ऊर्जाको नेतृत्व तहमा महिला उद्यमी
काठमाडौं । जलविद्युत् क्षेत्रलाई पुरुषको वर्चस्व रहेको क्षेत्रका रूपमा हेरिने गरिए पनि पछिल्ला वर्षहरूमा महिला उद्यमीहरूको सहभागिता र नेतृत्व बढ्दै गएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को नेतृत्वमा विभिन्न पदका लागि ऊर्जा उद्यमी महिलाहरुले उम्मेदवारी दिएका छन् । इप्पानको नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनमा उपाध्यक्षदेखि सचिव र सदस्यसम्मका पदमा महिला उद्यमीहरूको उल्लेख्य उपस्थिति देखिएको हो । जलविद्युत् आयोजना विकास, बैंकिङ, वित्तीय व्यवस्थापन, पूर्वाधार विकास तथा सामाजिक क्षेत्रमा लामो अनुभव हासिल गरेका यी महिला उद्यमीहरूले ऊर्जा क्षेत्रको विकासलाई आफ्नो मुख्य प्राथमिकता बनाएका छन् । सुसन कर्माचार्य (राजभण्डारी) सुसन कर्माचार्य (राजभण्डारी) नेपालको जलविद्युत् निर्माणमा अग्रणी महिला उद्यमीको रूपमा चिनिन्छिन् । ललितपुरको बंगलामुखीमा जन्मेकी सुसन नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यकी भतिजी हुन् । उनीसँग जलविद्युत, वित्त, पूर्वाधार, र सामाजिक क्षेत्रमा दुई दशकभन्दा लामो अनुभव छ । उनी कास्कीको २४ मेगावाटको मादी खोला जलविद्युत लिमिटेडको कार्यकारी अध्यक्ष तथा गोरखामा निर्माणाधीन २०३ मेगावाटको माथिल्लो बुढीगण्डकी जलविद्युत आयोजनाको प्रवद्र्धक संस्था कैलाश इनर्जी प्रालिकी अध्यक्ष हुन् । यसका साथै उनले बागलुङ र लमजुङका विभिन्न मध्यम तथा साना जलविद्युत आयोजनाहरूको नेतृत्व गरिरहेकी छन् । उनले विगतमा इस्टर्न हाइड्रो (५ मेगावाट) र याम्बालीङ हाइड्रो (७.२७ मेगावाट) आयोजनाहरू समयमै सम्पन्न गराएर आफ्नो व्यवस्थापकीय क्षमतालाई अब्बल बनाएकी छन् । उनी मनी प्लान्ट इन्भेष्टमेन्ट कम्पनीकी अध्यक्ष समेत हुन् । साथै, ह्वाइट गोल्ड मल्टी–इनर्जी लिमिटेडको सञ्चालकका रूपमा ४.०२ मेगावाटको मध्य दराम खोला–ए आयोजना विकासमा समेत संलग्न छिन् । व्यावसायिक क्षेत्रबाहेक सामाजिक क्षेत्रमा पनि उनको सक्रिय भूमिका रहेको छ । उनी नमुना अस्पताल तथा ललिगुराँस बाटिका स्कुलको सञ्चालक समिति सदस्य रहनुका साथै ओजश्वी सप्लायर्स र ओजश्वी कन्स्ट्रक्सन प्रालिकी संस्थापक हुन् । सुसन हाल इप्पानको वर्तमान कार्यसमितिकी सदस्य हुन् । जलविद्युत् क्षेत्रहरूमा लामो अनुभव हासिल गरेकी सुसनले ऊर्जा क्षेत्रको दिगो विकास र निजी क्षेत्रको सशक्त भूमिकालाई प्राथमिकतामा राख्न आफ्नो उम्मेदवारी उपाध्यक्षमा रहेको बताएकी छन् । चुनावी मैदानमा उत्रिएकी सुसनले निजी ऊर्जा क्षेत्रका साझा मुद्दालाई संस्थागत रूपमा सम्बोधन गर्दै लगानीमैत्री वातावरण निर्माण, आयोजना विकासमा देखिएका अवरोध समाधान तथा ऊर्जा क्षेत्रको दीर्घकालीन