नेपाल लाइफ पाठशाला सञ्चालनमा, अब बीमा सेवा र सिकाई एउटै प्लाटफर्ममा
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले लर्निङ म्यानेजमेन्ट सिस्टम (नेपाल लाइफ पाठशाला) सञ्चालनमा ल्याएको छ । आइतबार कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले उक्त प्लयाटफर्ममा लग इन गरी उक्त लर्निङ म्यानेजमेन्ट सिस्टमको अनावरण गरेका हुन् । यस प्लयाटफर्मका कारण अब घरै बसीबसी आफ्नो अनुकूल समयमा बीमा अभिकर्ताको तालिम लिन सकिने र यसले बीमाको प्रचारप्रसार तथा विस्तारमा प्रभावकारी भूमिका निर्वाह गर्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत पराजुलीले बताए । हालको लागि नेपाल बीमा प्राधिकरणले तर्जुमा गरेको पाठ्यक्रमको आधारमा बीमा अभिकर्ताको आधारभूत तालिमको लागि श्रव्य दृश्यहरू निर्माण गरी सञ्चालनमा ल्याइएको र आगामी दिनमा कर्मचारीको सिप ज्ञान अभिवृद्धिका निम्ति पनि कार्यहरु थालनी गर्ने बताए । उनले निकट भविष्यमा नै बीमाको महत्व र बीमा सम्बन्धी सम्पूर्ण जानकारीहरू एउटै प्लयाटफर्ममा उपलब्ध गराउने अभिप्रायका साथ यस प्ल्याटफर्मलाई सशक्त बनाउँदै जाने पनि बताए । सोही अवसरमा यस कम्पनीले बीमाको नवीकरण शुल्क दाखिला तथा बीमा योजना अन्तर्गत लिएको कर्जाको भुक्तानी गर्नका निम्ति कम्पनीले सञ्चालनमा ल्याएको डाइनामिक क्यूआरको पनि प्रयोग गरी घरै बसीबसी सहजताका साथ भुक्तानी गर्न पनि आग्रह गरे । कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले इनोभेशनलाई केन्द्रबिन्दुमा राखेर बीमा सेवालाई सहज, सरल चुस्त र दुरुस्त बनाउने पथमा कम्पनी लम्की रहेको बताए । कम्पनीका नायब महाप्रबन्धक उमापति पोखरेलले पहिला भौतिक उपस्थितिमा तालिमहरू प्रदान गर्दै आएकोमा यस प्लयाटफर्मले त्यो परिस्थितिको अन्त्य गरेको बताइन् । तालिम विभागका प्रमुख रोजेश बस्नेतले उक्त प्लयाटफर्मको उपयोगिता र प्रयोग गर्ने तरिकाको बारेमा आफ्नो प्रस्तुतिकरण गरेका थिए । पेशागत बीमा अभिकर्ता संघ नेपाल, बीमक समिति नेपाल लाइफका सचिव तेजमणि शर्मा तिमल्सिनाले कम्पनीले सञ्चालनमा ल्याएको प्लयाटफर्मले तालिम प्रक्रियालाई सहज बनाउने बताए ।
ग्लोबल आइएमईको सचेतना कार्यक्रम : विद्यार्थीले सेयरमा लगानी गरी लाभ लिनसक्ने
काठमाडौं । धितोपत्र नियमननियकायहरूको अन्तरर्राष्ट्रिय संगठनको आह्वानमा लगानीकर्ता सप्ताहको अवसरमा कार्तिक ६ गतेदेखि १२ गतेसम्म साताब्यापी विविध कार्यक्रमहरु आयोजना गरी मनाउने भएको छ । साताब्यापी उक्त कार्यक्रम मार्फत धितोपत्र बजारमा लगानी गर्ने लगानीकर्ताहरूलाई लगानी शिक्षा, सचेतना, बजार विकास तथा सुधारका पक्ष लगायतका बारेमा शिक्षा तथा सचेतना अभिवृद्धि गरी तिनको सशक्तिकरण गर्ने उद्देश्य लिइएको छ । योजना अनुसार नेपाल धितोपत्र बोर्ड तथा नेपाल मर्चेन्ट बैंकर्स संघको समन्वयमा ग्लोबल आइएमई क्यापिटलद्वारा चौतारा बहुमुखी क्याम्पस, सिन्धुपाल्चोकमा शुक्रबार लगानीकर्ता शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न