क्रेस्ट माइक्रो लाइफको अभिकर्ता अभिमुखिकरण तथा सम्मान कार्यक्रम सम्पन्न
काठमाडौं । क्रेस्ट माइक्रो लाइफले अभिकर्ता अभिमुखिकरण तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अभिजित केसी र बजार प्रमुख दिनेश खड्काको उपस्थितिमा हेटौडा–स्थित फेमस तास हाउस रेस्टुरेन्टमा कार्यक्रम सम्पन्न भएको हो । क्षेत्रीय प्रमुख अजय फुयलको सञ्चालनमा भएको कार्यक्रममा हेटौडा तथा आसपासका क्षेत्रका अभिकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको कम्पनीले जनाएको छ । कार्यक्रममा उत्कृष्ट अभिकर्ताहरूलाई सम्मान समेत गरिएको थियो । सो अवसरमा अभिकर्ताहरूले व्यक्तिगत अनुभव र सुझाव आदान–प्रदान गर्दै कार्यक्रममा सहभागिताले थप ऊर्जा र उत्साह प्रदान गरेको बताए । सम्मानित अभिकर्ताहरूले कम्पनीको भविष्यका योजना र लक्ष्यमा प्रभावकारी योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा नायव प्रमुख कार्यकारी अधिकृत अभिजित केसीले लघु बीमाको विकास र विस्तारमा अभिकर्ताको महत्वपूर्ण भूमिकाबारे धारणा राखेका थिए । त्यस्तै, बजार प्रमुख दिनेश खड्काले लघु बीमाको सम्भावना र अभिकर्ताले अपनाउनु पर्ने रणनीतिबारे विस्तृत जानकारी प्रदान गरेका थिए ।
सिटिजन्स बैंकको ‘डीजीबैंक’ डिजिटल प्लेटफर्म सुरु, ५० वटा सेवा एउटै च्यानलमा
काठमाडौं । सिटिजन्स बैंकले डिजिटल बैंकिङ सेवालाई अझ एकीकृत र सहज बनाउन 'सिटिजन्स डीजीबैंक' नामक नयाँ अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ । बैंकका अनुसार यस प्लेटफर्मको मुख्य उद्देश्य छरिएर रहेका विभिन्न डिजिटल सेवाहरुलाई एउटै च्यानलमा केन्द्रीत गरी ग्राहकलाई वेब र मोबाइल मार्फत छिटो र सरल पहुँच उपलब्ध गराउनु हो । यसले बैंक र ग्राहकबीचको सम्बन्धलाई अझ सुदृढ र अन्तरक्रियात्मक बनाउने विश्वास बैंकले लिएको छ । पहिलो चरणमा, प्लेटफर्ममा बैंकका ५० वटा विद्यमान डिजिटल सेवाहरु उपलब्ध छन् । यसमा अनलाइन खाता खोल्ने, प्यान अपडेट, राष्ट्रिय परिचयपत्र अपडेट, लकर आवेदन, टिडियस सर्टिफिकेट माग, साथै डिम्याट, मोबाइल बैंकिङ र कार्ड सम्बन्धी सेवा समावेश छन् । सिटिजन्स बैंकले डिजिटल प्रविधिको उच्चतम प्रयोग गर्दै ग्राहकलाई नवीनतम सेवा प्रदान गर्ने लक्ष्य राखेको छ । भविष्यमा थप सेवाहरू समावेश गरी यस प्लेटफर्मलाई अझ सशक्त बनाउने प्रतिबद्धता बैंकले जनाएको छ । यसअघि बैंकले नवयुवालाई लक्षित गर्दै 'सिटिजन्स जेनजी सेभिङ अकाउन्ट' पनि सञ्चालनमा ल्याएको थियो ।
सिंगटी हाइड्रोले १०० प्रतिशत हकप्रद निष्काशन गर्ने
काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई बोनस सेयर वितरण गरेपछि कायम हुने चुक्ता पूँजीको १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले यसअघि गत आर्थिक वर्षको मुनाफाबाट ५ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको थियो । सो बोनस सेयर परिवर्तित भई कायम हुने चुक्ता पूँजीलाई आधार मानेर १ बराबर १ अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय मंसिर ८ गते बसेको सञ्चालक समितिको बैठकले गरेको हो । हकप्रद निष्काशनबाट संकलित रकम कम्पनीको ऋण चुक्ता गर्न प्रयोग गरिने कम्पनीले जनाएको छ । हकप्रद सम्बन्धी प्रस्ताव आगामी वार्षिक साधारण सभामा पेश गरी स्वीकृत गरिनेछ ।