विकासमा योगदान पु¥याउने प्रतिबद्धता व्यक्त गरेकी छन् । निर्विरोध बनिन कविता पोखरेल कविता पोखरेल हिमशिला हाइड्रोपावर कम्पनी लिमिटेड र सिर्जनशील ऊर्जा कम्पनी प्रालिकी अध्यक्षका रूपमा सक्रिय छिन् भने लिबर्टी इनर्जी र आशा लघुवित्त वित्तीय संस्थाको निर्देशकका रूपमा कार्यरत छिन् । पोखरेलले इप्पानभित्र ‘वुमन इन इनर्जी’ नेपाल अभियानको नेतृत्व गर्दै ऊर्जा क्षेत्रमा महिलाहरूको सहभागिता र लैंगिक समानताका लागि लामो समयदेखि आवाज उठाउँदै आएकी छन् । इप्पानको नयाँ कार्यकालका लागि उपमहासचिव पदकी उम्मेदवारी दिएकी पोखरेल निर्विरोध निर्वाचित भइसकेकी छन् । उनले नेपालको समृद्धिको मुख्य आधार ऊर्जा क्षेत्र भएको बताउँदै यसको विकासका लागि नीतिगत स्पष्टता र पीपीए (विद्युत खरिद सम्झौता) खुलाउनु आफ्नो मुख्य एजेन्डा रहेको बताएकी छन् । बैंकिङ क्षेत्रको अनुभव ऊर्जा उद्यममा लामो समय बैंकिङ क्षेत्रमा बिताएकी पोखरेलसँग स्ट्याण्डर्ड चार्टर्ड बैंकमा २० वर्ष काम गरेको अनुभव छ । हाल उनी हिमचुली स्पार्क कम्पनीको अध्यक्षका रूपमा सक्रिय छिन् भने लिबर्टी इनर्जी र एस.एस. हाइड्रोमा पनि आबद्ध छिन् । बैंकिङ क्षेत्रको लामो अनुभवपछि उनी विगत ६ वर्षदेखि ऊर्जा क्षेत्रमा सक्रिय रूपमा लागेकी हुन् । ‘सरकारले ३० हजार मेगावाटको लक्ष्य राखेको छ । तर, पीपीए नै नभई यो लक्ष्य पुरा हुन सक्दैन,’ उनले भनिन् । पीपीए खुलाउन पहल गर्ने, ऊर्जा क्षेत्रलाई समावेशी बनाउने र निजी क्षेत्रलाई विद्युत व्यापारमा सहभागी गराउन नीतिगत पैरवी गर्ने उनका प्रमुख योजनाहरू हुन् । आयोजनाहरूको नेतृत्व र सक्रियता पोखरेलको नेतृत्व र लगानीमा हाल विभिन्न आयोजनाहरू अगाडि बढिरहेका छन् । सिद्धि खोला आयोजना भर्खरै सञ्चालनमा आएको छ भने ४.५ मेगावाटको वत्सले खोला आयोजना निर्माणाधीन अवस्थामा छ । ऊर्जा क्षेत्रमा महिलाहरूको सहभागिता कम भइरहेको अवस्थामा उनी एक सफल उद्यमी र नेतृत्वकर्ताका रूपमा स्थापित छिन् । इप्पानमा यो उनको तेस्रो कार्यकाल हो । यसअघि कार्यसमिति सदस्य र सचिवको रूपमा काम गरिसकेकी उनले संस्थालाई अझै उचाइमा पुर्याउने संकल्प गरेकी छन् । सचिव बनिन् तीन उद्यमी ईप्पानको नयाँ नेतृत्वका लागि तीन जना महिला उद्यमी सचिवमा निर्विरोध निर्वाचित भएकी छन् । सुमन जोशी, ईशा श्रेष्ठ र अभिज्ञा मल्ल सचिव पदमा निर्विरोध भएकी हुन् । सुमन जोशी बैंकिङ र प्रोजेक्ट फाइनान्सिङ (आयोजना वित्तीय व्यवस्थापन) पृष्ठभूमिकी नेतृत्वकर्ता रुपमा चिनिन्छन् । व्यवस्थापन विषयमा एमबीए उपाधि गरेकी जोशी हाल ह्वाइट लोटस पावर लिमिटेडकी कार्यकारी निर्देशकका रुपमा काम गरिरहेकी छन् । यसैगरी, हिडी खोला, धौला खोला तथा स्यानबान खोला जलविद्युत आयोजनाहरूको