सूर्यदर्शन सहकारी ठगी : प्रतिवादीतर्फका कानुन व्यवसायीको बहस जारी
गण्डकी । कास्कीको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जिल्ला अदालत कास्कीमा चलिरहेको छ । शुक्रबारदेखि सुरु भएको प्रतिवादीतर्फका कानुन व्यवसायीको बहस आज पनि जारी रहने अदालतका श्रेस्तेदार राजन खनालले जानकारी दिए । प्रतिवादी लीला पछाईँ र छविलाल जोशी पक्षका कानुनी व्यवसायीहरूले शुक्रबार बहस गरेका थिए । पछाईँ र जोशीका कानुन व्यवसायीको बहस अझै नसकिएको श्रेस्तेदार खनालले बताए । यसअघि सरकारी वकिल र जाहेरवाला सहकारीपीडित पक्षका कानुन व्यवसायीले उक्त मुद्दामा बहस गरेका थिए । प्रतिवादीहरूको बयान सकिएलगत्तै जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा मङ्गलबारदेखि थुनछेक बहस सुरु भएको थियो । जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले जाहेरवालाका तर्फबाट कानुन व्यवसायीको बहस सकिएपछि प्रतिवादी पक्षका कानुन व्यवसायीको बहस सुरु भएको बताए । ‘प्रतिवादीतर्फका कानुन व्यवसायीहरूको बहस सकिएपछि पुनः हाम्रोतर्फबाट जवाफी बहस सुरु हुन्छ’, उनले भने । थुनचेक बहसपछि प्रतिवादीहरुलाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्ने कि थुनामुक्त गरेर अनुसन्धान जारी राख्ने आदेश हुनेछ । सभापति लामिछानेसहित उक्त सहकारी ठगीको मुद्दामा जोडिनुभएका पूर्वडिआइजी छविलाल जोशी, लीला पछाईँ, कृष्णबहादुर गुरुङ, रामबहादुर खनाललगायतमाथि थुनछेक बहस भइरहेको हो । यही पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । सभापति लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा समेत मुद्दा दायर भएको छ । सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको छ । सभापति लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमासमेत मुद्दा चलाइएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ । यस्तै लामिछानेसँगै खनाल, जोशी र पछाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा दायर गरिएको सरकारी वकिलको कार्यालयले जनाएको छ । सहकारीको बचत रकम अपचलन गरेको आरोपमा रास्वपा सभापति लामिछाने गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका थिए । सहकारी ठगीका आरोपित अन्य व्यक्तिलाई पनि कसुरअनुसारको बिगो र सजायको मागसहित मुद्दा दर्ता गरिएको छ । रासस
गार्डियन माइक्रोको आईपीओ बिक्री खुला, १ लाख कित्ता आवेदन दिन पाइने
काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले आज पुस २१ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर जारी गरेर बाँडफाँटपश्चात् कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् २२ करोड ५० लाख रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका २२ लाख ५० हजार कित्ता सेयर बिक्री गर्नेछ । जसमध्ये १० प्रतिशत अर्थात् २ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरिसकेको छ । अब ३ प्रतिशत अर्थात् ६७ हजार ५ सय कित्ता कम्पनीका कर्मचारी, ५ प्रतिशत अर्थात् १ लाख १२ हजार ५ सय कित्ता सामुहिक लगानी कोष र बाँकी रहेको १८ लाख ४५ हजार कित्ता सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिएको कम्पनीले जनाएको छ । कम्पनीको आईपीओमा लगानीकर्ताहरूले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्ने छन् । लगानीकर्ताहरुले कम्पनीको आईपीओमा पुस २४ गतेसम्म आवेदन दिनुपर्नेछ । यदि सो अवधिमा पूर्ण आवेदन नपरेमा माघ १० गतेसम्म समय लम्बिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ । धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सिडिएस एण्ड क्लियरिङ्गले सञ्चालनमा ल्याएको मेरो सेयरमार्फत् लगानीकर्ताहरुले आईपीओमा आवेदन दिन सक्नेछन् । केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
बाढीपहिरोका ३ हजार ६८६ वटा बीमा दावी, १२ अर्ब ८६ करोड भुक्तानी गनुपर्ने
काठमाडौं । गत असोजको १० गते पछिको अविरल बर्षापछिको बाढी र पहिरोबाट भएको क्षतिबाट १२ अर्ब ८६ करोड ६६ लाख ८८ हजार ३३१ रुपैयाँ बराबरको बीमा दावी भएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार कूल ३ हजार ६८६ वटा दावीको आवेदन परेको छ । सोमध्ये हालसम्म १ हजार ८०९ वटा दावीको १ अर्ब ७८ करोड ८१ लाख ३८ हजार १५४ रुपैयाँ बराबर भुक्तानी भएको छ । प्राधिकरणका अनुसार सम्पत्ति बीमामा १ हजार ७७४ वटा दावी परेको छ । ९ अर्ब २२ करोड २५ लाख ५६ हजार २२८ बराबरको दावी सम्पत्ति बीमामा परेको छ । यस्तै, इञ्जियिरिङ तथा ठेकेदार जोखिममा ३२४ वटा दावी परेको छ । त्यसमा २ अर्ब ८४ करोड १९ लाख २६ हजार ५९२ बराबरको दावी परेको प्राधिकरणले जनाएको छ । मोटर बीमा निजीतर्फ ९५४ वटा आवेदन परेको छ । त्यसमा ४१ करोड ५३ लाख ४४ हजार बराबरको दावी रकम माग गरिएको छ । मोटर बीमा सार्वजनिकतर्फ ३९३ वटाको आवेदन परेको छ । त्यसमा २८ करोड ९९ लाख १६ हजार रुपैयाँ बराबरको दावी रकम माग भएको छ । सामुन्द्रिक बीमामा २३ वटा आवेदन परेको छ । त्यसमा ४ करोड ४ लाख ९७ हजार रुपैयाँ बराबरको रकम माग भएको छ । पशुपन्छी बीमातर्फ ६० वटा आवेदन पर्दा ३ करोड ८२ लाख ५५ हजार २६७ रुपैयाँ बराबरको रकम माग भएको छ । कृषि बाली बीमातर्फ १३७ वटा आवेदन पर्दा १ करोड ५ लाख ९१ हजार ६९५ रुपैयाँ बराबरको माग दावी भएको छ । विविधतर्फ २१ वटा आवेदन पर्दा ७५ लाख ९९ हजार ७६७ रुपैयाँ बराबरको माग दावी भएको छ । प्राधिकरणका अनुसार कोशीमा २६७ दावी परेकामा १५८ वटाको भुक्तानी भएको छ । मधेशमा १०८ वटामा ३७ को मात्रै भुक्तानी भएको छ । बर्षा र बाढी प्रभावित वाग्मती प्रदेशमा ३ हजार २१३ माग दावी रहेकामा १ हजार ५८५ वटाको बभुक्तानी भएको छ । गण्डकीमा ४७ वटाको माग हुँदा १५ को मात्रै भुक्तानी भएको छ । कर्णालीमा ८ वटा आवेदन पर्दा ४ वटाको भुक्तानी भएको छ । त्यस्तै, सुदूरपश्चिममा ६ वटा आवेदन पर्दा ३ वटाको भुक्तानी भएको प्राधिकरणले जनाएको छ ।