२०औं समावेशी अन्तर्राष्ट्रिय बीमा सम्मेलन सुरु, चार सय बढीको सहभागिता

काठमाडौं । समावेशी बीमा सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (आईसीआईआई) मंगलबारबाट काठमाडौंमा सुरु भएकाे छ । नेपाल बीमा प्राधिकरण, नेपाल बीमक संघ, जीवन बीमक संघ र नेपाल माइक्रोइन्स्योरेन्स एसोसिएसनद्वारा म्युनिख रे फाउण्डेशन तथा माइक्रोइन्स्योरेन्स नेटवर्कसँगको सहकार्यमा सम्मेलन सुरु भएकाे हाे । सम्मेलनकाे याे २०औं संस्करण हो । सम्मेलनमा न्यून आय भएका तथा जोखिममा रहेका परिवारहरू तथा लघु, साना र मझौला उद्योगलाई केन्द्रित गरी समावेशी बीमालाई परिष्कृत गर्नेलगायतका विषयमा विस्तृत छलफल हुने आयाेजकले जनाएकाे छ । यसैगरी, जलवायु जोखिम बीमा, लघुबीमामा डिजिटल प्रविधि अवलम्बन र समावेशी बीमाका क्षेत्रका आइपर्ने अवरोधहरु हटाउनेसम्बन्धी रणनीतिहरूलगायतका विषयमा सहभागीहरूबीच छलफल केन्द्रित हुनेछ । सम्मेलनका विभिन्न सत्रहरूमा जलवायु परिवर्तन र प्रकोप जोखिम वित्त व्यवस्थापन, बीमा क्षेत्रका चुनौती तथा अवसरहरू, बीमाको अन्तर र बीमाको पहुँच विस्तारमा डिजिटल प्रविधिको विकास एवम् अवलम्बन जस्ता मुख्य विषयहरूमा विभिन्न कार्यपत्र प्रस्तुतिका साथै कार्यपत्रहरूमाथि छलफल हुने कार्यक्रम पनि रहेको छ । सम्मेलनमा नेपाल लगायत विभिन्न देशका बीमा क्षेत्रका नियामक निकाय, विभिन्न निकाय, विकास साझेदार, गैरसरकारी संस्था र बीमा क्षेत्रका विज्ञहरू गरी चारसयभन्दा बढीको सहभागिता रहेको छ । समाजमा आर्थिकरूपमा पछाडि परेका वर्ग र लघु, साना तथा मझौला उद्योगहरूको वित्तीय जोखिम न्यूनीकरणका लागि समावेशी बीमालाई अगाडि बढाउने सम्बन्धमा सम्मेलन कोशेढुङ्गा सावित हुने विश्वास गरिएको छ । सम्मेलन कात्तिक ९ गतेसम्म हुनेछ ।

