हुँदैन । त्यसपछि थाहँ हुन्छ । कहिले कहीँ शिक्षक, साथीहरुले थाहा पाउँछन् । फिटिङ नै भएन भन्छन् । चेक गरेर हे¥यो बाँगोपना रहेछ भन्ने थाहा हुन्छ । हामीले स्कुल स्क्रिनिङ प्रोग्राम भनेर पनि गरेका थियौं । स्कुलमा बाँगोपना भएका बच्चाहरु छन् की छैनन् भनेर पत्ता लगाउनका लागि स्कुल स्कुलमा गएर बच्चाहरुलाई इक्जामिनेसन गर्ने गथ्र्यौं । ढाडको बाँङ्गोपना उपचार नेपालमा सम्भव छ ? ढाडको बाँङ्गोपना उपचार नेपालमा सम्भव छ । आज भन्दा १४÷१५ वर्ष अगाडी टेक्नोलोजिको पनि विकास भइसकेको थिएन । विषय विज्ञहरुपनि थिएनन् । विषयविज्ञहरु डेभ्लप हुँदै गए, उनीहरुले आज आएर ढाडको कुनैपनि समस्या विशेष गरेर ढाडको बाँगोपना, ढाडको चोटपटक, नसा च्यापिएको अवस्था, हात खुट्टा नचलेको लगायतको उपचार गर्न नेपालमा सम्भव छ । प्रविधिमा युरोप अमेरीकामा जति धेरै अघि छन् त्यहाँ त पुग्न नसकौँला तर, त्यो प्रविधि अनुसार उनीहरुको कस्ट पनि एकदमै धेरै नै छ । तर, हामीले जुन टेक्नोलोजी र एक्सपर्टीजले नेपालमा सुविधा दिइरहेका छौं । र, रिजल्टहरु पब्लिस्ड गरिरहेका छौं । विश्वको जुन राम्रो हस्पिटलमा रिजल्ट आइरहेको छ, त्यो रिजल्ट हामीले पनि दिनसक्छौं र रिजल्टपनि दिइरहेका छौं । सरकारको भूमिकालाई कसरी लिनुहुन्छ ? सरकारले विभिन्न किसिमका स्वास्थ्य नीतिहरु त ल्याइरहेको छ । ढाडमा चोट लागेको, हेड इन्जुरी सम्बन्धी उपचारमा सरकारले सहयोग गरिरहेको छ । स्पाइन भनेको शरीरको त पिलर हो नी । यदी मेरुदण्ड बलियो भयो भने मात्रै कुनैपनि मान्छे आफ्नो काममा अगाडी बढ्न सफल हुन्छ । स्कोलीओसिस सर्जरीको लागि सरकारले अहिलेसम्म केही सहयोग त गरेको छैन । तर, ढाडमा चोट लागेकोलाई सरकारले एक लाख रुपैयाँसम्म बिरामीलाई सहयोग गर्ने गरेको छ । र, हात खुट्टा नचल्ने नै भएको छ भने महिनाको पाँच हजार रुपैयाँ जति भत्तापनि दिने गरेको छ । ढाडको बाँङ्गोपन हुन नदिन के गर्नुपर्छ ? जन्मदेखि नै बाँगोपना हुनसक्छ । आमाको पेटमा हुँदाखेरी नै जुन हिसावमा हड्डी बन्नुपर्ने हो त्यो नबन्न पनि सक्छ । इडियोप्याथिक (कारण नै थाहा नभएर बाँगोपना हुने) ले पनि हुनसक्छ । चोटपटक लागेर पनि ढाड बाँगो हुनसक्छ । चोटपटक लाग्नबाट बच्ने उपायहरु अपनाउनु पर्छ । ट्राफिक नियम पालना गरियो भने चोटपटकबाट बच्न सकिन्छ । रुख चढ्दा ख्याल गर्नुपर्छ । ढाडमा केही समस्या भएको छ भने र बाँगोपना हुनसक्ने देखिएको छ भने समयमै उपचार गराउनुपर्छ ।

बिरामीको विवरण देखिने गरी टाँस्न मन्त्रालयको निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताललाई कूल शय्याको १० प्रतिशत निःशुल्क उपचार गरिएका बिरामीको विवरण देखिने ठाउँमा टाँस्न निर्देशन दिएको छ । मन्त्रालयका सहसचिव डा.मदनकुमार उपाध्यायले मंगलबार सरकारी, निजी तथा सामुदायिक अस्पताल र प्रतिष्ठान तथा मेडिकल कलेजलाई परिपत्र जारी गर्दै कूल शय्याको १० प्रतिशत निःशुल्क गरिएका बिरामीको अभिलेख विवरण सार्वजनिकरूपमा देखिने गरी जानकारी दिन, टाँस्न तथा विद्युतीय बोर्डमा डिस्प्ले गर्न निर्देशन दिएका हुन् । मन्त्रालयले जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ६४ र स्वास्थ्य संस्था सञ्चालनसम्बन्धी मापदण्ड, २०७७ को दफा ७० (घ) बमोजिम अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कूल शय्याको १० प्रतिशत छुट्ट्याई निःशुल्क उपचार अनिवार्य गराउन पटकपटक परिपत्र दिइसकेको जनाएको छ । यस्तै मन्त्रालयले निजी तथा सामुदायिक र निजी मेडिकल कलेजलाई आफ्नो वर्गीकरणअनुसार सेवा प्रवाह गरे नगरेको जानकारी गराउन आग्रह गरेको छ । यसैगरी मन्त्रालयले सङ्घीय अस्पताल, मेडिकल कलेज र स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आफूले उपलब्ध गराउने सम्पूर्ण सेवा सुविधाको विद्यमान सेवा शुल्क विवरण उपलब्ध गराउन अनुरोध गरेको छ । आवश्यकताअनुसार ज्वरो क्लिनिकल गर्न निर्देशन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इमिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले सबै अस्पताललाई डेङ्गी सङ्क्रमणको उपचार प्रभावकारी गर्न निर्देशन गरेको छ । महाशाखाका निर्देशक डा.रुद्रप्रसाद मरासिनीले दैनिक डेङ्गीका सङ्क्रमण बढिरहेकाले सङ्घीय अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई परिपत्र जारी गर्दै डेङ्गी रोगको निदान र उपचार व्यवस्थापन गर्न निर्देशन दिएका हुन् । “दैनिक डेङ्गी सङ्क्रमण बढिरहेको छ । सङ्घअन्तर्गतका अस्पताल र प्रतिष्ठानलाई डेङ्गी रोग रोकथाम, नियन्त्रण तथा उपचार व्यवस्थापन निर्देशिकाअनुसार गर्न निर्देशन दिएका छाँै”, उनले भने । उनले डेङ्गी रोगको निदान, उपचार र व्यवस्थापन गर्नका लागि ती अस्पताल र प्रतिष्ठानलाई परिपत्र जारी गर्र्दै छ बुँदे निर्देशन दिए । परिपत्रमा डेङ्गी रोगको निदान तथा उपचार व्यवस्थापनका लागि राष्ट्रिय डेङ्गी रोकथाम, नियन्त्रण तथा उपचार व्यवस्थापन निर्देशिकाअनुसार गर्न, स्वास्थ्य सेवा विभागबाट जारी गरिएको डेङ्गी रोकथाम तथा नियन्त्रण कार्ययोजनाअनुसार कार्य गर्न तथा डेङ्गी रोगको निदानका लागि आवश्यक कीटको सुनिश्चित गर्न पनि निर्देशन दिइएको छ । यस्तै डेङ्गी रोगका बिरामी बढिरहेको अवस्थामा आवश्यकताअनुसार ‘ज्वरो क्लिनिक’ सञ्चालन गर्न उहाँले ती अस्पताललाई निर्देशन दिनुभएको हो । अस्पतालमा डेङ्गी रोगको चापका आधारमा ज्वरोको स्क्रिनिङका लागि ज्वरो क्लिनिकल सञ्चालन गरिने उनको भनाइ छ । रामीको मृत्यु भएको अवस्थामा प्रमाणीकरण गरेर मात्र प्रतिवेदन तयार गर्न, बिरामीको विवरण नियमितरूपमा सफ्टवेयरमा राखी प्रतिवेदन तयार पार्नेलगायतका काम गर्न निर्देशन दिए । अहिले ५ हजार ६८८ जनामा डेङ्गीको सङ्क्रमण र ४ जनाको निधन भएको छ । महाशाखाले अहिलेको अवस्थामा डेङ्गी सङ्क्रमण बढ्दै गए भदौ र असोज महिनामा उच्च हुने प्रक्षेपण गरेको छ । उनले वर्षायाम सुरु भएसँगै असारको अन्तिम सातादेखि सङक्रमण ह्वात्तै बढिरहेको बताए । डेङ्गु पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भाले वयस्क भएर टोकेपछि डेङ्गु रोग लाग्दछ । कार्ययोजनामा यस्तै लामखुट्टैको लार्भा खोज तथा नष्ट गर्ने अभियान र जनस्तरसम्म डेङ्गी रोग रोकथाम तथा नियन्त्रणका लागि सचेतना अभियान सञ्चालन गर्ने उल्लेख गरिएको छ । यसैगरी डेङ्गी नियन्त्रणका लागि महाशाखाले घरदैलो कार्यक्रम सञ्चालन गर्ने बताएको छ । यसैगरी जोखिम नक्साङ्कन तथा हट–स्पट पहिचान गर्ने, डेङ्गी सेरोटाइपको पहिचान, लामखुट्टेमा डेङ्गी भाइरसको आइसोलेसन गर्नेसमेत कार्ययोजनमा उल्लेख गरिएको छ । नेपालमा पहिलो पटक सन २००४ मा एक जनामा डेङ्गु देखिएको थियो । मन्त्रालयले लामखुट्टेबाट बच्नका लागि सधैँ झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न अनुरोध गरेको छ । यस्तै सम्भव भएसम्म लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपक्षी व्यवस्थित ढङ्गले पाल्न र घरवरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिने आग्रह गरेको छ । रासस

