पढाइसँगै कमाइ : कक्षाकोठा र कार्यस्थलको खाडल पुर्दै इम्बार्क कलेज
काठमाडौं । स्याङ्जाका एक युवक प्लस टु पास गरेपछि काठमाडौं आए । उनले काठमाडौंमै स्नातक तह र स्नातकोत्तर गरे । स्नातकोत्तर सकेर बसिरहेका उनी कामको खोजीमा छन् । एक वर्षदेखि कामको खोजीमा रहेका उनले अझै पढाइअनुसारको जागिर पाउन सकेका छैनन् । व्यवस्थापनबाट स्नातकोत्तर गरेका उनी स्नातकोत्तर गर्दैदेखि लोकसेवाको तयारीमा लागे । तर, पटक–पटक परीक्षामा सफल हुन सकेनन् । अहिले उनी आयोगको तयारीसँगै कामको खोजीमा छन् । हातमा सर्टिफिकेट छ, मार्केटमा काम पनि छ तर उनले काम पाएका छैनन् । कारण पढाइ अनुसारको सीप नहुनु । ‘कलेजमा पढ्दा किताबको कुरा मात्र पढाइयो, कामको कुरा सिकाइएन, अहिले काम खोज्न जाँदा कम्तीमा यति वर्षको अनुभव हुनुपर्छ भन्ने आवेदनमै उल्लेख गरिएको हुन्छ,’ उनी भन्छन्, ‘काम गर्ने अवसर पाए पो अनुभव हुन्छ, कामै गर्न नपाए कसरी अनुभव हुन्छ ?’ आयोगको परीक्षामा समेत नाम निकाल्न नसकेपछि अब उनको योजना विदेश जाने छ । उनी पढाइ अनुसारको सीप नहुँदा काम पाउन नसकेको बताउँछन् । अधिकांश नेपाली विद्यार्थीको हालत यी युवाको जस्तै हो । किताब भित्रका कुरा पढे पनि कसरी त्यही कुरा व्यवहारमा लागू गर्ने भन्ने सिकाइ नहुँदा विद्यार्थी सर्टिफिकेट भएपनि काम पाउन सक्दैनन् । पढाइसकेपछि मात्र जागिर गर्नुपर्छ भन्ने सोचले जीवनको २५/२६ वर्ष उमेर पढाइमै बित्छ । त्यसपछि बजारमा काम खोज्न जाँदा अहिलेको बजारको मागअनुसार फिट नहुँदा काम नपाएका युवाहरूको ठूलो जमात छ । कतिपय जमात खाडीतिर पसे पनि अझै नेपालमा कामको खोजीमा रहेका युवाहरूको समूह पनि ठूलो छ । विद्यार्थीले काम नपाउनु र कम्पनीले आवश्यक कामदार नपाउनु नेपालको ठूलो समस्याका रूपमा देखिएको छ । नेपालको शिक्षा र बजारमा गहिरो खाडल छ । यही समस्यालाई मध्यनजर गर्दै पछिल्लो समय केही कलेजहरूले रणनीति नै परिवर्तन गरेका छन् । विशेषगरी उपत्यकामा रहेको विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर खुलेका नयाँ र केही पुरानै कलेजहरूले पुरानो तौरतरिका फेरेका छन् । यो शैलीलाई फेरेर नयाँ शैलीका साथ अर्थात् पढाइलाई रोजगारसँग जोडेर सञ्चालनमा आएको एउटा कलेज हो इम्बार्क कलेज । यो कलेजले सञ्चालनको आठ महिनामै विद्यार्थीलाई शिक्षासँगै सीप र रोजगारी दिइरहेको छ । ८ महिनामा दुइटा कार्यक्रम थप ललितपुरको पुल्चोकमा रहेको इम्बार्क कलेजले नेपाली विद्यार्थीलाई नेपालकै उद्यमशीलता जोड्ने प्रयास गरिरहेको छ । गोल्छा समूह र ग्लोकल