महालक्ष्मी विकास बैंकका ग्राहकलाई अरेबिका र क्याफियोफिलिया कफीमा छुट
काठमाडौं । महालक्ष्मी विकास बैंकका ग्राहकले अब अरेबिका कफी र क्याफियोफिलिया कफीमा छुट प्राप्त गर्ने भएका छन् । बैंकले कफी पारखीहरूलाई लक्षित गरेर छुट सुविधा उपलब्ध गराउने उद्देश्यले भैंसेपाटीस्थित अरेबिका कफी र क्याफियोफिलिया कफीसँग सम्झौता गरेको हो । सम्झौता अनुसार बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले अरेबिका कफीका दरबारमार्ग, बौद्ध, बानेश्वर, राधेराधे भक्तपुर, यूएन पार्क ललितपुर, मीनभवन, कालीमाटी, बुढानिलकण्ठ तथा भैंसेपाटी शाखाबाट कफी तथा तातो पेय पदार्थमा १० प्रतिशत र इटालियन खानामा १५ प्रतिशत छुट पाउनेछन् । यस्तै, क्याफियोफिलिया भैंसेपाटीले प्रदान गर्ने बेकरीबाहेकका सेवामा ग्राहकले १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । बैंकले यस सहकार्यबाट डिजिटल कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरू प्रत्यक्ष लाभान्वित हुने अपेक्षा राखेको छ । बैंकले हालै मात्र आफ्ना क्रेडिट कार्डवाहकका लागि आकर्षक सुविधा थप गर्दै विभिन्न ट्राभल एजेन्सीमार्फत टुर प्याकेज खरिद गर्दा क्रेडिट कार्डमार्फत भुक्तानी गर्ने व्यवस्था सुरु गरेको थियो । यस योजनामा ग्राहकले खरिद गरेको टुर प्याकेजको लागत अनुसार ६ देखि १२ महिनासम्म मासिक किस्तामा भुक्तानी गर्न सक्ने सुविधा उपलब्ध छ । बैंकले आगामी दिनमा पनि यस्ता सहकार्य तथा सुविधामार्फत ग्राहक अनुभवलाई अझ सहज र लाभदायक बनाउँदै लैजाने जनाएको छ ।
सेयर बजारमा ६ अर्बको कारोबार, ३ कम्पनीमा सकारात्मक सर्किट
काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३९.९२ अंकले बढेर २६०० बिन्दुमा पुगेको हो । नेप्सेका अनुसार २३७ कम्पनीको सेयर मूल्य बढ्दा १८ कम्पनीको मूल्य घटेको छ । २ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । आइतबार ३३४ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ६ अर्ब २८ करोड रुपैयाँ बराबरको करोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार एनआरएन इन्फ्राइस्ट्रक्चर एन्ड डेभलपमेन्टको भएको छ । एनआरएनको ६५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै पिपुल्स हाइड्रोपावरको ३४ करोड, राधी विद्युत कम्पनीको २१ करोड, नेपाल रिइन्स्योरेन्सको १७ करोड र शिवम् सिमेन्टको १५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज ३ कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । सागर डिस्टीलरी, बन्दिपुर केबलकार र झापा इनर्जीको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । आइतबारको कारोबारमा लगानी र जीवन बीमा समूह २ प्रतिशतले बढेका छन् । बैंकिङ १.३६, विकास बैंक १.८४, फाइनान्स १.६१, होटल तथा पर्यटन १.५७, जलविद्युत् १.३३, लगानी २.०३, जीवन बीमा २.५५, उत्पादन तथा प्रशोधन १.५६, माइक्रोफाइनान्स १.८३, निर्जीवन बीमा १.९९, अन्य १.१८ तथा व्यापार ०.२५ प्रतिशतले बढेका छन् ।
गरिमा विकास बैंकको १९औँ वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले १९औँ वार्षिकोत्सवको अवसरमा सामाजिक कार्यक्रम सम्पन्न गरेको छ । बैंकले आइतबार देशभर बृहत सामाजिक कार्यक्रम आयोजना गर्दै ८ स्थानमा रक्तदान र १९ स्थानमा विभिन्न सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरू सम्पन्न गरेको हो । रक्तदान कार्यक्रम सुनसरी, पर्सा, चितवन, काठमाडौं, कास्की, म्याग्दी, रुपन्देही र बाँकेमा सञ्चालन भएको थियो, जसबाट कुल ६०२ युनिट रगत संकलन भएको बैंकले जानकारी दिएको छ । यसै अवसरमा देशभरका विद्यालयमा शैक्षिक सामग्री, पोशाक, पानी फिल्टर मेसिन वितरण गरिएको थियो । साथै स्वास्थ्य चौकी र वृद्धाश्रममा सरसफाइ र खाद्यान्न सामग्री हस्तान्तरण गरिएको थियो । शनिबार बैंकले 'स्वस्थ जीवनशैलीका लागि खेलकुद' नाराका साथ गरिमा रोड रेड प्रतियोगिताको दोस्रो संस्करण पनि सफलतापूर्वक सम्पन्न गरेको थियो, जसमा हजार भन्दा बढी धावकको सहभागिता रहेको थियो । बैंकले आगामी दिनमा पनि यस्ता सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमलाई प्राथमिकतामा राखी वार्षिक रूपमा सञ्चालन गर्ने योजना बनाएको जनाएको छ ।