टिम भेञ्चर्सले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल
काठमाडौं । टिम भेञ्चर्स लिमिटेडले प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने प्रक्रिया अघि बढाएको छ । यसका लागि कम्पनीले सिद्धार्थ क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ । कम्पनीले सर्वसाधारणका लागि कुल २५ लाख १८ हजार कित्ता सेयर सार्वजनिक गर्ने तयारी गरेको हो । आईपीओ निष्काशनसम्बन्धी सम्झौता सोमबार काठमाडौंको नक्सालस्थित सिद्धार्थ क्यापिटलको कार्यालयमा सम्पन्न भयो । सम्झौतापत्रमा टिम भेञ्चर्स लिमिटेडका अध्यक्ष केसाङ श्रेष्ठ र सिद्धार्थ क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्दीप कार्कीले हस्ताक्षर गरेका हुन् । विसं २०७३ सालमा स्थापना भएको टिम भेञ्चर्स लिमिटेडको कार्यालय काठमाडौंको सिनामंगलमा रहेको छ । कम्पनीको हाल चुक्ता पूँजी १ अर्ब रुपैयाँ रहेको छ । टिम भेञ्चर्सले हाल ऊर्जा (हाइड्रोपावर, सोलार), उत्पादन (माछा दाना, टीएमटी, प्रि–इन्जिनियर्ड बिल्डिङ, स्टिल), कृषि–पूर्वाधार तथा प्रविधि क्षेत्रमा लगानी गरिरहेको छ । आगामी वर्षहरूमा लगानीका नयाँ अवसरहरू पहिचान गर्दै थप क्षेत्र विस्तार गर्ने कम्पनीको योजना रहेको छ । कम्पनीका अन्य संचालकहरूमा लोप्साङ श्रेष्ठ, दोर्जे ग्याल्छेन लामा, साङ्गे दिकी शेर्पा र विजय बहादुर श्रेष्ठ रहेका छन् । यस्तै, कम्पनीका प्रमुख कार्यकारी अधिकृतका रूपमा तेन्जिङ सोनाम गोन्सार कार्यरत छन् ।
५० अंकले बढ्यो नेप्से, ५ कम्पनीमा सकारात्मक सर्किट
काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५० अंकले बढेर २६५० बिन्दुमा पुगेको हो । नेप्सेका अनुसार २१५ कम्पनीको सेयर मूल्य बढ्दा ३७ कम्पनीको मूल्य घटेको छ । ६ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । सोमबार ३३० कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार नेपाल लाइफ रिइन्स्योरेन्सको भएको छ । नेपाल लाइफको २४ करोड ८१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, नेपाल रिइन्स्योरेन्सको २४ करोड ४३ लाख, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको २० करोड, हिमालयन रिइन्स्योरेन्सको २० करोड र एनआरएन इन्फ्राइस्ट्रक्चरको २० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज ५ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । झापा इनर्जी, सागर डिस्टीलरी, बन्दिपुर केबलकार, स्वस्तीक लघुवित्त र श्रीनगर एग्रीटेकको सेयर मूल्य १० प्रतिशतले बढेका छन् । सोमबारको कारोबारमा सबै समूहका सूचक बढेका छन् । जीवन बीमा सबैभन्दा धेरै ४.९४ प्रतिशतले बढेको छ ।निर्जीवन बीमा २.९९ प्रतिशत बढ्यो । बैंकिङ १.४०, विकास बैंक १.२१, फाइनान्स १.४२, होटल तथा पर्यटन २.२४, हाइड्रोपावर ०.८०, लगानी १.८३, उत्पादन तथा प्रशोधन १.६४, माइक्रोफाइनान्स १.९३, अन्य १.६८ तथा व्यापार ०.७६ प्रतिशतले बढेका छन् ।
सिटिजन्स बैंकले सञ्चालनमा ल्यायो युवाका लागि 'जेनजी सेभिङ्ग अकाउन्ट'
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नवयुवालाई लक्षित गर्दै नयाँ बचत खाता 'सिटिजन्स जेनजी सेभिङ्ग अकाउन्ट' सञ्चालनमा ल्याएको छ । मंसिर ८ गते बैंकको कर्पोरेट कार्यालयमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले यस खाताको प्रारम्भ गरेका छन् । बैंकका अनुसार यस बचत खाताले विद्यार्थी, फ्रीलान्सर, क्रिएटर, उद्यमशील युवा र डिजिटल प्लेटफर्ममा सक्रिय जनसमुदायलाई उनीहरूको जीवनशैलीअनुसार वित्तीय आवश्यकतामा सहयोग गर्ने लक्ष्य राखेको छ । न्यूनतम रु १०० बाट खाता सञ्चालन गर्न सकिने र वार्षिक ३.०२ प्रतिशत ब्याजदर प्राप्त हुने यो खाता युवाहरूका लागि विशेष आकर्षक रहेको छ । यस खाताका पहिलो वर्षका लागि चेकबुक, डिम्याट खाता, सि–आश्वा कमिशन र सि–आश्वा रेजिष्ट्रेशन निःशुल्क उपलब्ध गराइनेछ । साथै, एटीएम कार्ड, मोबाइल बैंकिङ, ई–कम कार्ड र इन्टरनेट बैंकिङ गरी चारै डिजिटल सेवा बन्डल गरेमा ५०० मा उपलब्ध हुने विशेष सुविधा राखिएको छ । यसले युवाग्राहकलाई न्यून लागतमा सम्पूर्ण डिजिटल सुविधाको पहुँच प्रदान गर्ने विश्वास बैंकले लिएको छ । ग्राहकहरूले ट्राभल कार्ड इश्यू चार्जमा ५० प्रतिशत छुट पाउनेछन् भने मोबाइल बैंकिङमा समर्पित जेन–जी ड्यासबोर्ड मार्फत व्यक्तिगत डिजिटल अनुभवको आनन्द लिन सक्ने अवसर पाउनेछन् । त्यस्तै, पहिलो मोबाइल टप–अपमा २५ प्रतिशत नगद फिर्ता पनि प्राप्त हुनेछ । यस बचत खाताले युवाहरूलाई वित्तीय सेवामा सहज पहुँच र डिजिटल अनुभव उपलब्ध गराउने बैंकले विश्वास व्यक्त गरेको छ ।