अमेरिकाको ऋण ३८ ट्रिलियन डलर नाघ्यो

काठमाडौं । संघीय सरकार आंशिक रूपमा बन्द भइरहेका बेला अमेरिकी सरकारको कुल राष्ट्रिय ऋण बुधबार ३८ ट्रिलियन डलर नाघेको छ ।  यो संख्या अमेरिकाको वित्तीय सन्तुलनमा तीव्र रूपमा बढ्दै गएको ऋणलाई झल्काउँछ । यो कोभिड(१९ महामारीबाहेकको अवधिमा अमेरिकी इतिहासमै सबैभन्दा छिटो १ ट्रिलियन डलर ऋण थपिएको समय पनि हो । यसअघि सन् २०२५ को अगस्टमा अमेरिकी राष्ट्रिय ऋण ३७ ट्रिलियन डलर पुगेको थियो । ३८ ट्रिलियन डलरको यो अद्यावधिक तथ्यांक अमेरिकी ट्रेजरी विभागको पछिल्लो प्रतिवेदनमा समावेश छ, जसमा राष्ट्रको दैनिक वित्तीय स्थिति उल्लेख गरिएको छ । पेन्सिल्भेनिया विश्वविद्यालयको पेन ह्वार्टन बजेट मोडेलका केन्ट स्मेटर्स जो पूर्वराष्ट्रपति जर्ज डब्ल्यू बुसको ट्रेजरी विभागमा कार्यरत थिए । उनका अनुसार समयसँगै बढ्दै गएको ऋणभारले अन्ततः मुद्रास्फीति बढाउँछ र अमेरिकन जनताको खरिद शक्ति कमजोर बनाउँछ । अमेरिकी सरकारी लेखा निकायका अनुसार बढ्दो सरकारी ऋणले निम्न असर पार्छ — घर वा गाडीका लागि ऋण लिँदा बढी ब्याजदर तिर्नु पर्ने, व्यवसायहरूमा लगानी गर्न पैसा अभाव हुँदा तलब घट्नु, र वस्तु तथा सेवाहरू महँगा हुनु । ‘धेरै मानिसहरू आफ्नो सन्तान र नातिनातिनीहरूको भविष्य सुरक्षित होस् भन्ने चाहन्छन् — उनीहरूलाई घर किन्ने सामथ्र्य रहोस् भन्ने चाहना हुन्छ । तर बढ्दो मुद्रास्फीति त्यसलाई झन् कठिन बनाउँदै लैजान्छ र उपभोक्ताको खरिद शक्ति घटाउँछ,’ उनले भने । ट्रम्प प्रशासनका अनुसार उनीहरूको नीतिले सरकारी खर्चमा नियन्त्रण ल्याएको र देशको ठूलो घाटा घटाइरहेको छ । ट्रेजरी विभागको नयाँ विश्लेषण अनुसार अप्रिलदेखि सेप्टेम्बरसम्मको कुल घाटा ४६८ अर्ब डलर रहेको छ ।  बुधबार एक्स (पुरानो ट्वीटर) मा ट्रेजरी सेक्रेटरी स्कट बेस्सेन्टले भनेका छन् — ‘यो सन् २०१९ पछि देखिएको सबैभन्दा न्यून घाटा हो ।’ ‘राष्ट्रपति ट्रम्पले पदभार ग्रहण गरेको पहिलो आठ महिनामा खर्च कटौती र राजस्व बढाएर सन् २०२४ को सोही अवधिको तुलनामा घाटा ३५० अर्ब डलरले घटाएका छन्,’ ह्वाइट हाउसका प्रवक्ता कुश देसाईले विज्ञप्तिमा भनेका छन् ।  ‘सरकारले बलियो आर्थिक वृद्धि, घट्दो मुद्रास्फीति, शुल्क राजस्व वृद्धि, कम ऋण लागत र फजुल खर्च तथा भ्रष्टाचार नियन्त्रणका कार्यक्रमहरू अघि बढाउँदैछ,’ उनले थपे । संयुक्त आर्थिक समितिका अनुसार पछिल्लो एक वर्षमा अमेरिकी कुल राष्ट्रिय ऋण प्रति सेकेन्ड ६९ हजार ७१३.