प्राइभेट लिमिटेडको संयुक्त लगानमा सञ्चालित कलेजले रोहेम्पटन विश्वविद्यालय लण्डन (युके) सँग सहकार्य गर्दै शिक्षामा फरक उद्देश्यका साथ अध्यापन सुरु गरेको हो । बिजनेस म्यानेजमेन्ट, बीएसस्सी, एमबीए, एशोसिएशन अफ चार्टर्ड सर्टिफाइड एकाउन्टेन्टस (एसीसीए)का कार्षहरू सुरु गरिरहेको यो कलेज सञ्चालनमा आएको ८ महिना भयो । कलेज विद्यार्थीलाई किताबी ज्ञानमात्र नभई सीपसँगै रोजगारी दिने ग्यारेन्टी गरेको छ । यही उद्देश्यले इम्बार्कले दुइटा नयाँ कार्यक्रम सुरु गरेको छ । जसमा इम्बार्क कलेजले ‘अप्रेन्टिससिप कार्यक्रम’र ‘स्टार्टअप क्षमता विकास’ कार्यक्रम छन् । अप्रेन्टिससिप कार्यक्रम’ ले उद्योगका लागि दक्ष जनशक्ति र विद्यार्थीका लागि रोजगारी सुनिश्चित गर्ने उद्देश्य राखेको छ भने स्टार्टअप कार्यक्रमले आयातमा निर्भरता घटाएर स्वदेशी नवप्रवर्तन र प्रविधि क्षमताको विकास गर्ने उद्देश्य राखेको छ । व्यावसायिक शिक्षा र रोजगारीको खाडललाई हटाउने उद्देश्यले यी दुइटा कार्यक्रम सुरु गरेको कलेजका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) आशिष ठाकुरले बताए । व्यावहारिक सीप तालिम (अप्रेन्टिससिप) र नवप्रवर्तन (स्टार्टअप) क्षमता विकास कार्यक्रमले भविष्यमा व्यावसायिक नेतृत्वहरू विकास गर्न, रोजगारी सुनिश्चित गर्न र उद्यमशीलता प्रवर्द्धन गर्ने ठाकुरको दाबी छ । उनी भन्छन्, ‘यो कार्यक्रमले शैक्षिक जीवनपछि व्यावसायिक जीवनमा प्रवेश गर्दा हुने अनिश्चिततालाई अन्त्य गर्छ । हामीले व्यावसायिक शिक्षालाई प्रत्यक्ष उद्योगसँग जोडेर नेपालमा करियर–रेडी शिक्षाको नयाँ मापदण्ड स्थापित गरेका छौं ।’ यी कार्यक्रमले विद्यार्थीलाई पढाइसँगै नेपाली उद्योग र उद्यम क्षेत्रका कम्पनीसँग काम गर्न पाउने अवसर पाउने छन् । कम्पनीसँग सम्झौता इम्बार्क कलेजले कानुनी रूपमा दर्ता भई १० वर्षभन्दा कम समय सञ्चालन भएका र वार्षिक १५ करोडभन्दा कम कारोबार गरिरहेका नवप्रवर्तन कम्पनीहरूसँग सहकार्य गरेको छ । युवा व्यवसायीले सञ्चालनमा ल्याएका यस्ता कम्पनीमा पढ्दै गरेका विद्यार्थीलाई आवद्ध हुन सहज हुने भएकाले यस्ता कम्पनी छनोट गरेको कलेजले बताएको छ । स्टार्टअप क्षमता विकास कार्यक्रमले सरकारको राष्ट्रिय स्टार्टअप नीति २०८० र औद्योगिक उद्यम ऐन २०७६ सँग मेल खाने गरी नवप्रवर्तनशील व्यवसायहरूलाई छनोट गरेको हो । यस्ता व्यवसायहरूमा नवप्रवर्तन, मापनयोग्यता र बजार प्रभाव भएका स्टार्टअपहरू पर्छन् । सीईओ ठाकुर भन्छन्, ‘नेपालमा उद्यमशीलताको सम्भावना अपार छ । तर, रणनीतिक स्रोतहरू सम्मको पहुँच सीमित छ । हाम्रो कार्यक्रमले नवप्रवर्तनलाई दीगो व्यवसायमा रूपान्तरण गर्न समग्र क्षमता विकासमा जोड दिन्छ ।’ के भन्छन् कम्पनी ? विद्यार्थीहरूले रोजगारी नपाएको गुनासो गरिरहेको बेला यता कम्पनीहरू भने कामदार पाउन नै गाह्रो भइरहेको बताउँछन् । अटो क्षेत्रदेखि प्रविधिका क्षेत्रमा काम गर्ने कम्पनीहरू दक्ष कामदार खोज्न भन्दै अहिले कलेजहरूसँगै सहकार्य गरिरहेका छन् । विशेषगरी आईटी र व्यवस्थापनका विषय पढाइ हुने कलेजहरूमा नेपालकै नाम चलेका कम्पनीहरू सहकार्य गरिरहेका छन् । उनीहरूले आफ्नो कम्पनीलाई आवश्यक पर्ने कामदार विद्यालयबाटै छनोट गर्दा आवश्यकता अनुसारको कामदार पाउन सकिने बताइरहेका छन् । डिजिटल क्षेत्रमा काम गर्दै आइरहेको लोन ट्री कम्पनीका मार्केटिङ म्यानेजर आकृति बस्नेत संस्थालाई आवश्यक जनशक्ति पाउन गाह्रो हुने बताउँछिन् । डिजिटल क्षेत्रमा काम गरिरहेका संस्थालाई अहिलेको प्रविधि र परिवेशसँग पोख्त जनशक्ति आवश्यक पर्ने तर त्यो अनुसारको जनशक्ति पाउन गाह्रो हुने गरेको उनी बताउँछिन्। उनी नेपालको शिक्षा क्षेत्र र बजार क्षेत्रमा रहेको अन्तर कम गर्न इम्बार्क जस्ता कलेजहरूले सहयोग गरिरहेको बताउँछिन् । बस्नेत भन्छिन्, ‘म पनि पढ्दै काम गर्दै गरेको विद्यार्थी हुँ, इम्बार्क कलेजमा अहिले पढ्दै पनि छु र काम पनि गरिरहेकी छु, यस्तै अवसर र सिकाइको सुरुवात देशभरका शैक्षिक संस्थामा हुने हो भने विद्यार्थी र उद्यम क्षेत्रमा देखिएको खाडल कम हुन्छ ।’ बस्नेत डिजिटल क्षेत्रमा त्यो पनि स्टार्टअप क्षेत्रमा काम गरिरहेको संस्था र विद्यार्थीलाई पढाइसँगै कामको अवसर खोजिरहेको इम्बार्कको उद्देश्य उस्तै र एकै प्रकारका हुँदा सहकार्य गरेको बताउँछिन् । कलेजसँग समन्वय गर्दा कम्पनीलाई आवश्यक पर्ने कामदार खोज्न अब बाहिर जानुपर्ने अवस्था नहुने उनको अपेक्षा छ । बस्नेतको जस्तै अपेक्षा इम्बार्कसँग समन्वय गरेका अन्य कम्पनीहरूको पनि छ । कलेजका सीईओ ठाकुर विद्यार्थीलाई पढाउनुभन्दा पनि सिकाउन जरुरी रहेको बताउँदै सिकाइ जे पढिन्छ र त्यहीबाट हुने बताउँछन् । यसैलाई मध्येनजर गर्दै इम्बार्कले विभिन्न कम्पनीलाई कलेजभित्र ल्याउने प्रयास भइरहेको बताउँछन् । उनी कम्पनीलाई कलेजमा ल्याउँदा विद्यार्थीलाई जागिरको लागि सहज हुने र कम्पनीलाई पनि आवश्यकता अनुसारको कामदार छनोट गर्न सहज हुने विश्वास गर्छन् । व्यवस्थापनका कोर्षहरू पढाउँदा विद्यार्थीलाई व्यवहारिक ज्ञान बढी दिनुपर्ने हुन्छ । उनी भन्छन्, ‘इम्बार्क कलेजको पढाइमा विद्यार्थीले के ज्ञान प्राप्त गरे र कस्तो काम सिके भन्ने जान्नु पहिलो प्राथमिकता हो ।’