कुशल वित्तीय तथा प्रबन्धकीय नेतृत्व सम्हालिरहेकी छन् । जोशीले नेपालको राष्ट्रिय अर्थतन्त्रलाई सबल बनाउन ऊर्जा क्षेत्रलाई प्रमुख प्राथमिकतामा राख्नुपर्ने बताएकी छन् । पर्यटन र कृषिसँगै ऊर्जा क्षेत्र नेपालको विकासको ब्याकबोन भएको उल्लेख गर्दै उनले यस क्षेत्रको प्रवद्र्धनका लागि नीतिगत पैरवी नै आफ्नो मुख्य भूमिका हुने बताइन् । काठमाडौं विश्वविद्यालयबाट एम.बी.ए. र त्रिभुवन विश्वविद्यालयबाट दर्शनाचार्य गरेकी जोशीले आफ्नो व्यावसायिक यात्रा बैंकिङ क्षेत्रबाट सुरु गरेकी थिइन् । तत्कालीन सनराइज बैंक र एनएमबी बैंकमा काम गरेको अनुभव बटुलेकी उनी अहिले उर्जा क्षेत्रमा सक्रिय छिन् । ‘मैले बैंकिङ छोडेर हाइड्रो क्षेत्र रोजें, किनकि यो देशको समृद्धिसँग जोडिएको क्षेत्र हो,’ उनले भनिन् । जोशीका अनुसार हाल उनी आबद्ध संस्थामार्फत कुल ९० मेगावाटका विभिन्न आयोजनाहरू अगाडि बढिरहेका छन् । जसमध्ये ६.८२ मेगावाटको इदी खोला आयोजना हाल सञ्चालन मा आइसकेको छ । यसबाहेक धौलागिरी–३ लगायतका अन्य तीनवटा आयोजनाहरू कुनै निर्माणको चरणमा छन् भने कुनै पीपीए (विद्युत खरिद सम्झौता) को प्रक्रियामा रहेका छन् । ‘विद्युत व्यापार र प्रसारण लाइन निर्माणमा निजी क्षेत्रलाई पनि समान रूपमा सहभागी गराइनुपर्छ,’ उनले भनिन्, ‘निजी क्षेत्रलाई पनि इक्वल फुटिङ मा पहुँच दिनु हाम्रो मुख्य एजेन्डा हो । ’ आफू इप्पानको नेतृत्वमा पुगेर निजी क्षेत्रका ऊर्जा उत्पादकहरूको हकहित र नीतिगत समस्या समाधानका लागि निरन्तर लड्ने प्रतिबद्धता समेत उनको छ । यस्तै, युनियन हाइड्रोपावर लिमिटेडकी अध्यक्ष तथा परिवर्तन नेपालकी अध्यक्ष हुन् अभिज्ञा मल्ल । उनले जलविद्युत कम्पनीहरूको वित्तीय व्यवस्थापन, पब्लिक लिस्टिङ (सेयर निष्कासन) र सुशासनमा ठूलो योगदान दिएकी छन् । मल्लले दुधकोशी नेपाल हाइड्रो, युनियन मेवा र पुवाखोला–१ जस्ता ठूला आयोजनाहरूको नेतृत्व गरिरहेकी छन् । यसैगरी, नेपालको ऊर्जा पूर्वाधारमा महत्वपूर्ण मानिएको एमसिए–नेपालको वैकल्पिक बोर्ड निर्देशक र नेपालका लागि आर्मेनिया गणतन्त्रको कार्यकारी सचिवका रूपमा समेत भूमिका निर्वाह गरिरहेकी छन् । ईशा श्रेष्ठ पनि पूर्वाधार र ऊर्जा क्षेत्रमा एक दशकभन्दा बढीको नेतृत्व र अनुभव भएकी ऊर्जा उद्यमी महिला हुन् । उनी हाल टुण्डी पावर कम्पनी प्रालिकी डेपुटी जनरलम्यानेजरका रुपमा काम गरिरहेकी छन् । उनले ३५.५ मेगावाटको राहुघाट मंगले र ४८.