दसैँमा दक्षिणा : जान्नै र बुझ्नै पर्ने किस्सा

काठमाडौं । दसैँ भनेको एकता, मिलन, हार्दिकता र श्रद्धाको पर्व हो । यो पर्वमा महाकाली, महालक्ष्मी, महासरस्वतीको पूजा गर्ने परम्परा छ । त्यो भनेको छोरी प्रतिको श्रद्धा, समर्पण र आस्था हो । अर्थोपार्जनका लागि गाउँबाट बाहिर गएका वा काम विशेषले गाउँ बाहिर रहनेहरू दसैँमा घर फर्किन्छन् ।  यो दसैँ लाई  एउटा पुनर्मिलनको पर्वभन्दा पनि फरक पर्दैन ।  मन प्रसन्न बनाएर खुसी साटासाट गर्ने पर्व दसैँ  हो । यसको सांस्कृतिक, सामाजिक र व्यवहारिक विभिन्न पक्षहरू छन् । आजभोलि दसैँलाई दक्षिणासँग जोडेर पनि हेर्ने गरिन्छ । दक्षिणाका विषयमा शास्त्रमा एउटा मन्त्र छ, ‘हिरण्य गर्भह समवतताग्रे भूतस्य जात पत्र कासित सदाधारण पृथ्वीन ध्यातेमाङ कस्मै देवायखा विधेयमा ।’ यो मन्त्रले विशेष गरी द्रव्यको अर्थात् सम्पत्तिको एउटा महत्त्वको विषयमा उल्लेख गरेको छ । दक्षिणा र दान भन्ने कुरामा फरक छ ।  दान कुनै पनि व्यक्तिले आध्यात्मिक र मानसिक शान्तिका लागि गर्छन् । दक्षिणा भनेको यज्ञ गरिसकेपछि यज्ञमा आएको एउटा कर्मका आधारमा अथवा यज्ञ क्रममा उपस्थित भएका आधारमा, उसको उपस्थिति, उसको प्रस्तुतिका आधारमा दिइने एउटा द्रव्य हो । हुनुपर्ने दसैँमा दान गर्नुपर्ने हो ।  दसैँमा शैलपुत्री, ब्रह्माचारिणी, चन्द्रघण्टेति, कूष्माण्डेति, स्कन्दमातेति कात्यायनीको पुजा गरिन्छ । नौ दिनसम्म निरन्तर रूपमा एउटा यज्ञको साधना गरेर, दुर्गाको साधना गरेर, देवीको साधना गरेर, शक्तिको आराधना गरेर यज्ञको अन्तिम समयमा नौवटा कन्याहरूलाई यज्ञको प्रसाद स्वरूप अर्थात् यज्ञको दान स्वरूप आह्वान गरेर उनीहरूको पूजन गरेर मनाइन्छ । दसैँमा  कन्याहरूको पूजन गरेर उनीहरूलाई दिइने दान नै नवदुर्गाको अर्थात् विजया दशमीको दक्षिणा हो । दक्षिणा छोरीलाई मात्र  शास्त्रले दसैँको दक्षिणा कन्याहरूलाई मात्र भनेको छ । छोराहरूलाई दक्षिणा दिने भन्ने छैन । छोरीलाई टीका लगाएर दक्षिणा दिँदा छोरालाई जमरा र टीका दिइन्थ्यो । ‘या देवी सर्वभूतेषु लक्ष्मीरूपेण संस्थिता, नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः’ जुन देवी एउटा लक्ष्मीका स्वरूपमा गएर, द्रव्यका रुपमा लक्ष्मी विराजमान हुन्छिन्, ती लक्ष्मीलाई, ती देवीलाई चाहिं मैले नमस्कार गर्दछु, हार्दिक नमस्कार गर्दछु भनेर जुन मन्त्र छ । महाकाली, महालक्ष्मी, महासरस्वती तीनवटा तत्वको पूजा गरी दक्षिणा दिन सुरु गरिएको थियो ।    महाकालीले सुरक्षा प्रदान गर्छिन् भने ज्ञान, बुद्धि, विवेक, वैराग्यको प्राप्ति गर्ने महासरस्वती हुन् । महालक्ष्मीको आराधनामा दानको कुरा हुन्थ्यो, दक्षिणाको कुरा हुन्थेन । पहिले दक्षिणा दिने चलन थिएन । त्यतिबेला दक्षिणाको विशेष महत्त्व थियो । कन्याहरूलाई दक्षिणा दिने बेलामा आफ्नो शक्ति सामर्थ्य अनुसारले दक्षिणा दिनुपर्छ भन्ने थियो ।  महाकाली, महालक्ष्मी, महासरस्वतीको पूजा हुने बेलामा नै दान जोडेरै आएको छ जहाँ कन्यालाई मात्र दिइन्थ्यो । तर पछिल्लो समयमा छोरी सँगसँगै ज्वाइँ जोडिँदा ज्वाइँलाई पनि दक्षिणा दिन सुरु गरियो । भान्जी सँगसँगै भान्जालाई पनि दक्षिणा दिन सुरु भयो । विशेष रूपमा पहिला कन्यालाई नै दक्षिणा दिने चलन थियो । पैसा दिने चलन यसरी भयो सुरु कन्याहरूलाई पनि त्यो बेला पैसा दिने चलन थिएन । दसैँमा दक्षिणाको रूपमा पैसा दिने चलन धेरै पछिबाट सुरु भएको हो ।  