गरिमा क्यापिटलको सञ्चालक समिति हेरफेर

काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले सञ्चालक समिति हेरफेर गरेकाे छ । मंगलबार कम्पनीले प्रेस विज्ञप्तिमार्फत सञ्चालक समिति हेरफेर भएको जानकारी दिएको हो । कम्पनीको हालै सम्पन्न सञ्चालक समितिको बैठकबाट स्वतन्त्र सञ्चालकका रूपमा नैना नेपाल ढकाल नियुक्त भएकी छन् । साथै, गरिमा विकास बैंकलाई प्रतिनिधित्व गर्ने गरी सञ्जुप्रसाद जैसवाल सञ्चालकका रूपमा नियुक्त भएको क्यापिटलले जानकारी दिएकाे छ । कम्पनीका अनुसार कम्पनी सचिवमा अशोक सुवेदी, स्वतन्त्र सञ्चालकमा महेशप्रसाद काफ्ले, अध्यक्षमा दीपक पाण्डे, सञ्चालकमा सञ्जुप्रसाद जैसवाल, निवर्तमान सञ्चालकमा माधवप्रसाद उपाध्याय, स्वतन्त्र सञ्चालकमा नैना नेपाल ढकाल, सञ्चालकमा अनिल रेग्मी र प्रमुख कार्यकारी अधिकृतमा निर्मल भट्टराई नियुक्त भएका छन् ।

सानिमा बैंक र एनसीएचएलबीच अन्तरदेशीय डिजिटल भुक्तानीका लागि सहकार्य

काठमाडौं । सानिमा बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच अन्तरदेशीय डिजिटल भुक्तानीका लागि सहकार्य गरेको छ । बैंकले एनसीएचएलसँग नेपाल र भारतमा अन्तरदेशीय सरल र सजिलो डिजिटल भुक्तानी सुविधा प्रदान गर्नका लागि सम्झौता पत्रमा हस्ताक्षर गरेको हो । उक्त सम्झौता पत्रमा सानिमा बैंकका तर्फबाट प्रमुख निक्षेप अधिकृत हेमराज संज्याल र नेपाल क्लियरिङ हाउसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरे । यस सहकार्यबाट दुबै देशका नागरिकहरूलाई एनसीएचएल नेटवर्क मार्फत नेपाल राष्ट्र बैंकको नियमानुसार रकमान्तर गर्न सहज र झन्झटरहित डिजिटल भुक्तानी सेवा प्रदान हुने उद्देश्य रहेको बैंकले जनाएको छ । सानिमा बैंकका देशका सातै प्रदेशमा १३३ कार्यालयहरु तथा १२४ वटा ए.टि.एम. सञ्जाल रहेका छन् ।

कर्जा ग्राहकका लागि एनआईसी एशिया बैंकको छुट योजना सार्वजनिक

काठमाडौं । एनआईसी एशिया बैंकले कर्जा ग्राहकहरुलाई प्रदान गरिने छुट सम्बन्धी योजना सार्वजनिक गरेको छ । बैकले देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पुर्याउने हेतुले छुट सम्बन्धी योजना सार्वजनिक गरेको हो । बैंकका अनुसार २०८० चैत्र मसान्त सम्ममा देहाय बमोजिमले भाखा नाघेका कर्जाहरुको हकमा सम्बन्धित ऋणीले सम्पूर्ण कर्जा रकम २०८१ असार महिना भित्रमा चुक्ता भुक्तान गरेमा जरिवाना तथा हर्जाना रकममा शत प्रतिशत छुट र साधारण वक्यौता ब्याज रकममा समेत छुट प्रदान गर्ने योजना ल्याएको छ । मासिक तथा त्रैमासिक किस्ताबन्दीमा भुक्तानी हुने वा चालुपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जा लगायत बैंकबाट प्रवाह भएका कुनै पनि प्रकारका कर्जामा आर्थिक शिथिलताका कारणले मर्कामा परेका ग्राहकले यस योजनामा सहभागी भई लाभ लिन सक्ने बैंकले जनाएको छ । यस असाधारण समयमा राष्ट्रिय अर्थतन्त्रको बृहत्तर हितका निम्ति सबै सरोकारवालाले आ–आफ्नो हिसाबले योगदान पुर्याउनुपर्ने आजको टड्कारो आवश्यकतालाई हरसम्भव सम्बोधन गर्न बैंकले ऋणीहरुका लागि कर्जामा आकर्षक ब्याज छुटको व्यवस्था गरेको हो । बैंकले ल्याएको यस छुट योजनाबाट आर्थिक शिथिलताले समस्यामा परेका ग्राहकको वित्तीय भार कम गर्न केही हदसम्म भए पनि मद्दत पुग्नुका साथै देशको समग्र अर्थतन्त्रको पुनरुत्थान एवं दिगो सबलीकरणमा समेत टेवा पुग्ने बैंकले विश्वास लिएको छ ।