स्वास्थ्य प्रणालीको सुधारका लागि विश्व बैंकले सहयोगलाई निरन्तरता दिने

काठमाडौं । नेपालको स्वास्थ्य प्रणालीको सुधारका लागि विश्व बैंकले आफ्नो सहयोगलाई निरन्तरता दिने भएको छ । विश्व बैंकका देशीय निर्देशक फारिस हादाद जेरभोसले आज स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतसँग भेटवार्ता गरी उक्त प्रतिबद्धता जनाएका हुन्। सो अवसरमा स्वास्थ्यमन्त्री बस्नेतले नेपालको स्वास्थ्यलगायत क्षेत्रमा विश्व बैंकले गरिरहेको विभिन्न सहयोगको सराहना गर्दै आगामी दिनमा थप आर्थिक तथा प्राविधिक सहयोग गर्न आग्रह गरे । विश्व बैंकका देशीय निर्देशक जेरभोसले स्वास्थ्य क्षेत्रमा निरन्तर सहयोग गर्दै आइरहेकामा आगामी पाँच वर्षका लागि स्वास्थ्य क्षेत्रमा सहयोग गर्न एक सय मिलियन डलर ऋण सहायता तथा तीन दशमलव ८४ मिलियन ग्रान्ड दिने र उक्त विषय मन्त्रिपरिषद्बाट स्वीकृत गर्ने क्रममा रहेको  जानकारी गराए । निर्देशक जेरभोसले नेपालको स्वास्थ्य प्रणाली सुधारका लागि विश्व बैंकले सहकार्य गर्न पाउँदा खुसी व्यक्त गर्दै कोभिड–१९ महामारीको बेलाजस्ते अन्य महामारी तथा स्वास्थ्य क्षेत्रको गुणस्तर अभिवृद्धिका लागि सहयोग निरन्तर जारी रहेने विश्वास व्यक्त गरे । विश्व बैंकले कोभिड–१९ महामारीका बेला पनि विभिन्न सहयोग गरेको थियो । विशेषगरी कोभिड–१९ विरुद्धको खोप अनुदानको रुपमा स्वास्थ्य मन्त्रालयलाई दिएको थियो । मन्त्री बस्नेतले कोभिड–१९ महामारीका बेला विश्व बैंकबाट प्राप्त सहयोग रकम केही बचेको र उक्त रकम स्वास्थ्य मन्त्रालयले नै खर्च गर्नेगरी आवश्यक प्रक्रिया अघि बढाइएको जानकारी दिए । कोरोनाका बेला खर्च गर्न उपलब्ध भएको मध्ये बचेको रकम अर्थमन्त्रालयमा पठाइएको थियो । उक्त रकम स्वास्थ्यमन्त्रालयले नै खर्च गरोस् भन्ने विश्व बैंकको धारणा रहेको मन्त्री बस्नेतले जानकारी दिए । ‘विश्व बैंकको पनि बचेको पैसा स्वास्थ्य मन्त्रालयले खर्च गरोस् भन्ने छ । यसबारे प्रक्रिया अगाडि बढाइएको छ’, उनले भने । अहिले डेङ्गु लगायतका महामारी फैलनसक्ने सम्भावना रहेको र अन्य क्षेत्रमा पनि खर्च गर्नुपर्ने भएकाले उक्त रकम मन्त्रालयमै ल्याउन लागिएको मन्त्री बस्नेतको भनाइ छ । उनका अनुसार कोरोना महामारीको समयमा खर्च गर्नका लागि आएकोमध्ये बचेको रकम करिब  एक अर्ब रहेको छ । मन्त्रालयको बजेटको आकार घटेको छ । अहिले २० प्रतिशत बजेट कटौती भएको छ । सुर्तिजन्य पदार्थमा उठेको वार्षिक छ अर्बमध्ये  ४० करोड मात्रै मन्त्रालयले पाएको मन्त्री बस्नेतले बताए । उनले भने, ‘सूर्तीजन्य पदार्थको उठेको रकम पनि अर्थमन्त्रालयमा रहेको र अर्कोतर्फ कोरोनाका  बेलामा खर्च गर्ने भनेर प्राप्त भएको पैसा पनि अर्थमै पुगेको छ । कर्मचारी अभावले दुर्गम क्षेत्रमा स्वास्थ्यकर्मी पु¥याउन नसकिरहेको अवस्थामा थप दरबन्दी सिर्जना गर्नका लागि सो रकम खर्चहोस् भन्ने हो ।’ मन्त्री बस्नेतले स्वास्थ्य रणनीति र वित्त रणनीति पास भएर काम गर्ने वातावरण बनेको उल्लेख गर्दै यसमा जति पैसा हुनसक्छ सोही अनुसारको रणनीतिक कार्ययोजना अघि बढाइने उल्लेख गरे । स्वास्थ्य मन्त्रालयले उक्त रकम खर्च गर्नका लागि अर्थमन्त्रालयमा आवश्यक प्रक्रिया अगाडि बढाएको र यो छिट्टै मन्त्रिपरिषद्बाट पारित हुने मन्त्रालयको विश्वास छ । रासस