त्यो पहिलो महिनावारी…

‘ह्या उता जा १ जहिले खुट्टा चढाउँछे ।’ निदैनिदमा दिदीले गाली गर्दै खुट्टा फ्याली दिनुभयो । मलाई सम्झना छ, त्यो रात सेतो सुरुवाल र निलो कुर्था लगाएकी थिएँ । सधैँ झैँ खुट्टा चढाउने बानीले दिदीसँग सुत्दा गाली नखाएको दिन हुन्थेन । अटेरी थिएँ । फेरि दिदीतिरै खुट्टा फ्याँलेँ । बालापनको मज्जा नै बेग्लै जति जे गरे पनि माफी पाइन्थ्यो । कान्छी छोरी भएकीले दिदीलाई अलि बढी दुःख दिन्थे । अटेर गरी दिदीतिर फेरि खुट्टा चढाउन खोजेँ । तर खुट्टा होइन, कम्मर पो करक्कै खायो । खासै वास्ता गरिनँ । अर्कोतिर कोल्टे फेर्न खोजेँ । उल्टै तल्लो पेट चस्कियो । दिदीको हात निदैनिदमा दुखिरहेको पेटमा पुर्याएर कानमा फुसफुसाएँ, ‘दिदी सारै पेट दुख्यो !’ उहाँ हत्तपत्त जुरुक्क उठ्नुभयो । मानौँ कुनै गहिरो सपना देख्दादेख्दै ब्युझिनु भए जस्तै झल्याँस्स हुनुभयो । दिदीले मेरो कुर्था माथि सारेर सुरुवालको पछाडितिर आँखा लाउनुभयो । सेतो लुगा भिजेर निथ्रुक्कै थियो नै । ओच्छ्यानसमेत राताम्मै भयो । दिदी चिच्याउँदै आमा बोलाउनुभयो । के भयो ? किन यति आत्तिएको मैले केही पत्तो पाइनँ । सुरुवाल र ओच्छ्यानभरि रगत देखेपछि भने मनमा डर लाग्यो । केको डर त्यो पनि थाहा थिएन । आमा आएपछि दिदीले हस्याङ्फस्याङ गर्दै एउटा शब्द भन्नुभयो, ‘बहिनी त पन्छी (महिनावारी) छ ।’ पन्छिनु अर्थात् महिनावारी हुनु । महिनावारीका थुप्रै ठाउँअनुसारका फरक–फरक बोलीचालीका शब्दहरु छन् । सुदूरपश्चिममा छाउपडी, पश्चिमतिर पन्छिनु, पाखा लाग्नु, पर सर्नु, छुई हुनु आदि । १३ वर्षको उमेरमा पहिलोपटक महिनावारी हुँदा खेप्नु परेको सास्ती मानसपटलमा अझै गहिरो रुपमा गडेको छ । भुल्नु सकिँदैन पनि २१ दिनसम्म गोठमा उकुसमुकुस भएको क्षण । स्कूल जान नपाउँदाको दुखेसो । साथीसङ्गीसँग घुम्न र खेल्न कुद्न नपाएको पीडा । यी सबै घाउ सजिलै हराउँदैनन् । त्यो दिन सम्झना छ । बिहानीपख ओच्छ्यानमा पहिलोपटक महिनावारी भएकी थिएँ । दिदीले आफ्नो कुर्थाको सल ल्याएर आमालाई दिनुभयो । आमाले पूरै बेहुलीलाई घुम्टोले छोपे जस्तै गरी ढपक्कै लुकाएर घर बाहिर निकाल्नुभयो । कहाँ राख्ने त यसलाई रु दिदी र आमाले सल्लाह गरेर छिमेकीको गोठमाथि थारोमा राख्ने टुङ्गो लाउनुभयो । उहाँहरुको मप्रतिको अनौठो व्यवहार देखेर म रुन थालेछु । अत्तालिएर घुम्टोभित्रैबाट सुकसुकाउँदै आमालाई सोधेँ, ‘मलाई के भएको हो र ? कहाँ लैजाने ? म घरमै बस्न किन नपाउने ?’ यस्ता थुप्रै प्रश्नहरु अनवरत सोधिरहेँ । उत्तर समग्रमा एउटै आयो, ‘अब तँ ठूली भइस् । यत्ति बुझ् ।’ गोठमा २१ रात माघको चिसोयाम । कुहिरोले मौसम गुम्सुम थियो । उसैगरी म सलभित्र  खुम्चिएकी थिएँ । जतिसक्दो कोठामा लुकाउने हतार थियो । घामको झुल्का नउदाउँदै नजरबन्दमा राख्नुपर्ने थियो । दिदी र आमाले छिमेकीको गोठमा पुर्याउनुभयो । रातो माटोले लिपेको गोठको माथिल्ल्लो तलामा ओच्छ्यान लगाएर तयार पार्नुभएको रहेछ आमाले । ‘थुपुक्क यहीँ बस्नु’, उहाँले निर्देशन दिँदै के गर्न हुने के गर्न नहुने नियम बुझाउन थाल्नुभयो, ‘बाहिर हेर्दै नहेर्नु, भाइले बोलायो भने नबोल्नु । अनि सकेसम्म कान थुनेर बस्नु ।’ फुर्के जामा लगाएर खेतका कान्ला, खोला नाला कुद्ने ममा अचनाक न सुन्नु, नदेख्नु, नबोल्नु जस्ता ‘न’ नियम आइपर्यो । चरा जस्तै उड्ने बालापनमा यी सबै न नियम लाग्दा सजिलो हुने कुरै थिएन, अझै बढी पीडा स्कूल जान नपाउनु थियो । कक्षा ५ मा पढ्थेँ त्यो बेला । स्कुलमा त्यो दिन मेरो सेरोफेरो विषय पढाउने टेकराज सरले सही उत्तर दिने विद्यार्थीलाई पुरस्कार दिने वाचा गर्नुभएको थियो । पढेकी भए पनि उत्तर दिने अवसर महिनावारी भएकै कारण गुमाएकामा मनमनै दुखी थिएँ । मेरो पढाइ निरन्तर २१ दिनसम्म गुमिरह्यो । भारतबाट एक वर्षपछि बुबा घर आउनुभएको थियो । त्यसै दिन भैरवस्थान देवताको पूजा गरेर घरमा उत्सव बनाइएको थियो । चामलको पीठोले बनाइने भैरवस्थान मन्दिरमा चढाएको रोटी मलाई निकै मन पथ्र्यो । आमाले अरू बेला सधैँ अरू दिदी भाइलाई भन्दा अलि बढी खान दिनुहुन्थ्यो । महिनावारी गोठमा बसेको पाँच दिन कष्टकर बिताउँदै थिएँ । भैरवस्थान मन्दिरमा पूजा हुँदैछ र बुबा आउँदै हुनुहन्छ भन्ने हर्षले मनमनै गद्गद् थिएँ । आमाले खाना पुर्याउन आउँदा सुनाउनुहुन्थ्यो, ‘बुबा साता दिन मात्रै बस्ने रे । अनि तैँले भैरवस्थानको प्रसाद खानु हुँदैन पाप लाग्छ, म अचम्मै परेँ ।’ सधैँ भैरवस्थानको प्रसाद मायाले अलि बढी खुवाउने मेरी आमाले आज खान नदिने यति कठोर हृदय कसरी बन्न सक्नुभयो होला रु बुबाले जहिले गीत गाउँदै नाच्न सिकाउनुहुन्थ्यो । आज देख्दैनदेखि कसरी बस्न सक्नुभयो ? पटकपटक शौचालय जाँदा कमजोरीले बेहोस भएर ढल्दा आमाले बोकेर घर गोठमै ल्याउनुहुन्थ्यो । तर मायाले घरमा पुर्याउन कुन संस्कारले रोक्यो होला ? हरेक दिन झगडा नगरी चित्त नबुझाउने मेरो भाइलाई के कुराले मौन बनायो होला ? घामको झुल्कासँगै उदाउने मेरो बिहानी किन अँध्यारोमा गुमसुम छ ? बाल मनोविज्ञानमा यस्ता प्रश्नहरु आइरहे तर उत्तर दिने कोही थिएनन् । २२ दिनपछि स्कूल पुग्दा झिसमिसे बिहानै कठ्याङ्ग्रिँदो जाडोमा थरथर काँप्दै कुलामा नुहाउन पुगेँ । कमजोर शरीरले रिङ्गाटा लागिरहेको हुन्थ्यो । बिहान ५ बजे कसैले