सेनाको बिस्कुट खरिद प्रक्रियामा सांसदको प्रश्न-खरिद ऐन पालना किन नगरेको ?

काठमाडौँ, ७ वैशाख । व्यवस्थापिका संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिले नेपाली सेनाले सार्वजनिक खरिद ऐन विपरित (हाइ इनर्जी) बिस्कुट खरिद गरेको भन्दै चासो व्यक्त गरेको छ । सिंहदरबारमा बसेको समितिको बैठकले बर्सेनि बिना प्रतिस्पर्धा एउटै कम्पनीबाट बिस्कुट खरिद गरेको भन्दै चासो व्यक्त गरेको हो । बैठकमा बोल्ने सबै जसो सांसदहरुले नेपाली सेनाको विस्कुट खरिद प्रक्रियामा सार्वजनिक खरिद ऐन किन पालना नगरेको भन्ने प्रश्न गरेका थिए । बैठकमा नेपाली काँग्रेसकी सांसद् महालक्ष्मी उपाध्याय ‘डिना’ले मुलुकमा हाइ इनर्जी बिस्कुटका अरु कम्पनी हुँदाहुँदै पनि एउटा मात्र कम्पनीबाट खरिद गर्नु आपत्तिजनक भएको बताइन । नेकपा (एमाले)का सांसद् सुवास ठकुरीले सार्वजनिक खरिद ऐनको उल्लङ्घन गरेकोमा आपत्ति जनाउँदै नेपाली सेनाजस्तो सम्मानित संस्था ऐन विपरित जानु सुहाउँदो कुरा नभएको बताए । अरु कम्पनीलाई असर पर्नेगरी एउटै कम्पनीबाट बिस्कुट खरिद गर्नु दुःखद कुरा भएको एनेकपा (माओवादी)का सांसद् श्यामकृष्ण श्रेष्ठको भनाइ छ । “कुनै पनि कम्पनीले एक आपसमा स्वच्छ प्रतिस्पर्धा गर्न पाउनुपर्छ,” उनले भने । रक्षा मन्त्रालयका कामु सचिव सूर्यकान्त पन्थीले नेपाली सेनाले प्रयोग गर्ने बिस्कुट स्वास्थ्यका लागि राम्रो र सस्तो भएको बताए । समितिका सभापति भीष्मराज आङदेम्बेले नेपाली सेना सार्वजनिक निकाय भएकाले खरिद प्रक्रियामा ऐनअनुसार जान आग्रह गर्रे । उनले यसको सम्बन्धमा रक्षा मन्त्रालय, पदाधिकारी, उद्योग मन्त्रालय, सेना, नापतौल तथा गुणस्तर विभागका सरोकारवाला निकायसँग छलफल गर्ने जानकारी दिए । सेनाले हाल पशुपति बिस्कुट प्रालिमार्फत बिस्कुट खरिद गर्दै आएको छ । बैठकमा बोल्ने सबै जसो सांसदहरुले नेपाली सेनाको विस्कुट खरिद प्रक्रियामा सार्वजनिक खरिद ऐन किन पालना नगरेको भन्ने प्रश्न् गरेका थिए । समितिको चासो ‘नेपाली सेना सार्वजनिक निकाय भएकोले त्यस्तो निकायबाट हुने खरिद प्रकृयामा सार्वजनिक खरिद ऐन र नियमावली पुर्णतः पालना हुन पर्ने र यस्तो निकाय अझ पारदर्शी र उत्तरदायी हुनुपर्नेमा समितिको गम्भीर ढंङ्गले ध्यानाकषर्ण भएकोले यस सम्वन्धमा थप अझ छलफल गर्न समितिको आमामी वैठकमा माननिय रक्षामन्त्री, नेपाली सेनाका अधिकारी, उजुरीकर्ता उद्योगी व्यवसायी, उद्योग विभाग, गुणस्तर तथा नापतौल विभाग लगायत सम्वन्धित सरोकारवालाहरुसंग छलफल गरी निष्कर्षमा पुग्ने निर्णय भयो ।’ समितिको निर्णयमा भनिएको छ ।

