नेशनल लाईफले गर्‍यो बागमती प्रदेशका सीईओ क्लब सदस्यलाई सम्मान

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले बागमती प्रदेशका सीईओ क्लब सदस्यलाई सम्मान गरेको छ । इन्स्योरेन्सले बागमती प्रदेशबाट आर्थिक वर्ष २०८०/८१ मा तोकिएको बीमाशुल्क संकलन गरी सीईओ क्लब सदस्यता प्राप्त गर्न सफल ६१० जनाभन्दा बढी अभिकर्ताहरू, विभागीय प्रमुख, कम्पनीका बागमती प्रदेशका प्रदेश प्रमुख एवं शाखा प्रमुखहरूको सहभागितामा सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ । सो सम्मान कार्यक्रममा बागमती प्रदेशबाट सीईओ क्लबका सदस्य हुन सफल अभिकर्ताहरूलाई सीईओ क्लब सदस्यता वितरण गरिनुका साथै प्रदेशबाट आफ्नो कोडमा र सञ्जालमा प्रथम द्वितीय र तृतीय हुन सफल अभिकर्ताहरूलाई विशेष सम्मान तथा पुरस्कृत पनि गरिएको थियो । सो अवसरमा प्रमुख कार्यकारी अधिकृत (सीईओ)  सुरेशप्रसाद खत्रीले यस प्रदेशबाट नेशनल रत्न हुन सफल अभिकर्ताहरूलाई पनि नेशनल लाईफ लोगो अंकित चाँदीको मेडल, सर्टिपिकेट र खादाबाट सम्मान गरेका थिए । समारोहमा  सीईओ क्लब र नेशनल रत्नअन्तर्गत योग्य हुने अभिकर्ताहरूलाई प्रदेश स्तरीयरूपमा सम्मान कार्यक्रम सम्पन्न गर्दै लाने कम्पनीको योजनाअनुरूप मधेश प्रदेश, गण्डकी प्रदेश र कोशी प्रदेशका अभिकर्ताहरु सम्मनित भईसकेको र सोही क्रममा बागमती प्रदेशका अभिकर्ताहरूलाई सम्मान गरिएको जानकारी गराइएकाे थियाे । सीईओ खत्रीले कम्पनीले अभिकर्तामैत्री योजना ल्याउने क्रममा अभिकर्ताहरूले सबैभन्दा बढी रुचाएका चेयरपर्सन क्लब सदस्यता वितरण कार्यक्रमकै झल्को दिने गरी स–साना व्यवसाय गर्ने अभिकर्ताहरूलाई समेत समेटी चेयरपर्सन क्लबमा पुर्‍याउने उद्देश्यले सीईओ क्लबको धारणा ल्याएकोमा नेपालभरबाट २००० जनाभन्दा बढी अभिकर्ताहरू यस कार्यक्रममा छनौट हुनुले यो योजना अन्यन्तै सफल भएको बताए ।

जीवन विकास लघुवित्तको १४.७३ प्रतिशत लाभांश घोषणा, यस्तो छ इतिहास

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । लघुवित्त सञ्चालक समितिको मंसिर ७ गते बसेको बैठकले सेयरधनीहरूलाई १४.७३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीहरूलाई चुक्ता पुँजी १ अर्ब ३४ करोड ७५ लाख १८ हजार रुपैयाँको १४ प्रतिशतका दरले १८ करोड ८६ लाख ५२ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.७३ प्रतिशतका दरले ९९ लाख २९ हजार रुपैयाँ नगद गरी कुल १४.७३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरूलाई वितरण गरिने कम्पनी सचिव दामोदर रेग्मीले जानकारी दिए । यसअघि लघुवित्तले आर्थिक वर्ष २०७९/८० मा १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७३ प्रतिशत नगद गरी कूल १४.