बैंकिङ क्षेत्रको कुल सम्पत्ति ११८ खर्ब रुपैयाँ पुग्यो, फाइनान्सभन्दा लघुवित्तको बढी
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूको कुल सम्पत्ति करिब ११८ खर्ब रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०८१/८२ को असारसम्म बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी र गैरबैंकिङ संस्थाको कुल सम्पत्ति तथा दायित्व ११८ खर्ब २२ अर्ब ६७ करोड रुपैयाँ पुगेको हो । जबकि अघिल्लो वर्ष २०८०/८१ मा बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी र गैरबैंकिङ संस्थाको कुल सम्पत्ति तथा दायित्व १०६ खर्ब ९ अर्ब ८४ करोड रुपैयाँ थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष यी संस्थाहरूको कुल सम्पत्ति ११.४३ प्रतिशत अर्थात् १२ खर्ब १२ अर्ब ८३ करोड रुपैयाँ बढेको हो । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ मा वाणिज्य बैंकहरूको कुल सम्पत्ति तथा दायित्व १२ प्रतिशत अर्थात् ८ खर्ब ६७ अर्ब ७८ करोड रुपैयाँ बढेर ८० खर्ब ९५ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो सम्पत्ति तथा दायित्व ७२ खर्ब २७ अर्ब ६० करोड रुपैयाँ थियो । यस्तै, विकास बैंकहरूको कुल सम्पत्ति तथा दायित्व गत वर्ष ५.१ प्रतिशत अर्थात् ३६ अर्ब २६ करोड रुपैयाँ बढेर ७ खर्ब ५३ अर्ब ५५ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्ष विकास बैंकहरूको कुल सम्पत्ति ७ खर्ब १७ अर्ब रुपैयाँ थियो । समीक्षा वर्षमा वित्त (फाइनान्स) कम्पनीहरूको कुल सम्पत्ति तथा दायित्व ३.४ प्रतिशत अर्थात् ५ अर्ब ८१ करोड रुपैयाँले बढेर १ खर्ब ७५ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो सम्पत्ति/दायित्व १ खर्ब ६९ अर्ब ७२ करोड रुपैयाँ पुगेको थियो । राष्ट्र बैंकका अनुसार लघुवित्त वित्तीय संस्थाहरूको कुल सम्पत्ति ९.७ प्रतिशत अर्थात् ५३ अर्ब ८३ करोड रुपैयाँ बढेर ६ खर्ब ७ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष लघुवित्त वित्तीय संस्थाहरूको कुल सम्पत्ति ५ खर्ब ५३ अर्ब ७३ करोड रुपैयाँ थियो । यस्तै, नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को सम्पत्ति ४५.२३ प्रतिशत अर्थात् १३ अर्ब ३४ करोड रुपैयाँ बढेर ४२ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष निफ्राको कुल सम्पत्ति २९ अर्ब ५० करोड रुपैयाँ थियो । २०८२ असारसम्ममा १४ जीवन, १४ निर्जीवन, २ पुनर्बीमा र ७ लघुबीमा कम्पनी गरी कुल ३७ बीमा कम्पनी सञ्चालनमा रहेका छन् । ३७ वटा बीमा कम्पनीको कुल सम्पत्ति १० खर्ब ९३ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ । जबकि अघिल्लो वर्ष बीमा कम्पनीहरूको कुल सम्पत्ति ९ खर्ब ३९ अर्ब २३ करोड रुपैयाँ रहेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष बीमा कम्पनीहरूको कुल सम्पत्ति १६.५ प्रतिशत अर्थात् १ खर्ब ५४ अर्ब २३ करोड रुपैयाँ बढेको देखिन्छ । गत वर्ष कर्मचारी सञ्चय कोषको कुल सम्पत्ति ९.०८ प्रतिशत अर्थात् ५१ अर्ब ८९ करोड रुपैयाँ बढेको छ । अघिल्लो वर्ष ५ खर्ब ७१ अर्ब ३२ करोड रुपैयाँ रहेको सम्पत्ति गत वर्ष बढेर ६ खर्ब २३ अर्ब २१ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकको तथ्याङ्क छ । यस्तै, गत वर्ष नागरिक लगानी कोषको सम्पत्ति २.५ प्रतिशत अर्थात् ७ अर्ब ६६ करोड रुपैयाँ बढेर ३ खर्ब ११ अर्ब ७ करोड रुपैयाँ र सामाजिक सुरक्षा कोषको २१४० प्रतिशत अर्थात् २१ अर्ब ५ करोड रुपैयाँ बढेर १ खर्ब १९ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष नागरिक लगानी कोषको सम्पत्ति ३ खर्ब ३ अर्ब ४१ करोड रुपैयाँ र सामाजिक सुरक्षा कोषको ९८ अर्ब ३३ करोड रुपैयाँ थियो ।