८२ डलरले बढेको छ । पिटर जी। पिटरसन फाउन्डेशनका अध्यक्ष तथा सीईओ माइकल पिटरसनका अनुसार ‘सरकार बन्द भइरहेका बेला ऋण ३८ ट्रिलियन डलर पुग्नु सांसदहरूले आफ्ना मौलिक वित्तीय जिम्मेवारी पूरा गर्न असफल भएको स्पष्ट संकेत हो ।’ ‘ऋण बढ्दै जाँदा ब्याज भुक्तानी पनि तीव्र गतिमा बढ्दै गएको छ, जुन अहिले बजेटको सबैभन्दा छिटो बढ्ने हिस्सा बनेको छ । गत दशकमा हामीले ब्याज तिर्नेमा ४ ट्रिलियन डलर खर्च गरेका थियौं, तर आगामी दशकमा यो १४ ट्रिलियन डलर पुग्नेछ । ब्याज खर्चका कारण महत्त्वपूर्ण सार्वजनिक तथा निजी लगानीहरू घट्नेछन्, जसले प्रत्येक अमेरिकीको अर्थतन्त्रमा दीर्घकालीन असर पार्नेछ,’उनले थपे । अमेरिकी ऋण सन् २०२४ जनवरीमा ३४ ट्रिलियन डलर, जुलाईमा ३५ ट्रिलियन डलर र नोभेम्बरमा ३६ ट्रिलियन डलर पुगेको थियो। 

सुन–चाँदीको मूल्यमा एकैदिन दशककै ठूलो गिरावट

काठमाडौं । तिहारको बेलामा सुन र चाँदीको मूल्यमा भारी गिरावट आएको छ । अन्तर्राष्ट्रिय स्तरमा मंगलबार सुनको मूल्य ६.३ प्रतिशतले घट्यो, जुन पछिल्ला दशकभन्दा बढी अवधिमा सबैभन्दा ठूलो एक दिनको गिरावट हो।  चाँदीमा पनि ७.१ प्रतिशतको गिरावट दर्ता भएको छ । बुधबार पनि एसियाली बजारमा सुन र चाँदी दुबैको मूल्य घटेको छ । सुनको मूल्य २.९ प्रतिशतले घटेर प्रतिऔंस ४ हजार ४.२६ अमेरिकी डलरमा पुगेको छ भने चाँदी पनि २ प्रतिशतभन्दा बढी घटेर ४७.६ डलरमा पुगेको छ । यस वर्ष सुन र चाँदीको मूल्य ५० प्रतिशतभन्दा बढीले बढेको थियो । लगातारको यो तीव्र वृद्धि देखेर धेरै लगानीकर्ताहरूले यसको स्थायित्वबारे शंका गर्न थाले — कतै यो वृद्धि अस्थायी बबल (आर्थिक भाषामा कुनै वस्तु जस्तै सुन, चाँदी, घरजग्गा वा सेयर — को मूल्य वास्तविक मूल्यभन्दा धेरै बढ्ने अवस्थालाई बबल भनिन्छ।) त होइन भन्ने । यही आशंका र मुनाफा सुरक्षित गर्न चाहने मनोवृत्तिका कारण धेरैले आफ्नो लगानी फिर्ता लिन थाले । त्यसको सीधा असर बजारमा पर्‍यो र सुन तथा चाँदी दुवैको मूल्यमा गिरावट देखियो । सुनचाँदीको मूल्य घट्नुका पछाडि धेरै कारणहरू छन् । पहिलो- चीन र अमेरिकाबीच पछिल्ला हप्ताहरूमा भएका सकारात्मक व्यापार वार्ताले विश्व बजारमा थोरै स्थिरता ल्याएको छ, जसका कारण लगानीकर्ताहरूले सुरक्षित आश्रय मानिने सुन र चाँदीबाट पैसा निकाल्न थालेका छन् ।  