नदेख्दै नुहाउनुपर्ने थियो । म आतुर थिएँ, २१ दिनपछि घामको उज्यालो देख्न । आतुर थिएँ, आकाशे रङ्को सर्ट र नीलो जामा लगाएर स्कूल जान । भाइसँग लडीबुडी गरी खेल्न, साथीभाइसँग गफिन् । गोठबासदेखि उन्मुक्त भएर सुर्के झोला बोकेर खुसी हुँदै स्कूल पुगेँ । त्यो पारिलो घामसँग रमाउँदै, फुर्किंदै स्कूलको ढोकानिर टेकैँ । धेरै समयपछि आएर होला विद्यालय नौलो लाग्यो । त्यति मात्रै होइन, साथीभाइले गर्ने व्यवहार पनि फरक पाएँ । कोही मलाई हेर्दै कानेखुसी गर्थे त कोही तलदेखि माथिसम्मै नियाल्थे । मानौँ म २१ दिनमा अर्कै भएकी छु । कुनै पनि किशोरी लामो समयको अन्तरालपछि स्कूल आइनँ भने उसलाई महिनावारी भएकै संज्ञा दिइन्थ्यो र  लाज, घृणा र जिस्क्याउने पात्रका रुपमा व्यवहार गरिन्थ्यो । केटाहरुले त खुलेयाम भन्ने गर्थे, ‘यो केटी त नछुने भइछ ।’ यस्तो अवस्थामा केटीहरुमा मानसिक रुपमा हीनताबोध हुने गथ्र्यो । प्रतिकार गर्ने आँट थिएन । लाज ले रातोपिरो हुनुबाहेक अरू उपाय केही हुँदैन थियो । महिनावारी भएकै कारण विद्यालयमा पढाइको मर्का खेप्नु त छँदैछ, स्कूलमा गरिने बुलिङ (जिस्क्याउने) प्रवृत्तिले कतिपय छात्रा विद्यालय नै छोड्ने गर्थे । २२ दिनपछि खुसी हुँदै स्कूल पुगेकी म पछिल्लो बेन्चको कुनामा रुँदै बसेँ । झन्डै ३० वर्षअघि मैले महिनावारी हुँदा खेप्नु परेको पीडा मेरा बहिनीहरुलाई भोग्नु परेन । महिनावारीमा विभेद हुँदा पर्ने असर महिनावारीले किशोरीमा पार्ने मनोवैज्ञानिक, सामाजिक, शैक्षिक, स्वास्थ्यलगायतमा पर्ने असर असीमित हुन्छ । मर्यादित महिनावारीको संस्कार बसाल्न सके छोरीको व्यक्तित्व विकासमा सघाउँछ । विद्यालयमा मर्यादित महिनावारीको शिक्षा नपुगेसम्म धेरै छात्राको पठनपाठनमा प्रत्यक्ष प्रभाव पर्ने मर्यादित महिनावारी अभियान संस्था राधा पौडेल फाउन्डेसनको अध्ययनको निष्कर्ष छ । सरकारले छाउपडीविरुद्धको ‘छाउपडी प्रथा उन्मूलन निर्देशिका, २०६४ जारी छ । फाउन्डेसनले काठमाडौँ, जुम्ला र सर्लाही गरी १८ देखि २५ वर्ष उमेर समूहका चार सय ७१ जनामा गरेको एक अध्ययनमा महिनावारीका कारण छात्रा विभेद, यौन हिंसामा परेको तथ्याङ्क छ । ‘यौन तथा प्रजनन स्वास्थ्यका लागि मर्यादित महिनावारी’ विषयक आधारभूत सर्वेक्षण प्रतिवेदनमा महिनावारी हुँदा ५२ प्रतिशत छात्राको पठनपाठन प्रभावित हुने देखाएको हो । त्यसैगरी, १३ प्रतिशत छात्राले विद्यालयमा विभेद भोग्नु परेको बताएका छन्भने नौ प्रतिशत छात्राहरू महिनावारीकै कारण यौन हिंसामा परेको जनाइएको छ । संविधानसभा सदस्य डा बिन्दा पाण्डेले छाउपडी कुप्रथासँग सम्बन्धित बाजुरा–बूढीनन्दा, हिमाली