बैशाख १२ गते धरहरामा भूकम्प स्मृति दिवस, ३८६ गाबिसमा अनुदान सम्झौता थालिने

काठमाडौं, ७ बैशाख । सरकारले बैशाख १२ गते धरहरामा भूकम्प स्मृति दिवस मनाउने भएको छ ।  बैशाख १२ गते गएको भूकम्पले धरहरा ढाल्दा ५४ जनाको मृत्यु भएको थियो । एकै  स्थलमा सबै भन्दा बढि नागरिकको मृत्यु भएको स्थलका रुपमा सरकारले धरहरामा स्मृति सभाको आयोजनागर्न लागेको हो । सोही दिन साँझ माइतीघर मण्डलामा भूकम्पमा ज्यान गुमाएकाहरुको सम्झानामा दिपावली समेत गरिनेछ । यसैबिच  सरकारले सोही दिनदेखि निजी आवास पुननिर्माणलाई अभियानका रुपमा अघि बढाउने भएको छ । १२ गतेदेखि १४ जिल्लाका ३ सय ८६ वटा गाविसहरुमा पीडितका सूचि प्रकाशित गर्दै अनुदान सम्झौता सुरु गर्नेछ । बैशाख १२, १३ र १४ गते सरकारले पुननिर्माणसँग सम्बन्धी सबै कामहरुको सुरुवात गर्नेछ । तालुकदार सबै मन्त्रालयहरुले पुननिर्माणको कार्यारम्भ गर्नेछन् । प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा बसेको प्राधिकरणको बैठकले बैशाख १२ गतेदेखि दोश्रो चरणको पुननिर्माण अभियान थाल्ने गरि तयारी अघि बढाउने निर्णय गरेको प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले बताए । सरकारले माघ २ देखि पुननिर्माण महाअभियानको सुभारम्भ गरेको थियो ।

हुलाकी राजमार्गको प्रगति बुझ्न संसदिय टोली मधेशमा, ट्रयाकमा जीप समेत गुडेन् ।

काठमाडौं, ६ बैशाख । हुलाकी राजमार्गको पुर्वी खण्डको अवलोकन गर्न पुगेका सांसदहरु कार्य प्रगति देखेर निराश बनेका छन् । पहिल्यै ट्रयाक खोलिसकिएको र धमाधम कालो पत्रे तथा पुल निर्माणको काम अघि बढिरहेको भनिएको हुलाकी राजमार्गमा सांसदहरुको जीप समेत गुड्न सकेन् । ‘हामी उत्साहका साथ हुलाकी राजमार्गको पुर्वी खण्डकोे अवलोकनमा आएका थियौं, धमाधम निर्माण भैरहेको भनिएको सडकमा हाम्रै जीप समेत गुडेन्’ रौतहटका सांसद रामकुमार भट्टराईले भने । उनका अनुसार झापाको कतिपय स्थलमा ट्रयाक समेत खोलिएको भेटिएन् । बैशाख ५ देखि ७ गतेसम्म झापादेखि धनुषासम्मको हुलाकी राजमार्गको प्रगति बुझ्न व्यवस्थापिका संसदको विकास समितिका सभापति रबिन्द्र अधिकारीको नेतृत्वमा पाँच जना सांसदको टोली सो क्षेत्र पुगेको छ । उनीहरुले स्थलगत अवलोकनपछि जील्लामा सार्वजनिक छलफल समेत गरिरहेका छन् । भ्रमण टोलीमा समिति सभापति अधिकारीका साथमा रौतहटका एमाले सांसद रामकुमार भट्टराई, सुनसरीका एमाओवादी सांसद जाकिर हुसेन, झापाका काँग्रेस सांसद केशब कुमार बुढाथोकी, रामअयोध्या यादव, महेन्द्र यादव लगायत सहभागी छन् । उनीहरुले झापदेखि धनुषासम्मको बाटोमै जीप गुडाएर स्थलगत अवलोकन गर्ने प्रयास गरेका थिए । तर ठाउँठाउँमा ट्रयाक समेत नभएकाले अन्तै बाटो मोड्नु परेको थियो । टोलीले मेची पुल, चन्द्रगढी–राजगढ सडक खण्ड, बिरिक पुल, कन्काई पुलको अवलोकन गरिसकेको छ । सो क्षेत्रमा अपेक्षाकृत रुपमा काम नभएको फेलापरेपछि टोलीले आयोजनाका कर्मचारीलाई निर्माण कर्ता कम्पनीलाई काम अघि बढाउन निर्देशन दिएको थियो । तीन सय किलोमिटर सडक र दर्जनौं पुलहरुको अवलोकन गरे टोलीले मंगलबार बिहान ८ बजे धनुषाको जिबिस हलमा सार्वजनिक छलफल कार्यक्रमको आयोजना गर्दैछ । ‘हामीले सोचे भन्दा साह्रै कम काम भएको रहेछ, काम नगर्ने निर्माण व्यवसायी र नियामक निकाय समेत चुप लागेर बसेको देखियो, तत्काल काम गर्न निर्देशन दिएका छौं ।’ अवलोकन टोलीका सदस्य रामकुमार भट्टराईले विकासन्युजसँग भने ।