स्वास्थ्य बिमा : अब काभ्रेका आठ अस्पतालबाट सेवा

काभ्रेपलाञ्चोक। स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत अब काभ्रेपलाञ्चोकका आठ अस्पतालबाट प्रथम सेवा प्रदान गर्न थालिएको छ । आइतबारदेखि थप एक मण्डनदेउपुर नगरले सञ्चालनमा ल्याएको आधारभूत अस्पतालले सेवा थालनी गरेपछि जिल्लाबाट उक्त सेवा प्रदान गर्ने अस्पताल आठ पुगेको हो । उक्त अस्पतालले गत साउन अन्तिम साता स्वास्थ्य बिमा बोर्डमा आबद्ध भई प्रथम सेवा केन्द्रको स्वीकृति पाएको थियो । सेवाको बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले औपचारिक रुपमा प्रारम्भ गरेका हुन्। कार्यक्रममा नगरप्रमुख टोकबहादुर वाईबाले स्वास्थ्य बिमालाई प्रभावकारी ढङ्गले सञ्चालन गर्न नगरपालिकाले आवश्यक तयारी गरी आइतबारदेखि औपचारिक रुपमा सेवा सुरु गरिएको बताए । उनका अनुसार नगरका ६५ प्रतिशत नागरिकले स्वास्थ्य बिमा गरेका छन् । यसअघि सुन्थान, खोपासी, पाँचखाल र धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्र तथा बनेपा नगर अस्पताल र मेथिनकोट प्रादेशिक अस्पतालले स्वीकृत पाई सेवा प्रदान गर्दै आएका छन् । धुलिखेल नगरले भने आफ्नो स्वास्थ्य केन्द्र भवनको सेवालाई गत साउन २६ गतेदेखि धुलिखेल अस्पतालको परिसरबाट सेवा सुरु गरेको छ । यसअघि उक्त केन्द्रले भौतिक पूर्वाधार तथा जनशक्ति अभावको कारण देखाउँदै स्वास्थ्य बिमाको प्रथम सेवा विन्दु सेवा दिन आलटाल गरिरहेको थियो । नगरले धुलिखेल अस्पतालमा बिमा सेवा लिन आउनेलाई सजिलो होस् भनेर धुलिखेल अस्पताल परिसरको भवनबाटनै चिकित्सक, नर्स, औषधिसहित ‘रिफरल’ सेवा सुरु गरिएको जनाएको छ । गत साउन १ गतेदेखि सरकारले सरकारी स्वास्थ्य संस्था नै स्वास्थ्य बिमाको प्रथम सेवा विन्दु हुने नियम लागू गरेको थियो । विसं २०७६ मङ्सिर १ गतेदेखि प्रथम सेवा विन्दुको रुपमा सूचीकृत जिल्लाका चार स्वास्थ्य संस्थामध्ये मेथिनकोट अस्पताल र प्रास्वाके सुन्थान र खोपासीले मात्रै यसअघि सेवा दिँदै आएका थिए ।

सानिमा बैंकको २१ वर्ष पूरा, सातै प्रदेशमा सेवा जारी

काठमाडौं । सानिमा बैंक लिमिटेडले मंसिर २१ गते स्थापना भएको २१ वर्ष पूरा गरेको छ । दुई दशकभन्दा बढी समयदेखि निरन्तर सेवा, दायित्व र प्रतिबद्धताका साथ बैंकिङ क्षेत्रको विश्वसनीय संस्थाका रूपमा स्थापित हुँदै आएको सानिमा बैंकले यस अवसरमा २१औं वार्षिकोत्सव सम्पन्न गरेको छ । वार्षिकोत्सवको अवसरमा बैंकले ग्राहक तथा सरोकारवालाले बैंकिङ यात्राभर प्रदान गरेको निरन्तर विश्वास र सहयोगप्रति हार्दिक कृतज्ञता व्यक्त गरेको छ । बैंक परिसरमा आयोजित कार्यक्रमका क्रममा सानिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पवन कुमार आचार्यले बैंक २१ वर्षको यात्रामा सघाइरहेका सबै कर्मचारी, ग्राहक तथा सरोकारवालालाई बधाई ज्ञापन गर्दै आगामी दिनमा सामूहिक प्रयासमार्फत बैंकको लक्ष्य हासिल गर्ने प्रतिवद्धता व्यक्त गरे । हाल सानिमा बैंकका सातै प्रदेशमा १३४ वटा कार्यालय तथा १२७ वटा एटीएम सेवा संचालनमा छन् । बैंकले आगामी दिनमा ग्राहकमैत्री सेवा र प्रविधिमैत्री बैंकिङ विस्तार गर्दै आफ्नो वित्तीय सेवाको दायरा थप बिस्तार गर्ने योजना जनाएको छ ।

३ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्यो, ५ अर्बको कारोबार

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २१ अंकले घटेर २६०९ बिन्दुमा झरेको हो । नेप्सेका अनुसार ४६ कम्पनीको सेयर मूल्य बढ्दा २०४ कम्पनीको मूल्य घटेको छ । ८ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । आइतबार ३२५ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ३३ करोड रुपैयाँको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार सागर डिस्टिलरीको भएको छ । सागरको ४३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै न्यादी गुप्रको ३२ करोड, बन्दिपुर केबलकारको १५ करोड, युनाइटेड मोदी हाइड्रोको १३ करोड ४९ लाख र हिमालयन रिइन्स्योरेन्सको १३ करोड ४० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । स्वस्तीक लघुवित्त, श्रीनगर एग्रीटेक र झापा इनर्जीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । आज बजारका सबै सूचक घटेका छन् । बैंकिङ ०.६०, विकास बैंक ०.९३, फाइनान्स १.००, होटल तथा पर्यटन १.२०, जलविद्युत् १.२२, लगानी ०.८९, जीवन बीमा ०.५९, उत्पादन तथा प्रशोधन ०.९१, माइक्रोफाइनान्स १.०४, निर्जीवन बीमा ०.९३, अन्य ०.१२ तथा व्यापार १.२१ प्रतिशतले घटेका छन् ।