पौने २ अर्ब लागतमा कमलादीमा ठडियो १२ तले मोक्सी होटल, छिट्टै ओपनिङ (फोटोफिचर)
काठमाडौं । काठमाडौंको कमलादीमा हिमालयन हस्पिटालिटी एण्ड होटल निर्माण सम्पन्न भएको छ । व्यापारिक घराना एमएस समूहको लगानीमा निर्माण भएको होटलको भौतिक पूर्वाधार सम्पन्न भएको हो । कुल एक अर्ब ८५ करोड रुपैयाँ लागतमा निर्माण भएको होटल अहिले आन्तरिक काम भइरहेको छ । यो व्यापारिक समूहले मोक्सी ब्रान्डको अन्तर्राष्ट्रिय चेन होटल निर्माण सम्पन्न गरेको हो । होटलका सञ्चालक शशीकान्त अग्रवालले अबको दुई साताभित्र होटल सञ्चालनमा आउने बताए । ‘होटलको निर्माण सम्पन्न भइसकेको छ, अहिले केही आन्तरिक काम बाँकी छ, अब छिट्टै होटल सञ्चालनमा आउँछ,’ उनले भने । उनका अनुसार अबको दुई साताभित्र होटल सञ्चालनमा आउनेछ । उनले विश्व महामारीका रूपमा फैलिएको कोरोनाको कारण लागत अनुमानभन्दा बढेको बताए । जनशक्तिको लागत बढेकोले होटलकाे निर्माण लागत पनि बढेको उनको भनाइ छ । यो होटललाई एसियाकै दोस्रो होटलका रूपमा लिइएको छ । यस्तो होटल पहिलो जापानमा बनिसकेको छ भने युरोप र अमेरिका पनि फैलिसकेको छ । दुई रोपनी जग्गामा बनेको यो होटलमा डाइनिङ आउटलेट, टेक अवे, रूफटप बार लगायत सुविधा बनाइँदैछ । होटलमा रेष्टुराँ, व्यायाम हल, स्वीमिङ पुललगायतका सेवा सुविधा उपलब्ध हुने बताएको छ । होटलमा कुल ११० वटा कोठा छन् । यस परियोजनामा ७३ करोड रुपैयाँ बैंक ऋण र १ अर्ब १२ करोड रुपैयाँ इक्विटी रहेको छ । एम एस ग्रुपको होटलसँगै स्टील, चिनी, रसायन, कागज, कपडा, रियल इस्टेट, बैंकिङ, बीमा तथा आतिथ्यसहितका क्षेत्रमा लगानी गरेको छ । इन्टरनेशनल हिमालयन हस्पिटालिटी एण्ड होटलको नेतृत्व अध्यक्ष गौरव अग्रवालले गर्ने बुझिएको छ । उनी तीन दशकदेखि विभिन्न व्यवसायिक क्षेत्रमा सक्रिय छन् । उनी शिखर इन्स्योरेन्स कम्पनीका अध्यक्ष पनि हुन् । यस कम्पनीका प्रबन्ध निर्देशक सुमित कुमार अग्रवाल रहेका छन् । उनले एमएमस ग्रुपअन्तर्गतका सम्पूर्ण होटलहरूको नेतृत्व गरिरहेका छन् । सम्पूर्ण निर्माण चरण सकिएपछिको सञ्चालन स्थिरता, पर्यटक आगमन दर र अक्युपेन्सी काम राख्न सक्ने क्षमता नै भविष्यको नाफा सुनिश्चित गर्ने आधार हुने कम्पनीको धारणा छ । त्यस्तै, काठमाडौं उपत्यकामा रहेका ठूलो संख्याका होटलबीचको प्रतिस्पर्धा, पर्यटन क्षेत्रको मौसमी उतारचढाव, र ब्याजदरको अस्थिरता पनि जोखिमका कारक मानिएका छन् । रेटिङ एजेन्सी केयर रेटिङ नेपालले यो कम्पनीलाई डबल बी प्लसको रेटिङ प्रदान गरेको छ । तस्बिर : नरेश बोहाेरा