छोरीहरूलाई बोलाएर पाथीको हिसाबमा धान, चामल दिइन्थ्यो । अझै पनि ग्रामीण भेगहरूमा दक्षिणाका रूपमा छोरीहरूलाई धान, चामल वा अन्न दिने चलन छ । दसैँको बेलामा धान काट्ने समय पनि हुन्छ । दसैँमा घरमा जति छोरीहरू छन् उनीहरूलाई बोलाएर अन्न दिइन्थ्यो । जुन दसैँको दक्षिणा हुन्थ्यो ।  मामाघरमा टीका थाप्न जाँदा भान्जीलाई टीका लगाएर दक्षिणा दिइन्थ्यो भने भान्जालाई गाई दान गर्ने चलन थियो । अन्न दानबाट बिस्तारै वस्त्र दान, भूमि दानमा परिणत भयो । अहिले दक्षिणा आर्थिक अर्थात् पैसामा, मुद्रामा आयो । जब विश्वमा टक्सारहरू स्थापना भए त्यसपछि बल्ल पैसा दिने चलन सुरु भयो । टक्सारहरू स्थापना भइसकेपछि, राजाले टक छाप्ने परम्परा भइसकेपछि, मुद्राहरू अर्थात् असर्फीहरू छाप्ने चलन भएपछि बल्ल मुद्रा दक्षिणाका रूपमा परम्परा बसेको हो । पहिले  पैसाको विषय आइसकेको थिएन । पैसा छापि सकिएको अवस्था थिएन । बिस्तारै पैसा आउन थाले । छोरीलाई पैसा दिन थाले । छोरीलाई पैसा दिदाँसँगै आउने ज्वाइँलाई पनि पैसा दिन सुरु गरिएको हो ।  दक्षिणाको विकृति हाम्रो संस्कृतिमा राम्रा चलनहरू छन् तर हामीले यसलाई गलत रूपमा प्रचलित गरिरहेका छौं । म यहाँनेर दाइजो प्रथाको कुरा जोड्छु । शास्त्रले दाइजो दिने चलनलाई गोड्धुवा भन्छ । छोरीको खुट्टाको जल खाने र खुट्टालाई प्रणाम गरेर आफ्नो सामर्थ्य अनुसारको छोरीलाई कन्या स्वरूप मानेर द्रव्य दिने चलन थियो ।  यो चलनलाई हाम्रो समाजले दाइजोमा परिणत गरिदियो । गोड्धुवा परम्परा अलिकति सक्ने मान्छेले गोडधुवा गर्ने बेलामा आफूले नै आफ्नो घरबाट एउटा सानो भाँडा लिएर जाने, तामाको भाँडा लिएर तामाकोमा छोरीको खुट्टाको जल खाने, गोड्धुवा गर्ने र त्यो भाँडो नै छोरीका नाममा दिने चलन थियो । तर यो चलनलाई मान्छेले गलत प्रथाको रूपमा विकास गरे । जुन शास्त्रले छोरीलाई दिने उपहार अर्थात् दक्षिणालाई हाम्रो समाजले  मोलमोलाइको रूपमा परिणत गरिदियो । दाइजो दिनैपर्छ भनेर सर्त राखेको पुरा नहुँदा बिहे नै भएका हामीले सुन्दै आएका छौं । दक्षिणा भनेको आफ्नो शक्ति, सामर्थ्य, अनुकूलताले दिने हो । दसैँमा भक्ति, समर्पण, श्रद्धा र एकता मिसिएको छ । तर यसमा अहिले दक्षिणा मिसिएको छ ।  टीका लगाएर आफूभन्दा मान्य अग्रजहरूले ‘आयुर द्रोण सुते श्रियं दशरथे शत्रुक्षयं राघवे, ऐश्वर्यं नहुषे गतिश्च पवने मानं च दुर्योधने । शौर्यं शान्तनवे बलं हलधरे सत्यं च कुन्तिसुते, विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे’ भनेको छ । त्यहाँ पनि के भनेको छ भने ‘ऐश्वर्यं नहुषे’ भनेको छ । तर अहिले दसैँ पनि दक्षिणामा तुलना गरिन थालेको छ ।  एउटा भान्जा मामाघरमा जाँदा मैले दक्षिणा कति पाएँ भन्ने कुरामा मापन गर्छ । ज्वाइँ ससुराली जाँदा मैले दक्षिणा कति पाएँ भन्ने कुरा मापन गर्छ ।  