सिटिजन लाइफको सीईओमा पौडेल पुनः नियुक्त

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पोषक राज पौडेल पुनः नियुक्त भएका छन् । कम्पनीको मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले पुस ३० गतेदेखि लागू हुने गरी पौडेललाई पुनः नियुक्त गरिएको हो ।  पौडेलको दोस्रो कार्यकाल यही पुस मसान्तबाट सकिँदैछ । उनी सिटिजन्स लाइफमा २०७४ सालमा सीईओमा नियुक्त भएका थिए। पौडेलले आफ्नो नेतृत्वमा कम्पनीलाई अब्बल संस्था बनाउन विशेष भूमिका निर्वाह गरेका छन् । 

धौलागिरी लघुवित्तको सीईओमा शिवराम जोशी नियुक्त

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा बैंकर शिवराम जोशी नियुक्त भएका छन् । संस्थाको सञ्चालक समितिको मंसिर १९ गते बसेको बैठकले जोशीलाई सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो । जोशी करिब दुई दशकदेखि लघुवित्त क्षेत्रमा सक्रिय रहँदै आएका अनुभवी बैंकर हुन् । उनले २०६३ चैतबाट छिमेक लघुवित्तमा फिल्ड सहायकका रूपमा लघुवित्त सेवामा प्रवेश गरेका थिए । त्यसपछि २०६६ सालमा मुक्तिनाथ विकास बैंकको लघुवित्त विभागमा तथा २०६७ देखि २०७५ साउन २ गतेसम्म तत्कालीन ओम डेभलपमेन्ट बैंकको लघुवित्त विभाग प्रमुखका रूपमा कार्य गरेका थिए । त्यसपछि उनले २०७५ साउनदेखि २०७६ मंसिर २२ गतेसम्म कालिका लघुवित्त वित्तीय संस्थामा सहायक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाले । जोशी २०७६ मंसिर २५ गतेदेखि धौलागिरी लघुवित्तमा नायब प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत थिए भने २०८१ मंसिर १७ गतेदेखि कामु प्रमुख कार्यकारी अधिकृतका रूपमा जिम्मेवारी सम्हाल्दै आएका थिए । सञ्चालक समितिले जोशीको नेतृत्वमा संस्थाले नियामकीय निर्देशनको पूर्ण पालना गर्दै सेवाग्राहीलाई अझ गुणस्तरीय सेवा प्रदान गर्ने तथा सेयरधनीलाई उचित प्रतिफल दिन सफल हुने विश्वास व्यक्त गरेको छ । नियुक्तिपछि प्रतिक्रिया दिँदै जोशीले मुलुककै पुराना र प्रतिष्ठित लघुवित्त संस्थामध्ये एकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पाउँदा गर्व र जिम्मेवारीबोध दुवै महसुस भएको बताए । उनले आफ्नो कार्यकालमा सन्तुलित व्यापार विस्तार, ग्राहक सेवा थप सुदृढीकरण, सुरक्षित र प्रविधिमैत्री बैंकिङ सेवा विस्तार गर्दै लगानीकर्तालाई उचित प्रतिफल दिन प्रतिबद्ध रहने बताए । साथै, संस्थाको ब्रान्ड, नेटवर्क र बजार उपस्थितिलाई अझ मजबुत बनाउने लक्ष्यका साथ काम गर्ने उल्लेख गर्दै उनले आफूलाई सीईओमा नियुक्त गर्ने सञ्चालक समितिप्रति धन्यवाद तथा आभार व्यक्त गरे । कर्जा व्यवस्थापन, जोखिम व्यवस्थापन, अनुपालन, शाखा सञ्चालन, सामान्य प्रशासन तथा मर्जर व्यवस्थापनलगायत लघुवित्तको कार्यकारिणी तहमा अनुभव हासिल गरिसकेका जोशीलाई लघुवित्त क्षेत्रमा अब्बल बैंकरका रूपमा चिनिन्छ ।

सिद्धार्थ बैंकले ल्यायो ‘भर्चुअल क्रेडिट कार्ड’, ५० प्रतिशत क्यासब्याक अफर

काठमाडौं । सिद्धार्थ बैंकले फोनपेसँगको साझेदारीमा पूर्ण डिजिटल क्रेडिट कार्ड 'सिद्धार्थ फोनपे भर्चुअल क्रेडिट कार्ड' सार्वजनिक गरेको छ । उक्त कार्डको सार्वजनिकिकरण नेपाल प्रिमियर लिग दोस्रो संस्करणको अवसरमा आयोजित अन–ग्राउन्ड कार्यक्रममा गरिएको हो । नयाँ भर्चुअल क्रेडिट कार्डमार्फत ग्राहकहरूले भौतिक कार्डको आवश्यकता बिना नै देशभरका १८ लाखभन्दा बढी व्यापारीहरूमा छिटो, सुरक्षित र सम्पर्कसहित भुक्तानी गर्न सक्नेछन् । डिजिटल रूपमा सक्रिय ग्राहकहरूको आवश्यकता ध्यानमा राखी ल्याइएको यो कार्ड तुरुन्त सक्रियता, कार्ड नियन्त्रण तथा उच्च सुरक्षा सुविधा उपलब्ध गराउने बैंकले जनाएको छ । ग्राहकले मोबाइल बैंकिङ एपमार्फत तुरुन्तै कार्ड आवेदन, कार्ड प्राप्ति र सक्रियता गर्न सक्नेछन् । साथै एपबाटै सीमा व्यवस्थापन, कार्ड लक–अनलक, स्टेटमेन्ट जाँच, भुक्तानी तथा अन्य आवश्यक व्यवस्थापनकार्य सरल रूपमा गर्न सकिने बैंकको भनाइ छ । विशेष लन्च अफरअन्तर्गत, सिद्धार्थ फोनपे भर्चुअल क्रेडिट कार्डमार्फत गरिने प्रत्येक कारोबारमा ५० प्रतिशत क्यासब्याक पाउने व्यवस्था गरिएको छ । यो क्यासब्याक अधिकतम ७५० सम्म सीमित हुनेछ, जसले सदस्यता शुल्क समायोजन गर्ने सुविधा पनि प्रदान गर्छ । अफर ७ डिसेम्बर २०२५ देखि ७ जनवरी २०२६ सम्म सीमित अवधिका लागि लागू हुनेछ । यस सेवासम्बन्धी थप जानकारीका लागि बैंकको २४ घण्टा सञ्चालन हुने ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’ मा विभिन्न माध्यममार्फत सम्पर्क गर्न सकिने बैंकले जनाएको छ ।