र स्वामीकार्तिक खापर गरी तीन पालिकाका एक सयजनामा गरिएको सर्वेक्षणमा छाउगोठमा बस्ने ५२ प्रतिशत, छाउघरमा बस्ने २३ प्रतिशत, भुइँतलामा बस्ने १८ प्रतिशत र आफ्नै कोठामा सात प्रतिशत बस्ने गरेको तथ्याङ्क छ । छाउगोठमा बस्दा एक्लै सुत्ने महिलाको सङ्ख्या ५७ प्रतिशत रहेको छ । सर्वेक्षणमा महिनावारीको बेला दालभात, रोटी खाने ६१ प्रतिशत छन्भने फलफूल खान पाउने मात्रै १० प्रतिशत छन् । छाउगोठमा बसेकै कारण ५२ प्रतिशतले सामाजिक र सांस्कृतिक कार्यक्रममा असंलग्न हुन नदिने तथ्यांक छ । ‘महिनावारी महिलाको प्राकृतिक अधिकार हो पाप होइन,’ डा पाण्डे भन्छन्, ‘यो कुप्रथा हटाउन सांस्कृतिक र राजनीतिक दुवै पाटोमा समेत जागरण ल्याउन जरुरी छ ।’ रासस

स्वास्थ्य बीमाको सीमा ५ लाख पुर्‍याउने विषयमा सरकार नै अलमलमा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमाको सिलिङ पाँच लाख पुर्‍याउन सरकार अलमलमा रहेको बताएका छन् । मंगलबाार शिक्षण अस्पतालमा राष्ट्रिय खेलाडीहरुको स्वास्थ्य परीक्षण निःशुल्क गर्ने सम्झौता कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले एक लाखको बीमालाई व्यवस्थित गर्न नसकेको अवस्थामा ५ लाख झनै कठिन हुने हो की ? भन्ने संशय सरकारसँग रहेको बताए । उनले सरकारलाई मन्त्रालयको तर्फबाट आफूले श्रोत सुनिश्चितताका लागि आवश्यक प्रश्ताव र योजना पनि दिएको जानकारी दिए । यस्तै उनले, बीमालाई एकीकृत प्रणालीबाट विकास गर्नुपर्ने उल्लेख गरे । मन्त्री पौडेलले चिनीजन्य पदार्थ बढी भएका उत्पादनहरुमा सुगर ट्याक्स लगाउनुपर्ने र त्यसबाट आएको कर बीमा बोर्डमा जाने व्यवस्था गरिनुपर्ने बताए । राज्यले स्वास्थ्य कर १२ अर्ब लिने गरेको भएपनि स्वास्थ्य मन्त्रालयलाई जम्मा ४० करोड रुपैयाँ दिइएको भन्दै उक्त कर सम्पूर्ण रुपमा बीमा बोर्डमा जाने व्यवस्था हुनुपर्ने जानकारी दिए । शिक्षण अस्पतालमा सुविधाका शिर्षक र बीमाको गरेर ६२ करोड रुपैयाँ सरकारले दिन बाँकी रहेको भन्दै अस्पताल सञ्चालनका लागि तत्काल दिनुपर्ने अवस्था रहेको बताए । ‘हामीले सरकारको एजेण्डा बनाउने कोशिस गरिरहेका छौँ । सरकार अलिकति कन्फ्युजनमा छ । यो श्रोत कसरी सुनिश्चित गर्ने ? एक लाख व्यवस्थित भइरहेको छैन, ५ लाखमा समस्या पर्ने त होइन भन्ने छ । त्यसको सूत्र के हो ? हामीले व्यवस्थित ढंगले भनेका छौँ’, उनले भने । मन्त्री पौडेलले स्वास्थ्य मन्त्रालयले बीमा बोर्डलाई ५० प्रतिशत भुक्तानीको प्रक्रिया पूरा गरिसकेको र अर्थ मन्त्रालयमा पुगेको जानकारी दिए ।

गेटा मेडिकल कलेज: भव्य भवन, सञ्चालनमा दोमन, बजेटको दोहन