५ मेगावाटको माथिल्लो राहुघाट जलविद्युत आयोजनाको नेतृत्व गरेकी छन् । उनी निलगिरी खोला हाइड्रोपावर कम्पनी (जस अन्तर्गत १०० मेगावाटका आयोजनाहरू छन् ) को बोर्ड निर्देशकका साथै नेपाल चेम्बर अफ कमर्सको पूर्वऊर्जा कार्यसमिति सदस्य समेत हुन् । उनी विगत ३ वर्षदेखि इप्पानको कार्यसमिति सदस्यमा आवद्ध छन् । यस्तै, नेपाल चेम्बर अफ कमर्स ऊर्जा समितिमा ३ वर्षको कार्यकाल बिताएकी उनले सामाजिक संस्था जेसीआई र लायन्स क्लब जस्ता प्रतिष्ठित संस्थाहरूमा आबद्ध रहेर पनि काम गरिरहेकी छन् । निलगिरी र टुँडिखेल जस्ता महत्त्वपूर्ण जलविद्युत आयोजनाहरूसँग जोडिएकी श्रेष्ठले ऊर्जा क्षेत्रमा महिलाहरूको प्रतिनिधित्व र व्यवसायिक दक्षतालाई आफ्नो मुख्य एजेन्डा बनाएकी छन् । थपिँदै नयाँ उद्यमी इप्पानको कार्यसमितिका लागि प्रतिमा ज्ञवाली, ईन्दिरा पन्त, ज्योती गैरे, संगिता धमला र सिर्जना खड्का प्रतिस्पर्धामा छन् । महिला सदस्यका लागि गैरे, ज्ञवाली, धमला र खड्काबीच प्रतिस्पर्धा हुँदैछ । तीन जना महिला सदस्यका लागि चार जना प्रतिस्पर्धामा छन् । पन्त भने खुला सदस्यको प्रतिस्पर्धामा छिन् ।
आधा दर्जन सीईओको जागिर गयो, दर्जनौं सञ्चालक तनावमा
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेष अदालतमा मुद्दा दायर गरेसँगै नेपालका दुई पुनर्बीमा कम्पनी र लघु बीमा कम्पनीहरूका प्रमुख कार्यकारीहरु कम्पनीको जिम्मेवारीबाट बाहिरिएका छन् । उनीहरुविरुद्द मुद्दा दायर भएसँगै नेपाल रि–इन्स्योरेन्स र हिमालयन रि–इन्स्योरेन्ससहित आधा दर्जनभन्दा बढी बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुले पद गुमाएका छन् । विभागले अदालतमा मुद्दा दर्ता गरेसँगै आरोपितहरू स्वतः निलम्बनमा परेका हुन् । निलम्बित व्यक्तिहरूले कानुनी रूपमा सफाइ पाएको खण्डमा र नियामक निकाय एवं सम्बन्धित कम्पनीको सञ्चालक समितिले स्वीकार गरेको अवस्थामा मात्र उनीहरू पुनः पदमा फर्किन सक्ने सम्भावना रहन्छ । अभियोगपत्रका अनुसार दीपक भट्ट र सुलभ अग्रवालले बुनेको ठूलो वित्तीय अपराधको सञ्जालमा परेर स्थापित बीमा कम्पनीका सञ्चालकदेखि प्रमुख कार्यकारी अधिकृतसम्मको जागिर गुमेको हो । यस प्रकरणले नेप्सेमा सूचीकृत कम्पनीका सञ्चालक र व्यवस्थापन तहमा रहेका अन्य व्यक्तिहरूको पद खोसिएको हो । यस वित्तीय अपराध प्रकरणमा मुछिएर पद गुमाउनेमा नेपाल रि–इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापाm हिमालयन रि–इन्स्योरेन्सकी प्रमुख कार्यकारी अधिकृत उपासना पौडेल, लिबर्टी माइक्रो लाइफका सीईओ रामकुमार यादव र क्रेष्ट माइक्रोका सीईओ प्रतापमान श्रेष्ठ रहेका छन् । यस्तै, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका सीईओ नरेश कुमार रोका, गार्डियन माइक्रो लाइफका सीईओ चिरायू भण्डारी र नेपाल माइक्रो इन्स्योरेन्सका सीईओ मृगेन्द्र नाथ रिमालले पनि पद गुमाएका छन् । यस प्रकरणमा नेपाल बीमा प्राधिकरणका पूर्वअध्यक्ष तथा बहालवाला सहसचिव मदन दाहाल समेत निलम्बनमा पर्ने भएका छन् । बीमा प्राधिकरणका पूर्वअध्यक्ष शरद ओझामाथि पनि यो प्रकरणमा मुछिएका छन् । विशेष अदालतमा मुद्दा दायर भएसँगै कारबाहीमा परेका यी सबै व्यक्तिहरू सरकारी तथा सेयर बजारमा सूचीकृत कम्पनीहरूमा कुनै पनि पदका लागि कानुनी रूपमा अयोग्य घोषित भएका छन् । यो प्रकरणमा बीमा कम्पनीका दर्जनौं सञ्चालक पनि निलम्बनमा परेका छन् ।
