नेपाल एसबिआई बैंक र इसेवाबीच सम्झौता

काठमाडौं । नेपाल एसबिआई बैंक र इसेवाबीच इसेवा नेटवर्क, डिजिटल वालेट, मर्चेन्ट पेमेन्ट र मनि ट्रान्सफर सेवा सञ्चालन गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौताले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, काउन्टर डिपोजिट लगायत बैंकका च्यानलहरू मार्फत ग्राहकहरूलाई आफ्नो इसेवा वालेटमा रकम स्थानान्तरण गर्न सहज बनाउने छ । साथै, यस सम्झौताले इसेवा प्लेटफर्म मार्फत तत्कालै खाता क्रेडिट गरी व्यापार भुक्तानीहरू सहजीकरण गर्न सहयोग पुर्याउने बैंकले जनाएको छ । उक्त सम्झौता पत्र बैंकका प्रबन्ध संचालक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कुमार दे को उपस्थितिमा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत राजेश कूमार पंडा र इसेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जगदिस खडकाले हस्ताक्षर गरेका थिए ।

एसबिआई बैंक र फोनपेबीच सम्झौता

काठमाडौं । नेपाल एसबिआई बैंक र फोनपेबीच नेपाल र भारत बीचको सीमापार भुक्तानीलाई सहज बनाउन सम्झौता भएको छ । बैंकले ग्राहकदेखि व्यापारी भुक्तानी च्यानल सञ्चालन गर्न फोन पेसँँग सम्झौता गरेको हो । नेपाल भ्रमणमा आउने भारतीय ग्राहकहरूले अब यूपीआई आबद्ध एपहरू फोन पे, भीम यूपीआई, गुगल पेको प्रयोग गरी आफुले खरिद गरेका वस्तु तथा सेवाहरूको तत्काल भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ । नेपाल एसबिआईको फोनपे नेटवर्कसाग आबद्ध व्यापारीहरूले नगद लेनदेनको आवश्यकतालाई हटाउँदै यूपीआई भुक्तानीहरू सजिलै स्वीकार गर्न सक्नेछन् । सम्झौताले नगदरहित कारोवारलाई प्रबर्द्धन गर्ने र ग्राहकहरूलाई समग्र बैंकिङ अनुभव बढाउने लक्ष्य लिएको छ । उक्त सम्झौता पत्र बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत राजेश कुमार पंडा र फोनपेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिवस कुमारले हस्ताक्षर गरेका थिए ।

लघुवित्तका अध्यक्षसँग राष्ट्र बैंककाे हार, ईगो साँध्न गरिएको कारवाही आफ्नै लागि भारी

काठमाडौं । साविक मिर्मिरे लघुवित्त वित्तीय संस्थाका अध्यक्ष टेकबहादुर बोहराले न्याय पाएका छन् । बैंक तथा वित्तीय संस्थाको नियामक नेपाल राष्ट्र बैंक विरूद्धको मुद्दामा बोहराले न्याय पाएका हुन् । राष्ट्र बैंकले लघुवित्त संस्थाको सञ्चालक समेत बन्न नपाउने गरी बोहरालाई कारवाही गरेको थियो । राष्ट्र बैंकको सो कदम विरूद्ध बोहराले वि.सं २०८० भदौ २१ गते उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेका थिए । बुधबार उच्च अदालतका न्यायाधिश अन्जु उप्रेती ढकाल र प्रकाश खरेलको संयुक्त इजालशले राष्ट्र बैंकको उक्त निर्णय कार्यान्वयन नगर्न आदेश दिएकाे हो । राष्ट्र बैंकले वि.सं २०८० असार ४ गते साविक मिर्मिरे लघुवित्तका अध्यक्ष हुँदा बोहरालाई राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) को खण्ड (ग) बमोजिम तपाईंलाई ५ लाख रुपैयाँ जरिवाना र ५ वर्षका लागि सञ्चालक बन्न नपाउने गरी कारबाही गरेको भन्दै पत्र काटेकाे थियाे । त्यसपछि उनी पदमुक्त भएका थिए । राष्ट्र बैंकको सो कदमप्रति असन्तुष्टि जनाउँदै उनी अदालत पुगेका थिए । अदालतको निर्णयपछि बोहराले नेपाल राष्ट्र बैंकको अपरिपक्क निर्णय भएको र ढिलै भएपनि न्याय पाएको प्रतिक्रिया दिए । ‘नेपाल राष्ट्र बैंकको अपरिपक्क निर्णयलाई उच्च अदालत पाटनको आदेशबाट बदर भई ढिलै भएपनि न्याय पाएकोमा न्यायलयप्रति उच्च सम्मान छ,’ उनले भने, ‘अब क्षतिपूर्तिका लागि लड्नेछु ।’ राष्ट्र बैंकले यसअघि लघुवित्त संस्था सुपरिवेक्षण विभाग प्रमुख रहेका कार्यकारी निर्देशक रेवति प्रसाद नेपाललाई इन्टर्नल अडिट डिपार्टमेन्टमा सरुवा गरिसकेको छ भने कार्यकारी निर्देशक बिमल राज खनाललाइ लघुवित्त संस्था सुपरिवेक्षण विभाग प्रमुखको जिम्मेजारी दिएको छ । सम्बन्धित सामग्री : राष्ट्र बैंकको ईडी र सीईओको साँठगाँठले अध्यक्ष पद खोसियो !