७३ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, आर्थिक वर्ष २०७८/७९ मा १४.२८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७१ प्रतिशत नगद गरी कूल १४.९९ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, आर्थिक वर्ष २०७७/७८ मा ७० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.६८ प्रतिशत नगद गरी कूल ७३.६८ प्रतिशत लाभांश वितरण गरेको थियो ।

नोट वितरण ७५ प्रतिशतले बढ्यो, नीतिमा मात्र सीमित डिजिटल कारोबार

काठमाडौं । सरकारसँगै नेपाल राष्ट्र बैंकले देशको अर्थतन्त्रलाई डिजिटलमा रूपान्तरण गर्न विभिन्न प्रयास गरिरहेको छ । नगद कारोबार घटाएर डिजिटल कारोबार बढाउने रणनीति राष्ट्र बैंकले लिएको छ । सरकारको समेत प्राथमकिता रहेको डिजिटल कारोबारलाई राष्ट्र बैंकले आफ्नो मुख्य प्राथमिकतामा राखेको देखिन्छ । तर, राष्ट्र बैंकले आफ्नो नीतिसँग बमेल खाने गरी गत वर्ष अर्बाैं रुपैयाँ बराबरको नोटहरू बजारमा पठाएको देखिन्छ । गत आर्थिक वर्ष २०८०/८१ मा राष्ट्र बैंकले ७३ अर्ब ९९ करोड ९० लाख रुपैयाँ बराबरका विभिन्न दरका ३५ करोड ३७ लाख ५० हजार थान नयाँ नोटहरू चलनचल्तीका लागि बजारमा पठाएको छ । गत वर्षको तुलनामा यो रकम ७५ दशमलव २३ प्रतिशतले बढी हो । अघिल्लो वर्ष राष्ट्र बैंकले ४२ अर्ब २२ करोड ७५ लाख रुपैयाँ बराबरका विभिन्न दरका ४६ करोड ६२ लाख ५० हजार थान नयाँ नोटहरू चलनचल्तीका लागि बजारमा पठाएको थियो । नगद कारोबारलाई अन्त्य गर्न नसकेपनि डिजिटिलमा जोड दियो भने आगामी दिनमा नगदमा हुने कारोबार कम हुँदै जाने देखिन्छ । तर, राष्ट्र बैंकले बजारमा नोटको सर्कुलेसन बढाउँदै जाँदा डिजिटल कारोबारमा त्यसको प्रत्यक्ष असर पर्न सक्ने जानकारहरू बताउँछन् । २०८१ असारसम्म ६ खर्ब ९० अर्ब १५ करोड रुपैयाँका विभिन्न दरका अर्ब ३७ करोड ७८ लाख ६० हजार ८३९ नोट बजारमा चलनचल्तीमा छन् । जबकि २०८० असारसम्म ६ खर्ब ४० अर्ब ८ करोड रुपैयाँ बराबरको विभिन्न दरका ३ अर्ब २५ करोड ३० लाख ८७ हजार ५२८ नोट नोटहरू चलनचल्तीमा थिए । अघिल्लो वर्षको तुलनामा गत वर्ष नेपाली बजारमा रकम ७.८२ प्रतिशत बढेको हो भने नोटहरूको संख्या ३.८३ प्रतिशतले बढेको देखिन्छ । नगद कारोबारलाई डिजिटल कारोबारमा रूपान्तरण गर्दा अर्थतन्त्रमा पारदर्शिता हुने विश्वास सरकारको छ । हरेक कारोबार डिजिटलबाट हुँदा छिटोछरितो र हरेक कारोबार पारदर्शी हुने एक बैंकर बताउँछन् । त्यसैले नगद कारोबारलाई निरुत्साहित गर्दै राष्ट्र बैंकले डिजिटल कारोबारमा नागरिकलाई प्रोत्साहन गर्न जरुरी रहेको ती बैंकरको भनाइ छ । प्रत्येक वर्ष बजारमा नोटको संख्या बढ्दै पछिल्लो १२ वर्षको तथ्याङ्क हेर्ने हो भने