दीपक भट्टको बयान : अहिलेसम्म सेयर कारोबार गरेको छैन, टीएमएस दुरुपयोग भयो
काठमाडौं । बैंकिङ, बीमा, धितोपत्र तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा प्रतिवादी बनाइएका व्यवसायी दीपक भट्टले आफूले कुनै पनि सेयर कारोबार नगरेको र आफ्नो टीएमएस खाता दुरुपयोग गरिएको दाबी गरेका छन् । विशेष सरकारी वकिल कार्यालयले दायर गरेको मुद्दामा भट्टले भृकुटी स्टक ब्रोकिङमा खाता खोले पनि कारोबारका लागि अनुमति वा निर्देशन नदिएको बताए । उनले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धानका क्रममा मात्र आफ्नो नाममा कारोबार भएको जानकारी पाएको जिकिर गरेका छन् । उनले आफ्नो टीएमएस खाता र डिम्याट खाता दुरुपयोग गरी कारोबार गरिएको आरोप लगाउँदै वास्तविक कारोबारकर्ता पहिचान गरी अनुसन्धान गर्न सम्बन्धित निकायसमक्ष आग्रह गरेका छन् । बयानका क्रममा भट्टले आफ्नो एकल स्वामित्वमा रहेको ईन्फिनिटी होल्डिङ्स प्रालिको चुक्ता पुँजी ४८ करोड रुपैयाँ रहेको जानकारी दिएका छन् । उनका अनुसार कम्पनीको हिमालयन रि इन्स्योरेन्समा ४.५ प्रतिशत तथा नेपाल माइक्रो लाइफ र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्समा १५-१५ प्रतिशत सेयर लगानी रहेको छ । साथै हिमालयन एसेट म्यानेजमेन्ट, ईन्फिनिटी इन्फ्रास्ट्रक्चरलगायत विभिन्न कम्पनीमा पनि आफ्नो लगानी रहेको बताएका छन् । भट्टले आफूले सेयर कारोबारका लागि भृकुटी स्टक ब्रोकिङ (ब्रोकर नं. ५५) मा मात्र खाता खोलेको तर हालसम्म कुनै कारोबार नगरेको दाबी गरेका छन् । डिम्याट खाता खोलेपछि ब्रोकरलाई आईडी र पासवर्ड दिएको भए पनि कारोबारको अनुमति नदिएको उनको भनाइ छ । उनले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा बयान दिने क्रममा मात्र आफ्नो खाताबाट भएको भनिएको कारोबारबारे जानकारी पाएको बताएका छन् । भट्टका अनुसार कारोबारबारे जानकारी पाएपछि उनले सन्दीप चाचन अग्रवाललाई बोलाएर स्पष्टीकरण माग्दा अग्रवालले गल्ती स्वीकार गर्दै आफू नै ती कारोबारको वास्तविक धनी रहेको बताएका थिए । भट्टले आफ्नो खातामा भएका कारोबारको वास्तविक लाभग्राही र सञ्चालक पहिचान गर्न आईपी एड्रेस तथा डिजिटल फुटप्रिन्टको आधारमा अनुसन्धान गर्नुपर्ने माग गरेका छन् । विभिन्न व्यक्ति तथा संस्थाबाट ब्रोकर खातामा रकम जम्मा गरी अप्राकृतिक रूपमा सेयर मूल्य बढाइएको