गैरबैंकिङ सम्पत्तिले भरिँदै बैंकहरू, बिक्री हुन छाड्यो धितो
काठमाडौं । बैंकहरूमा गैरबैंकिङ सम्पत्ति (एनबीए) थुप्रिएको छ । ऋणीहरूले कर्जा चुक्ता नगरेपछि सकारेको धितोले बैंकहरू थिचिएका हुन् । गैरबैंकिङ सम्पत्ति वृद्धिमा कर्जा डिफल्टको प्रभाव स्पष्ट रूपमा देखिएको बैंकहरहरू बताउँछन् । गत आर्थिक वर्ष २०८१/८२ मा बैंकहरूमा गैरबैंकिङ सम्पत्तिको आकार ४२ अर्ब ७७ करोड २७ लाख रुपैयाँ पुगेको छ । जुन अघिल्लो वर्ष २०८०/८१ को असारको तुलनामा ४१.७४ प्रतिशत अर्थात् १२ अर्ब ५९ करोड ७० लाख रुपैयाँ बढी हो । अघिल्लो वर्षको असारमा वाणिज्य बैंकहरूमा ३० अर्ब १७ करोड ५७ लाख रुपैयाँ बराबरको गैरबैंकिङ सम्पत्ति थियो । ऋणीहरूले पैसा नतिरेपछि बैंकहरूले धितो लिलामी गर्नुपर्ने हुन्छ भने सो ऋणलाई खराब कर्जा (एनपीएल)मा गणना गर्नुपर्ने हुन्छ । लिलामीमा राखेको धितो बिक्री नभएपछि बैंकहरू आफैले सकार्न बाध्य भएका छन् । तर, पछिल्लो समय बिक्रीमा राखिएको धितो सहजै बिक्री हुन छाडेपछि बैंकरहरूमा यस्तो सम्पत्ति थुप्रिएको बैंकहरहरू बताउँछन् । ‘लिलामीमा राखेको धितो बिक्री नभएर आफै सकार्दा बैंकहरूमा गैरबैंकिङ सम्पत्ति बढेको छ । धितो लिलामी नहुँदा बैंकहरूले आफै सकार्नुपर्ने बाध्यता छ । बैंकहरू कोर बैंकिङभन्दा पनि गैरबैंकिङ कारोबारमा केन्द्रित भएका छन्,’ एक बैंकरले विकासन्युजसँग भने । राष्ट्र बैंकको तथ्याङ्कअनुसार गत वर्ष नेपाल एसबिआई बैंकको गैरबैंकिङ सम्पत्ति सबैभन्दा धेरै वृद्धि भएको छ । गत वर्ष एसबिआई बैंकको गैरबैंकिङ सम्पत्ति १८३.३५ प्रतिशत अर्थात् ६० करोड ७१ लाख रुपैयाँ बढेर ९३ करोड ८२ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष ३३ करोड ११ लाख रुपैयाँ बराबरको मात्रै गैरबैंकिङ सम्पत्ति थियो । समीक्षा वर्षमा सबैभन्दा धेरै गैरबैंकिङ सम्पत्ति भने ग्लोबल आइएमई बैंकमा रहेको छ । ग्लोबल आइएमईको २०.१८ प्रतिशत अर्थात् १ अर्ब १ करोड ७६ लाख रुपैयाँ बढेर ६ अर्ब ५ करोड ७९ लाख रुपैयाँ गैरबैंकिङ सम्पत्ति पुगेको छ । अघिल्लो वर्ष बैंकमा ५ अर्ब ४ करोड ३ लाख रुपैयाँको मात्रै गैरबैंकिङ सम्पत्ति थियो । समीक्षा वर्षमा माछापुच्छ्रे बैंक र सिद्धार्थ बैंकबाहेक अधिकांश बैंकको गैरबैंकिङ सम्पत्ति उच्च रुपमा बढेको छ । गत वर्ष माछापुच्छ्रे बैंकको ५०.५४ प्रतिशत अर्थात् ६० करोड ७५ लाख रुपैयाँ घटेर ५९ करोड ४३ लाख रुपैयाँमा गैरबैंकिङ सम्पत्ति झारेको छ । अघिल्लो वर्ष बैंकमा १ अर्ब २० करोड १९ लाख रुपैयाँ हाराहारीमा यस्तो सम्पत्ति थियो । यस्तै, सिद्धार्थ बैंकको ०.२६ प्रतिशत अर्थात् १९ लाख रुपैयाँ घटेर ७२ करोड ५६ लाख रुपैयाँमा झरेको छ । अघिल्लो वर्ष बैंकमा ७२ करोड ७५ लाख रुपैयाँ बराबरको गैरबैंकिङ सम्पत्ति थियो । अधिकांश बैंकहरूले खराब कर्जामा रहेको धितोलाई गैरबैंकिङ सम्पत्तिका रूपमा सकार्दा यस्तो सम्पत्ति बढेको एक बैंकरले बताए । ‘धेरैले एनबीएमा बुक गरेका छन् । ठूला बैंकहरुको प्रसेन्टेज एनपीए घटेको छ । किनभने विगतमा प्रोभिजिन गरिसकेका एनपीएलाई बेच्न नसकेर एनबीएमा लगेर सारेको छ । एनबीए तीव्र रूपमा बढेको छ,’ उनले भने । समीक्षा वर्षमा हिमालयन बैंकको १३४.५७ प्रतिशत बढेर ५ अर्ब ६६ करोड ४७ लाख रुपैयाँ, एनएमबि बैंकको १०९.५४ प्रतिशत बढेर १ अर्ब ७८ करोड ४१ लाख रुपैयाँ, प्रभु बैंकको १०८.६९ प्रतिशत बढेर १ अर्ब ६५ करोड ९८ लाख रुपैयाँ, प्राइम बैंकको १०६.२८ प्रतिशत बढेर ३ अर्ब ९४ करोड ३९ लाख रुपैयाँ, सिटिजन्स बैंकको ५३.४८ प्रतिशत बढेर १ अर्ब २६ करोड ५ लाख रुपैयाँ, नबिल बैंकको ४२.९२ प्रतिशत बढेर ३ अर्ब ६७ करोड ९९ लाख रुपैयाँ बराबरको गैरबैंकिङ सम्पत्ति थुप्रिएको छ । राष्ट्र बैंकको तथ्याङ्कअनुसार सानिमा बैंकको ४१.१७ प्रतिशत बढेर ९५ करोड १५ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकको ४०.२३ प्रतिशत बढेर २ अर्ब १९ करोड २० लाख रुपैयाँ, कृषि विकास बैंकको ३८.७३ प्रतिशत बढेर १ अर्ब ३० करोड ८४ लाख रुपैयाँ, कुमारी बैंकको ३२.७० प्रतिशत बढेर २ अर्ब ५३ करोड ८८ लाख रुपैयाँ, नेपाल बैंकको २८.४२ प्रतिशत बढेर २६ करोड ४२ लाख रुपैयाँको गैरबैंकिङ सम्पत्ति रहेको छ । यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि)को २२.१३ प्रतिशत बढेर ३ अर्ब ६८ करोड ४३ लाख रुपैयाँ, एभरेष्ट बैंकको ८.०३ प्रतिशत बढेर ५६ करोड ४२ लाख रुपैयाँ, एनआईसी एशिया बैंकको ६.३७ प्रतिशत बढेर ४ अर्ब ६३ करोड ९८ लाख रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंकको ४.६० प्रतिशत बढेर ३१ करोड ९९ लाख रुपैयाँ बराबरको गैरबैंकिङ सम्पत्ति रहेको राष्ट्र बैंकले जनाएको छ । केन्द्रीय बैंकले गैरबैंकिङ सम्पत्ति बढ्नुलाई राम्रो मान्दैन । त्यसैले नेपाल राष्ट्र बैंकले बैंकहरूको निष्क्रिय तथा गैरबैंकिङ सम्पत्ति व्यवस्थापन गर्न सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्ने घोषणा गरेको छ । तर, कसरी सञ्चालन गर्ने भन्ने विषयमा हालसम्म कुनै प्रक्रिया अघि बढेको भने छैन ।