यो पर्वमा सद्भाव भन्दा बढी भेदभाव हुन थालेको छ । दक्षिणा कति पाइयो भन्ने कुरामा निर्भर हुन्छ । यो एकदमै नकारात्मक कुरा हो । हाम्रो धर्मशास्त्र अनुसार दक्षिणा भनेको श्रद्धाका रूपमा, विश्वासका रूपमा, एकदमै पूजन गरेर त्यसलाई दिएको विषय हो । तर आजभोलि समाजले त्यसलाई विकृतिको रूपमा ग्रहण गरिरहेको छ । दक्षिणाको अर्को नाम श्रद्धा हो । कुनै पनि व्यक्ति आफ्नो घरमा आइसकेपछि वा आफू कुनै मान्यजनका घरमा गइसकेपछि उसलाई गरिने श्रद्धामा आफ्नो बोली, वचन, व्यवहार पर्दछ । दक्षिणा यति नै दिनुपर्छ भन्ने हुँदैन । श्रद्धा दिने बेलामा हामीले कसरी श्रद्धा व्यक्त गरिन्छ भन्ने कुरा हो । तर आजभोलि दक्षिणामा यति पैसा दिनैपर्ने, नदिँदा मान्छेसँग बोलचाल हराउने भइरहेको छ यो विकृति हो ।  धार्मिक असर   दक्षिणा  धन, मन, शरीर र समाज अनुकूल हुन्छ । जुन अनुकूलताका आधारमा निर्धारण हुन्छ । कुनै एउटा धनी मान्छेले हात्ती दान गर्न सक्छ भने अर्को मान्छेले श्रद्धापूर्वक नमस्कार मात्र टक्राउन सक्छ । कतिपय गाउँघरहरूमा गएर हेर्नुहुन्छ भने तपाईंको दाजुभाइका अथवा दिदी बहिनीका बीचमा, मामा-माइजूका, भान्जा-भान्जीका बीचमा पनि दक्षिणाका कारणले नै प्रभाव परेको छ । फलाना मामाकोमा त अलि ढिलो जाउला, छिटो त अब फलाना मामा कहाँ गएर आइहालौं भन्ने कुरा दिने दक्षिणाका आधारमा तय गरेको पाइन्छ ।  दक्षिणा अरूलाई देखाउनका निम्ति, बिल्कुल राम्रो होइन । दक्षिणाकै कारण विभिन्न मान्छेहरूबीच बोलचाल हराएको हामीले पाएका छौं । अर्को यसले  समाजलाई पनि विखण्डित गरेको छ । दक्षिणा भनेको दसैँसँग सम्बन्धित मात्र होइन । छोरीलाई दिएको दक्षिणामा ज्वाइँले आँखा लाएर अथवा ज्वाइँभन्दा पनि अझ बाहिरपट्टि गएर उसको बुवा-आमाहरूले आँखा लगाएर विभिन्न हिंसाका घटनाहरू पनि भएका छन् । दक्षिणा व्यक्तिले आफ्नो अनुकूलताले दिन सकोस् । तर, बाध्य बनाएर दक्षिणा दिनु परिरहेको छ ।  कतिपयले दसैँको दक्षिणाको लागि घरको खेत जग्गा  बेच्नुपर्ने अवस्था सिर्जना हुन सक्छ । जस्तै- कुनै व्यक्तिले  १२ घण्टा काम गरिरहेको छ भने उसले दसैँको दक्षिणाका लागि लिएको ऋण तिर्न १६ घण्टा काम गर्नुपर्ने अवस्था हुन सक्छ । मैले दक्षिणा दिँदै गर्दा मेरो घरका सदस्यले दक्षिणा कम भयो अथवा धेरै भयो भनेर गुनासो गर्दा तनावमा पर्नुपर्ने अवस्था सिर्जना हुन सक्छ । दक्षिणामा राम्रो अनुकूलता भएन भने व्यक्तिको अनुकूलता, परिवारको अनुकूलता र समाजको अनुकूलता भएन भने मानसिक रुपमा ठूलो रोग ल्याउँछ ।   यो पर्व पछिल्लो समयमा विकृतिका रूपमा मनाउन थालिएको छ । दसैँमा  खसी काट्नै पर्ने, फलानालाई यति दक्षिणा दिनैपर्ने, सकी नसकी के कसो गरेर भने पनि जुवा खेल्नै पर्ने भन्ने जुन चलन छ । यो विकृति हो । यी विकृतिहरूलाई चिर्न नसक्ने हो भने हाम्रा परम्पराप्रति नै वितृष्णा हुन्छ । दसैँ कसैको पनि दशा बन्नु हुँदैन ।  (नेपाल संस्कृत विश्वविद्यालयका उपप्राध्यापक डा. प्रकाश ढकालसँग गरिएको कुराकानीमा आधारित)

दसैँमा यसरी गरौं खानपान व्यवस्थापन