र त्यसपछि आफ्नो खातामार्फत ‘डम्प’ गरिएको देखिएको उनको दाबी छ । उनले कारोबार कार्यान्वयनका लागि आफ्नो पूर्वस्वीकृति, निर्देशन र आवश्यक कोल्याटरल रकम अनिवार्य हुने व्यवस्था रहेको उल्लेख गर्दै तीमध्ये कुनै प्रक्रिया आफूबाट पूरा नभएको बताएका छन् । बिक्री प्रक्रियामा आवश्यक पर्ने ईडीआईएस (भ्म्क्ष्क्) समेत आफूले प्रयोग नगरेको भन्दै आफ्नो खाताबाट न कुनै रकम गएको न आएको दाबी गरेका छन् । दीपक भट्टको बयान: मेरो एकल नाममा ईन्फिनिटी होल्डिङ्स प्रा. लि रहेको छ । उक्त प्रा.लि.मा चुक्ता पुँजी ४८ करोड रहेको छ । हिमालयन रि इन्स्योरेन्समा ईन्फिनिटी होल्डिङ्स प्रालिको ४.५ प्रतिशत सेयर रहेको छ । दुइवटा माइक्रो इन्स्योरेन्स नेपाल माइक्रो लाइफ र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्समा कम्पनीमा १५/१५ प्रतिशत सेयर रहेको छ । ईन्फिनिटी होल्डिङ्स एकल लगानी अन्तर्गतको हिमालयन एसेट म्यानेजमेन्ट कम्पनी रहेको छ। ईन्फिनिटि ईन्फ्रास्टक्चर कम्पनी लगायतमा मेरो लगानी रहेको छ । सम्पूर्ण विवरण हाल एकिन भएन । उक्त लगानी मेरो व्यवसायबाट आर्जन गरिएको हो । हिमालयन इन्भेस्टमेन्ट बैंकर लिमा मेरो श्रीमतीको सेयर रहेको छ। हाल प्रतिशत एकिन भएन । मैले मेरो सेयर कारोबारको लागि भृकुटी स्टक ब्रोकिङ प्रालि (ब्रोकर नं.५५) मा एउटा मात्र खाता रहेको छ । उक्त कारोबारको लागि मैले कुनै पनि खाता प्रयोग गरेको छैन । साथै कारोबार पनि गरेको छैन । उक्त केवाईसी फारममा मैले मेरो माथि उल्लिखित विवरणहरूका साथै सम्पर्क नं. ९८५११९८८०८ र इमेल एड्रेसः डीबीएचएटीटीए७एटजीमेलडटकम रहेको छ । मैले हालसम्म सेयर कारोबार गरेको छैन । मैले डिम्याट एकाउन्ट खोलिसके पश्चात् भृकुटी ब्रोकरलाई आईडी पासवर्ड दिएको छु । तर कारोबारको अनुमति दिएको छैन । भृकुटी ब्रोकरसँग कारोबारको सन्दर्भमा लागु हुने गरी नेपालको प्रचलित कानुन लागु हुने भनी एउटा सम्झौता गरेको छु । मैले कोही व्यक्ति वा संस्थाको नाममा डिम्याट एकाउन्ट, टीएमएस युजर र बैंक एकाउन्ट प्रयोग गरेको छैन । सेयर कारोबार भएको सम्बन्धमा मैले सुरूमा फोनको एसएमएस जानकारी नराखी सामान्य लापरबाही भएको हो । पछि जानकारीमा आए पश्चात् सन्दिप चाचनलाई अफिसमा बोलाई मेरो स्वीकृति र आदेश विना के कति कारणले कारोबार गरेको हो ? म मुद्दामा जान्छु भन्दा निजले मसँग निजले आफ्नो गल्ती स्वीकार गरी आफू नै वास्तविक धनी भएको स्वीकार गरी म यो कारोबार राफसाफ गर्छु भनी वचन दिएको हो । साथै, निजले मेरो एकाउन्टमा भएका कारोबारको वास्तविक धनी निज आफैँ रहेको भनी वचनबद्दता गरेको थियो। यसको वास्तविक धनीको जानकारी लिन आईपी एड्रेस बाट समेत एकिन गरि अनुसन्धान होस् । मैले माथि नै खुलाई लेखाई