नेपाली बजारमा राष्ट्र बैंकले प्रत्येक वर्ष नोटको संख्या बढाउँदै गएको देखिन्छ । राष्ट्र बैंकका अनुसार विसं २०७० असारसम्म २ खर्ब ३३ अर्ब ४६ करोड रुपैयाँका विभिन्न दरका १ अर्ब २७ करोड ६१ लाख २० हजार नोट चलनचल्तीमा थिए । जुन संख्या निरन्तर बढ्दै गएको देखिन्छ । राष्ट्र बैंकका अनुसार विसं २०७१ असारमा २ खर्ब ७२ अर्ब २५ करोड रुपैयाँ बराबरका विभिन्न दरका १ अर्ब ५३ करोड २ लाख ५२ हजार नोट चलनचल्तीमा थिए । यस्तै, विसं २०७२ असारमा नेपाली बजारमा ३ खर्ब १९ अर्ब ८ करोड रुपैयाँका विभिन्न दरका १ अर्ब ६९ करोड ६ लाख ७२ हजार नोट, विसं २०७३ असारमा ३ खर्ब ८६ अर्ब १६ करोड रुपैयाँका १ अर्ब ८४ करोड ८२ लाख १२ हजार नोट चलनचल्तीमा थिए । यस्तै, नेपाली बजारमा विसं २०७४ असारमा ४ खर्ब ३० अर्ब ९९ करोड रुपैयाँका २ अर्ब १ करोड ९८ लाख ७२ हजार नोट, विसं २०७५ असारमा ४ खर्ब ९४ अर्ब ३८ करोड रुपैयाँका २ अर्ब ३२ करोड २७ लाख ३४ हजार १८ नोट, विसं २०७६ असारमा ५ खर्ब ७ अर्ब ६ करोड रुपैयाँका २ अर्ब २५ करोड ७७ लाख ५० हजार ५४६ नोट संख्या बजारमा थिए । राष्ट्र बैंकका अनुसार वि.सं २०७७ असारमा ५ खर्ब ८८ अर्ब ६ करोड रुपैयाँका २ अर्ब ६९ करोड ३२ लाख ६५ हजार ७७५ नोट, वि.सं २०७८ असारमा ६ खर्ब ८३ अर्ब ५० करोड रुपैयाँका २ अर्ब ७५ करोड ८४ लाख २४ हजार १६४ नोट र विसं २०७९ असारमा ६ खर्ब ३२ अर्ब ४७ करोड रुपैयाँका ३ अर्ब ५ अर्ब ४६ करोड ८९ लाख १४७ नोट बजारमा चलनचल्तीमा रहेका थिए । कुन दरका कति नोट चलनचल्तीमा छन् ? राष्ट्र बैंकको तथ्याङ्कअनुसार बजारमा १ रुपैयाँ दरका १६ करोड ९ लाख ८६ हजार ६०३ नोट चलनचल्तीमा छन् । जसको कुल रकम १६ करोड ९ लाख ८६ हजार ६०३ रुपैयाँ हुन आउँछ । यस्तै, २ रुपैयाँ दरका १८ करोड ५१ लाख १८ हजार ५२ रुपैयाँको ९ करोड २५ लाख ५९ हजार २६ वटा नोट चलनचल्तीमा छन् । यस्तै, नेपाली बजारमा ५ रुपैयाँ दरका ७४ करोड ८२ लाख २५ हजार ३७ नोट चलनचल्तीमा रहेका छन् । जसको कुल रकम ३ अर्ब ७४ करोड ११ लाख २५ हजार १८५ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ । यस्तै, १० रुपैयाँ दरका ६० करोड ३१ लाख २३ हजार ९७४ नोट, २० रुपैयाँ दरका ४० करोड १२ लाख ३० हजार ९५१ नोट, २५ रुपैयाँ दरका २२ लाख ८१ हजार २९६ नोट, ५० रुपैयाँ दरका २८ करोड १६ लाख ४३ हजार ८९९ नोट बजारमा चलनचल्तीमा रहेको राष्ट्र बैंकको तथ्याङ्क छ । राष्ट्र बैंकका अनुसार १ सय रुपैयाँ दरका ३२ करोड ५३ लाख ११ हजार ८६८ नोट, २५० रुपैयाँ दरका ३ लाख ४९ हजार ६९१ नोट, ५ सय रुपैयाँ दरका २७ करोड ३७ लाख ९८ हजार ८३९ नोट र १ हजार रुपैयाँ दरका ४८ करोड ८३ लाख ४९ हजार ६५५ नोट बजारमा चलनचल्तीमा रहेका छन् । पूर्वबैंकर अनलराज