दैनिक जीवनमा स्वस्थकर खानेकुराको निकै महत्त्व छ । अन्न भनेको जीवन हो । जसरी श्वास फेर्न वायु चाहिन्छ, त्यसैगरी शरीर धान्न, शारीरिक र मानसिक रूपमा स्वस्थ रहन स्वस्थ खानेकुराको जरुरत पर्छ । जस्तो किसिमको अन्न खाइन्छ हाम्रो मन पनि त्यस्तै हुन्छ । मानसिक रूपमा स्वस्थ, अस्वस्थ रहने कुरा पनि हाम्रो खानेकुराले निर्धारण गर्छ । बच्चा आमाको पेटमा हुँदादेखि नै खानाको महत्त्व छ । आमाले जे खान्छिन्, बच्चाले त्यही खान्छ । उनले स्वस्थकर खाइन् भने भ्रुणले पनि त्यही पाउँछ र पछि स्वस्थ बच्चा जन्मिन्छ । मान्छेलाई मात्र होइन, जीवजन्तु तथा बिरुवालाई समेत खाना चाहिन्छ । खानाबिना हामी बाँच्न सक्दैनौँ । केही योगीहरू हुन्छन् जो केही वर्षसम्म नखाएर बसेका हुन्छन्, यो अपवाद हो ।  स्वस्थकर खानेकुरा  हामीले दैनिक जीवनमा खाँदै आएको दालभात, तरकारी, अचार, दूध, दही, मोही, हलुवा, खिचडी स्वस्थकर खानेकुरा हो । आफूले घरमा पकाएर खाइने खानेकुराहरू प्रायजसो सबै स्वस्थ नै हुन्छ । विभिन्न किसिमका सलाद, फलफूल पनि स्वस्थकर नै हुन्छन्  । आलुको तरकारी हामी सबै जनाले खान्छौं । तर त्यही आलु जब फ्रेन्च फ्राइको रूपमा खाइन्छ, बारम्बार एउटै तेलमा पकाइन्छ भने त्यो  अस्वस्थकर हुन्छ । यस्तै रोटी, दाल, चामल अथवा सेल तथा पुरी स्वस्थकर खाने कुरा हो । तर, त्यही सेल तथा पुरीलाई एउटै तेलमा बारम्बार पकाएर खायो भने त्यो पनि अस्वस्थकर हुन्छ । स्वस्थकर आटाबाट रोटी बन्छ । त्यही आटालाई फेरि मैदा बनाएर अन्य किसिमको पत्रु खाना बनायो भने त्यो अस्वस्थकर हुन जान्छ । स्वस्थकर खाने कुरालाई पनि कस्तो प्रकारले बनाइन्छ र त्यो कसरी अस्वस्थकर हुन जान्छ भन्ने कुरा थाहा पाउनुपर्छ ।  दसैँको बेला मासु कम खाने  पहिले मासु खानलाई दसैँ नै पर्खिनु पर्थ्यो । हामी सानो हुँदा आज भन्दा ५०/५५ वर्ष अगाडि दसैँ आएपछि मासु खान पाइन्छ भनेर हामी निकै खुसी हुन्थ्यौँ । अरूको घरमा गएपछि मासु खान दिन्छन्, मासुभात, मासु चिउरा दिन्छन् भनेर खुसी भइन्थ्यो । तर, अहिले त्यस्तो अवस्था छैन, हुनेहरू दिनहुँ मासु खान्छन् । तैपनि दसैँ भनेपछि फेरि यस्तो संस्कृतिसँग जोडिएको छ कि दसैँ र मासु भने त्यसलाई छुट्याउनै सकिँदैन । कसैले घरमा खसी काट्छन्, कति जनाले बाहिरबाट किनेर ल्याउँछन् अघिपछिको समयभन्दा दसैँमा अझ बढी मासु खाने चलन छ । दसैँको बेलामा मासुका विभिन्न परिकारहरू बनाइन्छन् । यस्तो बेला मेरो पेटलाई कति चाहिन्छ भन्ने कुराको ख्याल गर्नुपर्छ । आफ्नो पेटले जति सक्ने हो त्योभन्दा बढी मासु खाने अथवा बिहानदेखि बेलुकासम्म अथवा विभिन्न ठाउँहरूमा जाँदा सबैको घर-घरमा मासु-भात, मासु-चिउरा, विभिन्न किसिमका मासुका परिकारहरु खाने गर्दा समस्या पर्न सक्ने हुनाले जिब्रोलाई अलिकति लगाम दिनुपर्छ ।  मासुमा रेसादार तत्व नभएको हुनाले मासु धेरै खाँदा कब्जियत हुनसक्ने सम्भावना हुन्छ । दुई/तीन टुक्रा मासु खाँदा हरियो तरकारी, काँक्रो, विभिन्न किसिमका सलादहरू पनि प्रयोग गर्नै पर्छ । अहिले विभिन्न किसिमका स्वास्थ्य समस्या भएका व्यक्तिहरू धेरै छन् । उनीहरूले खानेकुरा खाँदा ख्याल गर्नुपर्छ । कस्तो किसिमको खाने कुरा कति खाने भन्ने कुरा आफ्ना चिकित्सक सल्लाह अनिवार्य लिनुपर्छ । कसले कति खाने ? खानेकुरा कुन व्यक्तिले कति खाने भन्ने कुरा त्यत्तिकै भन्न सकिँदैन । कसको शरीरले कति खानेकुरा पचाउँछ भन्ने कुरा मान्छेको शरीर अनुसार फरक