दोस्रो- अमेरिकी डलर हाल बलियो बन्दै गएको छ । जब डलरको मूल्य बढ्छ, तब अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीजस्ता धातुहरू किन्ने लागत विदेशी लगानीकर्ताहरूका लागि बढ्ने हुँदा माग घट्ने हुन्छ । तेस्रो कारण- प्रविधिक रूपमा पनि सुन र चाँदीका मूल्यहरू अत्यधिक बढिसकेका थिए, जसले बजारमा ओभरबाय (अत्यधिक मात्रामा खरिद हुने अवस्था) को संकेत दिएको थियो । यस्तो अवस्थामा सानो नकारात्मक संकेत वा मुनाफा असुल्ने मनोवृत्तिले पनि ठूला गिरावट ल्याउन सक्छ ।  चौथो कारण- अमेरिकी सरकारी शटडाउनको सम्भावना हो, जसले बजारमा अनिश्चितता बढाएको छ। लगानीकर्ताहरूले आफ्नो पोजिसन घटाउँदै जोखिम कम गर्न खोजिरहेका छन् । यी सबै कारणहरू मिलेर अहिले सुन र चाँदीमा देखिएको गिरावट केवल अस्थायी प्रतिक्रिया नभई बजारको स्वाभाविक सुधारको संकेत पनि हुनसक्छ । विश्लेषकहरूका अनुसार यदि विश्व अर्थतन्त्र स्थिर रह्यो भने आगामी महिनाहरूमा मूल्यवान धातुहरूको मूल्य फेरि सन्तुलनमा फर्किन सक्छ । डलर कमजोर, सुन बलियो ! विश्व बजार किन सुनतिर दौडिरहेको छ ?  

रेयर अर्थ्सको चिनियाँ दबदबा बढ्दा अटो उद्योग आतंकित, दुर्लभ धातु खोज्दै कम्पनीहरू

काठमाडौं । विश्वका अटो निर्माता कम्पनीहरू चीनको आगामी निर्यात नियन्त्रण अघि अत्यावश्यक दुर्लभ धातु (रेयर अर्थ्स) खोज्दै विश्वभर दौडिरहेका छन् । कार्यकारी अधिकृतहरू यी नियन्त्रणले उत्पादनका लागि आवश्यक पुर्जाको अभाव र कारखाना बन्द हुने अवस्थासमेत निम्त्याउन सक्नेमा चिन्तित छन् । दुर्लभ धातुबाट बनेका चुम्बकहरूले साइड मिरर, स्पिकर, तेल पम्प, विन्डसिल्ड वाइपर, इन्धन चुहावट र ब्रेक सेन्सर जस्ता कारका विभिन्न भागका मोटरहरू सञ्चालन गर्छन् । विद्युतीय सवारीसाधन (ईभी) मा त तिनको भूमिका अझ बढी महत्त्वपूर्ण हुन्छ । अमेरिका–चीनबीचको एउटा सम्झौताले तत्कालको आपूर्ति जोखिम त घटाएको छ, तर यसअघि पनि यस्तै प्रतिबन्धका कारण भण्डारहरू सकिएका थिए । साथै बेइजिङले निर्यात अनुमति पाउन अझ कडा नियम लागू गरेको छ । त्यसबेलादेखि चीनले निर्यात नियन्त्रणलाई ठूलो मात्रामा विस्तार गरेको छ, जसका कारण कम्पनीहरू विश्वव्यापी आपूर्ति अभावको सामना गरिरहेका