समावेशी बीमासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन भोलिदेखि, ५० देशका बीमा विज्ञ काठमाडाैंमा

काठमाडाैं ।  समावेशी बीमासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन भाेलि (सोमबार) देखि हुने भएको छ । नेपाल बीमक संघ, जीवन बीमक संघ , नेपाल लघुबीमक संघ र नेपाल बीमा प्राधिकरणले म्युनिख री फाउण्डेशन र माइक्रोबीमा नेटवर्कको सहकार्यमा सम्मेलन आयोजना गर्न लागेको हो । उक्त सम्मेलन काठमाडौंको होटल याक एण्ड यतिमा हुनेछ । ५ दिनसम्म सञ्चालन हुने सम्मेलन अक्टोबर २५ तारिख (आइतबार) अन्त्य हुनेछ । प्यानल डिस्कसनमा हुने कार्यक्रममा विभिन्न देशमा समावेशी बीमा सम्बन्धमा भएका व्यवस्थाहरूका बारेमा छलफल हुने जनाइएको छ । कार्यक्रममा ५० भन्दा बढी देशका ४०० भन्दा बढी बीमा विज्ञ, बीमाकर्ता प्रतिनिधिहरू सहभागी हुने अनुमान छ । नेपालको तर्फबाट नेपाल बीमा प्राधिकरणका उपनिर्देशकहरू, निर्देशकहरू, अध्यक्ष र शाखा प्रमुख गरी कुल २५ जना सहभागी हुनेछन् । यसैगरी, नेपालमा रहेको सबै बीमा कम्पनीबाट प्रति कम्पनी ५ जनाका दरले सम्मेलनमा सहभागी हुने जनाइएको छ ।

एनएमबि लघुवित्तको डीसीईओमा सजल खड्का नियुक्त

काठमाडौं । एनएमबि लघुवित्त वित्तिय संस्थाको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)मा सजल खड्का नियुक्त भएका छन् । लघुवित्त संस्थाको सञ्चालक समितिको बैठकले उनलाई डीसीईओमा नियुक्त गरेको हो । खड्कालाई कातिक १ गतेदेखि लागू हुने गरी डीसीईओमा नियुक्त भएकाे जनाइएको छ । लघुवित्त क्षेत्रमा २ दशक भन्दा बढीको अनुभवी खड्काले यसअघि मातृभूमि लघुवित्तको डीसीईओ थिए । साथै उनले साविक स्पर्श लघुवित्तमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारीसमेत सम्हालेका थिए । उक्त लघुवित्त मर्जरपछि खड्का ग्लोबल आइएमई लघुवित्तको डीसीईओ बनेका थिए । साथै उनले किसान लघुवित्तको निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) भएर पनि काम गरिसकेका छन् ।

शिखर इन्स्योरेन्सको सीईओमा पुन: पाण्डे, २० वर्षदेखि निरन्तर कार्यकारी प्रमुख

काठमाडौं । शिखर इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा दिप प्रकाश पाण्डे पुन: नियुक्त भएका छन् । कार्तिक १ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सीईओको पदमा पाण्डेलाई पुन: नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीले उनलाई उक्त पदमा ४ वर्षको लागि नियुक्त गरेको हो । पाण्डेसँग बीमा क्षेत्रमा तीन दशकको अनुभव छ । शिखर इन्स्योरेन्समा आवद्ध हुनुअघि उनले करिब १० वर्ष एभरेष्ट इन्स्योरेन्समा महाप्रबन्धकको रूपमा काम गरेका थिए । यसअघि पाण्डे २०७७ सालको कार्तिक ११ गते कम्पनीको सीईओमा चार वर्षका लागि नियुक्त भएका थिए । पदावधि सकिनै लाग्दा उनी पुनः कम्पनीको सीईओमा नियुक्त भएका हुन् । पाण्डे विगत २० वर्षदेशि कम्पनीको सीईओ रहँदै आएका छन् । उनी २०६१ सालदेखि शिखरको सीईओ बन्दै आएका हुन् ।