पर्छ । दिनभर काम गरेर खाने, बसेर खाने वा शारीरिक काम गर्नुपर्ने वा मानसिक काम गर्नुपर्ने व्यक्तिमा पनि फरक पर्छ । आयुर्वेद विज्ञान र अहिलेको आधुनिक विज्ञानले के स्पष्ट रूपमा सिद्ध गरेका छन् भने हामीलाई जति भोक लाग्छ, त्यसको ८० प्रतिशत मात्रै खानुपर्छ । आयुर्वेदले हजारौं वर्ष पहिले नै भनेको कुरा जसलाई अहिले आधुनिक विज्ञानले प्रमाणित गरेको छ । अहिले नेपालमा नसर्ने रोगहरू जसरी बढिरहेको छ, त्यसको प्रमुख कारण अस्वस्थ जीवनशैली र अस्वस्थकर खानेकुरा हो । म जहिले पनि जहाँ पनि भन्ने गर्छु हाम्रो पाँच, साढे पाँचदेखि छ फिटको शरीरलाई सानो दुई/तीन इन्चको जिब्रोले धोका दिइरहेको छ ।  आफ्नो शरीरलाई स्वस्थ बनाउन चाहने हो भने जिब्रोलाई नाइँ भन्न सक्नुपर्छ । त्यसको अर्थ फेरि मीठोमसिनो नखाने भनेको होइन, तर आफूलाई अलिकति संयम गर्न सिकियो भने दसैँतिहार मनाएपछि काममा जाँदा पनि एकदम आनन्दको अनुभूति हुन्छ । दसैँतिहारमा मज्जासँग खाँदा पेट गडबड हुँदा विभिन्न किसिमका समस्या देखा पर्यो भने काममा जान पनि सकिँदैन । त्यसैले भविष्यको विचार खानेकुरा खानुपर्छ ।  कवाडी खाना  अहिले बजारमा आएका जंकफुडहरूलाई म पत्रु खानेकुरा भन्छु । जसमा नुन, चिनी बढी हुन्छ,  त्यसले हाम्रो शरीरलाई बेफाइदा गर्छ । पत्रु भनेको कवाडी खाना हो । जसले शरीरमा कुनै पनि पौष्टिक तत्वहरू दिँदैन । विभिन्न किसिमका सूक्ष्म पोषक तत्वहरू दिँदैन । त्यसलाई म पत्रु खानेकुरा अथवा कवाडी खानेकुरा भन्छु । जिब्रोले चाहिँ मीठोमीठो मान्ने तर शरीरलाई एकदमै बेफाइदा गर्छ । बालबालिकाहरूलाई पनि आमाबुबाहरूले ‘ल खाऊ’ भनेर दिइरहेका हुन्छन् ।  तर, आमाबुबाहरूले के विचार गर्दैनन् भने एकछिनको जिब्रोको स्वादले पछि कति असर पार्छ भनेर । त्यसमा कसरी नकारात्मक असर पार्न सक्छ । यो विषयमा थुप्रै अध्ययनहरु पनि भएका छन् । शारीरिक स्वास्थ्य मात्र होइन मानसिक स्वास्थ्यमा पनि समस्या पर्छ ।  मैले ३/४ वर्ष अगाडि एउटा तालिम लिएको थिएँ । तालिममा जाँदा मानसिक रोग विज्ञहरूले अस्वस्थकर खानेकुराहरूले मानसिक स्वास्थ्यमा पनि नकारात्मक असर पार्न सक्छ भनेर भन्नु भएको थियो ।  ‘न्युट्रिसन एण्ड साइक्याट्रिक डिसअर्डर’ अथवा मानसिक स्वास्थ्य समस्याहरू पर्दा खेरि कसरी भोजनले यसमा प्रभाव पर्न सक्छ भन्ने बारेमा लेखेको एउटा किताब छ । त्यसले पनि हामीले खाने खानेकुराले शरीरलाई मात्र नभइ मानसिक रूपमा पनि असर पर्छ भनेको छ ।  पेट सफा भए सबै रोग टाढा ‘पेट सफा तोे हर रोग दफा’ पहिलेका बुढा पाखाले भनेको सुनिन्थ्यो । अहिलेको विज्ञानले यो सिद्ध पारेको छ । पेटको स्वास्थ्य स्वस्थ राख्नु भनेको हामीले स्वस्थ्यकर खानेकुराहरू खानु हो । रेसादार तत्व भएका खानेकुरा सूक्ष्म पोषक तत्व भएका खानेकुरा खानु हो । रेसाधार खानेकुराले जुन अघि मैले भने नि किटाणुहरू, मासु खाँदा रेसादार तत्व भएन भने पेटमा समस्या पर्छ । त्यसकारण दसैँतिहारमा माछा मासु खाँदा रेसादार तत्व भएका खानेकुराहरू जस्तै-सब्जी, तरकारी, टुसा उमारेका खानेकुराहरू प्रयोग गर्नुपर्छ ।  