सकेको छु की सेयर कारोबार मैले गरेको छैन । अतः यसको लागि मेरो कारोबार गरिदिने व्यक्तिको पहिचान गरी आवश्यक अनुसन्धान होस् । जुन कम्पनीको डिबेन्चर किनबेचको निर्णय भएको छ । त्यसमा सञ्चालक समिति, व्यवस्थापन, लगानी समितिसँग अनुसन्धान गरी कसको प्रभावमा परी गरेको हो बुझ्न अनुरोध गर्दछु । मेरो ती सबै कम्पनीमा सेयर लगानी समेत छैन । जसमा आधारभूत सेयर रहेको छ । त्यसमा समेत सञ्चालक समिति, व्यवस्थापन, लगानी समितिमा मेरो संलग्नता छैन र डिजिटल फुट प्रिन्ट हेरी वास्तविक धनी र कारोबारकर्ता पहिचान गरी अनुसन्धान होस् भन्ने मेरो आग्रह छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा अनुसन्धानको क्रममा बयान गर्दा नै मैले यी सबै कारोबारहरूको जानकारी पाएको हो । उक्त जानकारी अनुसार ती कारोबार गर्दा मेरो समेत लगानी गर्ने सबै कम्पनीहरूको कारोबारमा प्रयोग भएको टीएमएसको आईपी एड्रेस एउटै कार्यालयबाट सञ्चालन भएको थाहा हुन आयो । अतः त्यस कारोबार गर्ने व्यक्तिहरूको पहिचान र आवश्यक अनुसन्धान होस् । यस सम्बन्धमा मैले यसपूर्व नै खुलाइदिए बमोजिम नै मेरो संलग्नता रहेको छैन । मैले भृकुटी स्टक ब्रोकिङसँग सम्झौता मात्र गरेको हो । तर कार्यान्वयन गरेको/भएको छैन । सम्झौता कार्यान्वयन हुन मेरो पूर्व स्वीकृती र निर्देशन हुनुपर्दछ । त्यसपछि जति मूल्यको कारोबार हुने हो त्यो मूल्यको कोल्याटरल बापत मै ब्रोकरलाई अग्रिम २५ प्रतिशत भुक्तानी गरिदिएको हुनुपर्दछ । अनि मात्र सम्झौता बमोजिम कार्यान्वयन भएको मानिन्छ । साथै टी+२ कार्यान्वयनको जिम्मेवारी भृकुटी ब्रोकरको हो । अतः उक्त कारोबारमा मेरो दायित्व रहँदैन । बरु सम्बन्धित ब्रोकर वा सम्बन्धित कारोबार गर्ने व्यक्तिको पहिचान गरी आवश्यक अनुसन्धान होस् । मैले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट जानकारी पाए अनुसार मेरो टीएमएस खातामा सेयर मूल्य बढिसके पश्चात् डम्प गरेको देखिन्छ । त्यो के कति कारणले डम्प गरेको हो । वास्तविक धनीलाई थाहा हुने विषय हो । यसअघि विभिन्न व्यक्ति र संस्थाबाट ब्रोकरको खातामा पैसा गई अप्राकृतिक ढंग शेयरको मूल्य बढाएको देखिन्छ । यो के उद्देश्यले मूल्य बढाइयो र बढेपछिका लाभकर्ता को को हुन् भन छानबिन गर्ने विषय हो । मैले यसपूर्व खुलाए बमोजिम नै मेरो धितोपत्र कारोबारमा संलग्नता छैन । बरू मेरो खाता दुरूपयोग गरी मलाई नै क्षति पुर्याउने कार्य भएको छ । साथै मैले हालसम्म कारोबार नै नगरेको र कुनै पनि कारोबारबाट लाभ पनि लिएको छैन । मैले ब्रोकरसँग जम्माजम्मी कारोबार गर्न सम्झौता मात्र गरेको हो । तर कार्यान्वयन गरेको/भएको छैन । सम्झौता कार्यान्वयन हुन मेरो पूर्व स्वीकृती र निर्देशन हुनुपर्दछ । त्यसपछि