हिमालय सेक्युरिटिज बैंकरको प्रथम साधारणसभा सम्पन्न
काठमाडौं । हिमालय सेक्युरिटिज बैंकर लिमिटेडको प्रथम वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ । कम्पनीको रजिष्टर कार्यालय, नयाँ बानेश्वरमा सञ्चालक समितिका अध्यक्ष श्री दीपक कुमार श्रेष्ठको सभापतित्व सम्पन्न भएको हो । साधारणसभाबाट सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०८०/८१ को वित्तीय लेखापरीक्षण प्रतिवेदन, सञ्चालकहरूको नियुक्ति तथा प्रबन्धपत्र र नियमावलीमा संशोधनहरू निर्णयसहित पारित भएका छन् । यसैगरी, कम्पनीको अध्यक्ष पदमा दीपककुमार श्रेष्ठ, सञ्चालकतर्फ सीताराम वाग्ले र आकांक्षा गुप्ताको पुन: नियुक्ति भएको छ भने थप स्वतन्त्र सञ्चालकतर्फ बद्री सिग्देल तथा दिनेशकुमार लालको पनि नियुक्ति भएको छ । मुख्यगरी धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन र संस्थागत परामर्श सेवा प्रवाह गर्दै आएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । आगामी वर्ष कम्पनीले धितोपत्र व्यवसायसँग सम्बन्धित सम्पूर्ण सेवाहरू प्रदान गर्दै अग्रणी संस्था बन्ने लक्ष्य राखेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुभाषबहादुर श्रेष्ठले जानकारी दिए । हिमालयन सेक्युरिटिज हिमालयन बैंकको पूर्ण स्वामित्वमा स्थापित भएको कम्पनी हो । हिमालयन सेक्युरिटिजले धितोपत्र दलालको रूपमा नेपाल धितोपत्र बोर्डबाट विसं. २०८० भाद्र ६ गते स्वीकृति प्राप्त गरेको थियो भने माघ ३ मा नेपाल स्टक एक्स्चेन्जबाट सदस्यता प्राप्त गरेको थियो ।
महालक्ष्मी विकास बैंकको कार्यालय भवनको भूमि पूजा कार्यक्रम सम्पन्न
काठमाडौं । महालक्ष्मी विकास बैंकको कार्यालय भवनको भूमि पूजा कार्यक्रम सम्पन्न गरेको छ । बैंकले काठमाडौंको वडा न. ३०, ज्ञानेश्वरमा आफ्नो कार्यालय भवन निर्माणको लागि भूमि पूजा कार्यक्रम सम्पन्न गरेको छ । सो भवन आगामी ९ महिना भित्र निर्माण सम्पन गर्ने लक्ष्य लिइएको छ । नेपाली बैंकिङ क्षेत्र डिजिटल युगतर्फ अग्रसर भइइरहेको सन्दर्भमा उक्त कार्यालय डिजिटल हबका रूपमा सञ्चालनमा ल्याइने बैंकले जनाएको छ । उक्त भवनमा अत्याधुनिक प्रविधिमैत्री शाखा रहने तथा साथै कार्यप्रवाहलाई डिजिटल प्रविधिको अधिकत्तम उपयोग गरी थप प्रभावकारी बनाई सेवाग्राहीलाई आधुनिक, सहज र सरल सेवा प्रदान गरिनेछ । उक्त कार्यक्रममा बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायबाट भूमि पूजन कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत लगायतका उच्च व्यवस्थापन समितिका पदाधिकारीहरु र बैंक कर्मचारीहरुको उपस्थिति रहेको थियो । बैंकले ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउने बैंकको नीति बमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृृत गर्दै ‘महालक्ष्मी स्मार्ट साथी’ सञ्चालनमा ल्याएको छ ।
राष्ट्रिय बीमा कम्पनीले १६ गतेदेखि अभिकर्ताको आधारभूत तालिम सञ्चालन गर्दै
काठमाडाैं । राष्ट्रिय जीवन बीमा कम्पनीले निर्जीवन बीमा अभिकर्ताको आधारभूत तालिम सञ्चालन गर्ने भएको छ । बीमा अभिकर्ता भई कार्य गर्न चाहने इच्छुक व्यक्ति तथा संस्थाहरूको लागि कम्पनीले ३ दिवसीय तालिम सञ्चालन गर्न लागेको हो । कम्पनीका अनुसार तालिम मसिंर १६ गतेदेखि १८ गतेसम्म विहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म सञ्चालन हुनेछ । तालिमको शुल्क एक हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ । तालिमका लागि निवेदन पत्र, नेपाली नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यता प्रमाणपत्रको प्रतिलिपि, हालसालै खिचिएको पासपोर्ट साइजको २ प्रति फोटो र प्यान कार्डको प्रतिलिपि हुन आवश्यक रहेको जनाइएको छ । संस्थाको हकमा कुनै एक सञ्चालकले तालिम लिनुपर्ने कम्पनीले जारी गरेको सूचनामा उल्लेख छ । तालिम कम्पनीको केन्द्रीय कार्यालयमा हुनेछ ।