सिटिजन्स बैंकका ग्राहकलाई स्पर्श मल्टिस्पेसियालिटीमा छुट
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल र पर्साको वीरगञ्जस्थित स्पर्श मल्टिस्पेसियालिटी हस्पिटलबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले स्पर्श मल्टिस्पेसियालिटी हस्पिटलका सेवाहरुमा २५ प्रतिशतसम्मको छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास कम्पनीले लिएको छ । कम्पनीले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।
आइएमई लाइफको २६ प्रतिशत लाभांश पारित
काठमाडौं । आइएमई लाइफको सातौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साे सभाले २६.३१५८ प्रतिशत लाभांश पारित गरेको छ ।कम्पनीले हाल कायम चुक्ता पुँजीको २५ प्रतिशतले हुन आउने १ अर्ब बराबरको बोनश सेयर र कर प्रयोजनको लागि समेत १.३१५८ प्रतिशतले हुन आउने ५ करोड २६ लाख ३१ हजार ५ सय ७९ रुपैयाँ बराबरको नगद लाभांश गरि कुल २६.३१५८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । कम्पनीको उक्त सभाले प्रस्तावित लाभांश पारित गरेको छ । सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ । लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७९/८० बमोजिमको वासलात, नाफा नोक्सान हिसाब, इक्विटीमा भएको परिवर्तन तथा नगद प्रवाह विवरण र सो संग सम्बन्धीत अनुसूचिहरु सहितको वितीय विवरण माथि छलफल गरी पारित गरेको छ । सभाले कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०८०/०८१ को लागि लेखापरिक्षण समितिबाट सिफारिस गई आए बमोजिम बाहय लेखापरीक्षकको नियुक्ती गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरेको छ । सभाले सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्न एक (१) जना सञ्चालकको निर्वाचन गर्ने, सञ्चालक समितिको बैठकमा उपस्थित भए बापत सञ्चालकले पाउने बैठक भत्ता तथा सेवा सुविधा पुनरावलोकन गर्ने, बोनस सेयर जारी गरे पश्चात् कम्पनीको चुक्ता पूँजी पाँच अर्ब रूपैयाँ कायम हुने भई हाल कायम कम्पनीको पूँजी संरचना परिर्वतन हुने भएकोले कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा सोही बमोजिम संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको छ । सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने तथा नियमनकारी निकायबाट प्रबन्धपत्र तथा नियमावलीमा संशोधन तथा प्राप्त हुने निर्देशन कार्यान्वयन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीको मिति २०८०/०२/०२ गते बसेको सञ्चालक समितिको १८०औं बैठकले सञ्चालक समितिमा रिक रहेको संस्थापक सेयरधनी समूहमा बाँकी कार्यकालका लागि संस्थापक सेयरधनीहरुबाट सञ्चालकहरुको नियुक्ति गरेकोमा सो नियुक्ति अनुमोदन गरेको छ ।
साधना लघुवित्तको वित्तीय साक्षरता र स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न
काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाको वित्तीय साक्षरता र स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ । संस्थाले आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत विविध सामाजिक कार्यहरु गर्दे आईरहेको छ । वित्तीय संस्थामा आवद्ध ग्राहक सदस्यहरुमा वित्तीय ज्ञान, सीप, कला कौशल वृद्धि गरी चेतनाको स्तर वृद्धि गर्न, वित्तीय कारोबार प्रति सजग बनाउन र डिजिटल बैकिङको अवधारणा ग्राहक सदस्यमा बुझाउन साथै उद्यमशिलताको लागी वित्तीय सचेतना भन्ने मूलमन्त्रका साथ हरेक वर्ष विविध शाखा कार्यालयहरु मार्फत् वित्तीय सचेतना अभियान सञ्चालन गर्ने क्रममा शाखा कार्यालय बारपाक अन्तर्गत धार्चे गाउँपालिका वार्ड नं ४ लाप्राकमा बित्तीय साक्षरता कार्यक्रम साथै स्वास्थ्य शिविर सम्पन्न गरेको छ । उक्त कार्यक्रममा धार्चे गा.पा.वार्ड ४ अध्यक्ष किसन गुरुङले साधना लघुवित्त वित्तीय संस्थाले लाप्राक बासीलाई दिएको वित्तीय सेवाको उच्च मुल्याङन गर्दै यस वित्तीय संस्थाले भौगोलिक विकटताको बावजुद पनि यहाँ सम्म आएर घरदैलो सेवा वित्तीय सेवा दिएकोमा संस्थालाई तथा संस्थामा कार्यरत कर्मचारीहरुलाइ हार्दिक आभार प्रकट गर्दै आगामी दिनमा पनि संस्थाको उत्तर-उत्तर प्रगतीको कामना गरे । उक्त वित्तीय साक्षरता कार्यक्रम संगै साधना लघुवित्त वित्तीय संस्था तथा बद्रि पोलिटेक्निक गोरखाको आयोजनामा धार्चे गा.पा.वार्ड नं ४ लाप्राकमा स्वास्थ्य शिविर सम्पन्न गरेको छ । निशुल्क रुपमा १ दिन संचालन भएको स्वास्थ्य शिविरमा लाप्राकका २०० जना भन्दा बढी सदस्य तथा सदस्यहरुको अभिभावकहरुलाई स्वास्थ जाँच गरी निशुल्क औषधी वितरण गरेको छ । भौगोलिक दुर्गमताको बावजुद पनि वित्तीय साक्षरता एवं स्वास्थ्य शिविर संचालन गरी सामाजिक उत्तरदायित्व प्रदान गरिएको र उक्त कार्यक्रममा उत्साहजनक सहभागिता रहेको जानकारी तालिम विभाग प्रमुख सरिता ढकालले बताइन् ।