काठमाडौं । १. यसपालि एमबीबीएसको इन्ट्रान्स पास गरेकी मेरी छोरीले सोधिन्, बाबा म एलकेजीमा पढ्दा निर्माण हुन थालेको गेटा मेडिकल कलेजमा कहिलेदेखि एमबीबीएसको पढाइ सुरु हुन्छ ? म : अनुत्तरित भएँ । शासकहरू ! कसैसँग यसको उत्तर छ भने भनिदिनुहोला । धनगढीका शिवराज भट्टले आफ्नो फेसबुकमा स्टाटस लेख्दै उक्त प्रश्नको जवाफ खोजेका छन् । २. अरबौंका संरचना विकासका संवाहक र जनतालाई सेवा प्रदान गर्ने प्रतिबिम्ब बन्न सक्छन् । तर, चलायमान बनाउन सकेन भने खण्डहर पनि । गेटा मेडिकल कलेजले शीघ्र न्याय पाओस् । सूर्य पनि अस्ताउनुको लागि मात्र सुदूरपश्चिम आउने गर्छ भन्ने परम्पराको पनि अन्त होस् । सुदूरपश्चिम प्रदेशको पूर्व आर्थिक मामिलामन्त्री एंव एमाले नेता झपट बोहोराले सामाजिक सञ्जालमार्फत् चेतावनी दिएका छन् । ३. ‘यसपालि सुदूरपश्चिममा पनि हाम्रा विद्यार्थी साथीहरूले एमबीबीएस पढ्न पाउँछन्, नागरिकको करबाट संकलित राज्यको अरबौंको लगानीको सदुपयोग हुन्छ, हाम्रो वर्षाैंदेखिको संघर्ष र सपना पूरा हुन्छ र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा आउँछ भन्ने ठूलो आशा निराशामा बदलिएको छ । यसका जिम्मेवार व्यक्ति यति गैरजिम्मेवार र निकम्मा भएकोमा साह्रै दुःख लागेको छ । तथापि अन्य कलेजमा देशले दक्ष जनशक्ति उत्पादन गरोस् शुभकामना छ,’ कैलाली बहुमुखी क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनका सभापति यमराज जोशीले सामाजिक सञ्जालमार्फत् दुखेसो पोखेका छनु । शिवराज, झपट र यमराजजस्ता सयौं सुदूरपश्चिमबासीहरूले पीडा र आक्रोश एकैसाथ पोखिरहेका छन् । ६ वटै प्रदेशमा मेडिकल कलेज सञ्चालनमा आउँदा गेटा मेडिकल कलेजले अझै मान्यता पाउन नसकेको भन्दै शिक्षा र स्वास्थ्यप्रति चिन्ता र चासो राख्ने उनीहरूका सामाजिक सञ्जाल अहिले यस्तै पीडा र आक्रोशले भरिएका छन् । कैलालीको धनगढीस्थित गेटा आँखा अस्पताल नजिकै रहेको गेटा मेडिकल कलेज अझै सञ्चालनमा नआउँदा त्यहाँका स्थानीय आक्राेशित छन् । उनीहरूले यसको दोष सरकार र सुदूरपश्चिमबाट विजयी भएर काठमाडौं पुगेका सांसदमाथि पोखेका छन् । कसैले केपी बाले सुदूरलाई हेर्ने नजरमा खोट लगाए भनेका छन् भने कसैले शेरबहादुर देउवा र आरजु राणालाई दोष दिरहेका छन् । गेटा मेडिकल कलेजको खास समस्या के हो ? किन अहिलेसम्म अध्ययनको लागि अनुमति पाउन सकेन ? आम नागरिकको यही प्रश्न छ । आर्थिक वर्ष २०७५/०७६ मै एमबीबीएस कार्यक्रम सुरु गर्ने लक्ष्य लिएको यो कलेजले अहिलेसम्म स्वीकृत नपाउनु केन्द्रको सुदूरपश्चिममाथि हेर्ने नजर नै फरक रहेको कतिपयको भनाइ छ । सुदूरपश्चिममा मेडिकल