छन् । कन्सल्टेन्सी कम्पनी अलिक्सपार्टनर्सका अनुसार चीनले विश्वका दुर्लभ धातु खानीमध्ये करिब ७० प्रतिशत, रिफाइनिङ क्षमताको ८५ प्रतिशत र धातु मिश्रण तथा चुम्बक उत्पादनको करिब ९० प्रतिशत नियन्त्रणमा राखेको छ । चीनको नयाँ निर्यात नियन्त्रण सूचीमा इटर्बियम, होमियम र युरोपियमजस्ता तत्त्वहरू पनि छन्, जसको प्रयोग गाडी निर्माणमा पनि हुन्छ । ‘स्थिति अत्यन्तै तनावपूर्ण छ,’ जर्मन मेटल–पाउडर आपूर्तिकर्ता एनएमडीकी सीईओ नाडिन राज्नरले भनिन्, ‘ग्राहकहरू चीन बाहेक जहाँसुकैबाट दुर्लभ धातु ल्याउन चाहन्छन् ।’ राज्नरका अनुसार स्विडेनजस्ता देशमा यस्ता धातु प्रशस्त भए पनि त्यहाँ खानी र रिफाइनिङ क्षमता नभएकाले प्रयोगयोग्य बनाउन सकिँदैन । र भारी दुर्लभ धातुको सन्दर्भमा चीनले विश्व रिफाइनिङ क्षमताको ९९.८ प्रतिशत नियन्त्रण गरेको छ, जसले वैकल्पिक स्रोतहरू लगभग नगण्य बनाएको छ । ‘हामीले अहिले प्रायः सबै बिक्री गरिसकेका छौं र सीमित मात्रामा स्टक बाँकी छ,’ उनले भनिन् । दुर्लभ धातुहरू पुराना गाडीहरूबाट पुनःप्रयोग गर्न सकिन्छ, तर त्यो उद्योग अझ प्रारम्भिक चरणमै छ । रिनल्ट समर्थित कम्पनी न्युट्रलले अहिले फ्रान्समा हरेक वर्ष ४ लाख गाडीबाट यस्ता धातु पुनःप्रयोग गर्छ र युरोपका १५ ब्रान्डसँग सम्झौता गरेको छ। तर ‘यी गतिविधिहरूलाई ठूलो स्तरमा विस्तार गर्नु चुनौतीपूर्ण छ,’ न्युट्रलका सीईओ जाँ–फिलिप बाहुआदले भने । पहिले नै सकिएको स्टक यदि चिनियाँ आपूर्तिकर्ताहरूले नोभेम्बर ८ अघि नयाँ अर्डर पूरा गर्न सके पनि चीनबाट युरोप पुग्न जहाजमार्फत ४५ दिन लाग्छ । त्यसैले दुर्लभ धातुको अभाव गाडी उद्योगका लागि ठूला समस्यामध्ये एक बनेको छ । चीनले लिथियम–आयन ब्याट्री र ब्याट्रीका सामग्रीमा पनि निर्यात प्रतिबन्ध लगाएको छ जसले विद्युत सवारीका पुर्जाको आपूर्तिमा थप चिन्ता बढाएको छ । गत हप्ता चीन र नेदरल्याण्डबीचको बौद्धिक सम्पत्ति (आईपी) विवादले पनि नयाँ डर सिर्जना गर्‍यो । यसले नेक्पेरिया नामक सानो डच चिप निर्माता कम्पनीलाई प्रभावित पार्‍यो जसले गाडीका पुर्जामा प्रयोग हुने धेरै चिप आपूर्ति गर्छ । गाडी निर्माता कम्पनीहरू अमेरिकी शुल्कको चुनौतीसँग पनि जुझिरहेका छन् र तेस्रो त्रैमासिक नतिजामा यसले थपिएको लागत खुलाउने अपेक्षा गरिएको छ । तर दुर्लभ धातुमा चीनको नियन्त्रण भने