नेपाल फाइनान्सका दोस्रो ठूला सेयरधनी मानन्धर बाहिरिने, मूल्य १ सय रुपैयाँ
काठमाडौं । नेपाल फाइनान्सका संस्थापक ठूला सेयरधनी विजय मानन्धर बाहिरिने भएका छन् । मानन्धरले फाइनान्समा रहेको आफ्नो सेयर स्वामित्व बिक्री गरेर बाहिरिने भएका हुन् । फाइनान्समा मानन्धर दोस्रो ठूलो संस्थापक सेयरधनी हुन् । कम्पनीमा मानन्धरको ३.५४ प्रतिशत अर्थात् २ लाख ५८ हजार ७२८ कित्ता सेयर स्वामित्व छ । उनले आफ्नो स्वामित्वमा रहेको २ लाख २६ हजार ४०३ कित्ता संस्थापक सेयर बिक्रीमा राखेका छन् । उक्त सेयरको मूल्य न्यूनतम् प्रतिकित्ता १ सय रुपैयाँ तोकिएको छ । सो मूल्यका आधारमा २ करोड २६ लाख ४० हजार ३ सय रुपैयाँको सेयर बिक्रीमा राखिएको हो । खरिद गर्न इच्छुक लगानीकर्ताले १५ दिनभित्र न्यूनतम् मूल्य वा सो भन्दा बढी मूल्यमा आवेदन दिनुपर्नेछ । यसअघि संस्थापक सेयरधनीहरूलाई ३५ दिनको समय दिएको भएपनि कसैले पनि चासो नदिएपछि सर्वसाधारण लगानीकर्तालाई बिक्रीमा राखिएको कम्पनीले जनाएको छ ।
यस्तो छ विदेशी मुद्राको विनिमयदर, डलर १४४.६१ मा कारोबार
काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १४४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६१ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १६७ रुपैयाँ ९५ पैसा र बिक्रीदर १६८ रुपैयाँ ६५ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १९१ रुपैयाँ ४३ पैसा र बिक्रीदर १९२ रुपैयाँ २३ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १८० रुपैयाँ ७१ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९४ रुपैयाँ ८७ पैसा र बिक्रीदर ९५ रुपैयाँ २६ पैसा, क्यानेडियन डलर एकको खरिदर १०३ रुपैयाँ २९ पैसा र बिक्रीदर १०३ रुपैयाँ ७२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १११ रुपैयाँ २५ पैसा र बिक्रीदर १११ रुपैयाँ ७२ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिदर नौ रुपैयाँ २६ पैसा र बिक्रीदर नौ रुपैयाँ ३० पैसा, चिनियाँ युआन एकको खरिदर २० रुपैयाँ ३९ पैसा र बिक्रीदर २० रुपैयाँ ४७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३८ रुपैयाँ ५३ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३९ रुपैयाँ ६८ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ५१ पैसा र बिक्रीदर चार रुपैयाँ ५३ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ २१ पैसा र बिक्रीदर ३९ रुपैयाँ ३७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३४ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३५ रुपैयाँ ०७ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ८३ पैसा र बिक्रीदर नौ रुपैयाँ ८७ पैसा, स्विडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ३५ पैसा र बिक्रीदर १५ रुपैयाँ ४१ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ४९ पैसा र बिक्रीदर २२ रुपैयाँ ५८ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिदर १८ रुपैयाँ ५० पैसा र बिक्रीदर १८ रुपैयाँ ५८ पैसा, कुवेती दिनार एकको खरिददर ४६९ रुपैयाँ ३९ पैसा र बिक्रीदर ४७१ रुपैयाँ ३४ पैसा, बहराइन दिनार एकको खरिददर ३८१ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३८३ रुपैयाँ ५७ पैसा, ओमनी रियाल एकको खरिददर ३७४ रुपै्रयाँ ०५ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ६१ पैसा रहेको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ ।