माछापुच्छ्रे बैंक र युनिक नेपाल लघुवित्तको सेयर बिक्रीमा, मूल्य १ हजार रुपैयाँ

काठमाडौं । माछापुच्छ्रे बैंकको ५५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ ।संस्थापक समूहका सेयरधनीले आफ्नो नाममा रहेको ५५ हजार कित्ता सेयर बिक्रीमा राखेको बैंकले जनाएको छ । बैंकको उक्त सेयर विद्यमान संस्थापक सेयरधनीलाई बिक्रीमा राखिएको थियो । तर, खरिद गर्न इच्छुक नभएपछि सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिएको बैंकले जनाएको छ । उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले खरिद गर्न चाहेको सेयर संख्या र मूल्य तोकेर माछापुच्छ्रे क्यापिटलमा निवेदन दिनुपर्नेछ । यस्तै, युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको ३ हजार कित्ता सेयर बिक्रीमा राखिएको छ । लुवित्तका संस्थापक सेयरधनी कन्हैयालाल चौधरीको नाममा रहेको उक्त सेयरको मूल्य प्रतिकित्ता १ हजार रुपैयाँ तोकिएको छ । आवेदन दिँदा न्यूनतम १ सय कित्ताका लागि दिनुपर्नेछ । लघुवित्तको उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् । यदि संस्थापक सेयरधनीहरूले ३५ दिनभित्र सेयर खरिदका लागि आवेदन नदिएमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने लघुवित्तले जनाएको छ ।

सूर्यज्योति लाइफबाट एमडीआरटी-२०२५ का लागि ४० जना योग्य, २ जना बने सीओटी

काठमाडौं । अभिकर्ताहरूको अन्तरराष्ट्रिय संस्था मिलियन डलर राउण्ड टेबल (एमडीआरटी) ले नेपालका लागि सन् २०२४ मा गरेको व्यवसायका आधारमा तोकिएको वार्षिक लक्ष्य पुरा गरी सूर्यज्योतिका ४० जना उत्कृष्ट अभिकर्ताहरू एमडीआरटी २०२५ को सदस्य बन्न सफल भएका छन् । उक्त ४० जनामध्ये गौरवकुमार शाही र दीपक सापकोटा कोर्ट अफ द टेबल (सीओटी) का लागि योग्य भएको कम्पनीले जनाएकाे छ । गौरवकुमार शाही सीओटीमा दोस्रो पटक छनौट हुन सफल भए । कम्पनीको कोशी प्रदेशबाट २ जना, मधेस प्रदेशबाट १ जना, बागमती प्रदेशबाट १७ जना, गण्डकी प्रदेशबाट ५ जना, लुम्बिनी प्रदेशबाट ८ जना, कर्णाली प्रदेशबाट ५ जना र सुदूरपश्चिम प्रदेशबाट २ जना गरी जम्मा ४० जना सन् २०२५ को लागि छनौट भएका छन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)  प्रकाशविक्रम खत्रीले सन् २०२५ को लागि मिलियन डलर राउण्ड टेबल (एमडीआरटी) का लागि छनौट हुन सफल ४० जना सबैलाई मकाउमा आयोजना हुने विश्वभरका अभिकर्ताहरूको भेलामा सहभागी हुन अवसर प्राप्त गरेका अभिकर्ताहरूलाई हार्दिक बधाई ज्ञापन गरे । सीईओ खत्रीले कम्पनीसँग आबद्ध भएका हजारौं कर्मठ, लगनशील र मेहनती अभिकर्ताहरूप्रति पनि कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा उत्कृष्टता हासिल गर्न आग्रह गरे । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हाल चुक्ता पूँजी ५०१ करोड रुपैयाँ, कुल लगानी ४ हजार १५२ करोड, जीवन बीमा कोष ३ हजार ६०५ करोड, जारी बीमालेख संख्या ३१ लाख , प्रशिक्षित अभिकर्ता संख्या ९९ हजार ५४५ र देशभर रहेका १७६ शाखा सञ्जालद्वारा सेवा प्रदान गरिरहेको छ । बीमा क्षेत्रमै पहिलो सर्वाधिक ३५ घातक रोगहरूविरुद्ध ५० लाख रुपैयाँसम्मको उपचार खर्चको सुविधा प्रदान गर्ने एकमात्र पहिलो कम्पनी सूर्यज्योति लाइफ बन्दै पहिलो आईएसओ ९००१-२०१५  प्राप्त गर्ने एकमात्र जीवन बीमा कम्पनी बन्न पनि सफल भएको छ ।

स्मार्टच्वाईस टेक्नोलोजिज र एभरेष्ट बैंकबीच स्मार्ट पे मार्फत भुक्क्तानी गर्न सम्झौता

काठमाडौं । स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड र एभरेष्ट बैंक लिमिटेडबीच स्मार्ट पे मार्फत अन्तर बैंक भुक्क्तानी सेवा सञ्चालनका लागि सम्झौता सम्पन्न भएको छ । स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र विगत ३ दशकदेखि नेपालीहरूलाई निरन्तर र गुणस्तरीय बैंकिङ सेवा दिदैं आएको एभरेष्ट बैंक लिमिटेडबीच स्मार्ट पे मार्फत अन्तर बैंक भुक्क्तानी सेवा सञ्चालनका लागि सम्झौता सम्पन्न भएको हो । यस सम्झौता पश्चात एभरेष्ट बैंक लिमिटेडका ग्राहक तथा प्रयोगकर्ताहरुले आफ्नो बैंक खातामा स्मार्ट पे सेवा मार्फत स्वदेश तथा विदेशबाट पठाएको रकम तुरुन्तै प्राप्त गर्ने सक्ने कम्पनीले जनाएको छ ।