गरिएको छ । उक्त कार्यक्रममा ग्लोबल आइएमई क्यापिटलको तर्फबाट कम्पनी सचिव छविलाल शर्मा पौडेलले पूँजी बजारसँग सम्बन्धित विभिन्न पक्षहरूको बारेमा प्रस्तुति दिएका थिए । कार्यक्रममा प्रमुख अतिथि चौतारा साँगाचोकगढी नगरपालिकाका उप–मेयर सीता थापाले पूँजी बजारसँग सम्बन्धित साक्षरता कार्यक्रमले लगानीको बारेमा आधारभुत ज्ञान प्राप्त गर्ने अवसर मिलेको र सेयरमा लगानी गरेमा बढी भन्दा बढी आय आर्जन गर्न सकिने बताइन् । यस्तै, वडाध्यक्ष शिव श्रेष्ठले विद्यार्थीले यस्ता कार्यक्रमबाट सेयरको प्राथमिक बजारमा लगानी गरि अधिकतम लाभ लिनसक्ने बताए । त्यसैगरी कार्यक्रमको अध्यक्षता समेत गरेका चौतारा बहुमूखी क्याम्पसका प्राध्यापक तथा श्रीकृष्ण रत्नगंगा उच्च माविका शिक्षक हरिगोपाल श्रेष्ठले यस कार्यक्रमबाट आफुले सेयरको बारेमा धैरै कुरा बुझ्न सहयोग मिलेको बताउँदै विद्यार्थी भाइबहिनीहरुलाई विभिन्न कम्पनीले निष्कासन गर्ने सेयरमा लगानी गरेमा फाइदा हुने र पढ्दै कमाउँदै गर्न सकिने धारण राखे । त्यसैगरी ग्लोबल आइएमई बैंक लि, चौताराका शाखा प्रमुख नविन श्रेष्ठले डिम्याट तथा मेरो सेयर खाता खोली पूँजी बजारमा आवद्ध हुन उपस्थित सबैमा अनुरोध गरे । कार्यक्रममा चौतारा बहुमूखी क्याम्पसका प्राध्यापक, विद्यार्थी तथा कर्मचारीहरू, श्रीकृष्ण रत्नगंगा उच्च माविका शिक्षक, विद्यार्थी तथा कर्मचारीहरू, विभिन्न पेशा व्यवसायमा आवद्ध व्यक्तिहरू तथा सरोकारवाला निकायको उलेख्य सहभागिता रहेको थियो । विश्व लगानीकर्ता सप्ताहबाट धितोपत्र सम्बन्धी सूचना, गतिविधि तथा महत्वका बारेमा नयाँ लगानीकर्तालाई जानकारी दिन तथा पुराना अनुभवी लगानीकर्तालाई थप प्रोत्साहन गर्नको लागि सिन्धुपाल्चोकको चौतारामा गरिएको उक्त कार्यक्रमले सहयोग पुग्ने विश्वास गरिएको छ ।
लक्ष्मी सनराइज बैंकले गर्यो पोखरामा सेवा विस्तार
काठमाडौं । लक्ष्मी सनराइज बैंकले कास्की जिल्लाको पोखरामा आफ्नो शाखा स्थानान्तरण मार्फत सेवा विस्तार गरेको छ । बैंकको पोखरा महानगरपालिका वडा न. २६ स्थित बुढीबजारमा रहेको शाखालाई सोही महानगरपालिकाको वडा न, ६ स्थित हल्लनचोक (लेकसाइड) मा स्थानान्तरण गरिएको छ । स्थानान्तरण गरिएको साविकको शाखाका ग्राहकहरूले सोही महानगरपलिकको वडा न. २७ स्थित लेखनाथ (तालचोक) शाखा मार्फत सेवा लिन सक्ने बैंकले बताएको छ । सेवा विस्तारकै क्रममा बैंकले आफ्नो २७औं एक्स्टेन्सन काउन्टर पनि सञ्चालनमा ल्याएको छ । उक्त काउन्टर पोखरा महानगरपलिका वडा न. १६ को बाटुलेचौरमा स्थापना भएको हो । साथै ग्राहकहरुको सहजता लागि रौतहट जिल्लाको गौर नगरपलिका वडा न. ३ मा स्थित शाखा कार्यालय सोही वडाको ३० मिटर पूर्व तर्फ स्थानान्तरण भएको छ । स्थानान्तरण भए सँगै बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरुमाझ बैंकिङ सेवाको पहुँच अझ सहज बनाउने विश्वास राखेको छ । स्थानान्तरण भएका शाखाहरूले ग्राहक तथा व्यवसायीहरूलाई सबै प्रकारका रिटेल बैंकिङ सेवाहरू प्रदान गर्ने जनाएको छ ।