कलेज नहुँदा यसको प्रत्यक्ष असर त्यहाँका विद्यार्थीलाई परिरहेको छ । त्यहाँका विद्यार्थी अहिले पनि एमबीबीएस पढ्न भारत, बंगलादेश या काठमाडौं आउनुपर्ने बाध्यता छ । आफ्नै ठाउँमा एमबीबीएस पढ्न पाउने आशा बोकेका त्यहाँका विद्यार्थी अहिले विदेश र स्वदेशमै पनि अन्य प्रदेशमा गएर पढ्नुपर्ने बाध्यतामा छन् । ३ सय शैयाको अस्पताल अनिवार्य कुनैपनि मेडिकल कलेज सञ्चालन हुन अनिवार्य रूपमा ३ सय शैयाका अस्पताल तीन वर्षसम्म चलेको हुनुपर्छ । राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ ले मेडिकलतर्फ ३ सय अनि डेन्टल र नर्सिङतर्फ १ सय शैयाको अस्पताल सञ्चालन नभएसम्म सम्बिन्धत विषयको कुनै पनि कार्यक्रम सञ्चालन गर्न नदिइने स्पष्ट पारेकाे छ । अब कुरा गरौं मेडिकल कलेजको । कानुनमा उल्लेख भएअनुसार न त अहिलेसम्म ३ सय शैयाको अस्पताल सञ्चालनमा छ, न ल्याउने कुनै प्रयास भइरहेको छ । चिकित्सा शिक्षा आयोगले गेटा मेडिकल कलेजलाई सम्बन्धनको लागि मान्यता दिनुपर्ने कुनै कानुनी आधार नभएको जनाएको छ । उसले कानुनअनुसार मान्यता लिन आएका सबै प्रदेशलाई मान्यता दिएकाे तर सुदूरपश्चिमलाई दिन नसकेको बताएकाे छ । यो विषयमा अहिलेसम्म न सुदूरपश्चिमबाट मन्त्री बनेकाहरू बोलेका छन्, न त यसप्रति सरोकार राख्नेहरूले नै आवाज उठाएको पाइन्छ । बाजुरा घर भई धनगढी बस्दै आएका पत्रकार अर्जुन शाह यो विषयमा कसैको ध्यान नपुगेको बताउँछन् । उनी गेटालाई शिक्षण अस्पताल बनाउन नचाहने शक्ति केन्द्रबारे थाहा भएर पनि कोही बोल्न नसकेको बताउँछन्  । उनी भन्छन्,  ‘छेउमै प्राइभेट मेडिकल कलेज बनाउने कसरतमा गेटा तगारो भएपछि इगो सिर्जना भएको हो, यहाँ नदेखिनेगरी ठूलो चलखेल भइरहेको छ ।’ उनले करिब डेढ वर्षअघि सरकारले गेटालाई ५० शैयाको अस्थायी स्वीकृति दिँदै गर्दा त्यसको षडयन्त्र थाहा भएको बताए । अझै अस्पष्ट गेटा गेटा मेडिकल कलेजका लागि अरबाैंका भवन ठडिएका छन् । तर, सरकारले कलेजलाई अध्ययनका लागि अनुमति नदिँदा अब ती बंगला भूतबंगलाजस्तै बन्ने निश्चित छ । लामो समयदेखि अनुमतिको पर्खाइमा रहेको यो कलेजले कहिले अनुमति पाउने हाे ? निश्चित छैन । पटक-पटक आन्दोलनदेखि दबाब समूह गठन गरेर सरकारको ध्यानकर्षण गराउँदै आएको भएपनि यो कलेजले किन मान्यता पाउन सक्दैन ? यहाँ हजारौं सवालहरू उठ्न थालेका छन् । गेटा मेडिकल कलेजको लागि सरकारले २०५६ सालमै ७७ बिघा जमिन छुट्याएको थियो । त्यसपछि २०६५ सालमा यसको सम्भाव्यताबारे अध्ययन गर्‍याे । राष्ट्रिय योजना आयोगले बजेट छुट्यायो भने मेडिकल कलेज संरचना समितिले अध्ययन गर्‍याे । अध्ययनपछि २०७१ सालमा अस्पतालको शिलान्यास गरियो । तर, रुख कटानदेखि अन्य विषयमा विवाद हुँदा शिलान्यास भएको ४ वर्षपछि  २०७४ सालमा बल्ल संरचना निर्माण प्रक्रिया सुरु भएको थियो । अहिले ६ सय शैया अट्ने अस्पताल र २८ वटा आधुनिक भवन त्यहाँ ठडिइसकेका छन् ।  