‘कृषि बीमा सफ्टवेयर’को उद्घाटन, अब घरमै बसेर बीमा गर्न सकिने

काठमाडाैं । अबदेखि कृषि बीमा अनलाइनबाट नै गर्न सकिने भएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले अनलाइनबाटै बीमा गर्ने सफ्टवेयरको सोमबार उद्घाटन गरेको हो । नेपाल बीमा प्राधिकरण र नेपाल बीमक संघको उपस्थितिमा उक्त ‘रियल टाइम सफ्टवेर’को उद्घाटन गरेको हो । सफ्टवेयको उद्घाटन कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले उक्त सफ्टवेयरको उद्घाटन गरेका हुन् । मन्त्रालयकी सहसचिव सवनम शिवाकोटीले ललितपुरको धापाखेल गोविन्द घिमिरेको तीनवटा गाईको बीमा गर्दै उक्त सफ्टवेयरको उद्घाटन गरिएकाे बताइन् । किसान घिमिरेको तीनवटा गाईको एक लाख ७७ हजार रुपैयाँ बराबरको एनएलजी इन्स्योरेन्समा बीमा गरिएको थियो । उक्त बीमाका लागि किसान घिमिरेले ८ हजार ७५० रुपैयाँ बीमाशुल्क भुक्तानी गरेका थिए । हाललाई पशु र बालीको मात्र उक्त सफ्टवेयर प्रणालीमार्फत बीमा गरिने मन्त्रालयले जनाएको छ । अहिले अनलाइनबाट नै बीमा गर्नुपर्ने भन्ने कुनै अनिवार्य भने छैन । अहिले अफलाइनबाट पनि गर्न सकिन्छ । बिस्तारै पूर्ण अनलाइन प्रणालीमा लैजाने मन्त्रालयको योजना रहेको सहसचिव शिवाकोटीले बताइन् । उक्त सफ्टवेयरमार्फत बीमा गर्दा किसान आफैले यूजर आइडी बनाएर अनलाइनबाटै गर्नसक्ने नेपाल बीमा प्राधिकरणका आइटी प्रमुख रविन्द्र श्रेष्ठले बताए । उनका अनुसार अभिकर्ता, बीमक, बीमित तथा किसान सबैले यूजर आइडी बनाएर काम गर्न सक्नेछन् । सफ्टवेयरमा हाल नेपालमा सञ्चालनमा रहेका १४ वटा निर्जीवन बीमा कम्पनीहरू आवद्ध छन् । यस सफ्टवेरले कृषि बीमालाई मर्यादित, व्यवस्थित र पारदर्शी बनाउने सहसचिव सिवाकोटीले विश्वास व्यक्त गरिन् । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि कृषि बीमालाई मर्यादित बनाउन रियल टाइम सफ्टवेरमार्फत बीमा गर्ने विषय उल्लेख भएको थियो । सोहीबमोजिम सफ्टवेयरको उद्घाटन गरिएको हो ।

ग्लोबल आइएमई बैंकद्वारा मुलुककै ठुलो सौर्य विद्युत परियोजनामा कर्जा लगानी सम्बन्धी सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र प्राइम पावर लिमिटेडबीच सौर्य विद्युत परियोजनामा कर्जा लगानी गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र प्राइम पावर लिमिटेडका अध्यक्ष आशीष गर्गले हस्ताक्षर गरेका छन् । समझदारी अनुसार प्राइम पावर लिमिटेडले ३० मेगावाट क्षमताको सौर्य विद्युत परियोजना कपिलवस्तु जिल्लामा निर्माण गरी सञ्चालन गर्ने छ । साथै, उक्त अवसरमा प्राइम पावर लिमिटेडका अध्यक्ष गर्गले यस परियोजनाद्वारा उत्पादित विद्युत खरिदका साथै चनौटा स्थित सबस्टेसनमार्फत राष्ट्रिय प्रशारण लाइनमा विद्युत जोड्नका निमित्त नेपाल विद्युत प्राधिकरणसँग कम्पनीको सम्झौता भइसकेको जानकारी गराए । यस परियोजनामा संलग्न लगानीकर्ता समुहद्वारा विभिन्न ५ सौर्य परियोजनाअन्तर्गत ५६ मेगावाट कूल जडित क्षमताको आयोजनाहरुमा समेत लगानी रहेको हु्ँदा यस समुह सौर्य उर्जा क्षेत्रमा नेपालकै अग्रणी समुह हो । नेपालमा सञ्चालित सौर्य परियोजनाहरु मध्य उक्त परियोजना सौर्य उर्जाअन्तर्गत विद्युत क्षेत्रको सबैभन्दा ठुलो क्षमताको परियोजना हो । बैंकले नविकरणीय र हरित उर्जा उत्पादन, प्रशारण तथा वितरणमा आफ्नो लगानी प्रवद्र्धन गर्ने उद्देश्य अनुरुप सौर्य तथा जलविद्युतमा सर्वसुलभ व्याजदरमा कर्जा लगानी गर्दै आएको छ ।