भट्टराई सरकारको खर्च बढ्दा, विदेशी ऋण तथा सहयता आउँदा, रेमिट्यान्स बढ्दा नोटको सर्कुलेसन बढ्दै जाने बताउँछन् । यदि सरकारको राजस्व संकलन र विभिन्न बण्ड जारी गर्दा बजारमा नोटको सर्कुलेशन घट्न सक्ने उनले बताए । ‘सरकारको खर्च बढ्दा, विदेशी ऋण तथा सहयता आउँदा, रेमिट्यान्स आउँदा नोटको सर्कुलेसन बढ्दै जान्छ । त्यतिबेला सरकारले नोटको संख्या बढाउँदै जान्छ, अचेल एकडेढ खर्च रेमिट्यान्स आउन थालेको छ । जसले नोटको संख्या बढ्दै जान्छ । किनभने पैसाको माग हुन्छ । जति मोनि सर्कुलेशन बढ्दै जान्छ त्यति नै पैसाको माग पनि बढ्दै जान्छ,’ पूर्वबैंकर भट्टराईले भने, ‘सरकारको राजस्व कम छ भने बजारबाट पैसा भित्रिएको छैन, कर तिर्दा मनी सर्कुलेसन घट्छ । र, सरकारले बण्ड जारी गरेर ऋण लियो भनेपनि बजारबाट फेरि राष्ट्र बैंकमा तानिन्छ, जसले सर्कुलेशन घट्छ ।’ तर, पछिल्लो समय डिजिटल कारोबार बढ्दा नोटको सर्कुलेशन पनि घट्न पुगेको उनको भनाइ छ । राष्ट्र बैंकले चाहेर नोटको संख्या घटाउन नसक्ने उनको भनाइ छ । बजारको मागअनुसार नै नोट निष्कासन गर्ने गरेको उनले बताए । ‘यदि मोबाइल बैंकिङ, क्यूआरजस्ता डिजिटल भुक्तानीका माध्यम नभएको भए मनी सर्कुलेसन अझै बढ्थ्यो । तर, यसको प्रयोगले बजारमा जति नोट बजारमा आउनुपर्ने हो आएको छैन । किनभने अधिकांश मान्छेले डिजिटलबाट कारोबार गरिरहेका छन्,’ पूर्वबैंकर भट्टराईले भने, ‘केन्द्रीय बैंकले २०२६ सम्म डिजिटल करेन्सी ल्याउने तयारी पनि छ, जनताको माग अनुसार बजारमा नोट पठाइन्छ, जस्तो रेमिट्यान्सको डलरमा आउने हो । त्यो डलर नेपाली बजारमा पठाउनुपर्ने हुन्छ । राष्ट्र बैंकले नोटमा पठाउँछ ।’ राष्ट्र बैंकका सहायक सूचना अधिकारी डा. भागवत आचार्य अर्थतन्त्र विस्तारसँगै डिजिटल कारोबार बढेपनि नोटको संख्या घट्छ नै भन्न नसकिने बताउँछन् । साथै, दूर्गम क्षेत्रमा अझैपनि इन्टरनेट र स्मार्टफोनसँगको पहुँच नभएकाले पनि बजारमा नोटको सर्कुलेसन गर्नुपरेको उनको भनाइ छ । ‘डिजिटल कारोबारलाई मुलुकले परिलक्षित गरेको छ, राष्ट्र बैंकले आफ्नो एजेण्डा बनाएको छ, बैंक तथा वित्तीय संस्थाहरूलाई पनि डिजिटल कारोबारमा जोड दिन भनिरहेको छ, डिजिटललाई प्रोत्साहन गरेको हो । तर, अनिवार्य गरेको होइन,’ उनले भने, ‘आवश्यकता अनुसार बजारमा चलनचल्तीका लागि नोट पठाइन्छ । कतिपय दुर्गम क्षेत्रमा इन्टरनेटको सुविधा र सबै मान्छेसँग स्मार्ट फोनको पहुँच छैन, वित्तीय सचेतानाको अभाव छ, कतिपय डिजिट कारोबार गर्न नसक्ने पनि छन्, त्यसैले अर्थतन्त्र जति विस्तार भइरहन्छ, त्यति नै कारोबार बढ्दै जान्छ । अर्थतन्त्र विस्तारसँगै डिजिटल कारोबार बढेपनि नोटको संख्या घट्छ नै भन्न सकिँदैन ।’