जति मूल्यको कारोबार हुने हो त्यो मूल्यको कोल्याटरल वापत मैले ब्रोकरलाई अग्रिम २५ प्रतिशत भुक्तानी गरिदिएको हुनुपर्दछ । अनि मात्र सम्झौता बमोजिम कार्यान्वयन भएको मानिन्छ । बिक्री गर्दा पनि ईडीएस गरेको हुनुपर्दछ सो समेत मैले गरेको छैन। न मेरो खाताबाट ब्रोकरकोमा कुनै रकम गएको छ नत कुनै रकम आएको नै छ । यी सबै ब्यहोराबाट मेरो सेयर कारोबारमा संलग्नता नरहेको प्रष्ट हुन जान्छ । कारोबार नै नगरीकन कसुरको भागिदार हुने विषय नै रहेन । जहाँसम्म कृत्रिम कारोबारबाट मूल्य वृद्धिको कुरा छ त्यसको लागि कुन कुन व्यक्ति र संस्थाबाट ब्रोकरलाई भुक्तानी भएको छ र कुन कुन व्यक्ति र संस्थाले मूल्य बृद्धिबाट लाभ लिएको छ त्यो छानबिनको विषय हो । मेरो टीएमएस खातामा सेयर मूल्य बढिसकेपश्चात डम्प गरेको देखिन्छ । त्यसैले सवालमा उल्लिखित विषयमा ब्रोकरबाट मलाई धोका तथा जालसाजी भएको छ । त्यसकारण धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९६ को देहाय (क) र दफा ९८ बमोजिमको कसूरमा मेरो कुनै संलग्नता छैन । उक्त सम्झौता मितिः २०८२/४/२ गते म र कम्पनीको प्रतिनिधि विच मेरो सानेपा स्थित ईन्फिनिटि होल्डिङ्स् प्रालिको कार्यालयमा भएको हो । उक्त सम्झौता कारोबार गर्ने मनसायले गरेता पनि मैले कारोबारको कार्यान्वयन गर्न र कुनै कारोबारको लागि आदेश र सहमति समेत दिएको छैन । मैले ब्रोकरको सल्लाह बमोजिम उक्त सम्झौता गरेको थिएँ । कानुनी हैसियतको विषयमा ग्राहकले नभै ब्रोकरले जानकारी राख्ने विषय हो । तर सम्झौतामा नेपालको कानुनबमोजिम भनी उल्लेख भएको छ । मेरो बुझाईमा मैले कारोबार नै नगरेको र कारोबारको निम्ति अपनाउनुपर्ने प्रकृयामा सामेल नभएको साथै निर्देशन र सहमति समेत नभएकोले मलाई ब्रोकरबाट जालसाजी भएको प्रष्ट हो । मैले सम्पत्ति शुद्धीकरणको अनुसन्धानको क्रममा मात्र जालसाजीको जानकारी पाएको हो । सोपश्चात ब्रोकरलाई बोलाई उसलाई मुद्दा गरिदिन्छु भन्दा निजले आफ्नो गल्ती स्वीकार गरी राफसाफ गर्ने बचन दिएको थियो । मलाई हस्ताक्षर गर्न सन्दिप चाचन अग्रवालले निजको स्टाफलाई मेरो अफिसमा ल्याई हस्ताक्षर गराएको हो। के कुन स्टाफ आएका थिए हस्ताक्षरकर्तालाई नै जानकारी होला । वाँकी व्यहोरा सम्झौता पत्रमा नै उल्लेख गरिएको छ। मैले उक्त हस्ताक्षर सम्झौतापत्रमा उल्लेखित मितिमा नै गरेको हो । मेरो सत्य साँचो व्यहोरा यत्ति नै हो । मैले यसपूर्व खुलाए बमोजिम नै उक्त सम्झौतापत्र कार्यान्वयनमा गएको छैन । टीएमएस खाता खोल्दा केवाइसीमा भरिएको विवरण स्वीकार गरेको सत्य साँचो हो । कारोबारको म्यासेज आएता पनि मै प्राय फोन कम प्रयोग गर्नु र ह्वाट्सएपको लागि इन्टरनेट कनेक्ट मात्र गर्ने गरेकोले मैले एसएमएस नोटिस गरिन ।