गाडी उद्योगका लागि सबैभन्दा कठिन समस्यामध्ये एक बनेको छ । ‘चीनले चाहे दुई महिनामै सम्पूर्ण गाडी उद्योग बन्द गरिदिन सक्छ,’ टोयोटा मोटरका उत्तरी अमेरिकी खरिद तथा आपूर्तिकर्ता विकास उपाध्यक्ष रायन ग्रिमले भने। बोस्चका फ्रान्स, बेनेलक्स, पश्चिम र दक्षिण युरोपका अध्यक्ष ब्रुनो गाहेरीले भने, ‘गाडी उद्योगले म्यादअघि दुर्लभ धातुहरू बढी मात्रामा स्टक गर्न खोज्नेछ ।’ तर हुन्डाईका लागि चुम्बक आपूर्तिकर्ता एक कार्यकारीले भने, ‘हामीले यस वर्ष सुरुमा स्टक बनाए पनि अधिकांश पहिले नै सकिएका छन् र अहिले आपूर्ति निकै कडा छ ।’ तीन उद्योग स्रोतहरूले रोयटर्सलाई भने अनुसार अक्टोबर ९ मा नयाँ निर्यात नियन्त्रण घोषणा भएपछि चिनियाँ दुर्लभ धातु निर्यातकर्ताहरूले विदेशी ग्राहकहरूबाट अर्डरको ठूलो बाढी पाएका थिए । दुर्लभ धातु–रहित मोटरहरू गाडी निर्माता कम्पनीहरू निर्भरता घटाउने प्रयासमा छन् । जनरल मोटर्स, जेएफ र बोर्गवार्नरजस्ता ठूला कम्पनीहरूले कम वा शून्य दुर्लभ धातु प्रयोग हुने ईभी मोटर विकास गरिरहेका छन् । बीएमडब्ल्यू र रिनल्टले त पहिले नै दुर्लभ धातु–रहित मोटर उत्पादन गरिसकेका छन् । ब्रिटिश कम्पनी मोनुमोले कृत्रिम बौद्धिकता (एआई) र डीप–टेक सिमुलेशनको प्रयोग गरेर ग्राहक कम्पनीहरूको मोटरमा दुर्लभ धातु प्रयोग २४ प्रतिशतसम्म घटाएको छ, जसका ग्राहकहरूमा विश्वका शीर्ष १० गाडी निर्माता कम्पनीहरू पनि छन् । अटो कम्पनीहरू अब नयाँ पुस्ताका ईभीका लागि दुर्लभ धातु–रहित मोटरहरू अझ सुधार गर्ने प्रयासमा छन् । तर ती मोटरहरू बजारमा आउन अझै वर्षौं लाग्नेछ र चीन बाहेक अन्य देशमा नयाँ खानी र रिफाइनिङ प्लान्ट विकास गर्न पनि लामो समय लाग्नेछ । चीनले कम मूल्यमा प्रतिस्पर्धा गरेर ती प्रयासहरू असफल पार्न सक्छ । विशेषज्ञहरूका अनुसार अमेरिकी सरकारले यस विषयलाई युरोपभन्दा धेरै गम्भीर रूपमा लिएको छ । एससी इनसाइज्ट्सका सह–संस्थापक एन्डी लेल्यान्डका अनुसार ‘बेइजिङ सधैं मूल्यमा अरूलाई हराउने रणनीतिमा केन्द्रित छ र त्यही जारी राख्नेछ ।’ उनी भन्छन्, ‘चिनियाँ कम्पनीहरूले सधैं प्रतिस्पर्धीहरूलाई अन्डरकट गर्न सक्छन् । त्यसैले दुर्लभ धातु–रहित मोटर विकास गर्ने प्रयास महँगो र जोखिमपूर्ण लगानी हो ।’ यसबीच चीनले दुर्लभ धातुको आपूर्तिमा आफ्नो शक्ति कायम राख्ने अपेक्षा गरिएको छ ।