पहिले र अहिलेको खानपानमा आकाश जमिनको फरक छ । हामी सानो हुँदा अहिलेको जस्तो बिस्कुट, चाउचाउ लगायतको जंकफुड थिएन । खानेकुरा दाल, भात, तरकारी थियो । दिउँसोको खाजामा पनि भुटेको भात, चना, आलु, रोटी, दही चिउरा खाइन्थ्यो । दसैँमा पनि अम्बा र नास्पाती फल्ने समय भएकाले धेरै फलफुलहरू ल्याइन्थ्यो । घरमै बनाएको स्वस्थकर खानेकुरा खान्थ्यौँ । त्यही बेलाको खानेकुरा खाएको हुनाले होला म ६८ वर्षको उमेरसम्म पुग्दा अहिलेसम्म नसर्ने रोग लाग्न पाएको छैन । अब भोलि के हुन्छ थाहा छैन तर अहिलेसम्म मधुमेह, उच्च रक्तचाप, मुटुको रोग, घुँडा दुख्ने, ढाड दुख्ने, टाउको दुख्ने, यस्तो किसिमको समस्या भएको छैन । अहिले फलफूल सलादभन्दा बढी मदिरा र मासु हुन्छ । मदिरा नखानेहरू कोकाकोलाजस्ता पेयपदार्थहरू लिएर मासु खाने चलन बढी छ । घरभित्र भान्छामा पकाएको  खानेकुरा भन्दा आजभोलि बजारको खानेकुरा दसैँमा बढी हुन्छ  । यस्ता खानेकुराले भोलिको दिनमा ठूलो समस्या निम्त्याउन सक्छ । सबै जनाले एकदम रमाइलोसँग दसैँ मनाउनुहोस् । दसैँ तिहार मनाएपछि पछि पनि आफ्नो स्वास्थ्य राम्रो रहोस् भनेर खानपिन गर्नुहोस् ।  स्वास्थ्य जीवनशैलीमा, योगासन, व्यायाममा चाहिँ ध्यान दिनुहोस् ।  (पोषणविद डा. अरुणा उप्रेतीसँग इन्द्रसरा खड्काले गरेको कुराकानीमा आधारित)

दसैँमा वर्षेनी महङ्गो भाडाको मारमा हवाई यात्रु, कसरी बढ्छ हवाई भाडा ?

काठमाडौं । दसैँमा गाउँघर पुगेर आफन्त र साथी भाइसँग रमाइलो गर्ने चाहना कसलाई पो नहोला ! तर, दसैँका बेला हवाइजहाज चढेर घर जान्छु भन्नेका लागि भने निकै कठिन छ । अधिकांश गन्तव्यको टिकट एक महिनाअघि नै बुकिङ भइसकेको वायुसेवा निगमहरूको जवाफ हुन्छ । एयरलाइन्सले अनलाइनबाटै टिकट बुकिङ खुलाए पनि यस्तो बेलामा यात्रुले अनलाइनबाट टिकट पाउन मुस्किल छ । सहुलियत दरका टिकट त परैको कुरा महँगो टिकट पनि पाउन सकस छ । काठमाडौंदेखि सबैभन्दा लामो गन्तव्य धनगढीका लागि १७ हजार रुपैयाँभन्दा बढी हवाई भाडा पर्छ । काठमाडौं-विराटनगरमा ९ हजार ७ सय रुपैयाँ छ । धनगढीकी निशा पाण्डे महंँगै भए पनि हवाई टिकटको खोजीमा निकै दिन भौतारिन् । मुस्किलले महँगो दरमा हवाई टिकट पाइन् । उनलाई धनगढीबाट कसरी फर्किने भन्ने अर्को चिन्ता छ । बझाङका वसन्तराज जोशीलाई विगतका वर्षझैँ यसवर्ष पनि दसैँमा टिकट पाउन निकै सास्ती बेहोर्नुपर्यो । मोरङकी सङ्गीता सापकोटाले विराटनगरका लागि हवाई टिकट नपाएपछि गाडीबाटै गन्तव्यतर्फ लागिन् ।  हवाई भाडा महँगो भएको गुनासो बढेपछि नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले हवाई भाडादर सस्तो बनाउन पटक–पटक वायुसेवा कम्पनीलाई निर्देशन दिएको छ । दसैँमा यात्रुको चापलाई मध्यनजर गरी उडान सहजीकरण गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले, क्यानका पदाधिकारी, वायुसेवा कम्पनीका प्रतिनिधिसँग हालै छलफल पनि गरेको थियो । किन हरेक वर्ष दसैँमा हवाई भाडा महँगो हुन्छ भन्ने जिज्ञासामा क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भुल भन्छन्, ‘अहिले सबै मानिसले हवाई भाडा महँगो भयो भनिरहेका छन् । हामीले हवाई भाडा सस्तो गर्नु निरन्तर वायुसेवा कम्पनीलाई निर्देशन दिइरहेका छौँ । सोही निर्देशन बमोजिम बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्सले धनगढीका लागि उच्चतम भाडा १७ हजार रुपैयाँ रहेकामा १२ हजार ५०० रुपैयाँसम्ममा टिकट बिक्री गरेको सिस्टममा देखाएको छ ।’ सूचना अधिकारी भूलले यो समस्या हरेक पटक दोहोरिरहेकाले हवाई भाडा प्रणालीबारे स्पष्ट हुन जरुरी रहेको उल्लेख गरे । नागरिक उड्डयन प्राधिकरण ऐन २०५३ का अनुसार नेपालको हवाई यातायातमा यदि यात्रु वा कार्गोको भाडा दर तोक्नु परेमा क्यानले सिफारिस गर्ने, नेपाल सरकारले निर्धारण गर्ने र त्यो लागू भए/नभएको क्यानले अनुगमन गर्ने र कार्यान्वयन नभएमा क्यानको महानिर्देशकले सम्बन्धित एयरलाइन्सलाई कारबाही गर्ने व्यवस्था छ । सूचना अधिकारी भूलका अनुसार प्राधिकरण ऐन अन्तर्गत बनेको दुई वटा नियमावली छन् । सेवा प्रदायक र नियामक । जसमा विमानस्थल सेवा शुल्क नियमावली २०७८ र नागरिक उड्डयन नियमावली २०५८ । नागरिक उड्डयन नियमावलीमा अन्तर्राष्ट्रिय हवाई भाडा चाहिँ जुन देशसँग हवाई सम्झौता हुन्छ त्यो सम्झौताका आधारमा निर्धारण हुन्छ । अहिले नेपालले ४२ मुलुकसँग दुई पक्षीय हवाई सेवा सम्झौता गरेको छ । अधिकतम मुलुकसँग ‘ओपन फेयर पोलिसी’ (फ्रि प्राइसिङ) माग र आपूर्तिका आधारमा हवाई भाडा निर्धारण गरिन्छ । सरकारले वायुसेवा कम्पनीको लागतका आधारमा अधिकतम र न्यूनतम् हवाई भाडा तोक्ने हुनाले तोकिएको भन्दा बढी भाडा एयरलाइन्सले लिन नपाउने सूचना अधिकारी भूलले बताए । उनका अनुसार आन्तरिक तर्फ दुई प्रकारले भाडा निर्धारण हुन्छ । नियमित र चार्टर्ड उडान । यी दुवै उडानको भाडा दर क्यानबाट स्वीकृत हुनुपर्छ । उनले भने, ‘नियमित उडानमा यदि ५ हजार ७०० केजीभन्दा सानो जहाज अर्थात् १९ सिट क्षमता भन्दा सानो जहाज छ भने ‘सिङ्गल फेयर सिस्टम’ हुन्छ ।’ उदाहरणका रुपमा काठमाडौंबाट लुक्ला उड्ने ट्वीनअटर जहाजको भाडा दर एउटै हुन्छ । तर, १९ सिट क्षमताभन्दा माथिका एटीआर जहाजमा सरकारले वायुसेवा कम्पनीको लागतका आधारमा न्यूनतम् र अधिकतम भाडा दर तोक्ने र एयरलाइन्सले न्यूनतम्, अधिकतमको भाडा निर्धारण गर्न पाउँछन् । हाल विराटनगरको हवाई भाडा ५ हजार १ सय रुपैयाँबाट ९ हजार ७ सय रुपैयाँ कायम छ । एयरलाइन्सले ५ हजार १ सय रुपैयाँदेखि ९ हजार ७ सय रुपैयाँसम्मका प्रत्येक टिकट बिक्री गर्न पाउँछ । तर, ५ हजार १ सय रुपैयाँ भन्दा कम र ९ हजार ७ सय रुपैयाँभन्दा बढी लिएमा गैरकानुनी हुन्छ ।  उनले काठमाडौंबाट विराटनगरको भाडा दर निर्धारण वायुसेवा कम्पनीको लागत दरका आधारमा हुने जानकारी दिए । सरकारले विसं २०७३ मा निर्धारण गरेको हवाई भाडा नै हालसम्म कायम छ । लागत दरमा हवाई इन्धनको मूल्य, जहाजको प्रकृतिको आधार, यात्रु सेवा शुल्क र १३ प्रतिशत कर यी चार कुराको आधारमा हवाई भाडा निर्धारण हुने क्यानले उल्लेख गरेको छ । पहिला साना जहाजको आधारमा भाडा निर्धारण गरिएको थियो । अहिले बजारमा एटीआर-७२ र सिआजे जहाज सञ्चालन भइरहेको छ यसले पनि हवाई भाडा बढेको बताइन्छ । नेपालमा हाल दक्षिण एसियाकै महँगो हवाई इन्धन रहेको अधिकारीहरू बताउँछन् । एयरलाइन्सले हवाई इन्धन, विमानस्थल शुल्क र १३ प्रतिशत करका कारण भाडा महङ्गो भएको जनाउँदै आएका छन् ।  