राष्ट्रिय वाणिज्य बैंक र नेपाल क्लियरिङ हाउसबीच क्रस बोर्डर कारोबार गर्ने सम्बन्धी सम्झौता

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेडबीच क्रस बोर्डर कारोबार गर्ने सम्बन्धी सम्झौता भएको छ । बैंकका ग्राहकहरु तथा भारतीय ग्राहकहरुले एक देशबाट अर्को देशमा मोबाईल बैंकिङ तथा क्युआर कोडको माध्यमबाट कारोबार गर्न सक्नेगरि डिजिटल प्रविधीको व्यवस्था मिलाउन दुई संस्थाहरुबीच सम्झौता भएको छ । बैंकका अनुसार यसले नेपाल भित्र भारतबाट रकम प्राप्त गर्न सहज हुने भएको छ । यस्तो कारोबार नेपाल राष्ट्र बैंकले तोकेको सिमा र परिधिभित्र रहेर गर्न सकिने छ । एनसिएचएलको माध्यमबाट यस्ता कारोबारहरु हुनेछन् । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेड(एनसिएचएल)का बीच यस्तो सम्झौता भएको हो । सम्झौतामा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत देबेन्द्ररमण खनाल र नेपाल क्लियरिङ हाउस लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका थिए । सो अवसरमा बैंकका उपकार्यकारी अधिकृत देवेशप्रसाद लोहनी तथा दुर्गा कुमारी कंडेल र विभागीय प्रमुख ऋषि राम ढकाल उप प्रमुख दिनेश ओझा तथा एनसिएचएलका तर्फबाट चिफ अपरेटिङ अफिसर मुन्नि राजभण्डारि र मनिष पटेलको उपस्थिती रहेको थियो ।

सांग्रिला डेभलपमेन्ट बैंकले प्रभात माध्यमिक विद्यालयका विद्यार्थीलाई दियो व्याग

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले प्रभात माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई व्याग वितरण गरेको छ । बैंकले काठमाडौंको बालुवाटारमा रहेको प्रभात माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई शुक्रबार स्कूल व्याग वितरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कक्षा ७, ८, ९ र १० का विद्यार्थीहरुलाई वित्तीय शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गरेसंगै त्यस विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई १५० थान स्कूल व्याग , ६५ वटा कापी तथा ६५ वटा कलम वितरण गरेको हो । सो व्याग वितरण कार्यक्रममा बैंकको तर्फबाट प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशी र प्रभात माध्यमिक विद्यालयको तर्फबाट प्रधानाध्यापक राजेश्वर मान श्रेष्ठको उपस्थिति रहेको थियो । सो व्याग वितरणले विद्यार्थीहरुलाई सहजता ल्याउने कुरामा बैंक विश्वस्थ रहेको छ । बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ११२ शाखा कार्यालयहरु, ३० एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको जनाएको छ ।

सिटिजन्स बैंकका ग्राहकलाई किरण आई हस्पिटलमा ४० प्रतिशत छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकलाई किरण आई हस्पिटलमा ४० प्रतिशतसम्मको छुट हुने भएको छ । बैंक र वीरगंज, पर्सा स्थित किरण आई हस्पिटलबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले किरण आई हस्पिटलका सेवाहरुमा ४० प्रतिशतसम्मको छुट पाउने बैंकले जनाएको छ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।