लिबर्टी माइक्रोले अभिकर्तासम्बन्धी तालिम दिँदै, कसरी हुने सहभागी ?

काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले देशैभर अभिकर्तासम्बन्धी तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले लघु जीवन बीमा अभिकर्ताको पेसामा आवद्ध हुन इच्छुक व्यक्तिहरूका लागि देशैभरि तालिमहरू सञ्चालन गर्ने जनाएको छ । कम्पनीले हालै वीरगञ्ज, लमजुङ, कुश्मा, तनहुँ, गैंडाकोट, रुपन्देही, नेपालगञ्ज, विराटनगर, लमही, दाङलगायत देशका विभिन्न ठाउँहरूमा जीवन बीमा सचेतना तथा अभिकर्ता तालिम कार्यक्रमहरू सम्पन्न गरिसकेके छ । आगामी तालिमा सहभागी हुन चाहनेले अनलाइनबाट नै फर्म भर्न सक्ने कम्पनीले जनाएको छ । कम्पनीकाअनुसार https://docs.google.com/forms/d/e/1FAIpQLSeTmtqbVAKvgwkFSJQdcpFPAUlANUBj8f2XvFTi-yMfIiFxpQ/viewform मा गएर अनलाईन फर्म भर्न सकिने छ ।

सन नेपाल लाइफ इन्स्योरेन्सले गर्‍याे दुईवटा नवीनतम बीमा योजना सार्वजनिक

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले दुईवटा आकर्षक एवं नवीनतम बीमा योजना सार्वजनिक गरेको छ । सातौं वार्षिकोत्सवको अवसरमा आइतबार कम्पनीले सनलाइफ मेडिकेयर र सुनौलो बाल समृद्ध जीवन बीमा योजना सार्वजनिक गरेकाे हाे । सुनौलो बाल समृद्ध जीवन बीमा योजनामा प्रस्तावकको निधनमा भुक्तानी निश्चित गरिएको छ । यसमा बीमा अवधिभित्र प्रस्तावकको निधन भएमा बीमांक रकम भुक्तानी हुनेछ र बीमितलाई बीमा अवधिसम्म बीमाङ्क रकमको दुई प्रतिशतसम्म मासिक आय सुविधा रकम प्रदान गर्ने व्यवस्था रहेको छ । यसमा प्रस्तावकको घातक रोगको उपचारमा ५० लाख (पचास लाख) रुपैयाँसम्म बीमा कम्पनीले बेहोर्ने आकर्षक विशेषता रहेको सन नेपाल लाइफले जनाएकाे छ । ‘सनलाइफ मेडिकेयर’ आपतकालीन अवस्थामा औषधिउपचार गर्न सहज होस् भन्ने हेतुले अघि सारिएको बीमा योजना हो । यसप्रकारको बीमा योजना नेपालमा पहिलोपटक सन नेपाल लाइफबाट शुभारम्भ गरेको कम्पनीकाे दावी छ । अस्पताल भर्ना भएर गरिने औषधि उपचारमा १ लाख रुपैयाँसम्म प्रदान गर्ने व्यवस्था रहेको यस योजना अन्तर्गत आपतकालिन उपचार गर्दा यसबाट आम नेपाली नागरिकले लाभ लिनसक्ने अपेक्षा कम्पनीकाे छ । वार्षिकोत्सवको अवसरमा कम्पनीले सन्देशमूलक भिडियो पनि लोकार्पण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत तयार गरिएको म्युजिक भिडियोमा वैदेशिक रोजगारीसँग सम्बन्धित उपयोगी सन्देश रहेका छन् । सातौं वार्षिकोत्सवको अवसरमा कम्पनीले ७ वर्ष ७ प्रदेश ७ दिन ७ सतकर्म नाराअन्तर्गत सप्ताहव्यापी कार्यक्रमहरु सम्पन्न गरेको छ । सात सत्कर्म अन्तर्गत प्रभातफेरि, वृक्षारोपण, खाद्यान्न तथा लत्ताकपडा वितरण, मठ–मन्दिर सरसफाइ, रक्तदान, वित्तीय साक्षरतासम्बन्धी कार्याशाला तथा शैक्षिक सामग्री गरिएको छ । सो अवसरमा देशभरका विभिन्न स्थानमा नेपाली संस्कृतिसँग जोडिएका बर, पिपल, रुद्राक्ष, रक्तचन्दन, अगरउड, श्रीखण्ड र स्वामी गरी ७ थरी वनस्पतिको वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ । यसै अवसरमा महिला तथा बालबालिकालाई लक्ष्य गरी शैक्षिक सामग्री र खाद्यान्न वितरण गरिएको छ । ‘समुदाय सँगसँगै कदम उठाउँदै’ नाराका साथ मन्दिर सरसफाइ र रक्तदान कार्यक्रम आयोजना गरिएको छ । विभिन्न विद्यालयका विद्यार्थीमाझ वित्तीय साक्षरतासम्बन्धी कार्यशाला सञ्चालन सम्पन्न गरिएको छ । वार्षिकोत्सवको अवसरमा आइतबार बीमा सचेतना र वित्तीय सबलतामा बीमाको आवश्यकताबारेको सन्देशसहित काठमाडौंलगायत विभिन्न सहरमा प्रभातफेरि कार्यक्रम सम्पन्न भएको छ । प्रभातफेरि समापन समारोहमा प्रमुख कार्यकारी अधिकृत अर्यालले समग्र बीमा क्षेत्रको अवस्था, बीमाको आवश्यकता तथा महत्वबारे प्रकाश पारेका थिए । यस अवसरमा कम्पनीमा स्थापनाकाल देखी कार्यरत कर्मचारीहरूलाई कदरपत्र प्रदान गरिएको छ । सुरुदेखि हालसम्म मार्गदर्शन, निर्देशन, समन्वय, सहयोग गर्ने नियामक निकाय, अभिकर्ता, आम सञ्चार, बीमित एवं कर्मचारीप्रति धन्यवाद ज्ञापन गर्दै कम्पनीले आगामी दिनमा ग्राहकमैत्री सर्वसुलभ बीमा सेवा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

शेखर गोल्छाको हुलास फिनसर्भले २० लाख ७५ हजार कित्ता आईपीओ जारी गर्दै

काठमाडौं । हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएकाे छ । कम्पनीले कुल २० लाख ७५ हजार कित्ता साधारण सेयर निष्काशन गर्ने भएको हाे। कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड नियुक्त भएकाे छ । आईपीओ निष्काशन सम्बन्धि कार्यका लागि सम्झौतापत्रमा हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडका तर्फबाट अध्यक्ष शेखर गोल्छा तथा धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीपेश कुमार वैद्यले सम्झौतापत्रमा हस्ताक्षर गरे । गाेल्छाले नियामक निकायबाट तोकिएका सम्पूर्ण प्रक्रिया तथा आवश्यकताहरू पूरा गरी यथासम्भव छिटो निष्काशनको प्रक्रिया अगाडि बढाइने बताए । हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड, नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरेको गैर-बैंकिङ वित्तीय कम्पनी हो । यस कम्पनीले सन् २०१२ देखि ग्राहकहरूलाई उत्कृष्ट हायर पर्चेज सेवा प्रदान गर्दै आइरहेको छ ।