राज्यकातर्फबाट इन्धन, विमानस्थल शुल्क र करमा सहुलियत दिएमा मात्रै भाडा घटाउन सकिने विमान सेवा कम्पनीहरू बताउँछन् । कसरी बढ्छ हवाई भाडा ? यसैपनि काठमाडौंबाट एकतर्फी खाली सिट जहाज चलाउनुपर्ने भएकाले सञ्चालन खर्च व्यवस्थापनका लागि भाडा महँगो हुने विमान सञ्चालक कम्पनीहरू बताउँछन् ।  रुस र युक्रेनको युद्धले जहाजका पार्ट पुर्जा महँगो भएको छ । हवाई इन्धनको मूल्य चुलिएको छ । यिनै लगायत कारण हवाई भाडा महँगो भएको कम्पनीहरूको भनाइ छ । सरकारी स्वामित्वको नेपाल वायुसेवाको आन्तरिक बजारमा उपस्थिति कमजोर छ । करिब ९० प्रतिशत आन्तरिक हिस्सा निजी वायुसेवा कम्पनीको छ । ‘प्रत्येक वर्षको दुई महिना यस्तो समस्या आउँछ । सुगम गन्तव्यमा उड्ने जहाज ३० वटा छन् । दुर्गममा उड्ने जहाज १० वटा छन् । सिट क्षमता निश्चित छ । दैनिक १० हजार यात्रु उड्छन् । अहिले आन्तरिकमा वार्षिक ४५ लाख र अन्तर्राष्ट्रियमा ५० लाख यात्रुले हवाई यात्रा गर्छन् । अब, दुई महिनाका लागि मात्रै जहाज थप्ने कुरा भएन । यसकारण उडान चापले हवाई भाडा सस्तो गराउन समस्या हुन्छ,’ क्यानका सूचना अधिकारी भूल भन्छन् ।  उनले कानुनी रुपमा पनि एयरलाइन्सलाई कम मूल्यमा हवाई टिकट बिक्री गराउन नसकिएको उल्लेख गरे । हवाई भाडा दर कम गर्न कि एकल भाडा दरमा जानुपर्छ कि, इन्धनमा सहुलियत र करमा छुट दिनुपर्छ । तब मात्रै समस्याको समाधान हुने उनी बताउँछन् । नभए एयरलाइन्सलाई भाडा कम गर भनेर मात्रै विमान कम्पनी सञ्चालन गर्न समस्या हुने उनको जिकिर छ । वायुयान कोष सञ्चालन गरेर दसैँलगायत चाडपर्वको अवसरमा सम्बन्धित एयरलाइन्सलाई सहयोग गर्ने गरेको खण्डमा भाडा दर सस्तो हुने उनको भनाइ छ । नीतिगत सुधार गरेर वायुसेवा कम्पनी र यात्रु दुवै मर्कामा नपर्ने गरी हवाई भाडा समायोजन गर्नुपर्ने देखिन्छ । वायुसेवा सेवा सञ्चालक सङ्घका अध्यक्ष मनोज कार्कीले दसैँमा हवाई कम्पनीले तोकिएको उच्चतम भाडा दर भन्दा बढी भाडा नलिएको बताउँछन् । काठमाडौंबाट बाहिरका जिल्ला जाने यात्रुको अत्यधिक चाप रहेको र फर्किने यात्रु नभएकाले भाडा केही महङ्गो भएको उनले बताए । वायु सेवा प्रदायक कम्पनीले दसैँ आउन एक महिनाअघि नै हवाई जहाजको टिकट बुकिङ पूर्ण भइसकेको बताउँछन् । यही बहानामा महङ्गो भाडा असुल्ने गरेको गुनासो सुनिन्छ । दसैँका कारण आन्तरिक र अन्तर्राष्ट्रिय दुवै तर्फको उडानमा चाप रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार घटस्थापनाको दिनदेखि आन्तरिक विजयादशमीसम्म उडानमा चाप छ । आन्तरिकमा एकतर्फी दैनिक १६० हाराहारी उडान भइरहेका छन् । अन्तर्राष्‍ट्रियमा दैनिक १२० हाराहारी उडान भइरहेका छन् । निजी क्षेत्रका बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्सले तोकिएको भन्दा बढी भाडा दर नलिएको दाबी गरेका छन् । दसैँमा यात्रुको चाप रहेकाले केही गन्तव्यमा हवाई टिकट पाउन समस्या रहेको उनीहरुको भनाइ छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर आन्तरिक र अन्तर्राष्ट्रिय दुवै तर्फ गरी दैनिक ३५० हाराहारी उडान हुने गरेकामा हाल दैनिक ४५० भन्दा बढी उडान भइरहेका छन् । आन्तरिक तर्फ १२ हेलिकप्टर कम्पनीसहित २१ वायुसेवा कम्पनीले सेवा दिइरहेका छन् ।