कक्षाकोठा, ई-लाइब्रेरी, छात्रावास, शिक्षक/कर्मचारी आवास, अस्पताल सञ्चालनका प्रशासनिकसमेत गरी दुइटा भवन, आईसीयू, इमरजेन्सी वार्ड, बिरामी कुरुवा कक्ष, रोग विज्ञान अनुसन्धान ल्याव, शवघर, अक्सिजन प्लान्ट भवन, लाउन्ड्री भवन, क्यान्टिन, इलेक्ट्रोनिक भवन, सूचना प्रविधि कक्ष सब बनिसकेका छन् । गेटा अस्पतालबारे नजिकैबाट चासो राख्नेहरू भने यो अस्पतालको स्पष्ट नीति नै नभएकाले सञ्चालनमा नआउने आशंका व्यक्त गर्छन् । निजी अस्पतालको छाता संस्था अफिनका अध्यक्ष डा. पदम खड्का यो मेडिकल कलेज सञ्चालनमा आउन अझै ५/१० वर्ष लाग्ने बताउँछन् । उनी गेटा मेडिकल कलेजलाई कलेज नभई गेटा बिल्डिङ्स भन्न सुहाउने बताउँछन् । नियम र कानुनबिनाका भवनहरू ठड्याएकाले यो मेडिकल कलेज सञ्चालन हुन अझै ५/१० वर्ष लाग्ने उनको दाबी छ । अझै अन्याैल- विश्वविद्यालय हुने कि प्रतिष्ठान ?  नेपालमा अहिले जति पनि मेडिकल कलेज सञ्चालनमा आएका छन्, ती कलेज स्वास्थ्य मन्त्रालय मातहत छन् । तर, गेटा मेडिकल कलेज प्रतिष्ठान कि विश्वविद्यालय भन्ने अझै अन्याैलता छ । डा. खड्का अहिलेसम्म विश्वविद्यालय हुने कि प्रतिष्ठान हुने भन्ने नै यकिन नभएको भन्दै यहाँ मन्त्रालयगत गुटबन्दी भएको बताउँछन् । गेटा मेडिकल कलेज प्रतिष्ठान हुने कि विश्वविद्यालय भन्नेमै अन्याैलता भएकाले सबैभन्दा पहिले यो स्पष्ट हुनुपर्ने उनको तर्क छ । नेपालमा अहिलेसम्म सरकारीस्तरका अस्पतालहरू स्वास्थ्य मन्त्रालय मातहत हुन्छन् । ‘गेटा मेडिकल कलेज अहिले मन्दिरको घण्टीजस्तै बनेको छ, यताबाट एउटाले बजाउँछ, उताबाट अर्कोले बजाउँछ,’ उनी भन्छन्,  ‘जुन दिनसम्म ३ सय बेडको अस्पताल बन्दैन, त्यो दिनसम्म यसको पनि यकिन छैन, यो समस्या भनेको स्वास्थ्य मन्त्रालय र शिक्षा मन्त्रालय बीचकाे हो ।’ उनी थप्छन्,  ‘मन्त्रालयस्तरीय गुटबन्दी शिक्षा भर्सेस स्वास्थ्य, अर्को माओवादी, एमाले कांग्रेस कसले जस लिने भन्ने पार्टी पार्टीको लडाइँ , तेस्रो त्यहाँका स्टक होल्डरवालाको लडाइँ, हरेक व्यक्ति, हरेक संस्थाबीच प्रतिस्पर्धा भइरहेको छ ।’ अन्जानको आर्थिक चलखेल गेटा मेडिकल कलेजको नाममा अहिले अरबौंका ठूल्ठूला भवन ठडिएका छन् । त्यहाँ ठूलो आर्थिक चलखेल भएको अनुमान धेरैको छ। ‘विद्यार्थीका लागि छात्रावासदेखि स्टाफ बस्ने क्वाटर अहिले आवश्यकता थिएन,’ डा. खड्का भन्छन्, ‘यहाँ मेडिकल कलेज सञ्चालनका लागि अस्पताल बनाउनुभन्दा मन्त्रालयबाट पैसा ल्याएर भवन निर्माणमै केन्द्रित हुनुले पनि आर्थिक चलखेल कति भएको छ भन्ने प्रष्टै देखिन्छ ।’ गेटा मेडिकल कलेजमा बनेका यी संरचना झट्ट हेर्दा लाग्छ, यहाँ कुनै ठूलो गुणस्तरीय मेडिकल कलेज र ठूलो अस्पताल सञ्चालनमा छ, जहाँ सयौं बिरामीले उपचार सेवा पाइरहेका छन् तर त्यहाँ भित्र पस्दा ठूलठूला रित्ता भवनहरू छन् । ती भवन न कुनै कामका लागि प्रयोगमा आएका छन्, न तत्काल आउने सम्भावना छ । बाहिरबाट देखिने आकर्षक भवन बनाउँदा मजदुर र सर्वसाधारणले थाहा नपाउनेगरी ठूलो आर्थिक चलखेल भएको डा. खड्काको दाबी छ । उनी ७५ सालमा ऐन आइसक्दा पनि अहिलेसम्म अस्पताल सञ्चालन नगरेर भवन बनाउनु मात्रैले पनि यहाँ केही रहस्य रहेको बताउँछन् । ‘६ वर्ष भइसक्दा पनि विद्यार्थीलाई होस्टेल, स्टाफलाई क्वाटर मनाउनमै समय र पैसा सके, भवन बनाउने बजेटले अस्पताल सञ्चालन गर्न सकेको भए ३ सय मात्र होइन, ५ सय बेडको अस्पताल बन्थ्यो,’ उनी भन्छन्, ‘सबैभन्दा पहिले शिक्षा, स्वास्थ्य, अर्थ जसले ल्याएपनि अस्पताल सञ्चालनमा ल्याउनुपर्‍याे, जबसम्म ३ सय बेड अस्पताल सञ्चालनमा आउँदैन, तबसम्म हामीले यसरी नै हेरेर बस्नुको विकल्प छैन ।’ हरेक प्रदेशमा मेडिकल कलेज सरकारले सबै प्रदेशमा मेडिकल कलेज स्थापना गर्ने घोषणा गरिसकेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले २०८० जेठ ५ गते संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै एकीकृत प्रतिष्ठानअन्तर्गत सबै प्रदेशमा मेडिकल कलेज स्थापना गर्ने बताएका थिए । ६ वटै प्रदेशमा मेडिकल कलेज सञ्चालनमा आएपनि सुदूरपश्चिममा भने पर्खाइमा बसेको कलेजले पनि मान्यता पाउन नसक्नु दु:खद रहेको कैलाली बहुमुखी क्याम्पसका सह-प्राध्यापक सीताराम भट्ट बताउँछन् । उनी गेटाले मान्यता पाएन भनेर सामाजिक सञ्जालमा रुवाबासी गर्नुभन्दा किन यस्तो भयो भन्नेबारे जानकारी लिन आवश्यक रहेको बताउँछन् । उनले यो मेडिकल कलेजले अहिलेसम्म मान्यता नपाउनुको कारण राजनीति नै रहेको दाबी गरेका छन् । चिकित्सा शिक्षा आयोगका अनुसार अहिले नेपालमा २५ वटा मेडिकल कलेज सञ्चालनमा छन् । तर, सुदूरपश्चिमका नागरिकले भने पढ्नदेखि सामान्य उपचारमा पनि काठमाडौं, भारतलगायतका विकल्प रोज्नुपर्छ । उसो त सुदूरपश्चिमका नेताहरूले पनि यो मेडिकल कलेजलाई चुनावी नारामा धेरै राखे । यही नाराबाट जितेर धेरै नेताहरू स्थानीय, प्रदेश र केन्द्रीय स्तरमा मन्त्रीसमेत भइसकेका छन् । तर, दैलोमै मेडिकल कलेज पाउने सुदूरपश्चिबासीको सपना भने पूरा हुन सकेको छैन ।